फेरिएको मेरो गाउँ

कृष्णराज सर्वहारी।
प्रत्येक वर्ष दसैंमा अघि पछि भन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ । यसपालि गाउँ जाँदा दसैँको टीकाको दिन पनि किसानहरु धान कट्नीमा व्यस्त भएको देखियो । निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरुले गरेको अहोरात्र परिश्रमले गिज्याएझैँ लाग्यो ।

मेरो गाउँ दाङदेउखुरीको छुटकी घुम्नामा करिब ५ दर्जन घर छ । एकाध घर बाहेक सबै पक्की भएको देख्दा गाउँको मुहार पुरै फेरिएझैँ लाग्यो । पुरानो घरको मौलिकता अब गाउँमा रहेन । गाउँको अगुवा बरघर र गाउँको संरक्षक गुरुवाबाहेकको हातबाट टीका लगाउनेहरुको निधार कम हुँदै गएको देखियो । अनि दसैँमा नाचिने परम्परागत सखिया, झुमरा नाचको मादलको ताल, मञ्जिराको छन–छन सुन्न पाइएन । बरु युवा क्लबहरुको संयोजनमा हुने गाउँको मध्यभागमा मञ्च निर्माण गरेर डिजे घन्काउँदै कर्कश ध्वनिमा गीत घन्काउँदै डिस्कोमा रमाउनेहरुको भीड बढ्दै गएको पो देखियो । यसले घरनिर्माणको मौलिकता हराउने क्रम बढेसँगै संस्कृति पनि खुम्चिदै गएको आभास भयो ।

पहिले गाउँमा जाँदा मोही, कागती–चिनीको सर्वतले स्वागत गर्थे । अब ‘कोक कल्चर’ ले साम्राज्य जमाइ सकेको रहेछ । गाउँको घरबना मद (रक्सी) को ठाउँमा ‘बियर कल्चर’ छ्यालब्याल देखियो । युवाहरु एक हातले तासको पट्टि फाल्दै अर्को हातले बियरको चुस्कीमा रमाउँदै गरेको देख्दा मन कटक्क खायो । हाम्रो पालामा मनोरञ्जनको रुपमा खेलिने तास अब ‘जुवा’ भइसक्यो ।

दसैँमा थारुहरुले अनिवार्य लोकल भाले बलि चढाउँथे । अब लोकल पाइनै छाडे । गाउँकै कुखुरा फर्मबाट ल्याइएका ब्रोइलर कुखराले गुर्वावा देउता खुशी मान्ने अवस्था आएछ । नवमीको दिन पित्तृ सम्झिदै महिलाहरु ‘पित्तर’ संस्कारमा घर बाहिर खुला रुपमा दिल खोलेर पिउन पाउँछन्, यो संस्कार भने हराएको रहेनछ । बरु मदिराले मस्त एक अधबैशें महिला आफ्नो आङको लेहंगा समेत सम्हाल्न नसक्ने गरी पिएको देख्दा आकाशको जुन पनि लजाएको देखियो ।

गाउँका डगर फराकिला हुँदै गएका छन् । गाउँ–गाउँमा अटो पुग्छ । एक पाइला हिँड्नु पर्दैन । तर टाउकोमा छिटवामा तरकारी राखेर स्थानीय लमही बजारमा बेच्न लाने चलन अझै हराएको रहेनछ । चाडवाडमा रक्सीले मात्तिएर श्रीमती कुट्ने चलन जिउँदै रहेछ ।
थारुहरुले दसैँमा लगाउने शान्तिको प्रतीक ‘सेतो टीका’ को ठाउँमा ‘रातो टीका’ ले सर्वत्र ठाउँ पाएको देखियो । नातिहरु हजुरबा, हजुरआमासँग बसिबियाँलो गरेको दृष्य दुर्लभ हुँदै गएको छ । वृद्घ–वृद्घाहरु हामीसँग बोलचाल गर्ने नि कोही छैनन् भनेर तनावमा देखिए । स–सना फुच्चा–फुच्ची पनि मोबाइलको भिडियो गेममा रमाएको देखिए । हाम्रो पालामा गाउँमा आयोजना गरिएका विविध खेलकुद प्रतियोगिताका कार्यक्रम एकादेशका कथा पो हुने हो कि भन्ने लाग्यो ।

गाउँको डगर फराकिलो भएसँगै गाउँको मौलिकता खतरामा देखियो । कोक, बियर, अनि डिस्को संस्कृतिले मेरो प्यारो गाउँलाई पनि खर्लप्पै निलेको देख्दा अब गाउँमा के पो मौलिकता खोज्न जाऊँ ? भन्ने दोधार भयो । यसपालि नियालेर फेरिएको गाउँलाई हेर्दा मेरो गाउँले अब म सहरियालाई खुच्चिङ गर्दै भने झैँ लाग्यो, ‘बुझिस् अब त म पनि सहर । बिरानो सहरमा कति बस्छस् । लु अब छिट्टै आफ्नै गाउँ ठाउँ आइज ।’
अन्नपूर्ण पोष्ट दैनिकबाट

[तस्बिर : लेखक सर्वहारीसँगै दाङ देउखरस्थित छोट्की घुम्ना गाउँ पुगेका पूर्वसांसद योगेन्द्र चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष मदन चौधरी र चितवन अध्यक्ष कारी महतो।]

Leave a Reply

Your email address will not be published. Required fields are marked *