थाकसको लागि थारु विद्यार्थी समाज सञ्जीवनी बुटी

सीएन थारु।
थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । ७० वर्षे इतिहास बोकेको यो संस्थाको उतार चढाव भइरहे पनि टीकापुर, कैलाली विद्रोहको प्रभाव नराम्ररी भोग्नु पर्यो । सन्दर्भ थारु कल्याणकारिणी सभा भए पनि यो महाधिवेशनमा थारु विद्यार्थी समाज हाँकेर आएका केही व्यक्तित्वहरु यस पटक जिल्ला जिल्लामा नेतृत्व लिन पुगे । चितवनका सभापति ललित कुमार चौधरी, दाङका सभापति भुवन चौधरी, बाँकेका सभापति विनोद चौधरी, कैलालीका का.वा. सभापति माधव चौधरी, नवलपरासीका सचिव पशुपति चौधरी, सुर्खेतका उपाध्यक्ष पवन चौधरी, केन्द्रीय पार्षदहरु मीनराज चौधरी(बर्दिया), जनकराज चौधरी(कैलाली) तथा ऋषिकेश चौधरी(मोरंग) सहित महत्वपूर्ण जिम्मेवारीमा पुगेका यी व्यक्तित्वहरु क्षमतावान छन् र थारु कल्याणकारिणी सभा हाँकेका अन्य पदाधिकारीको दाँजोमा प्रतिस्पर्धा गर्न योग्य ठहर हुने देखिन्छ । जे होस् उपरोक्त व्यक्तित्वहरु थारु विद्यार्थी समाजमा रहेर भूमिका निर्वाह गर्दा आफ्नो योग्यता प्रमाणित गरिसकेका छन् । थारु कल्याणकारिणी सभामा अब सोही अनुभवले काम गर्न पक्कै सहज बनाउने नै छ तर उनीहरुले समेत तपसिलका विषयहरुमा ध्यान पुरयाउने काम गर्न सक्नुपर्छ ।

था. वि. स. नेतृत्व उत्पादनको हब

था.वि.स. आफ्नो उद्देश्य प्राप्तिका खातिर गर्ने गतिविधिहरु थारु कल्याणकारिणी सभाको लागि दवावकारी बनेको कुनै समय थियो तर अहिले समय फेरिएको छ । परिवर्तित समयमा था.वि.स. स्वायत्त किसिमले आफ्नो हितमा काम गरिरहेको स्थितिमा समेत गतिशिल नेतृत्व उत्पादन गर्ने काम जारी राखे भने थारु कल्याणकारिणी सभाको लागि तयारी नेतृत्व पाउनु सौभाग्य हो । यहाँ बुझाई फरक हुने र आफ्नो मतसँग अन्तर हुने सबैलाई किनाराकृत गर्ने प्रवृतिको अन्त्य हुन सकेन भने समस्या ठहर हुने देखिन्छ । व्यक्तिगत टकरावको अंश पनि देखिएको छैन् । थारु कल्याणकारिणी सभा र था.वि.स. को कार्यक्षेत्र नै अलग अलग छ र प्रभावकारी रुपमा दुवै काम गरे थारुको हित हुनेमा शंका छैन् । था.वि.स.ले बाटो बिराएको बेला थारु कल्याणकारिणी सभालाई सही बाटो हिडाउन खोज्नु दायित्व सम्झेको थियो र इतिहासमा दवाव सिर्जना गर्ने काम गरेकै हो । थारु कल्याणकारिणी सभा शिथिल भएको बेला थारुको राजनीतिक अधिकार प्राप्तिका लागि अर्को बाटो तय गरेको पनि हो । तर यी विरोधका अव्यवहरु होइनन् र थिएनन् पनि ।

बढदो राजनीतिक प्रभावको सन्तुलन

थारु कल्याणकारिणी सभा भित्र पार्टी राजनीतिको प्रभाव बढेर गए पक्कै यो परशासनको शिकार हुन पुग्छ । संकेत राम्रो देखिन्न र २२औं महाधिवेशनमा राजपाका महासचिव राज कुमार लेखी, नेपाली काँग्रेसका समर्थक रहेका धनीराम चौधरी तथा विश्राम महतो मैदानमा अध्यक्षको प्रत्यासी देखिए । नेकपाले समेत आफ्नो उम्मेदवारको खोजी तयारी गर्नु कुनै गलति पक्कै होइन् । तर पात्रहरु जो जो देखिए पनि उनीहरु आफ्नो आफ्नो ठाउँमा परीक्षण भएका व्यक्तिहरु नै हुन । सबै परिचित नै छन् । अहिले महाधिवेशनमा व्यक्ति प्रधान र संस्था गौण हुन पुगे । थारु कल्याणकारिणी सभाको चर्चा कम तर उम्मेदवारहरुको चर्चा अधिक हुनु भनेको संस्थाको मार्ग निर्देशक विचार कमजोर बमाउनु हो । यसर्थ व्यक्तिलाई मनपरितन्त्र चलाउन छुट दिनु पर्छ भन्ने मत सही होइन भने बढदो राजनीतिक प्रभावको सन्तुलन मिलाउन सक्ने हैसियत चाहिन्छ । महाधिवेशनले यसको लागि अलगै संयन्त्रको खोजी गर्नु पर्ला ।

विधानको परिपालना

यो विचारणीय सवाल हो कि विधानको परिपालना कसरी होला ? थारु कल्याणकारिणी सभाको विधान भनेको राज्यसँगको सम्झौता बुझ्न सकिन्छ । राज्यले नै गैर सरकारी संस्था ऐन २०३४ बमोजिम संस्था दर्ता गर्न दिएर सिमा निर्धारण गरेको हो । थारुको कल्याण गर्ने यो संस्थाको विधानले Governance को निर्देशित विधी तयार पारेको देखिन्छ । यस अनुसार कल्याणकारी काम वाहेक अन्यलाई अवाञ्चित गतिविधी भनेर बुझाउने ठाउँ बनाइदिए ।

सहकार्यको अविभारा

थारु कल्याणकारिणी सभा सबै सवालहरु प्रति जिम्मेवार हुने विषय जायज होइन् । यो कुनै सरकार पनि होइन कि यसले सेवाका प्रबन्ध मिलाउन अग्रसर होस् । सिमित आर्थिक श्रोतले गर्दा अन्य यस्तै उद्देश्य बोकेका विभिन्न संस्थाहरुसित सहकार्यको परिपाटी विकास गर्न सक्नुपर्छ । थारु विद्यार्थी समाज, थारु महिला समाज र थारु महिला जागरण केन्द्र, थारु कानुनव्यवसायी समाज आदिसँग सहकार्यको अविभारा पुरा गर्न सके प्रभावकारी उपायहरु मार्फत गतिविधी सञ्चालन गर्न सकिन्छ ।

आत्मनिर्भर आर्थिक योजना

नेपाल सरकारले अब कुनै पनि जातीय संस्थाको संस्थागत व्ययभार नवेहोर्ने नीति अगाडि बढाएको कारण थारु कल्याणकारिणी सभाले आत्मनिर्भर आर्थिक योजना बनाउनु पर्छ । यो व्यक्तिको हित भन्दा पनि समुदायको हितलाई केन्द्रमा राखेर सोच्नु परेको छ । थारु कल्याण सहकारी लिमिटेड जिल्ला जिल्लामा स्थापनाको लागि अविार्य प्रस्ताव बन्नु पर्छ । थारुको परम्परागत पेशालाई व्यवसायीकरण गर्ने र उत्पादन मार्फत स्वरोजगार बृद्धि गर्ने उपाय व्यवहारिक बनाए पक्कै उद्देश्य पुरा गर्न सघाऊ पुग्ने देखिन्छ ।

अन्त्यमा, थारु विद्यार्थी समाजको दवाव र जागरणको भूमिका सशक्त बनाउन अझ गतिशिल हुने वातावरण थारु कल्याणकारिणी सभाले बनाउनु जरुरी छ । थारु कल्याणकारिणी सभा जति व्यवस्थित हुने गरी आफुलाई उभ्याउँछ थारु विद्यार्थी समाज त्यति नै जिम्मेवार भएर आफ्नो उद्देश्य पुरा गर्न अग्रसर बन्दछ । यो सही हो कि थारु कल्याणकारिणी सभा लथालिङ्ग र शिथिल भएर निरास बनेको बेला थारु विद्यार्थी समाजका पूर्व नेतृत्वकर्ता जिल्ला जिल्लामा नेतृत्व दिएर केही आशा जगाउन थालेका छन् । म आफैं कुनै बेला उपत्यका समिति, काठमाण्डौको उपसभापति भएर थारु कल्याणकारिणी सभामा काम गर्दा जे जे कारण देखाएर संस्थाको चुनौती प्रति गम्भिर ध्यान आकर्षण गराए, अहिले पनि सो को निवारण हुन सकेको छैन । उपत्यका समिति एक वर्ष माघी महोत्सव गर्न नपाएको झोकले महाधिवेशन प्रभावित बनेको छ र प्रतिनिधि तथा पर्यवेक्षकहरु गुनासो लिएर फर्किने होला । कसरी भन्ने कि थारु कल्याणकारिणी सभा नेतृत्वको कमीले मात्र कमजोर हुन पुगे ? मानौं राजकुमार लेखी नै अध्यक्ष भए । यहाँ के जादु हुने होला कि Governance मा आमुल परिवर्तन हुनेछ ? के उपाय छ कि थारु कल्याणकारिणी सभा आत्मनिर्भर भएर निरन्तर यात्रा तय गर्ने भए ? के आधार देखिन्छ कि थारु एकतावद्ध हुनेछ ? अथवा यी सब देखापर्न लेखी जी नै किन ? यावत प्रश्नहरुको जवाफ कुनै व्यक्ति, उसको कार्यशैली अथवा प्रवृतिको आधारमा मात्र खोजी गर्न सकिन्न । थारु कल्याणकारिणी सभा विचारधारा भन्दा पनि परम्परामा आश्रित रहेर अहिले सम्म यहाँ पुगे । यदि यहाँ कुनै विचारधारा पक्रेर नेतृत्व दिन खोजे थारु एकताको कुरा व्यर्थ हुनेछ र अलग अलग विचारधारामा अलग अलग थारु कल्याणकारिणी सभाको अस्तित्व कायम हुनेछ । थारु कल्याणकारिणी सभामा आएको विचलन कुन विचारधारा अध्यक्षले बोके भन्ने आधारमा जाँचिन्छ तर यो प्रखर भन्दा पनि सुशुप्त रहेको छ । फेनेनको Black Face and white mask को झझल्को यस पटकको महाधिवेशनबाट पनि आएमा अन्यथा नलिनुहोला किनकी निरासाको बीचबाट थारु गुज्रिदै छ । यो बखत थारु विद्यार्थी समाज संजिवनी बुटी बन्न सफल होस् ता कि थारु कल्याणकारिणी सभा तङ्ग्रीन सफल होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *