थारु समुदायको गुरही (गुरिया) पर्व

दिल बहादुर चोधरी।
कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि । गुरही (गुरिया) पर्वको बारेमा पनि तमाम रोचक प्रसङ्ग छन् ।
यस पर्वबारेमा पनि हाम्रा तमाम बयोबृद्ध, सम्मानित अग्रजहरु भन्ने गर्छन् ‘गुरही (गुरिया) पर्व थारुहरुले मान्ने सब भन्दा जेठो अर्थात पहिले मनाउने पर्व हो ।’ म यो भनाईसँग चाहीं असहमति जनाउने गरेको छु । मैले भन्ने गरेको छु, ‘थारुहरुको नयाँ बर्ष माघ १ देखि लाग्छ, प्रायः फागुनमा होली (धुरेहरी), चैतमा चैते दशैं आउँछ, होली र चैते दशैंलाई थारुहरु मान्छन् भने गुरही (गुरिया) पर्व कसरी जेठो अथवा बर्षको पहिलो पर्व भयो ?’ यसको सही जवाफ मैले पाउन सकेको छैन । गुरही (गाइने किरा), चमेरो जस्तै मच्छर, भुसुना जस्ता किरालाई खाने गर्छन्, तर कतिपयले तिनकै पुतला बनाएर पिट्ने गरेको तर्क पनि गर्दछन् । त्यस्तो उपयोगी किराको पुतला बनाई पिट्ने गरेको तर्कसँग पनि म असहमत हुने गरेको छु र फरक तर्क राख्ने गरेको छु । आफूूलाई तर्कसंगत नलागेपनि पुर्खा पुरनियाहरु अहिले पनि गुरही (गुरिया) पर्वलाई जेठो भन्दै र मान्दै आएका छन् ।

गुडिया (गुरिया) के हो ?
गुरही भनेको पातलो पखेटा भएको पुतली जस्तै देखिने एक उड्ने किरा हो । कैलाली, कंचनपुर, बर्दिया, बाँके र देउखुरीमा यो किरालाई गुरही भन्दछन् । दाङ्गमा यसलाई झिङ्गौरा, नेपाली भाषामा गाइने किरा भन्दछन् । यो पर्वमा कसैले गुरही, कसैले केटी, कसैले महिलाको प्रतिकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । बिडीलाई बिरी भनेजस्तै त्यही गुडिया शब्द, थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको देखिन्छ । हुन त थारु भाषामा गुरिया भन्नाले मोती मालालाई जनाउने गर्दछ । तर यो पर्वमा कपडाको पुतला, प्रयोगको कारणले हिन्दी भाषाको गुडिया शब्दबाट नै गुरिया हुन पुगेको कुरा स्पष्ट हुन्छ । थारु बसोबास रहेको कतिपय जिल्ला, स्थानमा यसलाई गुरही पर्व भन्ने गर्दछन् भने कतिपय जिल्ला, स्थानमा यसलाई गुरिया पर्व भन्ने गर्दछन् ।

के हो गुरही (गुरिया) पर्व ?
गुरही-गुरिया एक बालपर्व हो, जसले भाई र बहिनीबिचको प्रेम र अटूट सम्बन्धलाई स्मरण गराउँछ र अझ प्रगाढ बनाउन मद्दत गर्छ । भाई बहिनीबिचको माया प्रेमको प्रतिकको रुपमा मनाइने यो पर्वमा केटी-महिलाले गुडिया (पुतला) अर्थात गुरिया फाल्ने गर्छन् र केटा-पुरुषले सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र दुबै पक्ष रमाउँछन् । अर्थात यो भाई, बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने, आपसमा माया प्रेम साट्ने, स–साना बालबालिकाहरुप्रति माया दर्शाउने पर्व हो ।

गुरही-गुरियाको तिथि
गुरही (गुरिया) पर्व श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा पर्छ । यही दिन, नाग पञ्चमी मनाइने भएको र तमाम थारुहरु कुलदेवताका रुपमा नागलाई पनि पुज्ने गरेकाले नागसँग यसको कुनै न कुनै सम्बन्ध छ भन्ने कुरालाई सूचित गर्छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई ०७३ सालमा दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार बाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा ‘थारुहरुको गुरही÷गुरिया पर्व श्रावण १ गते’ भनी प्रकाशन गरिदिनाले कतिपय थारुहरु अन्यौलमा पर्ने गरेका छन् । ०७५ सालमा एकता बुक्स डिष्ट्रिब्युटर्स प्रा.लि. ले निकालेको भित्तेपात्रोमा पनि श्रावण १ गते थारु गुरिया पर्व भनी उल्लेख गरेको छ, जुन कुरा एकदम गलत हो ।

के के गर्छन् गुरही (गुरिया) पर्वमा ?
ठाउँ अनुसार गुरही-गुरिया पर्व मनाउने तौर तरीका पनि फरक फरक रहेको देखिन्छ । मनाउने तरीका अगुवाई गर्ने ब्यक्तिहरुमा पनि भर पर्ने भएकोले यस्तो भएको हुन सक्छ । कैलालीमा पनि यसको पूर्वी र पश्चिमी भेकमा अलि फरक देखिन्छ । पूर्बी भेकमा पर्वको नाम गुरिया र चोकमा पुतला पिट्ने कार्यलाई गुरही (गाइने किरा) पिट्ने भनिन्छ भने पश्चिममा गुरही पर्व नै भनिन्छ । कतिपय ठाउँमा पुतलालाई साना बालबालिकाहरु दिउँसो झुला झुलाउने चलन पनि छ । पुतलालाई केटीहरुले चोकमा फाल्ने र केटाहरुले सोंटाले पिट्ने तरीकामा भने एकरुपता छ ।

यो दिनमा थारु समुदायका घरहरुमा घुघरी (चना, केराऊ, मटरा आदि तेलमा पकाइएको परिकार) तयार गर्ने गरिन्छ । केटाकेटीहरुको पर्व भएकोले कतिपय घरहरुमा खुर्मा, बरिया (पुरी जस्तै परिकार) जस्ता तेलमा पकाइने परिकारहरु पनि बनाउने गरिन्छ । दिउँसो केटीहरु, महिलाहरु चिरकुट (कपडाका रङ्गीचङ्गी टुक्राहरु) गुरही (गाइने किरा) को पुतला बनाउने गर्दछन् । केटाहरुले रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामाग्री) को प्रयोगले पुतला पिट्ने सोंटा, कोर्रा, बनाउने गर्दछन् । यो कार्यमा उनका अभिभावकले सघाउने गर्दछन् । ठूला केटा वा पुरुषले सोंटासँग खासै सरोकार राख्दैनन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य लट्ठी, केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् ।

चौकिदार वा चिरकियाले गाउँमा गुरही अस्राई चोलो रे (जाउँ है) भनेपछि साँझपख, सूर्यास्त हुने हुने समयमा केटीहरु, महिलाहरु गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो÷चौराहामा पुग्छन् । केटाहरु, पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा, लट्ठी लिई चौराहा (चौबाटो) पुग्छन् । केटीहरु, महिलाहरु गुरही (गुरिया) चौराहामा फाल्छन् र केटाहरु, पुरुषहरु सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र रोग ब्याध नलागोस्, आँखा नपाकोसु फोडा फुन्सी घाउ घटिरा नआओस्, खाज खुजली नसताओस्, बालीनाली राम्रो होस्, खराब बानी, अवगुणको अन्त्य होस् भन्ने कामना गर्दछन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् । कतिपय ठाउँमा पिटिएका यी गुरही (गुरिया) सडकमै चौराहामै छोडेर हिंड्छन् भने कतिपय ठाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि जाने गर्दछन् । यो पर्व साना बालबालिकाहरुको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले गुरही (गुरिया) पर्वमा बालबालिकाहरुलाई सहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावकहरु साना बालबालिकाहरुलाई बोकेरै सहभागी पनि गराउने गर्छन् । गुरही-गुरिया पिटिसकेपछि पिटेको सोंटा, कोर्रा, लट्ठीलाई ल्याएर मानिसहरु गोठमा वा घरको ओसरुवा (बार्दली) मा राख्ने गर्छन् । यसो गर्यो भने दुःख, कष्ट, रोग, ब्याध लाग्दैन । भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा शान्ति हुन्छ भन्ने जनविश्वास छ ।

गुरही (गुरिया) पर्वबारेमा कथा-किम्बदन्ती
थारु समुदाय धनी समुदाय हो । उसको आफ्नो भाषा, भेषभूषा छ, चालचलन, रहनसहन, खानपिन छ । संस्कृतिमा अझ धनी हुनुको कारण भनेको उसको सरलता, सोझोपन, बढी बिश्वास गर्ने बानी पनि हो । यही कारणले गर्दा थारुको लागि मठ मन्दिर, चैत्य गुम्बा बराबर हुन पुगेको छ । यहाँसम्म कि मुश्लिमको चाडपर्व मोहर्रममा पनि उसको सहभागिता उल्लेख्य छ । उ हिन्दूकरणमा पनि परेको छ, बौद्धिष्टकरणमा पनि परेको छ । तर दुइटै राम्ररी बन्न सकेको छैन । यत्तिबेलाको बौद्धिक बर्गमा र युवा जमातमा हामी को ? भन्ने एक किसिमको बहस नै छ । एउटा ठूलो पंक्ति (महेश चौधरी, डा.गोपाल दहित, सुबोधकुमार सिंह, राजकुमार लेखी, हृदयनारायण चौधरी लगायत) का थारुहरु, थारु बुद्धिष्ट हुन् भनि प्रमाणित गरिरहेको छ भने अशोक थारु लगायतका केहि जानकारहरु थारु हिन्दू हुन् भनी लागिरहेको छ । यही बिचमा तेश्रो जमात पनि निस्केको छ र उ थारुलाई न हिन्दू, न बौद्धिष्ट मान्न तयार छ, उ थारुहरुलाई प्राकृत धर्म, लोकधर्म, आदिबासी धर्ममा आस्था राख्ने समुदाय भनिरहेको छ । समुदाय अन्यौलको स्थितिमा छ । यो अन्यौल कहिलेसम्म रहने हो, थाहा छैन ।

आफ्नो धर्म किटानी साथ भन्न नसकेका थारुहरु यही अन्यौलको स्थितिमा पुर्खाले भनेका लिखतबिनाको मौखिक भनाई र गराईलाई ब्याख्या बिश्लेषण गर्दै चाडपर्व, तरत्यौहार मनाइरहेका छन् । समुदाय बौद्धिष्टकरण भन्दा बढी हिन्दूकरणमा परिसकेको छ । उनीहरुको देवी देवता बौद्ध भन्दा पनि बढी हिन्दूहरुसँग मिल्दछ । उनीहरु शिव, राम, कृष्ण, पाँच पाण्डवलाई मान्दछन् । गुरही-गुरिया पर्वमा पनि हिन्दू धर्मको प्रभाव छैन भन्न मिल्दैन, किन कि यो पर्ब, भारतको उत्तर प्रदेशमा पनि पुतला-गुडियालाई पिटेर मनाउने गर्दछन् । गुरियाको कथा महाभारत कथासँग पनि जोडिएको छ ।

हिन्दूकरणबाट प्रभावित चाडपर्वको बारेमा लेख्दा, बोल्दा हिन्दू धर्मग्रन्थलाई पल्टाउनै पर्ने हुन्छ । हिन्दू धर्मग्रन्थलाई हेर्ने हो अहिले ब्राम्हन, क्षेत्री, आदिबासी जनजाति भए जस्तै पहिले पनि आर्य र अनार्य, देव र दानव थिए । आर्य र अनार्यबिच समय समयमा प्रतिस्पर्धा, बैरभाव हुने गर्दथ्यो । त्यतिबेला आर्य र नागवंशविचमा बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि । ऋषि जरत्कारुको पत्नी नाग जातिकी थिइन्, जसबाट आष्टिक ऋषि जन्मेका थिए । बसुदेव र पाँच पाण्डवका माता कुन्तीका माता पनि नाग कन्या थिइन् । भीम पत्नी हिडिम्बा दानव कुल अर्थात अनार्य थिइन् । द्वापर युगमा अभिमन्युका पुत्र परिक्षितलाई तक्षक नागले डसेको थियो । परिक्षितका छोरा जन्मेजय राजा भएपछि सोही रीसले नागजातिको भीषण संहार गरेका थिए । तर समय बित्दै जाँदा तिनै तक्षक नागको चौथो पिंढीको एक कन्याको बिबाह, राजा परिक्षितको चौथो पिंढीमा हुन पुग्यो । धेरै समयपछि बिबाहित ती नाग कन्याले एक महिलासँग आफू नाग बंशको भएको र यो कुरा कसैसँग नभन्न आग्रह गरिन् । ती महिलाले अर्की महिलासँग पनि उनी नाग वंशकी कन्या भएको तर अरुलाई नभन्न आग्रह गरिन् । यसो गर्दागर्दा यो कुरा शहरमा फैलियो र नाग वंशका महाराजसम्म पुग्यो । महिलाको मनमा कुनै पनि कुरा लामो समयसम्म टिक्दैन भन्ने रीसले राजा आगो भए र शहरका सबै केटी, महिलाहरुलाई चौराहामा जम्मा गर्न लगाए र कोर्राले पिट्न लगाएर मारे । त्यस बेलादेखि नै गुडिया पिट्ने चलन चलेको हो भन्ने पनि एउटा भनाई छ ।

एउटा रोचक प्रसङ्ग यस्तो छ । एक शहरमा आमा–बाबु नभएका एक दाजु आफ्नो बहिनीसँगै बस्दथ्यो । । उनीहरु एकअर्कालाई निकै माया गर्थे । दाजु भगवान भोलेनाथ र कालीका भक्त थिए र दिनदिनै मन्दिर जान्थे । जहाँ एउटा नाग देखिन्थ्यो । उनले नागलाई दिनदिनै दूध खुवाउँथे । सर्प भगवान भोलेको अति प्यारा प्राणीमध्ये पर्छ, उनको गहना मानिन्छ । भक्त बालकलाई देखेर नाग निस्कन्थ्यो । उ बालकको खुट्टामा मायाले बेरिन्थ्यो र मणि छोडेर बिलाउँथ्यो । एक दिन पुजा गर्न निस्कने बेला बहिनीले आफू पनि मन्दिर जाने अड्डी लिइन् । दुबै जना चना, केराउ, मटराको घुघरी, दूध, (परिकार), मकैको भुजा लिएर मन्दिर गए । मन्दिरमा पुग्दा नाग फेरी देखा प¥यो र दाजुको खुट्टामा मायाले बेरियो । बहिनीलाई लाग्यो कि मेरो दाजुलाई नागले डस्यो, उनी चना, केराउ, भुजा, दूध राखेको ढकियाले पिटेर सर्पलाई मारिदिइन् । पछि दाईले सर्पको बारेमा बहिनीलाई पुरा कहानी बताइन् । कहानी सुनेर बहिनी निकै रोइन् र पश्चाताप गरिन् । त्यहाँ भएका मानिसहरुले भने सर्प देवताको रुप हुन्छ । त्यसैले बहिनीलाई दण्ड र सर्पलाई पूजा जरुरी छ । तर बहिनीले दाजुको प्राण बचाउन मात्र यसो गरेकीले बहिनीको रुपमा गुडियाले हरेक बर्ष दण्डित हुन आवश्यक छ । यसले दाजु–बहिनीको माया–प्रेम अझ बढेर जान्छ । त्यसवेलादेखि दाजु, भाई, दिदी बहिनीको त्यो माया प्रेमलाई अमर सम्झन, अमर बनाउन यो समुदायमा नाग पञ्चमीको दिनमा केटीले गुरिया फाल्ने र केटाले पिट्ने चलन चलेको हो ।

अर्को एक किम्बदन्तीका अनुसार एक जना ब्यक्ति त्यौहार मान्न आफ्नो बहिनीलाई बोलाउन गएको थियो । बहिनीको बिहा धनी घरमा भएको थियो । गरिब दाजुलाई देखेर उनी मान मर्यादामा बेवास्ता गरिन् । उनको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भए । बहिनी एक्लै माइती घर आइन् । बहिनीको बानी ब्यहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो, मानमर्यादा गरेन । बिदाईको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि, अब कहिल्यै नआउनु भनी बिदाई गरे रे । बिदाईको दिनमा नाग पंचमी थियो । त्यसबेला देखि नै कपडाको गुरिया (गुरही) लाई पिट्ने र नदीमा सेलाउने चलन चलेको हो भन्ने भनाई पनि छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने यस सम्बन्धमा अरु पनि समुदायमा चलेका केहि किम्बदन्तीहरु छन् । प्राय: केटी वा महिलासँग जोडिएका छन् । कुरा जेसुकै होस्, यस पर्वमा मान्छेले गुरहीको प्रतिकको रुपमा होस् वा केटीको प्रतिकको रुपमा होस्, कपडा नै प्रयोग गर्छन् र कपडाको गुडिया, खेलौना नै बनाउँछन् । बिडीलाई बिरी भनेजस्तै त्यही हिन्दी भाषाको गुडिया शब्द नै थारुहरुको भाषामा गुरिया हुन पुग्यो । कतिपय ठाउँमा यसलाई गुरही पर्व भन्ने गरियो भने कतिपय स्थानमा यसलाई गुरिया पर्वको नामले चिनियो । थारुहरु प्रत्यक्ष रुपमा नागको पुजा नगरे पनि नाग पञ्चमीकै दिनमा यो पर्व मनाइने हुँदा यसको ताल्लुक नागसँग पनि होला भन्ने कुरालाई सूचित गर्दछ । यो पर्व पहिलेदेखि चल्दै आएको र भाई–बहिनीबिचमा आपसी प्रेम र सदभाव झल्किने हुँदा यसलाई भाई–बहिनीको आपसी प्रेम स्मरण गर्ने दिनको रुपमा पनि बुझ्ने गरिन्छ । कथा, कहानी, किम्बदन्ती जे जस्तो होस्, यसमा भाई–बहिनी, महिला, पुरुष दुबैको संलग्नतामा अवगुण, दुर्गुणलाई फाल्ने, रोग–ब्याध, दुःख–कष्टलाई फाल्ने, पिट्ने र सुख, शान्ति जस्ता राम्रा कुराको कामना गर्ने गरिन्छ ।

थारु नागरिक समाज कैलालीका संयोजक

Leave a Reply

Your email address will not be published. Required fields are marked *