‘बरघर’लाई रेस्टुरेन्टमात्र होइन, मिनि थारु संग्राहलय बनाउने योजना छ : सीताराम थारु

थारू समुदायको चाडपर्वमा मात्र अवलोकन गर्न पाइने थारू समुदायको परम्परागत नाँच र थारू परम्परागत खानाको स्वाद आजभोलि सजिलै जुनसुकै समयमा पनि अवलोकन र खानपिन गर्न पाइन्छ । थारू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, गीतसंगीत, खानपिनलाई पछिल्लो समयमा राम्रो ब्यवसायको रुपमा लिइएको छ । पछिल्लो समय थारू समुदायका युवाहरु यसतर्पm आकर्षित भएका छन् । बर्दिया घर भइ हालः काठमाडौं बस्दै आएका युवा नेता एवं बर्दियाली थारू विकास मञ्च काठमाडौंका अध्यक्ष सिताराम थारूले कीर्तिपुरको पाँगामा बरघर रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। बरघर रेष्टुरेन्टका सञ्चालक सिताराम थारूसँग सवि थारूले गरेको कुराकानीः

थारू परिकारको रेस्टुरेन्ट खोल्ने सोँच कसरी आयो ?
रेस्टुरेन्ट मेरो लागि एकदमै नयाँ र फरक क्षेत्र हो । काठमाडौं बसेको दुई दशक पुग्न लागिसक्यो । मैले रेस्टुरेन्ट ब्यवसायको बारेमा कहिल्यै सोचेको थिएन । तर समयअनुसार मान्छेले जे काम पनि गर्नुपर्छ । एकदिन भाइहरुले म कहाँ कफीसप खोलांै भन्ने प्रस्ताव लिएर आए । तर मैले कफी, मःम, चाउमिन जसले, जहाँ पनि बेच्छन्, अलिक फरक स्वाद दिनसके चाँडै मार्केट लिन सकिन्छ भनेर सल्लाह दिए । त्यहीअनुरुप योजना बनाएर दुई जनाको पार्टनरसिपमा न्युनतम बजेटमा थारू परिकार पाउने बरघर रेस्टुरेन्टको सुरुवात गरेका हौं ।

काठमाडौंजस्तो ठाउँमा थारू स्वाद पाइने रेष्टुराँको सम्भावना कस्तो रहेछ ?
काठमाडौं त्यस्तो ठाउँ हो, जहाँका मानिसहरु नयाँ चिजको स्वाद लिन चाहन्छन् । थारू परिकार पनि काठमाडाँैबासीका लागि नयाँ स्वाद हो । यो हाइजेनिक पनि हुन्छ । घोङ्गी, सुटही, गेङ्टा, बैरिक चट्नी, ढिक्री, अन्डिक भात, बरिया सबै हाइजेनिक परिकार हुन् । यो परिकार स्वास्थ्यको लागि एकदमै लाभदायक हुन्छ । हामीले यिनै थारू परिकारलाई ब्यवस्थित तरिकाले ग्राहकलाई स्वाद चखाउन सक्यौं भने काठमाडौँमा थारू रेस्टुरेन्टको सम्भावना प्रबल छ ।

कतिको चुनौती महसुस गर्नु हुन्छ ?
थारु समुदायले मनाउँदै आएको राष्ट्रिय माघीमात्र काठमाडौंबासीले थारु परिकारको स्वाद लिन पाउँछन् । तर रेस्टुरेन्ट खोलेपछि त्यो समय फेरिएको छ । चाहेको बेला आफ्नो अनुकुलतामा मानिसहरु थारु परिकारको स्वाद लिन सक्छन् । यसले उद्यमशीलताको विकास पनि भयो, थारु परिकारको प्रबद्र्धन पनि भयो । तर भनेजस्तो रेस्टुरेन्ट चलाउन सजिलो भने छैन । थारु परिकारहरु सबै गाउँबाट आउने, कतिपय परिकार सिजनलमात्र भएकाले सबै समयमा त्यो परिकारको आपूति गर्न सकिरहेको छैन । घोङ्गी, सुटही, गेङ्टा, बैयर जस्ता चीज सधैँ पाइँदैन । तैपनि खोजतलास गरेर स्वाद चखाउने प्रयास गरिन्छ । एक हिसाबले यो चुनौतीपूर्ण छ ।

घोङ्गी, सुटही कहाँबाट ल्याउनुहुन्छ ?
घोङ्गी, सुटही हामी तराई जिल्लाबाट मगाइराखेका छौँ ।

रेस्टुरेन्टबाट सन्तुष्ट हुनुहुन्छ ?
मैले रेस्टुरेन्ट केही उद्देश्य बोकेर खोलेको हुँ । पहिलो उद्देश्य हामीले महिनाको अन्तिम शनिबार थारू भाषा, साहित्य र संस्कृतिसम्बन्धी कार्यक्रम गर्छौ, जुन अहिले ६४औं भाग पूरा गरिसकेको छ । यसअघि उक्त साहित्य कार्यक्रम कीर्तिपुर बालकुमारी खाजा घरमा हुन्थ्यो । दोस्रो थारुको पहिचान झल्काउनेगरी यसको डेकोरेशन गरेका छौं । थारू परिकारको साथै थारूले प्रयोग गर्ने हस्तकलालगायत थारू संस्कृतिसम्बन्धी किताबहरु उपलब्ध गराउने प्रयास गर्छौं । तेस्रो थारूको हरेक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएका छौं, जसमा हामी सफल पनि भएका छौं । यसकारण म यो पेसाबाट सन्तुष्ट छु ।

थारू रेस्टुरेन्ट या होमस्टेबाट थारू भाषा, संस्कृति एवं परम्परालाई कसरी संरक्षण र सम्बद्र्घन गर्न सकिन्छ ?
थारूको आफ्नै मौलिक संस्कृति छ । थारु तराईका भुमिपुत्र हुन् । हाम्रो जन्मदेखि मृत्युसम्म आफ्नै छुट्टै विधि प्रक्रियासँग जोडिएको संस्कृती छ । यो पहिचानलाई हाम्रो पुस्तासम्मले बचाइराखेको छ । हाम्रो संस्कृतिलाई अब आउने पुस्ताहरुलाई पनि हस्तान्तरण गर्दै जानसक्नुपर्छ । त्यसका लागि यसबारे उनीहरुलाई जानकारी दिन आवश्यक छ । जसको माध्यम अहिले थारु होमस्टे वा रेस्टुरेन्टहरुको अवधारणा आएको हो । जसले अन्तराष्ट्रि स्तरमा प्रवद्र्धनको कामसमेत गरेको छ ।

थारु रेस्टुरेन्ट चलाउन चाहने युवालाई के भन्न चाहनुहुन्छ ?
थारू ब्यवसाय गर्न डराउँछन्, जोखिम लिन डराउँछन् । जसका कारण हामी यस्ता चिजहरुमा पछाडि परिरहेका छौं । जोखिन नलिइकन कुनै जोखिम मोल्न सकिँदैन । तसर्थ थारु परिकारको राम्रो व्यापार हुने भएकाले युवाहरुलाई स्वउद्यमी बन्न म आग्रह गर्न चाहन्छु । मिहिनेत गरे फल राम्रो पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *