‘मच्छी बेचके टहकार मुह’ [विचार]

चन्द्रकिशोर।
समग्रमा यथास्थिति विरुद्घ थारू जनमतमा जुन हलचल छ, त्यसको निकासप्रति राज्यले आँखा चिम्लिनुहुँदैन।

नदीनालाले धनी नेपालमा पुलपुलेसा पनि प्रशस्त छन् । तर, केही मात्र यस्ता पुल छन्, जहाँ यात्रु केहीबेर अडिन र तस्वीर खिच्न लोभिन्छन् । यस्तैमध्येको एक हो, कर्णाली (गेरुवा) नदी माथि रहेको कोठियाघाट पुल ।
हामी त्यहाँ पुग्दा ओहोर–दोहोर गर्ने सार्वजनिक वा निजी गाडीहरू केहीबेर रोकिन्थे र यात्रुहरू आ–आफ्नो पोजिसनमा फोटो खिच्न हतारिन्थे । कतै समूह फोटो सेसन देखिन्थ्यो भने कतै सेल्फी लिनेहरू पनि देखिन्थे । यात्रुले आ–आफ्नै तरिकाले यो पुलमा आइपुगेको क्षणलाई क्यामेरामा कैद गर्दै थिए ।

पूर्व–पश्चिम राजमार्गको पश्चिमी खण्ड, जहाँबाट कर्णाली नदी गुज्रिन्छ, जो चिसापानी नामले चिनिन्छ, त्यहाँदेखि दक्षिणतर्फ केही पर पुगेपछि कर्णाली नदीको एउटा भँगालो पूर्वतर्फ बगेको छ भने मुख्य नदी पश्चिम तर्फबाट दक्षिणतिर लागेको छ । पूर्वतर्फ लागेको भँगालोले बनेको नदीलाई कर्णाली (गेरुवा) भनिन्छ । महाकालीबाट १२६ किलोमिटर पूर्व चिसापानीमा कर्णाली नदीमाथि एकखम्बे पुल बनेको २० वर्षपछि २०७१ मा कर्णाली (गेरुवा) मा कोठियाघाट पुल थपिएको हो ।

१०१५ मिटर लम्बाइको कोठियाघाट पुलका दुई विशेषता जनजिब्रोमा झुण्डिन पुगेको छ । पहिलो, यो देशकै सबैभन्दा लामो पुल हो । दोस्रो, यो पुल निर्धारित समयभन्दा पहिले बन्यो । यसअघि पूर्वमा सबैभन्दा लामो पुलका रूपमा मेचीको कनकाई नदीको पुललाई चिनिन्थ्यो, कोठियाघाटले त्यसलाई उछिनेको छ ।

कर्णालीको दुई भँगालो बीचमा राजापुर क्षेत्र छ । राजापुर, जो अन्नको भण्डारका रूपमा परिचित छ, यो पुल बन्नु अघिसम्म राजापुर ‘बर्दियाको श्रीलंका’ को रूपमा चिनिन अभिशप्त थियो । अहिले यो टापुभित्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्छन् । अन्नको भण्डारका रूपमा रहेको यो क्षेत्रलाई कर्णालीले चारैतिरबाट अँगालो हालेको छ र केही पर पुगेर भारतको कैलाशपुरी भन्ने ठाउँमा दुवै भँगालो मिसिन्छन् । कर्णाली नदीलाई त्यहाँ घाघराको नामले चिनिन्छ । कोठियाघाट पुलले यो उर्वर टापुलाई नेपालगञ्ज र गुलरियासँग जोडिदिएको छ । त्यसैगरी कैलालीको पूर्वी हिस्सासँगको सञ्चारलाई सहज बनाइदिएको छ ।

यात्रुका लागि कुनै ठाउँको भ्रमण अवलोकन र अनुभूतिको अवसर बन्छ । कसैलाई त्यो ठाउँविशेषको उँभो–उँधो जान्ने जिज्ञासा पनि बढ्न सक्छ ।

हामीलाई त्यहाँ कसैले राजापुरको कथा सुनाउँछ । राजापुर २०५० सालसम्म पश्चिम तराईको एउटा प्रमुख बजार थियो । अधिकांश कर्णाली अञ्चलवासीले यहीं किनमेल गर्थे । कर्णालीको चिसापानीमा पुल बनेपछि माथिबाट झ्र्नेहरू किनमेलका लागि पश्चिम धनगढी र पूर्व नेपालगञ्ज जान थाले । त्यसपछि राजापुर क्षेत्रको बजार खुम्चिंदै गयो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला त यहाँ ‘भयको साम्राज्य’ नै खडा भयो । नेपाल खाद्य संस्थानले २०४५ सालमा जापानको संयुक्त लगानीमा स्थापना गरेको आधुनिक चामल कारखानालाई माओवादीहरूले ध्वस्त गरे, सुरक्षा निगरानी बढ्यो, स्थानीय बासिन्दा पलायन हुन थाले । व्यापार ठप्प भयो ।

राजापुरका पत्रकार राजेन्द्र धिताल यो वर्णनमा सही थप्दै भन्छन्, “द्वन्द्वले पछाडि परेको राजापुर कोठियाघाट पुलले तङ्ग्रिन थालेको छ ।” अहिले चामल कारखाना पुनः सञ्चालनमा आएको छ भने यहाँको उत्पादन धान, गहुँ र तोरीले राम्रो बजार पाएको छ ।

पुल बन्नुअघि गेरुवाको पूर्वी किनारमा चल्तीको बजार थियो । वर्षात्मा डुङ्गा र हिउँदमा पन्टुन ब्रिज हुँदै नदी वारपार गरिन्थ्यो । अनि, माछा खान मानिसहरू त्यहीं अलमलिन्थे । अहिले पुल बनेपछि पश्चिमी हिस्सामा चमक थपिएको छ । कविराज होटलका लालुराम चौधरी भन्छन्, “यो ठाउँमा अहिले माछा खान आउने बढ्दैछन्, प्रमुख रूपमा यहाँ स्थानीय माछाको व्यापार हुन्छ ।”

थारूहरूको भूमिका के हुने ? तिनको विकासको ढाँचा कतातिर उन्मुख हुने ? राज्यसत्ता पहुँच बाहिरका थारू आकांक्षाको सम्बोधन कसरी गर्ने ? सुरक्षित र सम्मानित कसरी हुने ? स्थानीय काशीराम चौधरी प्रश्न गर्छन् । नेपालको सामाजिक सन्दर्भ र अर्थ–राजनीतिमा शताब्दीदेखिका यस्ता अनुत्तरित प्रश्नलाई विगतमा माओवादीले यसरी उठाइदिए कि ती प्रश्नहरू अझै ज्यूँदा छन् ।

बर्दियाको यो क्षेत्र थारू संस्कृतिको गढ पनि हो । बेच्नेले जग्गा बेचेपछि किन्नेले किनिहाल्छ, तर यस क्षेत्रको निर्माणाधीन हुलाकी राजमार्ग छेउछाउको जग्गा माथिबाट झ्रेकाहरूले धमाधम किन्न थालेपछि कतै यो राजमार्ग पनि कुनै खास वर्गको वर्चस्वमा पर्ने त होइन ? थारू समाजको चिन्ता झ्ल्किन्छ । अब राष्ट्रियतालाई नयाँ ढंगले परिभाषित नगरी र इतिहासलाई जनताको आँखाले नहेरी सुखै छैन । समग्रमा यथास्थिति विरुद्ध थारू जनमतमा जुन हलचल छ, त्यसको निकासप्रति राज्यले आँखा चिम्लिनुहुँदैन ।

पुल बनेपछिका दिनमा सामाजिक–आर्थिक बदलावसँगै कतिपय नयाँ आहान उब्जिन पुगेको छ । कोठियाघाटमा थारू भाषामा सुनियो, ‘मच्छी बेचके, टहकार मुह’ अर्थात् माछा बेचेर अनुहारमा उज्यालो ल्याउने ।
-हिमाल साप्ताहिकबाट

One thought on “‘मच्छी बेचके टहकार मुह’ [विचार]

Leave a Reply

Your email address will not be published. Required fields are marked *