थारु भाषाको एकमात्र दैनिक पत्रिका पहुराको १६ वर्षे यात्रा

थारुवान संबाददाता
थारु भाषाको एकमात्र दैनिक पहुरा दैनिक १६औं वर्षमा प्रवेश गरेको छ । कैलाली जिल्लाको धनगढीमा अवस्थित पहुराले विभिन्न अवरोह पार गर्दै १५औं वर्ष पार गरेको हो । विशेषतः थारु समुदायको राजनीतिक, समाजिक मुद्दा र भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उद्देश्यले पत्रिका प्रकाशनको सुरुवात भएको हो । थारु भाषामै प्रत्रिका प्रकाशन गरेर पत्रिकाले थारु भाषाको संरक्षण र प्रवद्र्धनमा ठूलो योगदानसमेत दिँदै आएको छ ।

थारु समुदायमा पत्रिका निकाल्ने इतिहास हेर्ने हो भने सबैभन्दा पहिले विसं २०५३ सालमा कैलालीका थारु अगुवा जोखन रत्गैँयाले थारु मुक्ति पत्रिका प्रकाशन गर्थे । उनी माओवादी जनयुद्धमा लागेका कारण पत्रिकाले निरन्तरता पाउन सकेन । त्यसपछि बर्दियाका गोपाल दहितको सम्पादकत्वमा मैगर हमार सन्देश साप्ताहिक पत्रिका प्रकाशन भयो । विसं २०५९ सालामा निसराउ साप्ताहिक एक दर्जन प्रकाशनपछि बन्द भयो । विसं २०६० सालमा कैलालीमा पहुरा साप्ताहिक प्रकाशन भयो । आर्थिक अवस्था र जनशक्ति नभएपछि त्यो पनि धेरै दिन चलेन । विसं २०६२ मा हमार पहुरा अर्धसाप्ताहिकको रुपमा प्रकाशन सुरु भयो । प्रकाशनको ६ महिनापछि नै यो पत्रिका दैनिक भयो । तर कमजोर व्यवस्थापनका कारण यो पत्रिका पनि २०६५ सालमा बन्द भयो । यसअघि आर्थिक अवस्थाका कारण बन्द भएको पहुराले पुनर्जन्म पायो । यो पत्रिका २०६६ देखि एकैपटक दैनिकको रुपमा प्रकाशनमा आयो । जुन एकवर्षमै प्रेस काउन्सिलको भाषागत पत्रकारिता पुरस्कारबाट सम्मानित भयो । पहुरा दैनिक प्रेम दहितको सम्पादकत्वमा प्रकाशन हुँदै आएको छ । यो पत्रिकका प्रकाशक स्माइल चौधरी हुन् ।

पहुरा दैनिकको यात्रा
पहुरा दैनिक प्रकाशनका धेरै आरोह अवरोहहरु छन् । सम्पादक प्रेम दहितले सुरुवाती दिनमा महिनाको पाँच सयमात्र लिएर पनि काम गरेको बताए । विस्तारै यसले व्यवसायिकता लिँदै गएपछि मानिसहरुको रुची पहुरामा आएको प्रेम सम्झिन्छन् । कैलालीसहित थरुहट जिल्लामा पुग्ने यो पत्रिकाले वार्षिक २० लाख बढीको व्यापार गर्छ । तर यति रकमले कागज, छपाइ र तलब दिन पुग्छ त ? प्रेम दहित भन्छन्, पहिलेभन्दा अहिले धेरै राम्रो भएको छ । यही पत्रिकाले १० जना पत्रकारले जागिर पाएका छन् । बेलैमा तलब खान पाएको छ । तर सरकारले तोकेको न्युनतम पारिश्रमिक अझै दिन सकेको छैन ।

आम्दानी कसरी उठ्छ भन्नेबारे दहित भन्छन्, ‘प्रेस काउन्सिलको बर्गीकरणमा पहुरा क मा पर्छ । त्यहाँबाट केही रकम अनुदान आउँछ । बाँकी विज्ञापनहरु उठाउँछौं । गैरसमुदायका व्यक्तिहरुले विज्ञापन दिन्छन् । आफ्नै समुदायका व्यक्तिहरुले दिँदैनन् ।’ जसलाई धेरै सहयोग गर्छौं, उसले पनि शुभकामना विज्ञापन दिनसमेत हिचकिचाउँछन् । उनले थारु नेताहरुबाट कुनै खालको सहयोग नआएको बताए ।

सबैले पत्रिकालाई राम्रो भनेर सुनाउँछन् । यो त थारुको पत्रिका भन्छन् । यसले हाम्रो आवाज बोल्न भन्छन् । तर सहयोग गर्नपरे चार पाइला पछि हट्नेगरेको दहित सम्झिन्छन् ।

उनले यो पत्रिकालाई अझै पनि राम्रो र नमूना बनाउन सकिने बताए । त्यसका लागि थारु समुदायको सबै पक्षबाट सहयोग हुन जरुरी छ । सरकारले पनि भाषिक पत्रिकालाई अन्यभन्दा फरक तरिकाले हेर्नुपर्ने उनको तर्क छ । जातजातिको भाषा संरक्षण गर्ने ठूलो कार्यभार भाषिक पत्रिकाले गर्छ, जातजातिको भाषा संरक्षण गर्ने जिम्मेवारी पनि राज्यको भएकाले भाषिक पत्रिकालाई अनुदानको माध्यमबाट होस् या लोक कल्याणकारिणी विज्ञापन उपलब्ध गराएर होस्, त्यसको संरक्षण, प्रवद्र्धन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *