जेलभित्र कोचिएका ‘रेशम दाइ’

मदन चौधरी।
१८ असार २०७५ । दिल्लीबजारस्थित करागार । मलाई भिआइपीहरुलाई राखिएको ठाउँतिर पठाएँ । अगाडि बढ्दैगर्दा मैले कहलिएका नामुद डन, हत्यारा, अपहरणकारीहरु देखेँ, जो अदालतले तोकेका सजाय काटिरहेका छन् । सोच्दा भयानक लागेपनि ती सबैजना शालीन, भलादमी देखिन्थे ।

उनीहरुको बीचबाट सम्बन्धित ठाउँमा पुगेर मैले भेट्ने व्यक्तिको चिट दिएँ । उनले ‘माननीय रेशम दाइलाई पठाइदेउ’ भनी निर्देशन दिए । केहीछिनमै रेशम दाइ आउनुभयो । मलाई देखेर उहाँको मुहार उज्यालो भएको चाल पाएँ । जेलमा उहाँसँग मेरो दोस्रो भेट थियो ।
पहिलो भेटमा उहाँले गुनासो पोख्नुभएको थियो, ‘परदेशका मान्छे भेट्न आउँछन् । काठमाडौंमा भएका आफ्नै थारु दाजुभाइहरु आउँदैनन् ।’ मलाई नरमाइलो लाग्यो । म उहाँको अगाडि नतमस्क भएँ । चुपचाप थिएँ । रेशम दाइ भन्दैथिए, ‘बरु लिम्बु, मगर, तामाङ, गुरुङहरु भेट्न आउँछन् । खाने, लाउने कोशेली ल्याइदिन्छन् । हामी जसका लागि लड्दैछौं, त्यही समुदायका व्यक्तिहरु आउँदैनन् । नमजा लाग्छ भाइ ।’ उहाँका अनुसार आफ्नै पार्टीका राजेन्द्र महतोबाहेक कुनै नेता भेट्न आएका छैनन् । त्यही भएर म फेरि भेट्न गएँ । मेरो केही समय रेशम दाइलाई दिएर उहाँको मलिन अनुहारमा उज्यालो दिने प्रयास गरे ।

२०७२ भदौ ७ गतेको टीकापुर घटनालगत्तै रेशम दाइलाई ‘सिध्यादिने आदेश’ आयो । आफू बाँच्नलाई भएपनि निर्वासन जीवन जीउन बाध्य भए रेशम दाइ । योबीचमा उहाँसँग म निरन्तर फोन सम्पर्कमा थिएँ । रेशम दाइले हरेक पटक ‘म निर्दोष मान्छेलाई फसायो’ भन्नुहुन्थ्यो । उहाँ कलाकार, पत्रकार र त्यो क्षेत्रको उद्यमी, जहाँ आफ्नै ठाउँमा थारुहरु पछि पारिएका छन् । सबै क्षेत्रबाट राज्यलाई योगदान दिएका मलाई अपराधिको बिल्ला भिराइएको भन्नुहुन्थ्यो । रेशम दाइको कुरा सुन्दा मन कुडिन्थ्यो । उहाँको कुरा असह्य भएर म रेशम दाइलाई भेट्न एकपटक भारत नै पुगे । टीकापुर पुगेर अवशेषको रुपमा रहेको फूलवारी रिसोर्ट, फूलवारी एफएम हेर्दा साँच्चै मन बेचैन भएको थियो । जीवनमा कमाएको सर्वस्व गुम्दाको पीडा रेशम दाइले पोख्नेगरेको टीकापुर पुगेसी थाहा पाएँ ।

कैलाली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा चुनावमा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट रेशम दाइ करिब २१ हजार मतान्तरले विजयी हुनुभयो । उहाँले ३४ हजार ३४१ मत ल्याएर टीकापुरको म्यान्डेट पाउनुभएको थियो । रेशम दाइले टीकापुरको म्यान्डेट पाएपछि बाम नेताहरुको निद हराम भयो । स्थानीय चुनावमा थारु थारु भिडाएर कांग्रेसी एमालेहरु स्थानीय तह कब्जा गर्न सफल भएको थियो । तर प्रदेश, प्रतिनिधसभा चुनावमा थारुले आफ्नो एकता देखाए । मुख्य कुरा थारुमाथि लगाइको अपराधको प्रमाण थियो रेशम दाइको विजय । तर रेशम दाइलाई कुनै पनि हालतमा सांसद हैसियत दिलाउन नहुने भन्दै सुदूरपश्चिमका तथाकथित ब्राह्मण नेताहरुले चलखेल गर्नथाले । वारेसनामार्फत् उम्मेदवारी दिएका रेशम दाइले चुनाव जिते, तर त्यही वारेसलाई जितको प्रमाणपत्र थमाइएन । जबकि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वारेसनामार्फत् नै विजयी प्रमाण पत्र बुझेका थिए । रेशम दाइविरुद्ध चलखेलमा उत्रिएका अखण्डे नेताहरु अन्ततः सर्वोच्च अदालतबाट आदेश झिकाउन पनि सफल भए । सर्वोच्चले ७ पुस २०७४ मा अदालतमा उपस्थित हुन आदेश दियो । फरारसूचीमै रहेका बामसांसद माननीय नवराज सिलवाललाई त्यस्तो कुनै आदेश आएन । उनी माधव नेपालको गाडीमा बसेर संसद छिरे, सांसदको शपथ लिए । कानुनको सम्मान गर्दै अदालत उपस्थित भएका हाम्रा रेशम दाइ जेलमा कोचिए ।

टीकापुर घटना राजनीतिक मुद्दा हो । तसर्थ राजनीतिकरुपले नै यसको छिनोफानो हुनुपर्ने तर्क थारु मधेसीहरुले गर्दै आएको छ । चुनावका बेला राजपाले पनि यो मुद्दालाई प्रमुख मुद्दा मानेको थियो । तर रेशम दाइले गिरफतारी दिएपछि राजपाले पनि आफूले उठाएको चुनावी एजेन्डा विर्सिएको छ । टीकापुरको मत वा भनौं थारुको मत नआएको भए राजपा राष्ट्रिय दल बन्ने थिएन । राजपाका अध्यक्ष मण्डलका माननीयहरुले यो कुरा भुल्ने प्रयास गरे पक्कै पनि अगामी दिनमा थारुहरुले अर्कै निर्णय गर्नसक्नेछन् । तसर्थ थारु सेन्टिमेन्ट लिने हो भने राजपाले थारुका मुद्दा, टीकापुरको मुद्दालाई विशेषरुपमा लिनैपर्छ ।

त्यसो त सरकारले नै टीकापुर घटनाका प्रतिवेदनहरु लुकाएर थारुहरुमाथि विभेद गरेको छ । सरकारले नै गठन गरेको विभिन्न समितिले पनि रेशम दाइ टीकापुर घटनाका प्रमुख योजनाकार नभएको उल्लेख गरेको छ । तैपनि प्रहरीले उनलाई अहिलेसम्म प्रमुख योजनाकार भनी प्रचार गरिनैरहेको छ । सरकारले अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठन गरेको समिति र सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा बनाएको उच्चस्तरीय आयोगको प्रतिवेदनमा पनि रेशम चौधरी निर्दोष भएको उल्लेख छ । तर सरकारले थारुलाई जसरी पनि दोषी बनाउन यी प्रतिवेदनहरु लुकाएको स्थिति छ । फाटफुट थारु मधेसीले यसको विरोध गरेपनि त्यसविरुद्ध ठोस निर्णय लिन सकेको छैन । त्यसविरुद्ध उत्रिन सकेको छैन ।

जेलभित्रको दुई घन्टे बसाइमा रेशम दाइसँग दुःख सुखका कुराकानी भयो । जेलभित्रको बसाइबारे सोध्दा उहाँले नम्र भएर भन्नुभयो, ‘सर्वसाधारण कैदीजस्तै छु । लाइन लागेर खाना खान्छु, आफ्नो भाँडा आफैँ माझ्छु । लुगा आफैँ धुन्छु । साथीभाइ आएका बेला रमाइलो लाग्छ, यही बसेर गफ गर्छु । नआएको दिन अध्ययन गर्छु, केही कुरा लेख्ने प्रयास गर्छु ।’ रेशम दाइले अर्को किताब लेख्न सुरु गरिसकेका रहेछन् । उहाँले टीकापुरको यथार्थबारे चिरफार नामक किताब प्रकाशन गरेका छन्, जसको अंग्रेजी संस्करण पनि छिट्टै आउँदैछ । अब आउने किताबबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘आदिवासी जनजाति र थारुहरुलाई संघीयता किन आवश्यक छ भन्नेबारे लेख्दैछु । उनीहरुको अधिकार कसरी खोसियो । आफ्नै समुदाय बाहुल्य रहेको ठाउँमा उनीहरु कसरी अल्पमतमा पारिए । अब कसरी आफ्नो अधिकार सुनिश्चित गर्नसकिन्छ भन्ने नै किताबको मूल विषय हुनेछ ।’ उहाँको कुरा सुनेर खुसी भएँ । जेल बसाइले कम्तीमा उहाँका कलम त निखारिए । हुन त उहाँले पत्रकारिता जगतमा आफ्नो छुट्टै छाप उबेलै छोडेका छन् ।

छुट्नेबेला उहाँको अनुहार फेरि मलिन हुँदैथियो । दाइ बाहिर केही सन्देश छ ? भनेर मैले सोधे । रेशम दाइ आतिएका छैनन, थोरै पनि डगमगाएका छैनन्, न शत्रुसँग हरेस नै खाएका छन् । मलाई थाहा छ, थारुहरु अहिले गुमनाम छन्, तितरवितर भएका छन् । उनीहरुलाई गोलबद्ध गर्ने अभियान अबका युवाहरुले गर्नुपर्छ । हामीले आफ्नो नेता चुन्न सकेनौं । जसलाई विश्वास गर्यौं, उनीहरुले क्रमशः हामीलाई धोका दिँदै गए । त्यस्ता धोकेवाज नेताहरुको राजनीति पसल हामीले सधैंका लागि बन्द गरिदिनुपर्छ । म निस्किन पाउँला नपाउँला, तर मलगायत जेलबन्दी थारुहरु टीकापुर घटनाको दोषी होइनन् । बाहिर आएर मेरो राजनीति खाइदेला कि भनेर मलाई फसाइएको छ । यो कुरा सबै थारुले बुझ्न जरुरी छ । त्यसैले युवाहरुले अबको नेतृत्व लिनुहोस्, युवाहरु देशका कर्णधार हुन्, हतियार हुन् । जस्तोसुकै लडाइँ युवाहरु लड्न सक्छन् । आफ्नो अधिकारको लागि, आफ्नो समुदायको लागि देशका कर्णधार थारुहरु हतियारको रुपमा अगाडि बढून्, मेरो यही कामना छ ।

अन्त्यमा, रेशम दाइले यी कुराहरु भन्दैगर्दा मैले थारु युवाहरुलाई सम्झिएँ । को थारु युवा नेता छन्, जसले समग्र युवाको नेतृत्व गर्नसक्छन् ? कुन थारु युवा संस्था छ, जसले समग्र समुदायलाई डोर्याउनसक्छ ? थारु विद्यार्थी समाज ? थारु विद्यार्थी सभा ? थारु युवा सभा ? कि थारु कल्याणकारिणी सभा ? जसले आफूलाई थारुहरुको छाता संगठन भनेर परिचय गर्छ । जसले देशकै सबैभन्दा पुरानो अझ कांग्रेसभन्दा पनि पुरानो संस्था भनेर गर्व गर्छ ।
नाम लिइएका यी सबै संस्थाहरु भित्रिरुपमा खोक्रो भइसकेका छन् । यी संस्थाका अगुवाहरुसँग समुदाय हाँक्ने न कुनै भिजन छ, न कुनै सामाजिक, राजनीतिक एजेन्ड नै । उसो भए थारु समुदायलाई कसले नेतृत्व गर्नसक्छ ? यही प्रश्न मनमा खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *