इतिहास : मधेसमा जन्मेका थिएनन् बुद्ध

महेश चौधरी।

‘नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि शान्तिभूमि तराई, पहाड र हिमाल’।

तसर्थ, भारतमा निर्वासित जीवन बिताई रहेका दलाई लामाको अभिव्यक्ति–गौतम् बुद्ध मधेसमा जन्मेका हुन् भन्ने भनाईले सबै नेपालीलाई स्तब्ध तुल्याएको छ । अहिले सबै नेपालीहरूले नेपालको तराई भागलाई मधेस हो भनेर स्वीकार गरिरहेको अवस्था छैन । तराई÷मधेस पर्यायवाची शब्द पनि होइन ।

‘मधेस’ शब्दले कुनै पनि महादेश, देश र प्रायद्विपको मध्य भागलाई बुझाउँछ । नेपाल दुई ठूला विशाल देश चीन र भारत बीचको मध्य भाग हो । नेपालको मधेश काठमान्डौं हो, दक्षिणको तराई भाग होइन । अहिले भारतको मध्य भाग (मधेस) मध्य प्रदेश हो । भित्री मधेस, भित्री तराई, दून प्रदेश र माडी भनेको कुनै पनि देशभित्रको चारैतिर पहाडले घेरिएको सम्मो फाँटलाई बुझाउने भएकाले मधेस शब्दको अगाडि विशेषण ‘भित्र’प्रयोग गरिएको हो । तसर्थ, हामी हिमाल, पहाड, तराई, भित्री मधेस भनौ न कि हिमाल, पहाड, तराई-मधेस ।

कुनै ठाउँमा मधेसी समुदाय बसोवास गर्दैमा मधेस प्रदेश बन्ने भए संसारमा अमेरिका, बेलायतलगायत कतिपय देशमा मधेस प्रदेश बनिसक्ने थियो, नेपालमा मात्र मधेस प्रदेश किन चाहियो ?
कानुनविद् प्रकाश वस्तीले लेखेको पुस्तक ‘हाम्रो कानुनी इतिहासका केही झाँकीहरू, २०६३ः५१–५६’मा एड्रिन सेभरको पुस्तक ‘नेपाल अन्डर द रानाज्’ र ‘आसपेक्ट अफ मोडर्न नेप्लिज हिस्ट्री’ त्रिरत्न मानन्धरको ‘सम आस्पेक्ट अफ दि राना रुल इन नेपाल’ , भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल’को भाग ५ र हड्सनको पुस्तकलाई उद्धृत गरेर उल्लेख गरेका छन्– ‘पूर्व राणाकालमा आठ तराई अदालत थियो ।

जंगबहादुर जबराको पालामा पनि आठ तराई अदालत थियो । यसैगरी २० मार्च १९२० मा देवशमशेरले चार तराई गोश्वारा गठन गरेका थिए । पछि चन्द्रशमशेरको पालामा तराई वडा हाकिम कायम गरिएको थियो र तराईका सबै जिल्लाहरूमा रजिस्टे«सन अड्डाहरू खोलिएको थियो’ भनेर आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

यस लेखका लेखकको २०६४ सालमा प्रकाशित ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’ पुस्तकमा ‘नेपालमा मधेसीहरू छन् । तर, मधेस छैन । मधेस र मधेसी भन्ने कुरा एउटा सेन्टिमेन्ट मात्र हो । समय बित्दै जाँदा यो कुरा आपसेआप स्पष्ट हुँदै जानेछ’ उल्लेख गरेपछि मधेसी समुदायबाट त्यस भनाईलाई लिएर लेखकको ठूलो आलोचना गरिएको थियो । जसको सामना स्वयं लेखकलाई गर्नुपरेको थियो । भारतीय इतिहासविद् रोमिला थापरले आफ्नो पुस्तक ‘दि पेन्गुइन हिस्ट्री अफ अर्ली इन्डिया’मा भारतीय उपमहाद्विपमा घुमन्ते कविला अवस्थादेखि सहर विकासको अवस्थासम्मको समाज विकासबारे विस्तृत रूपमा चित्रण गरेकी छन् । तराईमा धेरै जनकहरू र धेरै बुद्घहरू जन्मेका छन् ।

एससी राय चौधरी अनुसार उत्तर वैदिक काल (ई.पू. १,०००–६००)मा वैदिक आर्यहरू गंगा नदी भएर प्रयागभन्दा पूर्व बनारससम्म आउनुभन्दा पहिले बुद्घकालीन भारतीय उपमहाद्विपमा १६ महाजनपदहरू यहाँका आदिवासीहरूका जनपदहरू थिए । ई.पू. पाँचौ शताब्दीसम्म नेपाल तराईमा कविला गणनायक जनकहरू र कविला गण नायक शाक्यहरूका दुइटा ठूला–ठूला कविला गणराज्यहरू थिए ।

‘हिमवत्खण्डः’ (स्कन्दपुराणमध्ये, २०१३ :१६१ ) मा ‘शाक्यराज्य’ यसै हिमवतखण्डमा पर्छ भनेर उल्लेख गरिएकोे छ । पाली भाषामा लिखित ‘महावंश’का दुई जना अलग–अलग अनुवादक भदंत आनन्द कौशल्यान, सन् २००९ः १६–२९) र स्वामी द्वारिकादत्तशास्त्री) १९९६ः२०–२६) अनुसार कपिल, अयोध्या, वाराणशी, कपिलवस्तु, हस्तिनापुर, एकचच्छु , वजिरा, मथुरा, कौशम्बी, मिथिला, राजगृह (जिल्ला पटना, विहार) , तक्षशिला (बिहार), कुशीनारा ( जिल्ला गोरखपुर, उत्तर प्रदेश), प्राचीन विदेहको राजधानी सम्भवतः वर्तमान जनकपुर, (नेपाल तराई) आदि धेरै स्थानहरूमा यहाँका आदिवासी महासम्मत (महासामन्त) वंशका राजाहरूले शासन गरेको विवरण प्रस्तुत गरेका छन् । कपिलवस्तु र विदेहमा हजारौ राजाहरूले शासन गरेका थिए । गौतम् बुद्घ, विम्बिसार, चन्द्रगुप्त मौर्य, अशोक सम्राट, जनकहरू यसै महासम्मत राजाका वंशज थिए।

एसके श्रीवास्तवले आफ्नो पुस्तक ‘द थारुज्, अ स्टडी इन कल्चरल डाइनामीक्स’मा सन् १८१७ को अवध गजेटीयर्समा थारूबारे उल्लेख गरिएको कुरालाई यसरी उद्धृत गरेका छन्– थारू शब्द ठहरेबाट लिइएको छ, जसको अर्थ हुन्छ उनीहरू आफ्नो घुमन्ते अवस्थादेखि कृषि युगसम्मको संकटपूर्ण यात्रा पार गरेर तराईको जंगलमा रुके । जनगणना रिपोर्टमा ठहरुवा शब्द उल्लेख गरिएको छ । उनीहरू तराईको सिमसार ओसिलो क्षेत्रमा कहिलेदेखि बसोवास गर्न थालेका हुन् भन्न गाह््रो छ । अमरकोषका टीकाकार भरतको धारणा छ– शाक एक प्रकारको सालको रुख हो । शाक अथवा सालको जंगलमा बसोबास गर्ने इक्ष्वाकु वंशी राजालाई शाक्य भन्न थालियो । पछि उनका सन्तानहरूलाई समेत शाक्य भन्न थालियो ।

इतिहासविद् डा. रामनिवास पाण्डेले आफ्नो पुस्तक ‘मेकिङ अफ मोडर्न नेपाल, १९९७ः८६–८८’ मा थारूहरू नेपाल तराईमा हिंस्रक जंगली जनावरसँग संघर्ष गरेर र औलोलाई पचाएर यस क्षेत्रमा आदिम अवस्थादेखि बसोबास गर्दै आएका तराईका सबैभन्दा पुराना र मूल वासिन्दा हुन् । गौतम् बुद्ध थारू कुलमा जन्म लिएका थिएनन् भन्न गाह्रो छ । शाक्य र कोलिएहरू थारूहरूका पूर्वजहरू हुन् । लुम्बिनी क्षेत्रमा जति पनि गुम्बा, स्तूप र स्तम्भहरूका भग्नावशेषहरू निर्माण गरिएका छन् । ती सबै धरोहरहरू सम्राट अशोक र कनिष्कका पहलमा थारूका पूर्वजहरूले निर्माण गरेका हुन्।

२००७ साल राणा शासनकालमा छापिएको राल्फ लिली टर्नरद्वारा लिखित ‘डिसनरी अफ दि नेपाली ल्याङवेज, २००७–४९१’मा ‘मधेस’ भनेको उत्तर हिमालय, दक्षिण विन्ध्याचल पर्वत, पश्चिम राजस्थानको राजपुताना र पूर्व प्रयाग–इलाहावादबीचको दिल्ली वरपरको भागलाई मधेस (मध्य देश) भन्छन् । यसैगरि ‘मधेसी’ भनेको मधेसमा बसोवास गर्ने मानिसलाई बुझाउँछ भनेर उल्लेख गरेका छन् । धर्मशास्त्रको युगमा हिमालयको दक्षिणी सिमाना गंगा नदीसम्म थियो । भारतको प्रयाग अथवा इलाहावादभन्दा नेपाल सुदूर उत्तर–पूर्वमा पर्ने भएकाले नेपाल तराईको भूभाग मधेससँग कुनै प्रसंग राख्दैन भनेर बुझ्न सकिन्छ ।

तसर्थ, नेपालका मधेसी समुदाय भारतको राजधानी दिल्ली वरपर क्षेत्रबाट नेपाल तराईमा बसाई सरी आएका वासिन्दा हुन् भन्ने अर्थ लाग्छ । तर सीके लालले ‘नन् रेजिडेन्ट इण्डियन्स इन नेपाल’, द काठमान्डौं पोस्ट, २९ नोभेम्बर, सन् १९९८, भाल्युम ३ न., १५ ,याहु रिसर्च सिनासमा यसबारे आफ्नो अलि फरक विचार व्यक्त गरेका छन्– २० औं शताब्दीमा नेपालको पूर्वी तराईमा व्यापकरूपमा वन फँडानी हुन थाल्यो र त्यही समयमा भारतको बंगाल, विहार र उत्तर प्रदेशमा ठूलो अनिकाल प¥यो अनि ती भारतको बंगाल, विहार र उत्तर प्रदेशका मानिसहरू तुलनात्मक कठिनाईका बाबजुद नेपाल तराईमा आएर बसे र पछि यहाँका स्थानीय मानिसहरूले ती भारतको बंगाल, विहार र उत्तर प्रदेशबाट बसाई सरी आउने समुदायलाई मधेसी -मध्य देशका मानिस भन्न थाले भनेर उल्लेख गरेका छन् ।

स्मरण रहोस्, १५ जुलाई १९८० को भारतीय अफिसियल स्रोतले रिपोर्ट गरेको थियो कि केही आफ्नो एक करोड ९ लाख भारतीयहरू देश बाहिर छन्, जसमध्ये ३४.७ प्रतिशत अर्थात् ३८ लाख भारतीयहरू नेपालमा छन् (भाइम सन्डे स्टेसम्यान, ६ जुन १९८२ एन्ड द इकोनोमिक टाइम, भोल्युम १०, नम्बर १४३, १६ अगस्त १९८२)

उपेन्द्र यादवले आफूलाई ‘मधेस’ आन्दोलनका मसिहा ठान्छन् । उनले आफ्नो पुस्तक ‘मधेस और मधेसी ः समस्या और समाधान, सन् २००५’ मा ‘मनुस्मृति’लाई मधेसको आधार मानेका छन् । धर्मशास्त्रको युगमा वैदिक आर्यहरूको मूल कानुन भनेर परिचित सुरेन्द्रनाथ सक्सेनाद्वारा लिखित ‘मनुस्मृति, २००८ः ४३’को द्वितीय अध्यायको श्लोक २३ मा उल्लेख गरिएको छ –
हिमवद्विन्ध्ययोर्मध्ये यत्प्राग्विनशनादपी ।
प्रत्यगेव प्रयागाच्च मध्यदेशः प्रकीर्तितः ।।२३।।

अर्थात् हिमालय र विन्ध्याचल पर्वतबीच, पश्चिम सरस्वती नदीभन्दा पूर्वमा तथा प्रयाग (इलाहावाद) भन्दा पश्चिममा जुन देशस्थित छ त्यसको नाम ‘मध्य देश’ हो । अर्थात् हालको दिल्ली वरपरको भागलाई मधेस भनिन्छ । अमरकोष, पौराणिक भूवन कोष, सतपथ–ब्राह्मण आदि धेरै हिन्दू ग्रन्थले मध्य देशको पूर्वी सिमाना प्रयाग (इलाहावाद)लाई मानेका छन् ।

जयप्रकाश गुप्ताले पनि आफूलाई मधेस आन्दोलनका दोस्रा मसिहा ठान्छन् । उनले आफ्नो पुस्तक ‘मधेस विद्रोह, २०६६ :३१–३३’मा आफ्नो धारणा यसरी व्यक्त गरेका छन्– ‘मधेसीहरू मधेसका अदिवावासी हुन् ।’ अगाडि उनी सोही पुस्तकमा डा. बाबुराम भट्टराईको पुस्तक ‘राजनीतिक अर्थशास्त्रको आँखीझ्यालबाट’ र प्रा. डिल्लीराज दाहालको धारणालाई यसरी उद्घृत गरेका छन्– ‘सुुरुमा अष्ट्रिक र द्रवीड मूलका मानिसहरू मात्र नेपाल तराईमा बस्थे, पछि तराई नेपालको केन्द्रीय सत्तामा गाभिएपछि भारतका छिमेकी राज्यहरूबाट आएका मानिसहरू मिसिएर बस्न थालेका हुन्’ (पृ.२४८)। ‘यसैगरी तराईका हिन्दू जात समूह भित्रकाहरूलाई मात्र मधेसी मान्न सकिने–प्रा. डिल्लीराज दाहाल, त्रिवि सिनास पेपर, २००५) धारणा रहेको पनि देखिन्छ ।’ गुप्ताको धारणा अनुसार नेपालका मधेसीहरू भारतको दिल्ली वरपर क्षेत्रबाट नेपालमा बसाई सरि आएका हुन् । नेपाल तराईका आदिवासीहरू मधेसी होइनन् । सोही पुस्तकको पृ. ३३ मा उनी लेख्छन् –‘प्राचीनकालमा यस क्षेत्रमा मिथिला, विदेह, तिरहुत, शाक्य, कोलिया, कोचिला आदि प्रसिद्घ जनपद र गणराज्यहरू थिए ।

मिथिला राज्यको राजधानी यसैको एक उदाहरण हुन् । यसैगरी गौतम बुद्घको जन्म मध्य तराईको लुम्बिनी क्षेत्रमा भएकोबाट पनि यस क्षेत्रमा तिनताकका सशक्त राज्यहरू रहेको तथ्य प्रमाणित छ ।’ गुप्ताका अनुसार वैदिक आर्यहरूको नेपालको तराई क्षेत्रमा आगमन पूर्व यस क्षेत्रमा ठुल्ठूला प्राचीन सभ्यताहरू थिए । गौतम् बुद्घ मध्य तराईमा जन्मेका हुन्, मधेसमा होइनन् ।विद्याधर महाजनले आफ्नो पुस्तक ‘प्राचीन भारतका इतिहास, सन् २००८ : १२०’ मा उल्लेख गरेका छन्– ‘मानव धर्मशास्त्रको भौगोलिक दृष्टिकोण विन्ध्य पर्वत भन्दा उत्तर तर्फमात्र सीमित थियो । आर्य–संस्कृति चार प्रदेशमा फैलिएको थियो : ब्रह्मावर्त, ब्रह्मर्षिदेश, मध्यदेश र आर्यावर्त ।

सरस्वती र दृशद्वतीबीचको क्षेत्रलाई ब्रह्मावर्त भनिन्थ्यो । कुरुक्षेत्र, पंचाल, मत्स्य र शूरसेन राज्यहरूलाई ब्रह्मर्षि देश भनिन्थ्यो । हिमालय तथा विन्ध्य र सरस्वती तथा प्रयागबीचको क्षेत्रलाई मध्यदेश भनिन्थ्यो । प्रयागभन्दा पूर्व हिमालयको तराई अर्थात् गंगा नदीभन्दा दक्षिण दुई समुद्र (बंगालको खाडी र अर्ब सागर)को मध्य भागलाई आर्यावर्त भनिन्थ्यो ।’ त्यतिखेर हिमालयको तराईमा आर्यहरूको बसोबास थियो । तर, ती आर्यहरू वैदिक आर्य थिएनन् । बौध्दवांगमयमा क्लेशहरूबाट सर्वथा टाढा रहने अथवा निर्मल चित्त भएका व्यक्तिलाई आर्य भन्छन् । बौध्दमार्गीहरू बसोबास गर्ने प्रयागभन्दा पूर्व हिमालयको तराईमा महासम्मत राजवंशका आर्य राजाहरूको मूल बासस्थान थियो।

हिमालयको दक्षिणी सिमाना कहाँसम्म पर्छ भन्नेबारे विभिन्न विद्वानहरूले आफ्नो विचार यसरी व्यक्त गरेका छन् । भारतका प्रख्यात ईतिहासविद्हरू डा. आरसी मजुमदार, डा. एचसी राय चौधरी र डा. कालीकिनकर दत्तद्वारा संयुक्त रूपमा लिखित प्रख्यात र आधिकारिक प्राचीन भारतको इतिहास ‘एन एडभान्स हिस्ट्री अफ इन्डिया’ (सन् २००९ः ४–५)मा– ‘पुराणहरूमा उत्तरको पर्वतीय देशलाई ‘ पर्वताश्रायण’ भनेर उल्लेख गरेको पाइन्छ, जसको विस्तार तराईको सिमसार (दलदल) जंगल भएको भाग (गंगा नदी)देखि उत्तरतर्फको हिमालयका चुचुरासम्मका सम्पूर्ण भागहरू यस पर्वताश्रायणमा समावेश गरिएको छ ।

पर्वताश्रायणमा पर्ने तराई प्रदेशले कश्मीर, काँगडा, टेहरी, कुमायू, नेपाल, सिक्किम र भूटानका पर्वतीय देशहरूलाई कृषिका लागि मलिलो फाँट प्रदान गरेको छ । उपरोक्त सम्पूर्ण पर्वतीय देशहरूलाई हिमालय भनेर चिन्ने तथा बुझ्ने गरिन्छ भनेर उल्लेख गरेका छन् ।’यही विचार प्राचीन भारतका इतिहारकारहरू सत्यकेतु विद्यालंकार – प्राचीन भारत, २००८ : १२, पुरुषोत्तम लाल भार्गव–प्राचीन भारत का इतिहास, १९९२ :११ , विडी महाजन, प्राचीन भारत का इतिहास, सन् २००८ :१२०, रमाशंकर त्रिपाठी –प्राचीन भारत का इतिहास, २००७ :६३, कौलेश्वर राय –प्राचीन भारत, २००७ :११६, कौशलेन्द्र श्रीवास्तव, रामग्राम का ऐतिहासिक परिचय, १९९८, गजेटीयर्स यमुना लाल –प्राचीन भारत में बौद्घ धर्म प्रचारक, २००९ः६८, जिपी सिंह, रिसर्चेज इन्टु द हिस्ट्री एन्ड सिभलाइजेसन अफ द किराताज, २००८ः ३७९, प्रदीप शालिग्राम मेश्राम, महाभिनियक्रमण २००८ : १५, विनोद चन्द्रपाण्डे, केसिंह, एनआर सेठी र आरएन मुखर्जी, प्राचीन भारत गाइड, २००५ :५ , मधुकर पिपलायन, लुम्बिनी, २०१०ः२० आदि समेतको धारणा पनि यही छ ।

चिनियाँ यात्री ह्वयनसाङले महावंशको पृ. ५५लाई उद्धृत गर्दै ‘नेपालको शाक्य राज्यमा शाक्यहरूले जब कोशल नरेश विरुधवलाई दासीपुत्र भनेर उनको निन्दा गरेका थिए, तब उनले आफ्नो अपमानको प्रतिशोध स्वरूप शाक्य राज्यमाथि भारी शक्तिले हमला गरेपछि त्यहाँका केहि शाक्यहरू भागेर हिमवन्तो जंगलमा आश्रय लिन पुगे’ भनेर आफ्नो यात्रा विवरणमा उल्लेख गरेका छन्।

सन् १८१६ को सुगौली सन्धी पूर्व नेपालको सिमाना त्रिभूक्ति, विदेहसम्म थियो अर्थात् हिमालयको सिमाना गंगा नदीसम्म थियो । आजभन्दा १० हजार वर्षपहिले चौथो अन्तिम हिमयुग ‘वुर्म’ समाप्त भएर गर्मी युग सुुरु भयो । गर्मीले गर्दा हिम पग्लिन थाल्यो र हिम पग्लेर सिमसार, दलदल भाग बन्न पुग्यो । पर्सियन (फारसी) भाषामा उष्ण–आद्र हावापानी भएको सिमसार, दलदल भागलाई ‘तराई’ भनिन्छ । पछि हिमवन्त खण्डमा पर्ने तराईलाई ‘हिमालयको तराई’ भन्न थालियो । यही सिमसार दलदल भागमा थारूहरू बसोबास गर्ने भएकाले टर्नरले थारूहरूलाई भ्यागुता भनेका छन् ।

त्रिपिटकाचार्य डा. भिक्खु धर्म रक्षितले आफ्नो पुस्तक ‘कुशीनगर का इतिहास, २००७ :१५–’मा उल्लेख गरे अनुसार– ‘दक्षिणमा काशीराष्ट्र र उत्तरमा हिमालयको पर्वतीय भागसम्म मल्ल–जनपदको सिमाना थियो ।’ मल्ल जनपदका मानिसहरू मल्ल युद्घमा निपूर्ण भएको हुनाले शाक्य जनपदलाई मल्ल जनपद भनियो । आचार्य जुगल किशोर बौद्धले आफ्नो पुस्तक ‘कुसीनारा, २००८’ मा उल्लेख गरेका छन्, ‘भगवान बुद्धको महापरिनिर्वाण– स्थल वर्तमान कुशीनगर, उत्तर प्रदेशको गोरखपुर जनपदभन्दा ३२ मील पूर्वमा र देवरियाभन्दा २२ मील उत्तरमा छ । भगवान बुद्धको समयमा यसलाई कुसीनारा भनिन्थ्यो । त्यसअघि यो ‘कुशावती’को नामले प्रसिद्ध थियो ।

कुसीनाराका प्राचीन मल्ल गणराज्यको राजधानी दुइटा थियो । एउटाको राजधानी पावा र दोस्रोको कुसीनारा थियो । …मल्लहरूको जनपदमा शाल उपवन थियो । मल्ल राष्ट्र वज्जी गणतन्त्र र कोशल राज्यको बीचमा थियो ।’ ठाकुर ईश्वरसिंह मडाड, राजपूत वंशावली, २००८ः६९ मा लेख्छन् – बौद्घ ग्रन्थ अनुसार मौर्य वंशको प्रादुभाव शाक्य वंशबाट भयो । यसको वर्णन हामीलाई ‘पाली अट्ट कथा’मा पाइन्छ । महावंशका टीकाकारहरूले समेत यसै मतलाई समर्थन गरेका छन् । त्यसमा वर्णन गरिएको छ कि चन्द्रगुप्त मौर्य कपिलवस्तु क्षेत्रबाट हिमवन्त प्रदेशको पिप्ली वन (मगध)मा गएर बसोबास गर्न थाले । तसर्थ, मल्ल राष्ट्र, वज्जी गणतन्त्र, कोशल र मगध राज्यहरू हिमालयको तराईमा थिए, न कि मधेशमा।

शाक्य राज्य कपिलवस्तुबारे विद्वानहरूवीच मत भिन्नता रहेको पाइन्छ । भिमसेन्ट ए. स्मिथले सन् १९०० मा कपिलवस्तुबारे आफ्नो धारणा यसरी व्यक्त गरेका छन् – सुरुको शाक्य राज्य कपिलवस्तु नेपालमा थियो । तर, जब कोशल नरेश विरुधवले शाक्य राज्यमाथि भारी सैन्य बलसहित हमला गरेपछि कपिलवस्तु राज्यका शाक्यहरू त्यहाँबाट भागेपछि हजारौ वर्षसम्म कपिलवस्तु राज्य निर्जन रह्यो र पछि विरुधवले शाक्य राजधानीलाई नेपालबाट पिपरहवा (उत्तर प्रदेश भारत)मा सारेका हुन् ।

स्मिथको भनाईको तात्पर्य शाक्यहरूको वास्तविक राज्य नेपालको कपिलवस्तु हो । तर, भारतीय सर्भे विभागका निर्देशक देभाला मित्रा र उनका समर्थक पुरातत्व उत्खनन् विभागका सर्भेयर केएम श्रीवास्तवले नेपालको कपिलवस्तुलाई वास्तविक कपिलवस्तु मान्दैनन् । उनीहरूले उत्तर प्रदेश भारतको पिपरहवालाई वास्तविक कपिलवस्तु ठान्छन् । डब्लु पेपेले पिपरहवाको उत्खनन् गर्दा उनले केही गुम्बा, मठ, मन्दिर (मोनस्ट्रिज) र स्तूपामुनि अस्तु कास्केटहरू फेला पारेकाले गौतम् बुद्घको आठवा अस्तु पिपरहवाको हो भन्ने धारणा मित्रा र श्रीवास्तवको छ ।

डा. फुहरर, डा. भि. स्मिथ र पिसी मुखर्जी, जो पिपरहवामा उत्खनन् हुँदा त्यसका साक्षी हुन्, उनीहरूको धारणा छ कि पिपरहवामा फेलापरेको स्तूप गौतम् बुद्घको स्मरणमा बनाएको स्तूप नभई त्यो सामान्य स्तूप मात्र हो । चिनियाँ यात्रीहरू फाइहान र ह्वेनसाङ्गले आफ्नो यात्रा विवरणमा पिपरहवाको स्तूपबारे उल्लेख समेत गरेका छैनन् । नेपालमा रामग्रामका राजाले बुद्घको स्मरणमा उनका आठवा अस्तु राखेर त्यहाँ स्तूप बनाएका थिए ।अशोक सम्राटले नेपालको कपिलवस्तु क्षेत्र निग्लिहवामा कनकमुनी बुद्घ, गोटीहवामा क्रकुछन्द बुद्घ र लुम्बिनीमा शाक्यमुनि बुद्घको स्मरणमा तीन वटा अशोक स्तम्भ बनाएका थिए । अहिले गोटिहवा र निग्लिहवाको अशोक स्तम्भहरू ढलेको स्थितिमा छ ।

तर, देवाला मित्रा र केएम श्रीवास्तवले यी ढलेका अशोक स्तम्भहरू पिपरहवा वरिपरि क्षेत्रको हुनुपर्छ भन्ने धारणा राख्त छन् । उनीहरूले यी दुइटा स्तम्भलाई पिपरहवाबाट उखेलेर गोीटहवा र निग्लिहवामा ल्याइएको हो भन्ने धारणा राख्छन् । ४० फिट अग्लो र ५० टन तौल भएको यी अशोक स्तम्भहरूलाई उखेल्न र ७–८ मिल टाढा बोकेर लान सम्भव छैन भन्ने धारणा आजका विज्ञ इन्जिनियरहरूको धारणा छ।

भारतको नयाँ दिल्लीस्थित नेसनल म्युजियमका निर्देशक डा. एनआर बनर्जीले नेपालको तिलौराकोटलाई किटानीसाथ कपिलवस्तु राज्यको राजधानी मानेका छन् । यसैगरी डा फुहरर, पिसी मुखर्जी, डा. भि स्मिथ, डब्लु भोस्ट र विमल चूर्ण लाहाहरूले नेपालको तिलौराकोटलाई वास्तविक कपिलवस्तु राज्यको राजधानी मानेर देवाला मित्रा र केएम श्रीवास्तवको धारणालाई गलत सिद्घ गरी दिएका छन्।

उपरोक्त हिन्दू धार्मिक ग्रन्थ, कानुनी पुस्तक, भारतको प्राचीन इतिहास र बुद्धिष्ठ धार्मीक ग्रन्थहरूको प्रमाणका आधारमा गौतम् बुद्ध हिमालयको तराईमा जन्म लिएका थिए न कि मधेस अथवा भारतमा । तसर्थ, नेपाल तराईको प्राचीन सिमाना गंगा नदीसम्म पथ्र्यो । अर्थात् बज्जी गणतन्त्र, कोशल राज्य र मल्ल–जनपद आदि समेत हिमालयको तराईमा थियो । तसर्थ, बुद्ध मधेशमा जन्मेका हुन् भन्ने कुरा निराधार, कपोलकल्पित, हावादारी विषयबाहेक अरु हुनै सक्दैन । धर्मशास्त्रको युगमा हिमालय भनेको उत्तरमा हिमालय पर्वतदेखि गंगा नदीसम्मको भागलाई मानिन्थ्योे । तर, नेपाल तराईका मधेशवादी दलहरूले आफ्नो अधिकार खातिर उठाएको आन्दोलन लहान घटनापछि चुरे पर्वतदेखि उत्तर हिमालयको चुचुरासम्मको भागलाई मात्र हिमालय मान्न थालेका छन्, जुन कुरा गलत हो ।

सन् १९५१ को दशकमा बेदानन्द झाँको नेतृत्वमा ‘तराई कांग्रेस’ गठन गरिएको थियो न कि ‘मधेश कांग्रेस’ । मधेशको विषय धर्मशास्त्रको युगको विषय हो भनेर डा. विद्याधर महाजनले आफ्नो पुस्तक ‘प्राचीन भारत का इतिहास, २००८ :१२० ’ मा उल्लेख गरेका छन् । अहिलेको एक्काइसौं शताब्दीको युगमा हामीले हिन्दू धर्मशास्त्रको युगको कुरा गर्नु हास्यास्पद कुराबाहेक अरु हुनै सक्दैन भन्ने धारणा आम बुद्धिजीवीहरूको छ ।

उनी थारु सँस्कृतिविद् हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *