थारुवान राज्यको संकल्प लिएका दिपेश थारू

इन्दु थारु/बर्दिया।
माओवादी आन्दोलनमा लागेका कैयौं घाइतेहरु गुमनाम भए । कैयौं घाइते हुनुको पीडाबाट माथि उक्लनै सकेनन् । युद्धकालमा ठूला ठूला लडाइँ लडेकाहरु शान्ति प्रक्रिया पछि हराए । कैयौंलाई लाग्यो लडाइँ लड्नुसम्म मात्र तिनको काम थियो, शान्ति प्रक्रियामा आएपछि तिनको कामै सकियो । कैयौंले सोचे लड्नुमात्र तिनको काम हो र राजनीति गर्नु तिनको काम होइन । तीन भिन्न ठाउँमा भएको लडाइँमा उनी तीनपटक घाइते भए, तैपनि राजनीतिमा सक्रिय भइ लागिरहे । लड्दालड्दै तीन पटक पुनःजीवन पाएका व्यक्ति हुन् दिपेश थारु । २२ मंसिर २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उनी बर्दिया क्षेत्र नं २ (ख)बाट प्रदेश सभा सदस्यमा विजयी भए ।

दिपेश थारुको जन्म वि स २०३९ भदौ १५ गते बर्दियाको भगवानपुर गाउ वडा नं २ मा भएको हो । उनलाई जन्म दिने आमा हुन् बेपिली देवी थारु भने उनको बाबुको नाम मानबहादुर थारु हो । उनको परिवार एक सामान्य किसान परिवार थियो । दिपेशका हजुरबुबाहरु सम्पन्न परिवारका थिए । उहांहरुसँग प्रसस्त जग्गा जमिन थियो । तर गाउँमा शोषक जमिन्दारहरुको बिगबिगीले गर्दा हजुरबुबाले कमाएको सम्पत्ति गुमाउनुप¥यो । त्यसपछि उनको पारिवारिक स्थिति कमजोर बन्न गयो । उनी जन्मेको क्षेत्रमा जमिन्दारहरुको व्यापक शोषण थियो । सहन गर्न नसकी उनी २०५६ असार १३ गते कक्षा ८ पढ्दापढ्दै भूमिगत भए । उनी संगठित मिलिसियाका रुपमा भने २०५३ सालमै सक्रिय भइ लागिसकेका थिए । उनलाई भूमिगत हुनमा सहयोग गर्नेमा माओवादी नेताहरु भिमबहादुर भाट, टंक बोगटी, यज्ञप्रसाद शर्माहरु थिए । उनी कैलालीको कौवापुर गाउँबाट भूमिगत भएका थिए, जुन गाउँमा तत्कालीन शाही सेनाले व्यापक ज्यादती गरेको थियो ।

युद्धकालमा थुप्रै लडाइँहरु लडेका अनुभव छन् दिपेशसँग । उनको जिम्मेवारीनै सैन्य फरमेसन गर्नु, पलाटुन बनाउनु थियो । उनका कमाण्डर त्यसबेला माओवादी नेता जनार्दन शर्मा थिए । उनी विपीनगर, धार्चुला, गौघाट, लालबोझी, कोटछारा, खारालगायतका विभिन्न लडाइहरुमा सहभागी भएका थिए । लडाइँहरु लड्दैजाँदा रुकुमको खारा, रोल्पाको गाम र अर्घाखाचीको सन्धीखर्कमा गरी उनी तीन पटक घाइते भए । घाइते अवस्थामा रहेका दिपेश लडाइँ लड्न नसक्ने भएपछि भने पार्टीको प्राविधिक काम गर्ने जिम्मेवारी सम्हाले । कैलालीका जगत रत्गैया, कैलालीकै गौरीशंकर चौधरी, प्रहारहरु जनयुद्धका सहयोद्धा थिए । त्यसमध्ये उनले जगत रत्गैगा ‘प्रवेश’लाई युद्धकालमा गुमाए ।

बाल्यकालदेखिकै सपना सेना बन्नु थियो दिपेशको । उनी सानैदेखि लडाकु स्वभावका थिए । त्यसैले पार्टीमा पनि जनमिलिसिया नै बने । लडाइँ भयानक हुन्छ थाहा थियो उनलाई । तर समाज परिवर्तनको महाअभियानमा होमिन जस्तोसुकै भयानक लडाइँ लड्ने आँट बोकेका थिए उनले । लडाइँ लड्ने क्रममा थुप्रै साथीहरु गुमाएकोमा आज पनि उनलाई पीडा हुने गर्छ । अर्कोतिर आफै पनि घाइते हुनुको पीडा त छदैछ ।

युद्धकालदेखि नै थारुका मुद्दाहरु उठाउँदै आएका दिपेश अझै पनि आवाज उठाउने अठोट गर्छन् । पहिलेको तुलनामा थारुहरु धेरै अगाडि बढेको तर पर्याप्त नभएकाले थारुहरु एकजुट हुन आवश्यक रहेको लाग्छ उनलाई । थारुहरु कसै न कसैको गोटी बन्ने गरेको वा व्यक्तिगत स्वार्थ त कहिले दल विशेष स्वार्थमा लाग्ने गरेका कारण थारुका मुद्दा ओझेलमा पर्ने गरेको उनको बुझाइ छ । थारुहरु आफैँमा विभाजित भएका कारण आन्दोलनलाई गति दिन नसकेको उनले बताए । तर आफूले थारुवान प्राप्त गर्न थारुको कलस्टरको मुद्दा उठाइराख्ने उनको संकल्प छ ।

दिपेश बसोबास गर्ने क्षेत्रमा ८५ प्रतिशत थारुहरु बस्छन् । त्यसकारण त्यहाँ आधुनिक कृषिका कार्यक्रमहरु सञ्चालन गर्ने उनको प्राथमिकतामा पर्छन् । त्यहाँको बाटोघाटो बनाउनु, सिचाइको व्यवस्था, युवालाई रोजगारीको अवसर सिर्जना गर्नु पनि उनको आगामी कामको प्राथमिकतामा पर्छ । उनले आफ्ना पार्टीका शहिद, बेपत्ता र घाइते परिवारलाई पनि बिर्सेका छैनन् । आफ्नो संसद विकास कोषबाट तिनका लागि पनि जिवनउपयोगी सीप कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।

चुनाव जिते पश्चात अवसर र केही चुनौती पनि देख्छन् उनले । बाम गठबन्धनको चुनावी एकताले उत्साह थपेको तर पार्टी एकता नभइदिँदा जनप्रतिनिधि भएर काम गर्न केही अप्ठेरा आउन सक्ने उनको बुझाइ छ ।

यसभन्दा पहिलेको चुनावमा आफ्नै पार्टीका नेताहरुले जितेर राम्रो काम गरिदिएका कारण आफूले पनि जित्न सकेको ठम्याइ छ दिपेशको । त्यसका अलावा, सानै उमेरदेखि आफू कुनै न कुनै रुपमा राजनीतिमा सक्रिय भएका कारणले पनि उनको जीत सुनिश्चित भएको हो । ‘घाइते भए पनि राजनीतिमा निरन्तर लागेका कारण चुनाव जित्न सके मैले,’ उनी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *