कृष्णबहादुर चौधरीको बहादुरी

लखन चौधरी/टीकापुर।
२०७४ असोज ३० मा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाल र नेपाली कांग्रेसबीच पार्टी एकीकरण भयो । तर कैलालीका कृष्णबहादुर चौधरी कांग्रेसमा नगइ राष्ट्रिय जनता पार्टी (राजपा) मा छिरे । अन्ततः प्रदेश सभा कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) मा राजपाबाट उम्मेदवार भइ विजयी भए । लोकतान्त्रिक फोरममा रहँदाताका सहपाठी एंव बहालवाला स्थानीय विकास राज्यमन्त्री तथा कांग्रेस उम्मेदवार जनकराज चौधरीलाई पराजित गरी उनले छलाङ मारे ।

बुवा पहलवान डंगौरा थारू र आमा सुन्दरीदेवीको जेठो छोरा उनी कैलालीको भजनी नगरपालिका–६ (साविक थापापुर गाविस–७) नवलपुरमा २०२७ साल असोज १ गते जन्मेका थिए । एसएलसी सम्मको औपचारिक शिक्षा लिएका उनी २० वर्षको युवावस्थादेखि राजनीतिमा सक्रिय भए । एमालेको वडा स्तरको सदस्यबाट राजनीतिक यात्रा सु गरेका उनी २०६४ सालसम्म एमालेमै क्रियाशिल थिए ।

२०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो । त्यसैबेला तत्कालीन माओवादीले युद्धताका उठाएको थारूवान र मधेश प्रदेश मुद्दामै टेकेर तराई मधेसमा थरुहट÷थारूवान र मधेश आन्दोलन चर्कियो । दुवै आन्दोलनमा नेकपा एमालेलाई थारू र मधेसी विरोधी पार्टीको रुपमा अर्थइयायो । कैलालीमा पनि जारी थरुहट÷थारूवान आन्दोलनको म्यान्डेडबाट प्रभावित भइ २०६५ सालमा एमाले त्यागी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा प्रवेश गरेको उनी बताउँछन् ।

‘बिल्कुलै फरक थियो, एमाले पार्टीको थरुहट र मधेश आन्दोलनलाई हेर्ने नजर । थारू र मधेशविरोधी नै भैसकेपछि एमालेमा बस्न उचित लागेन । फोरम लोकतान्त्रिकको राजनीतिमा क्रियाशिल भएँ,’ उनी विगत सम्झिन्छन् ।

फोरम लोकतान्त्रिकमा प्रवेश गरेको सुरुवातदेखि २०७२ सम्म उनी क्षेत्रीय कमिटी सदस्य थिए । राजपामा प्रवेशसँगै चुनाव जितेका उनी पार्टीका धेरै नेता तथा कार्यकर्तासँग अपरिचित छन् । ‘राजपाबारे अझै मैले नै बुझ्न बाँकी छ । केही साथीहरूबाहेक अरुसँग परिचय नै भएको छैन । मेरो भूमिका अब राजपालाई सशक्त बनाउनेतर्फ केन्द्रीत रहन्छ । साथै प्रदेश सभा सदस्यको पद मेरो लागि एकदमै नौलो भएपनि जनताले दिएको म्याण्डेट गम्भिरतापूर्वक पूरा गर्नेछु,’ उनले भने ।

२०७२ साल भदौ ७ र ८ गते टीकापुर घटना घटेपछि थरुहट आन्दोलन र थारू समुदायलाई राज्यले अत्याधिक बल प्रयोग गरेको सांसद चौधरीको बुझाइ छ । राज्यले एक पक्षको माग सुनुवाइ गर्नु र अर्को पक्षको माग र मुद्दामा कुनै सुनुवाई नगर्नुले जातीय दरार पैदा गरेको छ । अब उप्रान्त त्यो दरार र सामाजिक विद्वेष मेटाउन आफ्नो पहिलो एजेण्डा रहेको उनले बताए । मुलुकको चौतर्फी विकासको लागि जातीय सद्भाव जरुरी रहेको पनि उनको बुझाइ छ ।

२०७४ मंसिर २६ मा निर्वाचन परिणाम आएपछि सांसद चौधरी सझिन्छन्– ‘जनता मलाई फूलमाला र अविरले सजाइसकेका थिए । उत्सवको लागि हाम्रा मान्छेहरू जम्मा हुँदै गइरहेका थिए । हामी राजपाबाटै प्रतिनिधि सभामा विजयी रेशम चौधरीको विजयीको प्रमाणपत्रको लागि कुरिरहेका थियौं । तर निर्वाचन अधिकृतले फरार उम्मेदवारलाई प्रमाणपत्र दिन नमिल्ने भन्दै निर्वाचन आयोगको जिम्मा लगाइसकेपछि हामी निरास भयौं ।’ राज्य थारूहरू अझै आन्दोलनमा होमियुन् भन्ने भन्ने देखिएको उनको बुझाइ छ ।

‘विजय भए पनि हामी हाँस्न पाएनौं । विजय जुलुस निकाल्न पाएनौं, मलगायत सबै नेता कार्यकर्ता तथा समर्थकहरूको मन रोइरहेको थियो,’ विजयको दिनलाई यसरी सम्झे उनले–‘जनताले जितेको पलमा राज्यले हामीलाई बुट र बन्दुकले तर्साइरहेको थियो । सबैको मुखारबिन्दुबाट एउटै कुरा निस्किन्थयो, यो देश हाम्रो भएपनि राज्य होइन । कस्तो विडम्वना शेरबहादुर देउवाले वारेसमार्फत् प्रमाणपत्र पाउने तर रेशमले किन नपाउने ? आखिर कहिलेसम्म यस्तो अन्याय हामीले सहने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *