थारुवान प्रदेशका लागि लडेका इन्द्रजीत थारु

इन्दु थारु/दाङ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम संविधान सभाका उनी अन्तरिम विद्यायक पनि भए ।

२०७४ मंसिर २२ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा उनी दाङ जिल्ला क्षेत्र नम्बर १क बाट प्रदेश सभा सदस्य निर्वाचित भए । राजनीतिमा थुप्रै आरोह अवरोहहरु पार गरेका उनी हुन् इन्द्रजीत चौधरी ।

इन्द्रजीत चौधरीको जन्म वि.स २०३६ मंसिर २५ गते दाङको गोबरडिहा गाउमा भएको हो । उनको गाउँ हालको गरुवा गाउँपालिकामा वार्ड ३ मा पर्छ । उनको जन्म काशीदेवी चौधरीको कोखबाट भएको हो । उनको बाबुको नाम इन्टर प्रसाद चौधरी हो । सामान्य किसान परिवारमा जन्मिएका इन्द्रजीतले एसएलसी गाउँकै स्कुलबाट दिए । विद्यार्थी छँदा उनी पढाइमा अब्बल मानिन्थे । किताबी किरोमात्र थिएनन् उनी, विद्यालयमा हुने वादविवाद लगायतका वार्षिकोत्सवममा हुने अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँथे । नेतृत्वकर्ताको भूमिका बहन गर्न उनले विद्यार्थी जीवनमै सिके । विद्यालयको रेडक्रस र विज्ञान क्लबको नेतृत्व उनैले गर्ने गर्थे ।

वि.स २०५१ सालपछि सक्रिय राजनीतिमा लागेका इन्द्रजीत २०५४ सालमा क्षेत्रीय सेक्रेटरीको जिम्मेवारी बहन गर्दै भूमिगत भए । २०५४ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको उनी केन्द्रीय सदस्य भए । त्यसबखत मोर्चाको अध्यक्ष रामचरण चौधरी थिए भने महासचिव जोखन रत्गैँया थारु । माओवादी जनयुद्धकालमा थलिएर बिरामी परेका रामचरण चौधरीको अकालमै मृत्यु भयो भने जोखन रत्गैँया थारुलाई इन्द्रजीतले द्वन्द्वकालमै गुमाए । युद्धको समयमा आफ्ना धेरै सहकर्मी साथीहरुलाई उनले गुमाएको र त्यसले निकै पीडा भएको उनले सुनाए । ‘त्यो संघर्ष थियो, मुत्युले संघर्षलाई रोक्न सक्दैनथियो, त्यसैले हामी संघर्षमै रमाउँथ्यौं,’ उनले भने । संघर्ष गर्दागर्दै उनी २०५६ सालमा थारु मुक्ति मोर्चाको महासचिवको भूमिकामा पुगे ।

राजनीतिमा नेपाल पिछडिएको उनलाई उहिल्यैदेखि लाग्थ्यो । अनि सबै मान्छे समानरुपले बाँच्न पाउनुपर्छ भन्ने लाग्थ्यो । त्यसले उनी कम्युनिष्ट विचारधारातिर आकर्षित भए । मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा नै सर्वोत्कृष्ट सामाजिक सिद्धान्त रहेकाले आफ्नो त्यसतर्फ झुकाव रहेको उनले सुनाए ।

उनी माओवादीमा लाग्दा थुप्रै सपना र अजेण्डाहरु बोकेर लागेका थिए । तर परिवर्तित परिस्थितिमा सबै अजेण्डाहरु पूरा हुन नसकेको दुखेसो छ उनीसँग । ‘शान्ति प्रक्रियामा आउँदा साझा अजेण्डा बनाउनपर्ने भएकाले सबै कुरालाई संवैधानिकरुप दिन सकिएन,’ उनले भने, ‘तर शासनशक्तिको रुप भने बदलेर गएको छ ।’ आफूहरुको संघर्षले आज जनसंख्याको आधारमा अलग कलष्टरहरु बनेकोमा उनलाई खुसी भने लाग्छ । तर प्रतिस्पर्धा गर्नसक्नेहरु त्यसका लागि अभ्यास गर्दै क्षमता विकास गर्न जरुरी देख्छन् उनी ।

गास, बास, कपासको संवैधानिक व्यवस्था गरिएकाले थारुहरु अब कमैया कमलरी, सुकुम्बासी भइ बस्न नपर्ने बताउँछन् उनी । त्यसका लागि थारुहरुको कृषिमा दक्षता रहेकाले थारुहरुलाई कृषिमै सुदृढ बनाउनपर्ने उनको विचार छ । प्रदेश सभा सदस्य भएर आफूले त्यसका लागि कार्यक्रम लागू गर्न पहल गर्ने बताउँदै उनले भने, ‘जुन जातिले जे कुरामा दक्षता राख्छन्, त्यही सीप आर्जन गरे रोजगारीको अवसर बढ्छ ।’

चुनावमा आफूलाई सबै समुदायले भोट दिएको उनले बताए । हिजोको दिनमा उच्च जातिका मानिसले विभेद गर्यो भन्दैमा थारुले त्यसको बदला भाव राख्न नहुने, बरु सबैलाई मिलाएर जानपर्ने उनको धारणा छ ।

माओवादी युद्धका बेला नयाँ जनवादी परिकल्पना बोकेर राज्यशक्तिमा पहुँच बढाउन र सबै जातजातिलाई अधिकार दिलाउन मुक्ति या मृत्युको कसम खाएर हिँडेका थिए इन्द्रजीत । शान्ति सम्झौतामा केही पाएको र केही गुमाएका अजेण्डाहरु शान्तिपूर्वक अझै पाउन सकिने विश्वास गर्छन् ।

पश्चिम तराईमा थारु जातिहरु बहुसंख्यक रहेकोे दाङदेखि कन्चनपुरसम्मको भूभागलाई माओवादी पार्टीले थारुवान राज्य बनाउने अजेण्डा प्रस्तुत गरेको थियो । त्यही थारुवान राज्यका लागि हजारौं थारुहरु मारिए, बेपत्ता बनाइए, अंगभंग भए तर विडम्बना थारुवान राज्य प्राप्त गर्न सकेनन् । अहिलेको संघीय संरचनामा केही समय अभ्यास गरिने र यसमा थारुहरुको असन्तुष्टि बढे पुनः संघीय ढाचा हेरफेर हुनसक्ने इन्द्रजीत बताउँछन् ।

चुनावलाई नजिकबाट हेरेका, भोगेका र चुनाव लडेका इन्द्रजीत, चुनाव महँगो हुँदै गएको बताए । ‘नैतिकताले चुनाव जित्न गाह्रो भइसकेको छ अहिलेको परिवेशमा,’ उनले भने, ‘चुनावमा हुने विकृति विसंगति, भोट खरिदबिक्री र अस्वस्थ प्रतिस्पर्धा रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपछू । त्यसले सबै जाति समुदाय, वर्ग, लिंगको प्रतिनिधित्वको सुनिश्चितता पनि गछ ।’

राजनीतिमा प्रवेश गरेको प्रारम्भिक चरणदेखि नै कम्युनिष्ट विचारधारा बोक्ने इन्द्रजीत जल, जंगल, जमिनमा सबैको समान अधिकार हुनपर्ने कुरामा विश्वास गर्छन् । भन्छन्, ‘जल, जंगल, जमिन राज्यको अधिनमा हुनपर्छ । तर निजी स्वामित्वमा अहिलेको कानुनले कतै पनि प्रहार गरेको छैन । निजी पुँजी अहिलेको कानुनअनुसार मौलिक हक हो । तर राष्ट्रिय पुँजीमा भने एक व्यक्तिको हालीमुहाली हुन हुँदैन ।’

जनताका अधिकार स्थापित गराउन भूमिगत जीवन बिताउँदै शान्ति प्रक्रियापश्चात खुला राजनीतिमा आएका इन्द्रजीत आफू सदैव जनमुखी शासनप्रणालीको पक्षधर रहेको बताए । यसका विपक्षमा बोल्ने आफ्नै नेताविरुद्ध संघर्ष गर्न परे पछि नहट्ने उनको स्वभाव छ । शासकीय मनोवृतिको अन्त्य गर्न कहिल्यै पछाडि नपर्ने उनको अठोट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *