जोखन रत्गैँया : व्यक्ति एक, व्यक्तित्व अनेक

मदन चौधरी।
नेपाली राजनीतिको इतिहास औँल्याउने हो भने कमै नेतामात्र छन्, जसको आदर्र्श पछिल्लो पुस्ताले मानिरहेका छन् । लामो समय जेल जीवन र भूमिगत जीवन व्यतित गरेका वीपी कोइराला र कम्युनिस्ट आन्दोलनलाई उचाइँमा पुर्याउने मदन भण्डारीको मार्गदर्शन लिने नेताहरु नेपाली राजनीतिमा थुप्रै भेटिन्छन् । भलै यी दुई योद्धाको तुलना एकसाथ गर्न सकिँदैन । त्यस्तै थारु राजनीतिको इतिहासमा पनि आफ्नो अब्बल विचार प्रवाह गरेका कम्युनिस्ट नेता हुन् जोखन रत्गैयाँ । उनले लिएको जातीय अधिकार, जातीय सामनताको विचार, प्रवाह गरेको सामन्तवादी प्रथाको अन्त्य, जाति उत्पीडनका कुरा, क्षेत्रीय उत्पीडनका बहस, गरिबलाई सम्पन्न बनाउने, अध्ययनविहीनलाई शिक्षित बनाउने र हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै देशको कार्यकारी पदसम्म पुग्ने सपना धेरै थारु नेताहरुको मार्गदर्शन बनेको छ ।

विसं २०२५ सालमा कैलालीको हसुलियामा जन्मिएका जोखन व्यक्ति एक थिए, तर उनको व्यक्तित्व अनेक भए । उनी विद्यार्थीकालमै सक्रिय राजनीतिमा होमिए । घरपरिवार पाल्न मेडिकल शिक्षा लिएर मेडिकल स्थापना गरे । वर्गीय मुक्तिको लागि गोचाली परिवार गठन गरे । थारु समुदायमा वर्गीय मुक्तिको सन्देश फैलाउन मुक्तिक् डगर पत्रिकाको प्रकाशन गरे । त्यतिमात्र नभएर उनले साइकल यात्रा गरेरै कैलालीदेखि बर्दिया, बाँकेसम्म पुगेर थारु नेतृत्वकर्ता जन्माए । तत्कालीन नेकपा माओवादीका संस्थापक नेताको हैसियत बनाएका उनको अन्त्य भने दर्दनाक बन्यो । तत्कालीन शाही सेनाले कैलालीको लालबोझीमा विसं २०५९ जेठ २९ गते उनलाई गोली हानी हत्या गरे । उनको हत्या गरिएपनि उनले सम्प्रेषण गरेका विचार, थारु समुदायमा उनले उठाएका एजेण्डा, उनले देखाएका बाटोमा अहिलेका नेतृत्वकर्ताहरु हिँडिरहेका छन् ।

याे पनि पढ्नुस् : जोखन रत्गैयाँ, एक थारू योद्धा

जोखन रत्गैँयाबारे तत्कालीन माओवादी नेताहरु के भन्छन्?

थारु समुदायको मार्गदर्शक

हरिराम चौधरी ‘उत्सव’
सदस्य, राष्ट्रिय सभा
जोखन रत्गैँया आज हामीमाझ हुनुहुन्न । उहाँ तत्कालीन नेकपा माओवादीको थारु समुदायको मात्र नभएर समग्र पछाडि परेको समुदायको स्थापित नेता हुनुहुन्थ्यो । सुदूरपश्चिमका सबै नेताले उहाँलाई एउटा पिल्लरको रुपमा मान्नुहुन्थ्यो ।

त्यतिबेला थारु समुदायमा जमिन्दार प्रथाले जरा गाडेको अवस्था थियो । थारुहरुलाई कमैया, कमलरी बस्न बाध्य पारिएको थियो । राजनीतिमा थारुहरुको रुची र सहभागी हुने वातावरण पनि थिएन । जोखनजीले पछाडि परेको थारुहरुलाई अगाडि बढाउने, कमैया, कमलरी बस्नेहरुलाई उन्मुक्ति दिलाउने अठोट लिनुभएको थियो । त्यसबेला यस्तो आँट लिनु चानचुने कुरा थिएन ।

उहाँले सम्प्रेषण गर्नुभएको विचार नै अहिले हामी अभ्यास गरिरहेका छौं । विशेषतः सामन्तवादी प्रथाको अन्त्य, गरिबलाई सम्पन्न बनाउने, अध्ययनविहीनलाई शिक्षित बनाउने, जाति उत्पीडनका कुरा, क्षेत्रीय उत्पीडनका बहसहरु उहाँले त्यसबेला उठाउनुभएको थियो ।

हिजो उहाँहरुले यी कुराहरु सम्भव छ भनेर हिँड्नुभयो र आज पूरा पनि भएको छ । जसले छैन भन्थे, उनीहरु पनि आज हुँदोरहेछ भन्ने लाइनमा आए । त्यसबेला सामन्तहरुविरुद्ध बोल्ने आँट कसैले राख्दैनथे, जुन कुराको सुरुवात जोखनजीले गर्नुभयो । उहाँले सम्प्रेसन गर्नुभएका यी विचारहरु नै आजको दिनको ठूलो सफलता भएको मैले बुझेको छु । उहाँ त्यही विचार कैलालीमा मात्र नभएर पहाडी क्षेत्रमा ब्यक्त गर्नुभयो । जसले पहाडी क्षेत्रमा पनि उहाँको राजनीतिक विचारलाई सबैले सम्मान गर्छन् ।

जोखनजी मेहनती, पार्टीप्रति प्रतिबद्ध र माओवादीको संस्थापकमध्येका एक हुन् । उहाँ कैलालीको पहिलो जनसरकार प्रमुख पनि हुनुहुन्थ्यो । आज उहाँ हुँदा कैलालीको अवस्था के हुन्थ्यो म भन्न सक्दिन तर उहाँले देखएको बाटोमा अनगिण्ती नेताहरु थारु समुदायमा तयार भएका छन् । उहाँको सोँचाई, उहाँको विचार अपूरणीय थियो । त्यतिबेला उहाँले राख्नुभएको विचारधारामा अहिले देश चलिरहेको छ । मलाई लाग्छ, त्यही विचारले अहिलेका थारु नेताहरु हामीलाई अधिकार चाहियो भन्दै सडकमा ठूल्ठूला आवाज उठाउने गर्छन् । लाखौं थारुहरु एकैपटक सडकमा आउनसक्छन्, जसको जस हामीले जोखनजीलाई दिनैपर्छ ।

माओवादी जनयुद्धकालमा थारुहरुको उपस्थिति कस्तो रह्यो त्यो इतिहासले बताउँला । तर ०६२–६३ को जनआन्दोलन, विभिन्न चरणको थरुहट आन्दोलनमा थारुको उपस्थिति नै जोखनजीले राख्नुभएको विचार र मार्गदर्शनको उपज हो । हामी पनि यो देशको जिम्मेवार नागरिक भएर कार्यकारी भूमिकामा आएर सांसद, मन्त्री वा देशको प्रधानमन्त्री बनेर देश हाँक्न सक्छौं । हामी कसैको रैती बनिरहनु आवश्यक छैन भन्ने खालको विचार उहाँले त्यसबेला राख्नुभएको थियो । त्यही विचारको मार्गदर्शनले आज थारुहरुमा राजनीतिक, समाजिक चेतनाको विकास भएको छ । उहाँले देखाउनुभएको मार्गदर्शनले नै आज सिंहदरवारमा थारुहरुको उपस्थिति देखिन थालेका छन् । संसदमा थारुहरुको राम्रो उपस्थिति रहेको छ । उहाँकै विचारका कारण आज लाखौं थारुहरुको आफ्नो पहिचानको परिभाषा खोज्न थालेका छन्, अधिकार माग्न थालेका छन् । उहाँलाई हामीले आदर्शको रुपमा लिनुपर्छ ।

राष्ट्रिय सभा सदस्य भएको हैसियतले यो १६औं स्मृति दिवसमा मैले उहाँको नाममा प्रतिष्ठान खोल्ने निर्णय गरेको छु । जोखन रत्गैयाँ प्रतिष्ठानले उहाँले लिएको विचार, उहाँले लिएको सिद्धान्त र शिक्षा, स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता मैले लिएको छु ।

क्रान्तिकारी योद्धा

लक्ष्मण थारु
थरुहट नेता
जोखन रत्गैँया एक होनयार योद्धा हुनुहुन्थ्यो । एउटा महान् योद्धालाई दैवले चाँडै चुँडाएर लग्यो । उहाँ अत्यन्त अध्ययनशील हुनुहुन्थ्यो । कथा, कविता र सममायिक राजनीतिक, समाजिक विषयमा उहाँ लेखपढ गर्नुहुन्थ्यो । सबैसँग मिल्ने स्वभावका उहाँ कहिल्यै रिसाएको देखेको छैन । उहाँ यति मेहनती हुनुहुन्थ्यो कि बाँके, बर्दियासम्मको यात्रा साइकलमै गर्नुहुन्थ्यो ।

मैले वि.सं २०४४ सालदेखि जोखनजीसँग लागे । उहाँ विद्यार्थी जीवनकालमै सक्रिय राजनीतिमा होमिनुभयो । जोखनजीले सामन्तवाद, जमिन्दारी प्रथा, कमैयाको उत्पीडन, हरेक प्रकारको विभेद, अन्याय र अत्याचार अन्त्य गर्नुपर्ने विचार राख्नुहुन्थ्यो । उहाँका विचारहरु सुन्दा मलाई कथा सुनेजस्तो लाग्थ्यो । किनकि त्यति बौद्धिकता हामीमा थिएन ।

सक्रिय राजनीतिसँगै उहाँले मेडिकल पनि चलाउनुहुन्थ्यो । घरपरिवार पाल्ने आयस्रोतको माध्यम थियो त्यो मेडिकल । मेडिकल पेसालाई थाती राखेर उहाँ होलटाइमर राजनीतिमा होम्मिनुभयो । राजनीति पेसा अंगालेपछि उहाँको बुबाले गाली गर्नुहुन्थ्यो । त्यसका बावजुद उहाँले राजनीति छाड्नुभएन । बरु उत्पीडनमा परेका थारुहरुको लागि के गर्न सकिन्छ भनी अध्ययन अनुसन्धानमा लाग्नुभयो ।

वर्गीय मुक्ति र जातीय मुक्तिको मुद्दा उहाँले त्यतिबेलै बोक्नुभएको थियो । त्यही सिलसिलामा उहाँ गोचाली परिवार बनाउनुभयो । कैलालीको हसुलियास्थित आफ्नै घरमा भेला गराई उहाँले गोचाली परिवार गठन गर्नुभयो । जुन जनयुद्धको भित्रि तयारीको रुपमा बुझ्दा पनि हुन्छ । गोचाली परिवार गठनसँगै उहाँले विचार सम्प्रेषण गर्नका लागि मुक्तिक डगर नामक पत्रिकाको प्रकाशन पनि सुरु गर्नुभयो । त्यही पत्रिकामार्फत् उहाँले वर्गीय मुक्ति र जातीय मुक्तिका विचार, कथा, कविता सम्प्रेषण गर्न थाल्नुभयो । जनयुद्धको प्रचार पनि गर्नुभयो । जनयुद्धले विकराल रुप लिएपछि पत्रिका प्रकाशनले निरन्तरता पाउन सकेन । उहाँ भूमिगत भएर पनि आफ्नो विचार र मार्गदर्शन देखाउन भने कहिल्यै छाड्नुभएन । एक्कासी उहाँको सहादतबारे खबर सुने । नराम्रोसँग चोट दियो त्यो खबरले ।

उहाँको खुबी, उहाँको क्षमता देखेर सुदूरपश्चिमका धेरै नेताहरुको मस्तिष्क हल्लाएको थियो । त्यही भएर होला वि.सं २०४७ सालमा पनि जनमोर्चाको प्रचार गर्दा कांग्रेसले उहाँलाई मार्न खोजेको थियो । जनयुद्धमा पनि सुराकीकै कारण उहाँले सहादत प्राप्त गर्नुभयो ।
उहाँले उठाउनुभएको मुख्य मुद्दा जातीय अधिकार, जातीय सामनता थियो, जुन अहिले पनि अन्त्य भएको छैन । उहाँको मुद्दा अन्त्य नभएपनि थारु समुदायमा उहाँले धेरै क्रान्तिकारी योद्धा जन्माउनुभएको छ । आज जति पनि सांसद, मन्त्री छन्, त्यो सबै उहाँले जन्माएकै मान्छे हुन् ।

कुसल, सांगठनिक र बौद्धिक व्यक्तित्व

लाजुराम चौधरी ‘अंकित’
प्रमुख, कैलारी गाउँपालिका
जोखन रत्गैँया कुसल, सांगठनिक र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । किसानहरुलाई व्यवसायीकरण र सेवासुविधा सम्पन्न कसरी बनाउने, थारु नेतृत्व कसरी जन्माउने भन्ने उहाँको मूलमन्त्र थियो । त्यतिमात्र नभएर उहाँको साहित्यक लेखन एकदमै अब्बल थियो । बढीभन्दा बढी अध्ययन, अनुसन्धान र थारु लिपीको खोजमा उहाँ तल्लीन रहनुहुन्थ्यो ।

उहाँ सम्पूर्ण सुदूरपश्चिमको नेतृत्व लिने क्षमता राख्ने कम्युनिस्ट नेता हुनुहुन्थ्यो । उहाँ यति मिजासिलो हुनुहुन्थ्यो कि सबै समुदाय र पक्षसँग घुलमिल गर्न सक्नुहुन्थ्यो । उहाँले थारुबाहेक आदिवाासी मगर, तामाङ, लिम्बुहरुको बारेमा गहकिलो अध्ययन गर्नुभएको थियो ।
पहाडीको बसाइसराइसँगै कैलालीमा खसआर्यको प्रभाव जमेको थियो । उनीहरुले थारुमाथि शोषण, दमन लादिरहेको अवस्था थियो । त्यसको विरुद्धमा लाग्नुपर्ने प्रेरणा उहाँले थारुहरुमा दिुनभयो ।

हामी आदिमकालदेखि कसरी पछि पर्दै गइरहेका छौं । कुन प्रथाले हामी कसरी पछाडि परिरहेका छौं भन्ने उहाँले राम्रोसँग अध्ययन गर्नुभएको थियो । त्यहीविरुद्धको अभियान सञ्चालन गर्न उहाँले मुक्तिक डगर पत्रिका प्रकाशन गर्नुभएको थियो । त्यसमा थारुको कला, संस्कृतिबारेका कुराहरु पनि सम्प्रेषण हुने गथ्र्यो ।

उहाँको विचार, उहाँको मार्गदर्शनले नै आज थारुहरुमा आमूल परिवर्तन भएको छ । उहाँकै कारण थारु नेताहरुको जन्म भएको छ । गौरीशंकर, वीरमान, म आफैँ पनि यो ठाउँ पाउनुमा जोखनजीको योगदान अतुलनीय छ । उहाँले थारु समुदायमा देशको नीति, नियम र कानुन सिकाउनुभयो, बुझाउनुभयो । उहाँले उठाउनुभएको थारुवान स्वयत्तता त पाइएन, तर देशमा संघीयता आएको छ । उहाँले लिनुभएको जमिन्दारी प्रथा अझै निर्मुल पार्न सकिएको छैन । जुन अबका नेतृत्वकर्ताले गर्न जरुरी छ ।

उहाँबाट मैले पनि धेरै कुरा सिक्ने अवसर पाएको थिएँ । अहिले म उहाँको जन्मथलो क्षेत्रका प्रमुख भएको छु । यो ठाउँमा आएपछि मैले उहाँको सम्मानका लागि हसुलियामा उहाँकै नाममा सहिद गेटको स्थापना गर्ने निर्णय गरेको छु । साढे ६ लाख लागतमा बन्ने उक्त सहदि गेट यही आर्थिक वर्षमा सकाउने हाम्रो लक्ष्य छ । उहाँले लिनुभएको शिक्षा नीतिअनुरुप यो क्षेत्रमा क्यामपस खोल्ने सोँच पनि बनाएको छु ।

क्षमतावान नेता

इन्द्रजीत थारु
सांसद, प्रदेश नं ५
वि.सं २०५४ मंसिरमा हाम्रो पहिलो भेट भएको थियो । हाम्रो भेट थारु मुक्ति मोर्चाको पहिलो राष्ट्रिय भेलामा भएको थियो । बर्दियाको भौँरा टापुमा भएको उक्त भेलामा उहाँ थारु मुक्ति मोर्चाको महासचिव बन्नुभएको थियो । म केन्द्रीय सचिव भएको थिएँ ।

त्यो भेटमा उहाँले आफ्नो विचार, आफ्नो मार्गदर्शनबारे मलाई बताउनुभएको थियो । थारु कसरी थिचोमिचोमा परिरहेका छन् ? यस्ताखाले दासत्वको विकल्प के हुनसक्ला भन्ने खालका विचारधारा उहाँले सुनाउनुभएको थियो । थारुको हकअधिकार सुनिश्चित गर्न जनयुद्ध नै विकल्प भएको उहाँले बताउनुभएको थियो ।

उहाँको विचारहरु सुनेपछि थारुहरुमा पनि बौद्धिक नेता छन् भन्ने भान भएको थियो । उहाँले लिएको मार्गदर्शनले पक्कै पनि थारुहरुले एकदिन आफ्नो अधिकार सुनिश्चित गर्नसक्छन् भन्ने पनि लागेको थियो । भविष्यमा देशको क्षमतावान नेता बन्ने उहाँको कुराले नै प्रस्ट भएको थिएँ । पछि जनयुद्ध बेस्सरी चर्कियो । उहाँले सहादत प्राप्त गरेको खबर सुने । धेरै नराम्रो लाग्यो । थारुहरुमा राम्रो विकास गर्नसक्ने नेताको रुपमा उहाँको चर्चा पछिसम्म भइरहन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *