फुड पोइजनिङको जोखिम र बच्‍ने उपाय

डा. अर्जुन बुढाथोकी।

खानामा संक्रमण भयो भने त्यसलाई फुड पोइजनिङ भनिन्छ । विशेष गरेर गर्मी मौसममा बढी फुड पोइजन हुन्छ । गर्मी मौसममा खानाको क्षयीकरण चाँडो हुन्छ, चाँडो अमिलिन्छ । गर्मीमा खानेकुरा छिटो अमिलिने भएकाले फुड पोइजनिङ पनि गर्मीमै बढी हुन्छ ।

जुनसुुकै खानेकुरा खाँदा पनि फुड पोइजन हुन सक्छ । पकाएकै खानेकुराले पनि फुड पोइजन हुन्छ । पकाएका खानाभन्दा नपकाएको खाना खाँदा फुड पोइजन हुने सम्भावना बढी हुन्छ ।

खानेकुरा पकाउँदा ब्याक्टेरिया मर्ने भएकाले पाकेको खाना खाँदा फुड पोइजनको जोखिम कम हुन्छ । जथाभावी सलाद खानु हुँदैन । गर्मीमा काँचो गाँजर, मुला, साग, धनियाँ लगायतका सलाद खाँदा सचेत हुनुपर्छ ।

सहरी क्षेत्रमा अव्यवस्थित ढललगायतको फोहोरका कारण खानामा संक्रमणको जोखिम बढी हुन्छ । पानीका कारणले पनि फुड पोइजन हुनसक्छ । विशेषगरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।

संक्रमित खाना खाएपछि पेट तथा आन्द्रामा असर गर्छ । रियाक्सन भएपछि वाकवाकी आउने, बान्ता हुने जस्ता लक्षण देखिन्छन् । सामान्यतः वाकवाक लाग्नु, बान्ता हुनु, डाइरिया हुनु फुड पोइजनका मुख्य लक्षण हुन् । ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिनु जटिल लक्षण हुन् । यस्तो देखिएमा तुरुन्तै उपचार गर्नुपर्छ ।

सामान्य अवस्थामा पेटमा हाइड्रोक्लोरिक एसिड हुन्छ । यो हातै जलाउन सक्ने कडा एसिड हो । पेटमा भएको एसिडले ब्याक्टेरियालाई मार्छ । शक्तिशाली ब्याक्टेरियालाई समेत एसिडले मारिदिन्छ ।
एसिडले पेटबाट आन्द्रामा ब्याक्टेरिया छिर्न दिँदैन । कहिलेकाहीँ एसिडले संक्रमण रोक्न सक्दैन । यस्तो अवस्थामा ब्याक्टेरिया ठूलो आन्द्रा हुँदै तल्लो आन्द्रामा पुग्छ ।

आन्द्राका कोषिकालाई ब्याक्टेरियाले क्षति पुर्याउँछ । कोषिका चुँडिन्छन् । ब्याक्टेरिया वा किटाणुले कोषिका मारिदिन्छ । कोषिकाको मृत्यु भएपछि शरीरलाई आवश्यक पर्ने कोषिकाले सोस्न छाड्छ । शरीरमा भएको पानी डाइरिया भएर शरीर बाहिर जान्छ । यस्तो अवस्थामा शरीरमा पानीको अभाव हुन्छ ।
मानिसको शरीरमा ६० प्रतिशत पानी हुन्छ । कोही मानिस ६० किलोको छ भने उसको शरीरमा ३६ लिटर पानीको मात्रा हुन्छ ।

बच्चामा अझ महत्वपूर्ण हुन्छ । बच्चामा पानीको मात्रा अझ धेरै हुन्छ । बाल, वृद्ध तथा गर्भवती महिलामा फुड पोइजनिङ हुनु जोखिमपूर्ण हुन्छ । पातलो दिसा तथा बान्ता भएर पानी र नुनको मात्रा सकिँदै जान्छ, पानीको मात्रा शरीर बाहिर जान्छ । गर्भवतीमा पनि आमा र बच्चालाई अझ धेरै पानी चाहिने भएकाले थोरै मात्रै पानी शरीर बाहिर गयो भने जोखिम हुन सक्छ । बुढेसकालमा शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जाने भएकाले वृद्ध उमेरकालाई समेत फुड पोइजनले बढी असर गर्छ ।

सोडियम (नुन) र पोटासियम पातलो दिसासँगै बगेर जान्छ । रक्तकोषिकाले पोटासियम र सोडियम शरीरका विभिन्न भागमा पुर्याउँछन् । पोटासिमय तथा सोडियम नै शरीरमा अभाव भयो भने शरीरका अंगले काम गर्न छोड्छन् । शरीरमा पानी कम भयो भने प्रेसर ‘कम’ हुन्छ । रक्तसञ्चार कम हुनु नै ब्लड पे्रसर कम हुनु हो ।

ब्लड प्रेसर कम हुने बित्तिकै मुटु, मृगौला, दिमागलगायतका शरीरका अंगमा आवश्यक खाद्य पदार्थ कम हुन्छ । शरीरका भागमा आवश्यक खाद्यपदार्थ नपुग्दा शरीरका अंगको काम गर्ने क्षमता कम हुँदै जान्छ । एउटा अंग फेल हुने बित्तिकै अर्को अंगले समेत काम गर्न छोड्छ । शरीरका सबै अंगले काम गर्न छोड्छन्, जसलाई ‘मल्टि अर्गान फेलियर’ पनि भनिन्छ ।

सामान्यतः फुड पोइजनले दीर्घकालीन असर गर्दैन । समयमै उपचार ग¥यो भने फुड पोइजनबाट बच्न सकिन्छ । सामान्यतः संक्रमित खाना खाएको केही घण्टादेखि तीन दिनसम्म फुड पोइजनको प्रभाव देखिन्छ ।

वान्ता भयो भने वान्ता रोक्ने औषधि खानुपर्छ । लगातार वान्ता भइरह्यो भने इन्जेक्सनमार्फत वान्ता रोक्ने, औषधि चलाउनुपर्ने हुन्छ ।

वान्ता नभएर डाइरिया मात्र भयो भने डाइरिया रोक्ने औषधि खानु पर्छ । डाइरिया मात्रै भयो भने नुन, चिनी पानी वा जीवनजल खानु पर्छ । वान्ता नभएको अवस्थामा जीवनजल नै खाँदा पनि डाइरिया कम हुन सक्छ । शरीरमा पानीको मात्राको अभाव नहुँदा जोखिम कम हुन्छ ।

लगातार तीन दिनसम्म वान्ता वा डाइरिया रोकिएन भने चिकित्सककहाँ जानु पर्छ । चक्कर लाग्यो, १०३.४ डिग्रीभन्दा बढी ज्वरो आयो भने जोखिम हुन्छ । शिथिल भयो भने पनि अस्पताल जानै पर्छ । धेरै बान्ता वा डाइरिया भयो भने पानीको मात्रा सकिएर ज्यानको खतरा हुन्छ ।

फ्रिजको खानाको जोखिम
फ्रिजमा राखेको मासुलगायतका खानेकुरा बाहिर निकालेर केहीबेर राख्छौँ । आइस पग्लिएर झरिसकेपछि मात्रै पकाउँछौँ । खान्छौँ । त्यसो गर्नु राम्रो हैन । डि फ्रिजबाट खानेकुरा निकालेर आइस फ्रिज भित्रै पग्लिन दिनु पर्छ, जसलाई ‘डि फ्रस्ट’ गर्ने पनि भनिन्छ ।

फ्रिज भित्रै आइस पग्लिसकेपछि बाहिर ल्याएर तुरुन्तै खानेकुरा पकाउनु पर्छ । फ्रिजबाट झिकेर रुम टेम्प्रेचरमा धेरैबेर राख्नु राम्रो हैन । फ्रिजबाट झिकेको खानेकुरा धेरैबेर बाहिर राख्यो भने केमिकल रियाक्सन हुन्छ । त्यस्तो खानेकुरा खाँदा फुड पोइजनको जोखिम हुन्छ ।

जति टेम्प्रेचर बढी भयो त्यति नै खानेकुरामा अम्लियपन हुन्छ । केमिकल रियाक्सन हुन्छ, जसलाई ‘मेटाबोलिजम्’ पनि भनिन्छ । फ्रिजमा खानेकुरा राख्दा चिसोले अम्लियपन अत्यन्तै कम हुन्छ । त्यसैले फ्रिजमा राखेको खानेकुरा बाहिर निकाल्दा ह्वात्तै अम्लियपन बढ्ने भएकाले धेरैबेर बाहिर नराखेकै राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *