नेदरल्यान्डको राष्ट्रिय विभूषण भित्र्याउने नेपाली चेली

लामो समय कमलरी मुक्ति अभियानमा सक्रिय नेपाली चेली उर्मिला चौधरी ‘फ्रिडम फोरम फियर अवार्ड २०१८’बाट सम्मानित भएकी छिन् । उर्मिलाले कमलरी प्रथा उन्मूलनमा पु-याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । यसअघि सो अवार्ड विश्वप्रसिद्ध व्यक्तित्व नेल्सन मन्डेला, एन्जिला मार्केल, हुसेन इब्राहिम सलेह, ग्रहेथ जोह्न इभाइन, आङसाङ सुकी, मलाला युसफजई आदिले पाइसकेका छन् । यसपटक नेदरल्यान्डका राजा–रानी, राजपरिवारका अन्य सदस्य र विशिष्ट व्यक्तिको उपस्थितिमा यो अवार्ड नेपाल भित्रिएको छ । कमलरी मुक्ति अभियन्ता उर्मिलासँग कृष्ण आचार्यले गरेको संवाद :

नेदरल्यान्डका राजदूतले भेट्न बोलाउनुभयो

आजभन्दा करिब चार महिनाअघि नेपालस्थित नेदरल्यान्डको कन्सुलेटबाट फोन आयो । फोन कन्सुलरले गर्नुभएको रहेछ । उहाँले मलाई भेट्न नेदरल्यान्डबाट राजदूत नेपाल आएको बताउनुभयो । म दाङमा थिएँ । मैले त्यहाँबाट काठमाडौं आउन कम्तीमा पनि २० घन्टा लाग्छ भनेँ । उहाँले अर्को कुनै उपाय छैन ? भनेर सोध्नुभयो ।

मैले दाङबाट ४ घन्टामा नेपालगन्ज र त्यहाँबाट ५५ मिनेटमा काठमाडौं पुगिने बताएँ । त्यसपछि तत्काल नेपालगन्जबाट प्लेनमा आउन आग्रह गर्नुभयो । सुरुमा त राजदूतजस्तो व्यक्तिले भेट्ने भन्दा मलाई पत्यारै लागेन । तर, उहाँको कुराले नपत्याई बस्न सकिनँ । र, म काठमाडौं आएँ । काठमाडौंमा राजदूतसँग भेट भयो ।

एक हप्ता लगाएर मेरो बारेमा अध्ययन गरेको र म एउटा विशेष अवार्डका लागि छनोट भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो राज्यकै विभूषण हो, पहिला नेल्सन मन्डेला, मलालालगायतले यो अवार्ड पाउनुभएको थियो ।

तिमी छनोट भएकी छौ र पाउने सम्भावना बलियो छ ।’ उहाँको कुरालाई मैले सामान्य रूपमा लिएँ । किनकि, मलाई अवार्ड के–कस्तो हो भन्ने खासै जानकारी थिएन । उहाँसँग भेटेपछि अवार्डको बारेमा विभिन्न माध्यमबाट बुझ्ने प्रयास गरेँ । त्यसपछि यो त ठूलै अवार्ड रहेछ भन्ने थाहा भयो ।

राजपरिवारसँगको पहिलो भेट

चार महिना बित्यो । अवार्डको समय आयो । मे १२ तारिखमा म नेदरल्यान्ड गएँ । नेदरल्यान्डको विमानस्थलमा ओर्लिएपछिको माहोल निकै फरक थियो । त्यहाँबाट चौतर्फी सुरक्षा दिएर मलाई होटेलसम्म लगियो । होटेलमा पनि सुरक्षाको व्यवस्था मिलाइएको रहेछ । मैले हाम्रो देशमा राष्ट्रपति, प्रधानमन्त्रीलाई मात्रै यसरी सुरक्षा दिएको देखेकी थिएँ ।

त्यहाँ आफूलाई पनि त्यसरी सुरक्षा दिएकोमा अचम्म लाग्यो । मलाई वेलावेलामा मिटिङमा लगिन्थ्यो । त्यतिवेला त झन् बाटो नै पहिल्यैदेखि खाली गराइएको हुन्थ्यो । नेदरल्यान्डलाई हामी सुरक्षित देशका रूपमा चिन्थ्यौँ, त्यहाँ पनि मेरा लागि यस्तो वातावरण तयार भएको देख्दा अलमलमा परेकी थिएँ । आफूले पाउन लागेको अवार्ड निकै ठूलो रहेछ भन्ने लागेको थियो ।

अवार्ड १६ तारिखमा दिइने थियो । त्यसअघि नेदरल्यान्डका राजा विलियम एलेक्सन्डर र रानी मेक्सिमा जरुरेगुन्टा, पूर्वमहारानी बिट्रिक्सको उपस्थितिमा बैठक बस्यो । उहाँहरूले मेरो बारेमा पहिल्यै जानकारी लिइसक्नुभएको हरेछ ।

करिब १ घन्टा कुराकानी भयो । नेपाल र मेरो प्रशंसा गर्नुभयो । नेपालमा हुने बालविवाह, बालिग स्वतन्त्रता, कमलरी प्रथा र समग्र बालबालिकाको अवस्थाबारे राजा–रानीले जिज्ञासा राख्नुभयो । मैले सबै बताएँ ।

राजा–रानीले ‘हामीले नेपाल भन्ने सुन्दर देश छ भन्ने सुनेका थियौँ, तर त्यहाँ पनि यति सानो उमेरमा स्वतन्त्रताका लागि लड्ने उर्मिला छ भन्ने थाहा थिएन । थाहा पाउँदा धेरै खुसी लागेको छ’ भन्नुभयो । मलाई निकै सम्मान दिनुभयो, मेरो प्रशंसा गर्नुभयो । म भने दंग थिएँ ।

राजा–रानी रुँदा सभाहल स्तब्ध

अवार्ड प्रदान गर्ने दिन आयो । मलाई मिडवर्डमा अवस्थित एक भव्य सभाहलमा लगियो । भित्र प्रवेश गर्नुअघि त्यहाँको आर्मीले तोप पड्कायो । त्यसपछि मलाई वरिपरि घेरेर ‘गार्ड अफ रनर’ दिएजसरी विशेष सम्मानका साथ सभाहलमा लगियो ।

सभाहल म्युजियमजस्तै थियो । जहाँ स्वर्णिम अक्षरमा ‘उर्मिला चौधरी, नेपाल’ लेखिएको थियो । मेरो नामभन्दा पछाडि लेखिएको नेपाल शब्दले मलाई थप खुसी दियो । राष्ट्रको नाम देखेर गर्व महसुस भयो । सभाहलमा करिब ८ सय जति विशिष्ट व्यक्ति थिए । त्यहाँ मलाई आफ्नो कुरा राख्न लगाइयो । मैले मेरो र नेपालको बारेमा केही कुरा राखेँ ।

त्यसपछि मेरो विषयमा तयार पारिएको डकुमेन्ट्री देखाइयो । डकुमेन्ट्री देखाउँदा सभाहल पूरै स्तब्ध थियो । राजा–रानी, पूर्वमहारानीको आँखाबाट आँसु झरिरहेको थियो । त्यति नै वेला रानी मेक्सिमा जरुरेगुन्टाले मलाई समाउनुभयो र भन्नुभयो, ‘धेरै वर्षपछि तिमीले हामीलाई आँसु झार्न बाध्य बनायौ । हामी निकै खुसी छौँ ।’

राजा–रानीको खुसी

रानी मेक्सिमा जरुरेगुन्टाले यो अवार्ड अहिलेसम्म धेरैलाई प्रदान गरिसकेको, तर सबैभन्दा महत्वपूर्ण अहिलेको लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले यो अवार्ड सम्मानित व्यक्तिलाई प्रदान गर्दै आएका थियौँ । तर, यसपटक जो सम्मानपूर्वक जिउन चाहन्छ, जो स्वतन्त्रता चाहन्छ, स्वयं जसको सवाल हो, त्यसको नेतृत्व आफैँ गरेको छ, उसलाई यहाँ उभ्याउन पाएका छौँ ।

यो हाम्रा लागि पहिलो अनुभव हो र तिमीलाई सम्मान गर्न पाउँदा हामी धेरै खुसी छौँ ।’ त्यहाँ उपस्थित मिडियाकै अगाडि उहाँले यो कुरा राख्नुभएको थियो । राजा विलियम एलेक्सन्डरले पनि त्यस्तै विचार राख्नुभयो ।

‘यसरी लामो दमन सहेर पनि बालिकाहरू लड्दा रहेछन्, विश्वमा यस्तो पनि ठाउँ रहेछ । यसबारे जानकारी पाउँदा र उर्मिलालाई सम्मान गर्न पाउँदा आज हामी निकै हर्षित छौँ’ भन्नुभयो ।

सभाहलको फरक दृश्य

त्यहाँ मसँगै अन्य तीनजनालाई पनि फरक विधामा अवार्ड प्रदान गरिएको थियो । तर, उहाँहरूलाई अवार्ड प्रदान गर्दाको दृश्य र मलाई प्रदान गर्दा निकै फरक अनुभूति भयो । अन्यलाई प्रदान गर्दा त्यहाँको अवस्था सामान्य थियो ।

सबैले आफ्नो स्थानमा बसेरै ताली बजाइरहेका थिए । तर, मेरो नाम लिँदा कार्यक्रम सञ्चालक नै भावुक हुनुभयो । उहाँको आँखाबाट आँसु झरिरहेको थियो । यसैबीच भन्नुभयो, ‘मसँग कुनै शब्द छैन । म यहाँ उर्मिलालाई बोलाउन चाहन्छु ।’ त्यसपछि सभाहलमा रहेका सबै उठेर ताली बजाए । म पनि निकै भावुक भएँ । आँखामा आँसु टलपलाए ।

सभाहलमा धेरैले नेपालका बारेमा सोध्नुभयो । तर, सुरक्षाको हिसाबले सबैलाई मसम्म आउने अनुमति थिएन । कतिपयले जानकारी लिन चाहँदाचाहँदै पाउनुभएन । त्यतिवेला मलाई ‘मैले आफ्नो माटोलाई चिनाउन सकेँ, देशका लागि केही गर्न सकेँ’ भन्ने अनुभूति भइरह्यो ।

नेपालबारे राजा–रानीको चासो

राजा विलियम एलेक्सन्डर र रानी मेक्सिमा जरुरेगुन्टाले नेपालका विषयमा धेरै चासो राख्नुभयो । नेपालका लागि हामीले के गर्न सक्छौँ भनेर मसँग सोध्नुभयो । मैले हरेक बालबालिकाले सम्मानपूर्वक जिउन पाऊन् र शिक्षा, स्वास्थ्यमा उनीहरूको सहज पहुँच होस् भन्ने चाहना रहेको कुरा उहाँहरूलाई बताएँ ।

उहाँहरूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । समग्र नेपालका लागि पनि हामीले केही गर्न सक्छौँ कि भन्ने उहाँहरूको चासो थियो । अवार्डपछि फोटोसेसन भयो । उहाँहरूसँगै डिनर भयो । त्यहाँ उपस्थित मिडियाले मलाई अलि बढी नै महत्व दिएर फोटो खिचे ।

रानीको हातमा बुद्धको मूर्ति

नेपालबाट जाँदा मैले सानो बुद्धको मूर्ति लगेकी थिएँ । नेपाल विश्वभर बुद्धको देश भनेर चिनिने भएकाले त्यो उपयुक्त लागेको थियो । अवस्था हेरेर मूर्ति राजा–रानीलाई उपहार दिन्छु भन्ने लागेको थियो । मैले यो कुरा त्यहाँ राखेँ । नेदरल्यान्डमा राजा–रानीलाई त्यसरी उपहार दिन नपाउने व्यवस्था रहेछ । तर, मैले लगेको उपहार लिने व्यवस्था मिलाइयो ।

त्यसकै लागि भनेर छुट्टै बैठक बस्यो । नेपाल र मलाई यति धेरै महत्व दिएकोमा निकै खुसी लाग्यो । मूर्ति लिइसकेपछि रानी मेक्सिमा जरुरेगुन्टाले आफूले बुद्धको बारेमा धेरै पढेको बताउनुभयो । भन्नुभयो, ‘मैले बुद्धको बारेमा धेरै पढेकी छु ।

आज आफ्नै हातमा बुद्धलाई पाउँदा निकै खुसी लागेको छ । म नै नेपाल गएको जस्तो अनुभूति भएको छ ।’ १० दिन नेदरल्यान्ड बसेर म नेपाल फर्किएँ । त्यहाँ रहँदा प्रत्येक दिनजसो बैठक हुन्थ्यो । विभिन्न देशबाट आउनुभएका विशिष्ट व्यक्तिसँग पनि भेट भयो । त्यहाँका विभिन्न विश्वविद्यालयको भ्रमण गराइयो । प्रतिष्ठित व्यक्तिहरू भेट्न आउनुभयो ।

नेपालको विमानस्थल टेक्दा

जब म नेपालको विमानस्थलमा ओर्लिएँ, तब एउटा फरक अनुभूति भयो । देशका लागि केही लिएर आएजस्तो लाग्यो । दक्षिण एसियामा अवार्ड पाउने दोस्रो र नेपालको पहिलो व्यक्ति भएकोमा गर्व लाग्यो । देश, समाज र आफ्नो क्षेत्रमा अझै केही गर्ने जिम्मेवारी बढेको अनुभव भयो । थाइल्यान्डको राष्ट्रिय विभूषण नेपाल भित्र्याउन पाएकोमा आफैँमा गर्व महसुस भयो ।

सरकारलाई थाहा छैन

मैले अन्तर्राष्ट्रिय अवार्ड पाउँदा सरकार, सरकारी निकाय वा अन्य कुनै उपल्लो तहबाट कुनै शुभकामना सन्देश तथा बधाई आएको छैन । मलाई लाग्छ, यो अवार्ड सारा नेपालीसँगै सिंगो देशकै लागि गर्वको कुरा हो । त्यसमाथि हिजो कमलरी बसेर उनीहरूको मुक्तिका लागि आवाज उठाएकी मजस्ती सामान्य युवतीले यति ठूलो सम्मान पाउनु सानो कुरा होइन ।

यसअघि पाकिस्तानकी मालालाले यही अवार्ड पाउँदा नेपालमा जति चर्चा थियो, त्यति मैले पाउँदा भएको छैन । हुन त मैले चर्चाका लागि काम गरेकी होइन । न त चर्चा होस् भन्ने चाहना हो । तर, अन्तर्राष्ट्रिय स्तरको अवार्डले नेपालको समेत पहिचान बोकेकाले सरकारलाई यस विषयमा जानकारी त हुनुपर्ने हो । सायद, कुनै विशिष्ट व्यक्तिले पाएको हुन्थ्यो भने पक्कै चर्चा हुन्थ्यो होला ।

कमलरी मुक्त अभियान

सन् २००० अघि नेपालमा कमलरीको अवस्था निकै विकराल थियो । हजारौँ कमलरी थिए । म आफैँ पनि पढ्ने–लेख्ने, आमा–बुबाको माया पाउने उमेर (६ वर्ष)मै कमलरी बस्न बाध्य भएँ । त्यसपछि जीवनको ११ वर्ष मेरा लागि निकै पीडादायी रह्यो । जब मुक्त भएँ, त्यसपछि सम्पूर्ण कमलरी मुक्तिका लागि काम गरेँ ।

लाग्छ, यहाँसम्म आइपुग्दा कमलरी प्रथा हाम्रो समाजबाट उन्मूलन भएको छ । धेरै मुक्तकमलरी उद्यमी बन्नुभएको छ । सरकारले प्रदान गरेको शैक्षिक सहायताको माध्यमबाट शिक्षित बन्नुभएको छ । हाम्रै पहलमा ५ जिल्लामा ४२ वटा सहकारी खोलिएको छ । त्यहाँबाट मुक्तकमलरीले ऋण लिएर विभिन्न व्यवसाय गर्दै आएका छन् ।

अझै पनि यसका विभिन्न आयाममा परिवर्तन आउन सकेको छैन । हालसम्म १३ हजार बालबालिका कमलरीबाट मुक्त भएका त छन्, कहीँ–कतै लुकिछिपी कमलरी राख्ने काम अझै रोकिएको छैन । सरकारसँग भएको १० बुँदे समझदारी पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।

मुक्त कमलरीको प्राविधिक शिक्षाका लागि दिइँदै आएको बजेटमा पनि कटौती भएको छ । १३ हजारलाई उद्यमी बनाउने, प्राविधिक शिक्षा प्रदान गर्ने, रोजगारी दिने गर्न सके देशमै आर्थिक क्रान्ति हुने मैले देखेकी छु ।

नयाँ पत्रिकाबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *