बालकृष्ण निस्के, रेशम चौधरी एक्लै भए !

दिलनिशानी मगर।

सबैभन्दा धेरै जेल बसेको नेतालाई नै सबैभन्दा पाको, हक्की तथा जनताको समर्थन पाएर माथि उठेको नेता भन्ने बुझिन्छ यो देशमा । स्व. नेता बीपी कोइरालाकै कुरा गरौं, कम्तीमा पंक्तिकारका लागि उनी नेता कम र साहित्यकार धेरै हुन् । शायद सबैका लागि यस्तै हुन् । उनले लेखेका आत्मवृत्तान्त र जेल बसाइका अनुभूतिहरूमा जनताको भावनाहरूलाई कसरी नजरबन्दमा राखिन्छन् भन्ने कुरा बडो रोचकताका साथ प्रस्तुत गरेको पाइन्छ । आफूलाई पनि जेल बसम् बसम् लाग्छ ।

निकै जान्ने पल्टिएर एक हरफ विदेशको प्रसङ्ग पनि जोडौं । गोरा र काला जातिको संघर्षको कालखण्डमा नेल्सन मण्डेलाले काला जातिहरूलाई दासत्वबाट मुक्त गर्न वर्षौंवर्षसम्म जेलको भित्तामा आफू निस्किने दिनको रेखा कोरेर बस्नुपरेको थियो । तर त्यो दिन कुनै मिति थिएन, केवल एउटा अपेक्षा मात्र थियो । रंग दासत्वको त्यो निर्मम बिरासतलाई नामेट पार्न खोज्दा मण्डेलालाई किन जेलभित्रै बन्दी पारियो रु

खैर, हामीले राजनेता, जननेता, त्यागी, सन्त, चिन्तक, सादा, महान् विचारक जस्ता, यस्ता कैयौं उपमा दिने नेताहरू कोही यो धर्तीमा जीवित छन्, केही छैनन् । जे जस्तो भएपनि कुनै न कुनै कालखण्डमा तिनले जेलजीवन बिताएका छन् । हो, दस्तावेजीकरण नभएका हुन सक्छन् । धेरै टाढा नजाम् । गणतन्त्र प्राप्तिकै सम्मुखमा शेरबहादुर देउवादेखि माधव कुमार नेपालसम्मका नेताहरू नजरबन्दमा परेका थिए । तिनले जेलभित्र जाँदा हतकडी र निस्किदाँ फूलमाला लगाएका थिए ।

आन्दोलनकै रापतापको समयमा नजरबन्दीमा परेका नेताहरू एकाएक जनताको नजरमा प्रिय नेताको रूपमा बास बस्न आइपुगेका थिए किनभने तिनले नयाँ संविधान र गणतन्त्रको उपहार ल्याइदिएका थिए । जनताले आफ्नो देश हाँक्ने नेतृत्व चुनावबाट चुन्न पाउने स्थिति बसालेका थिए । र समग्रमा तिनले स्वतन्त्रताको कोसेली बोकेर निस्केका थिए ।

अधिकांश नेताहरू जो बिरामी छन् तिनले प्रहरीको डण्डा राम्रैसँग भेटेका थिए । केही दिनअघि मात्रै राष्ट्रपति विद्या भण्डारीले माफी दिएर छुटेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुङ्गेलले भनेका थिए, ‘मलाई हिटरमा पिसाब फेर्न लगाइयो, अनि किड्नी ड्यामेज गरियो, म मुटुको बिरामी छु । गणतन्त्रका लागि लडेबापत मलाई जेल पठाइयो ।’

ढुङ्गेलको चित्तदुखाइ धेरै हदसम्म हैन, पूरै सही छ । राज्य भनेको व्यवस्था परिवर्तनको संवाहक मात्र हैन, त्योबीचमा घटेका घटनाहरूको जिम्मेवारी लिने निकाय पनि हो । जस्तो कि १२ बुँदे सहमति जिम्मेवारीको एक उदाहरण हो । तर दुईचारजना मानवअधिकारवादको व्यापारीलाई फाइदा पु–याउन राज्यको मूल स्पिरिटका रूपमा रहेको शान्ति प्रक्रियाको चिरहरण गर्न मिल्छ रु शान्ति प्रक्रिया भन्नुको अर्थ त्यसभन्दा अगाडिको लडाईं रोक्ने भनेको त होला नि हैन ?

तत्कालीन माओवादीले सञ्चालन गरेको १२ वर्षको युद्ध ’जनयुद्ध’ व्यक्तिहत्याको शृङ्खला थिएन, त्यो एउट राजनीतिक आन्दोलनको प्रारूप थियो । त्यसैले तत्कालीन माओवादी आन्दोलनमा संलग्न हुनेहरू सबै बालकृष्ण ढुङ्गेल थिए, हुन् । राजनीतिक लडाईंका चरणमा भएका घटनाक्रमहरूलाई व्यक्तिसँग जोड्नहुँदैन थियो भन्ने हो । झापामा पनि मान्छेका टाउको काटिएकै थिए, खुट्टालाई चार इन्च छोटो बनाइएकै हो । यसको विस्तृत विवरण तत्कालीन खाँटी एमालेहरूलाई थाहा होला ।

जे होस्, नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्नका लागि यो भूमिका के कस्ता विचारकहरू लामो समयसम्म जेलजीवन खेप्नुप–यो, कालकोठरीमा नजरबन्दी हुनुप–यो, त्यतातर्फ चर्चा गर्न लागेको त हैन । तर जजसले विभिन्न कालखण्डमा लामो वा छोटो जेलजीवन बिताएर निस्के, चुटाइ, पिटाइ, गोदाइ खाए त्यो सबै राजनीतिक घटनाक्रमको उपज थियो । न त्यसमा आदेशपालकहरूको दोष थियो, न युद्ध र आन्दोलनकारीहरूको नै । हालका मन्त्री मातृका यादवले पनि जेलमा मरुन्जेल पिटाइ खाएकै हुन् । त्यसैले उनी बिरामी भइराख्छन् । हाल उपचार गर्न विदेश गएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना जेल जीवनका अनुभूति सुनाउन थाल्नुभयो भने निकै महान् कर्म गरेजस्तो आँखा चम्काउनुहुन्छ । मानौं कि एकबारको जुनीमा उहाँले सबैभन्दा राम्रो काम गरेको नै जेलजीवन बिताएको हो । खिस्स हाँस्दै ‘म परिवर्तनका लागि जेलनेल बस्दा तिमीहरू आमाको गर्भमा पनि थिएनौ’ भन्ने उहाँको वचन निकै तीखो हुनेगर्छ । हाँसोमा पनि रोदन लुक्नेगरी उखान फ्याँक्नुहुन्छ उहाँ । उहाँको तर्क हुन्छ, ‘म जेलनेल खाएको मानिस हुँ, तिमीहरू बतासे भुइँफुट्टाहरूलाई के थाहा छ रु’

पक्कै पनि यहाँ कोहि भुइँफुट्टा छन्, कोही बतासे । त्यसैले पुराना अतीत भुलेर राजनीति र अपराधलाई एकै तुलामा जोखेर तौल मापन गर्न खोजिन्छ । तर यसका आयतन र आयामहरू बिल्कुलै फरक हुन्छन् । लोककल्याणकारी राज्यमा व्यवस्थामा लोकवासीको भलाइ हुन्छ र त्यसको प्रत्याभूति लोकतन्त्रले गर्छ । नेपाली जनताले आफ्ना भलाइका लागि निकै ठूला आन्दोलन, संघर्ष, र बलिदानहरू गर्दै आएका छन् । ओलीज्यूको जेलजीवनको लिगेसीले पनि जनताको जीवनमा खुशियाली त ल्याएकै हो ।

फर्केर हेर्दा २००७ सालयताको नेपाली राजनीतिक इतिहासलाई अध्ययन ग–यो भने, त्यहाँ मूलतः विकास र उन्नति भन्दा पनि कुनै न कुनै हिसाबले शासकहरूको दासत्वबाट फुत्किनका लागि जनताले कहिले आम र कहिले फुटकर रूपमा राजनीतिक हस्तक्षेपहरू बढाएको देखिन्छ । राज्य व्यवस्था बदल्नैका लागि हजारौं हजारको बलिदान चढाउने परम्परा पुरानै भएको बुझिन्छ । यति मात्रै फरक हो, ती कहिले सुखानीको रूपमा प्रकट भए, कहिले रोल्पा, रुकुमको रूपमा प्रकट भए अनि कहिले टीकापुरको रूपमा ।

बीपी कोइराला, मदन भण्डारीका महान देनहरू पनि जनताकै भावनामाथि उभिएका थिए । जनताकै जगमा उभिएर तिनले नीति, योजना बनाएका थिए । र क्रमशः तिनीहरूले दासत्वका पर्खालहरूलाई प्वाल पार्न खोजिरहेका थिए । त्यही प्वालबाट एकएक गरेर फुत्त बाहिर निस्किएर, कतै विलीन हुँदै गए एकछत्र राज गरिरहेका शासकहरू । अनि जनताले चुनेका जनताको प्रिय नेता शासक बन्न थाले । हामी नेपालीहरू जम्माजम्मी सामन्तवादी लिगेसीमा चलेको व्यवस्थाबाट भर्खरै फुत्किएका दुखिया शुक्रकीट हौं ।

टीकापुरको आँसु

वामपन्थीको सरकार बनेर मात्रै बालकृष्ण ढुङ्गेल छुटेका हैनन् । राष्ट्रपतिज्यूको पनि व्यक्तिगत चिन्ता र चासो पक्कै भयो होला बालकृष्णको सन्दर्भमा किनभने बालकृष्णको विषय सर्वथा आलोचनाको विषय बनेको थियो । यसो हुनुमा मानवअधिकारबादीहरू र मिडियाको भूमिका असन्तुलित थियो । त्यसो त बालकृष्णले लामो जेलजीवन कटाइसकेका थिए । उनी जेल सजाय भुक्तानी गरेरै पनि निस्किन सक्थे । जे होस्, उनी निस्किए, मानवअधिकारको रक्षा भयो ।

भर्खरै बालकृष्ण ढुङ्गेल जेलबाट निस्केका थिए । बाहिर जताजतै उनको चर्चा थियो । यो पंक्तिकार टीकापुर घटनाको आरोपित रेशम चौधरीलाई भेट्न सदरखोर डिल्लीबजार गएको थियो । त्यो नितान्त मित्रताको भेट थियो । रेशम चौधरीलाई राखिएकै जेलमा बालकृष्णलाई राखिएको थियो । उनीहरू जेलभित्र साथीजस्तो भएर बसेका थिए । रेशम चौधरीका अनुसार, उनीहरू सदरखोरमा दिनभरि सँगै समसामयिक गफ गरेर दिन कटाउँथे । बालकृष्ण निस्के, रेशम चौधरी एक्लै भए ।

हेर्नुहोस्, रेशम चौधरी टीकापुरमा शान्ति, अमनचयन होस्, जातीय हिंसा नहोस् भन्ने चाहना बोकेका एक राष्ट्रवादी युवाको रूपमा उभिएका रहेछन् । राष्ट्रवादी मान्छे, सबै नेपाली एक हौं, मिलेर बसौं भन्ने किसिमको मान्छे । उनले टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन् । त्यो घटनाको बारेमा उनले ‘चिरफार’ नामक पुस्तक समेत निकालेका छन् ।

त्यो पुस्तकमा घटना किन भयो र त्यो आन्दोलनमा आफ्नो भूमिका के थियो भनी प्रस्ट लेखेका छन् । भेटघाटहरूमा कुनै कुरा नलुकाई, कसर बाँकी नराखी आफ्नो पीडा ओकल्ने गरेका छन् उनले । र यो कुरा प्रधानमन्त्री ओलीलाई पनि थाहा छ । तर नेपाली उखान छ, धान खाने मुसा, चोट पाउने भ्यागुता । वास्तवमा यतिखेर रेशम चौधरी चोट पाउने मुसा भएका छन् ।

एकमात्रै उदाहरण – देउवा सरकारले गठन गरेको स्वतन्त्र छानबीन टोलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नभएको प्रतिवेदन बुझाएको थियो । त्यो रद्दीको टोकरीमा गयो ।

आन्दोलन गर्न मधेसवादी दलहरूले कम्मर कसेर सबै किसिमका शक्तिहरू परिचालन गरेको सन्दर्भमा रेशम चौधरी त केवल थारू समुदायको हर्ताकर्ता युवा मात्र थिए । उनले थारू समुदायलाई अधिकार देऊ मात्रै भनेका थिए । षड्यन्त्र गरी लुटिएका जमीनहरू फिर्ता गर र यो देश पनि हाम्रो हो भन्ने पहिचान देऊ मात्र त भनेका थिए । यसबाहेक उनले केही भनेका थिएनन्, गरेका थिएनन् ।

तर यथार्थ कुरा भन्नैपर्छ । प्रहरीकै गोप्य दस्तावेजमा लेखिएको छ – ‘टीकापुरको घटना हुँदा उनी चार कोस टाढा थिए ।’ त्यस घटनाका बारेमा नेकपा नेता भीम रावल धेरै जानकार छन् । यहाँ सत्य कुरा लुकाइएको छ । कसका योजनामा थारूका बस्तीहरू जलाइयो, कसका योजनामा थारू चेलीबेटीहरूलाइ बलात्कार गरियो रु त्यो गाउँमा प्रहरीको कुटाइ नखाएको घरै छैन । बालबच्चादेखि बुढेसकाल लागेका थारूहरूलाई पनि निकै बर्बरताका साथ कुटपिट गरिएको छ ।

थारू बस्तीको घरगोठमा आगो जलाइएको छ । गाई, बाख्रा, भैंसी जलाइएको छ । यी जेजस्ता भएका छन्, त्यो टीकापुरमा घटना हुनुभन्दा कैयौं दिन अघिदेखि चलिरहेको थियो ।

मार्न आउनेहरूसँग जाइलाग्ने त आन्दोलनको प्रकृति नै होला । जनआन्दोलनमा यस्तै भएको थियो । टीकापुरमा प्रहरीको गोलीबाट सयांै घाइते भएको कुरा अझै लुकाइएको छ । टाउको र छातीमा ताकी–ताकी गोली हानेर मारेको सत्यता, बाध्यताको कारणले मात्रै बाहिर आएको हो । आन्दोलन दबाउन किन ताकी–ताकी गोली हानेर सीधै मारियो रु त्यसको प्रतिक्रिया के होला रु के त्यहाँका जनता फूलमाला र अबिर बोकेर निस्केलान् सरकारको अभिनन्दनमा ?

केही वर्षपहिले भारतीयहरूले नाकाबन्दी गरेका थिए । तर किन गरेका थिए त रु भेदहरू उतिखेरै पनि प्रस्ट नभएका हैनन्, तर कसैले बोल्ने हिम्मत गरेनन् । नेपालमा पहिचानको आन्दोलनले तीव्र गति पक्रेको, जातीय अधिकारका लागि विभिन्न समुयदायहरू संगठित बन्दै गइरहेको अवस्थामा र त्यसले सफल नै हुने छाँटकाँटको कठोर प्रारूप लिँदै गर्दा आन्दोलनकारीहरूको सेन्टिमेन्ट ‘एन्टी इन्डिया’ तिर ढाल्न नाकाबन्दीलाई प्रश्रय दिने काम राज्यबाटै भएको थियो । बृहद् योजना अनुसार भएको थियो ।

थारू समुदायको घर बस्ती जलाएर ‘देखिस्, जातीय अधिकार माग्दा हालत के हुन्छ’ भन्ने डर देखाइएको हो । यो देशका शासकको भारत पलायन हुनबाट रोक्ने र रेशम चौधरीलाई जेलमा सडाएर, ‘देखिस्, धैरै जान्ने हुँदा हालत के हुन्छ भन्ने सन्देश दिन खोजिएकै हो । घटनाको नजिक पुगेर नियाल्दा प्रहरीहरू हतियारविना त्यो आगोको ज्वालामा किन गए, प्रहरीको हेडक्वार्टरको आदेश पो थियो कि ?

रेशम चौधरीले मञ्चबाट आन्दोलनमा सहभागी हुन भाषण गरेका मात्र हुन् भन्ने लाग्छ । त्यसभन्दा उत्तेजक भाषण त उपेन्द्र यादवले गरेका थिए । यिनी अहिले सरकारमा गएका छन् । राजेन्द्र महतोहरूले लाठी र भाला बोकेर आन्दोलनमा सहभागी हुन उर्दी गर्थे । उनीहरू मधेस आन्दोलनको ब्याज खान आतुर छन् । तर एक सामान्य युवा जसको भूमिका जम्माजम्मी आन्दोलनकारीको थियो, ऊ सदरखोरमा पूरै टीकापुर घटनाको आरोप खेपेर बन्दी भइरहेछ ।

के त्यो टीकापुर घटनाको केन्द्रविन्दु मधेसी समुदायको राजनीतिक आन्दोलन हैन र ? रेशम चौधरीले एक्लै कसरी त्यति धेरै प्रहरी मारे ? कुन हतियार थियो उनीसँग रु कुन गोलीगट्ठा थियो उनको झोलामा ? उनको घरमा, होटलमा, एफएममा कति भेटिए बम, गोला र बारुदहरू ? उनले कति महिनासम्म तालिम गरेका थिए हत्याकण्ड मच्चाउनका लागि ? उनको मोबाइल फोनका सम्पर्कहरू चेकजाँच गर्दा के कस्ता अपराधीहरूसँग ‘कनेक्सन’ भएको देखियो ?

एउटा व्यक्तिगत रिसइबीका कारण विना कुनै बलियो प्रमाण कसैलाई फसाउने कुरा त्यो राणाकालमा हुन्थ्यो, पञ्चे र राजाको पालामा पनि निर्दोष जेलमा, अपराधी खुलेआम बाहिर हुन्थे । हामीले गणतन्त्र केका लागि ल्याएका हौं ? यस्तै दमन र अत्याचार गर्न ? वास्तवमा रेशम चौधरीको आपराधिक पृष्ठभूमि हुन्थ्यो भने भारी बहुमतका साथ चुनाव जित्दैनथिए । माननीय सांसद हुँदैनथिए ।

राष्ट्रपतिज्यू, असल चालचलनका आधारमा आरोपीहरूलाई माफी दिनुभएको छ । रेशम चौधरीको चालचलन नजिकबाट बुझ्नेहरूलाई थाहा हुन्छ, उनी कति निर्दोष छन् भन्ने कुरा । उनलाई यो देशको निकै माया छ, जति हामी सबैलाई छ । देशमा अमनचयन, शान्ति चाहान्छन् उनी पनि । आँखामा आँसु लिएर देशप्रेमको संकेत गर्छन् उनी पनि । राष्ट्रपतिज्यू, विना कसूर सदरखोरमा उनी किन बस्नुपर्ने ?

टीकापुरमा जे भयो त्यो नराम्रो भयो । तर यो आन्दोलनको जगमा उभिएर भएको दुःखद घटना थियो । मध्यरातमा रेशम चौधरी चौकी आक्रमण गर्न गएर प्रहरी मारेका हैनन् । रेशम चौधरीले योजना बनाएको भन्ने छ । कहाँ बनेको थियो त्यो योजना ? केके छन् दसी प्रमाण ?केही खुल्दैन, केवल भनिन्छ, रेशम चौधरी हत्यारा हो । यो सत्यता सबैले बुझेका छन् । तर किन बुझेर बुझ पचाइरहेका छन्, उदेक लाग्छ ।

राज्य भन्दा ठूलो कोही हुँदैन । राज्यको नियम, कानूनभन्दा ठूलो पनि कोही हुँदैन । निर्दोषलाई झुटो आरोपमा फसाउने राज्य, त्यो जनताको राज्य हुँदैन । त्यो राज्य ‘एकल’ हुन्छ । एकल सोचले ग्रसित राज्य सधै त्रसित हुन्छ । कानूनलाई हातमा लिएर राजनीतिक इगो लिन खोज्ने हो भने नेताको पञ्जाबाट धेरै टाढा पुग्छन् चीजहरू । त्यो चाँडै चेतना हुन जरूरी छ ।
राष्ट्रपतिज्यू, रेशम चौधरीलाई रिहा गर्नुस् ।

लोकतान्तर डटकमबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *