क्यालिफोर्नियादेखि तिलाठी कोइलाठीसम्म

लक्ष्मी चौधरी।
नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।

त्यतिमात्रै होइन स्वास्थ्य नीतिले समेत गरिब, सीमान्तीकृत र उच्च जोखिममा रहका समुदायको आधारभुत स्वास्थ्य सेवामा सहज पहुँच हुनुपर्ने कुरालाई अंगिकार गरेको छ।

राज्यले नै लैंगिक समानता, सामाजिक समावेशिता रणनीतिहरु पनि जारी भइसकेका छन्। नेपालमा प्रजातन्त्र आएको झण्डै सात दशक हुन लाग्यो, लोकतन्त्रको उज्यालो घाम भित्रिएको पनि एक दशक भयो । हो, राजनीतिक रुपमा हामी जति गतीवान भएर अगाडी बढेका छौ ? सामाजिक रुपमा कहाँ छौ त ? खुसीको कुरा यो छ कि अधिकांश नेपाली नेताका मुखबाट अब सम्बृद्ध नेपालको भाषा नसुनेको नपढेको दिन हुन्न।

यो गतिको सार्थकता साना साना उपलब्धी, आम नेपालीको खुसी र सफलतामा निर्भर हुन्छ। धेरै पटक सुनेको कुरा हो– ठूला कुराका प्राप्तिले मात्रै होइन्, अरुको खुसीमा पनि मिल्छ, खुसी। यो भनाईको अर्थ मैले केही दिनअघि तराईको एउटा सुविधायुक्त र एउटा बञ्चितिकरणमा परेको ठाउँमा तीन/तीन दिनको स्वास्थ्य शिविर चलाउँदा बढी महसुस गर्ने अवसर पाएँ।

करिव डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका म र त्यहाँ लायन्स क्लवमार्फत् सामाजिक अभियानमा लागेका हाम्रो नेपालको स्वास्थ्य सेवामा केही गर्ने इच्छा थियो । नेपालमा त्यस्तो के काम होला ? यस्तो काम होस् जसले वर्षौदेखिका रोगका पीडाहरुमा थोरै भने पनि मल्हम लगाओस्। गर्भनर राजन थापाको पहलविना यो संभव थिएन। यो शिविर सफल पार्न ब्रेक्ली मकालु लायन्स क्लवका निर्देशक दिकेन्द्र मास्के एक वर्षदेखि लागिरहनु भएको थियो । कैलाश मेडिकल फाउन्डेसनका अध्यक्ष डा.योगेश भक्त, लायन्स क्लव इन्टरनेशनल फोसी थ्रीका क्षेत्रीय चेयर जेम्स भर्गेजले यो शिविर सफल पार्न निकै मेहनत गर्नु भयो । सप्तरीमा शिविर गर्न शेखर सिंहको ठूलो सहयोग रह्यो ।

कुनै जोखिमपूर्ण अवस्थाको जानकारी दिएर कसैको समयमै ज्यान बचाउँनेगरी सल्लाह सुझाब दिने अवसर प्राप्त होस्। त्यसका लागि हामीले तराईका स्वास्थ्य शिक्षा, सामाजिक विकासका हिसाबले पछाडी परेको सप्तरीको तिलाठी कोइलाठी र सुन्सरीको इटहरी छान्यौं। यो सबै तयारी क्यालिफोनियामै बसेर गरेका थियौं। तुलनात्मक रुपमा सुनसरी स्वास्थ्य सेवाकाका हिसाबले त्यति पछाडी नपरे पनि प्रत्येवक वर्ष बाढि र डुबानले ग्रस्त हुने तिलाठीका जनता आधारभुत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन् । यो ठाउँ गत असोजसम्म पनि जलमग्न थियो । साना स्वास्थ्य समस्या पनि उपचारको अभावमा थुपै दलीत विपन्न महिलाहरु वर्षौदेखि समस्य पालेर बसेका छन्।

म आफै लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक फोसी क्यालिफोनियाको जोन चियरको रुपमा क्रियाशील छु। लायन्स संसारभर मानवीय सेवामा क्रियाशील संस्था भन्ने दोहोर्याइरहनु पर्दैन।

तराईका ती विकट ठाउँमा आधारभुत स्वास्थ्य सेवा, ‘होलबडी जाँच’ र औषधि वितरण एवं स्वास्थ्य परामर्श पुर्‍याउने सोच हाम्रो थियो। सदिच्छामा साथ दिन तयार भयो अमेरिकाको क्यालिफोर्नियामा क्रियाशील कैलाश मेडिकल फाउन्डेसन। फाउन्डेसनले वर्षेनी अफ्रिकादेखि एसियाका थुपै देशमा यस्तै स्वास्थ्य शिविर गर्ने गरेको छ। अमेरिकाबाट आएको फाउन्डेसनको टोलीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सक टोलीले साथ दियो। इटहरी उपमहानगरपालिका, टेकनारायण स्मृति प्रतिष्ठान, फाउन्डेसनले फिजिसियान, दन्त चिकित्सकसहित विभिन्न विधाका ११ जना चिकित्सकको टोलीसहित नेपालमा स्वास्थ्य शिविरका लागि तयार भयो। स्थानीय जनप्रतिनिधि, पत्रकारका सहयोग विना ३ हजारको हाराहारीमा स्थानीयवासीलाई सेवाका लागि जुटाउन सहज थिएन।

हामीले सप्तरीका लागि चैतको २८, २९, ३० र सुनसरी इटहरीमा वैशाख २, ३, ४ का लागि मिति तय गरियो। हामी त्यतिबेला उत्शाहित र आश्चर्यमा पर्यौं कि जब हामीले ठूला स्वास्थ्य समस्याहरु वर्षौसम्म पालेर बस्न बाध्य सयौं विरामीलाई शिविरमा भेट्यौं। वर्षौदेखि प्रेसर र सुगर थियो तर जानकारी थिएन । चिकित्सकहरुले मन्द विष भन्ने गर्छन् यी दुबै रोगलाई । जसले थाहा नपाईकनै मुटु, मिर्गौलाका गम्भीर रोग निम्याउँछन, मतिष्कघात, प्यारलाइसिस निम्त्याउँन सक्छ । हामीले बल्डसुगर स्थानीय तहमै जाँच गरेका थियौं।

नाक, कान, घाँटी आँखा, हाडजोर्नी र दाँतका समस्या पालेर बसेका त कति थिए कति ! सरकारले यी अधिकांश समस्याको औषधि निःशुल्क पनि वितरण गर्दै आएको छ । तर किन यी समस्य पालेकाहरु स्वास्थ्य संस्थासम्म पुगेका छैनन् । किन स्वास्थ्य सेवाको पहुँच यीनिहरुसम्म पुग्न सकेको छैन त ? आम जनतामा सामान्य सेवासमेत पुगेको अवस्थाको अन्त्य नहुँदासम्म संविधानको परिकल्पनाको अर्थ रहन्न।

न विमित भएका छन्, न शिक्षा र अन्य चेतना स्तर बढाउँन राज्यले ठोस पहल गरेका छ । न आधारभुत स्वास्थ्य सेवा पुगेको छ वा पाएका छन् । यो दायित्व कसको हो ? भौगोलिक र यातायातको हिसाबले तुलनात्मक रुपमा सुगम मानिने तराईका क्षेत्रमै यो अवस्था छ भने दुरदराजका पहाडी बस्तीमा के अवस्था छ होला ?

मानवीय र सामाजिक भावनाले गर्ने यस्ता अभियानले त केवल केही समयका लागि सीमित मान्छेलाई राहत दिनसक्छन् । आधारभुत स्वास्थ्य सेवा जुन संविधानले निःशुल्क हुन्छ भने परिकल्पना गरेको छ पुर्‍याउने दायित्व राज्यको हो । नयाँ संरचनामा यो अधिकार स्थानीय तहलाई गएको छ । तर त्यो सेवा पुर्याउन सक्ने क्षमता, भौतिक, मानवीय जनशक्ति स्थानीय तहहरुसँग छन् त ? छैनन् भने केन्द्र सरकारले अझै यो स्थानीय तहको अधिकार हो भनेर यो विषयलाई अलपत्र छोड्न मिल्दैन्।

विभिन्न ठाउँमा स्वास्थ्य शिविर भइरहेका खबर आइराख्छन् । यी कुरा सामान्य लाग्न पनि सक्छन् । तर हजारौ विरामीलाई सेवा दिनेगरी शिविर चलाउँने विषय सामान्य हुँदै होइन् । यो समूहगत कार्य हो । त्यो भन्दा महत्वपूर्ण कुरा भनेको त यो आम जनतामा अल्पकालिन सेवा पुर्याउने मात्रै होइन्, उनीहरुको आनिवानी परिवर्तन्, व्यावहार सुधारदेखि उनीहरुको जोखिमयुक्त अवस्थाबारे जानकारी दिएर दीर्घजीवन, स्वास्थ जीवनका लागि महत्वपूर्ण सहयोग पुर्याउनु हो । शारिरीक, मानसिक श्रम, समय र स्रोत साधानका आधारमा यो अभियानमा धेरै जनाको सहयोग परेको छ । यो सबै कुराको कारण मानविय सेवामा रहेको विश्वास नै हो । प्रतिको गयो काममा सहयोग गर्ने लायन्सहरु चिकित्सक, जनप्रतिनिधि पत्रकार र हामीप्रति भरोशा राखेर सेवाका लागि आउँने तमाम नागरिकलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

One thought on “क्यालिफोर्नियादेखि तिलाठी कोइलाठीसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *