मेरो दिमागमा अर्को उपन्यासको प्लट फुरिसक्यो : शिवानी सिंह थारु

बुनु थारु/नेपालखबर।
झण्डै एक दशकअघि शिवानीसिंह थारुले उपन्यास लेख्ने घोषणा गरिन्। मोडलिङ, टेलिभिजन प्रस्तोताजस्ता पेसाबाट नेपाली समाजमा ‘सेलिब्रेटी’ को छवि बनाइसकेकी थारुले लेखनमा हात हाल्ने कुराले चर्चा पायो। तर उनको किताब आएन। त्यसैकारण आफ्नो पुस्तकको आवरण सार्वजनिक गर्दैगर्दा थारुले भनिन्, ‘यो समय आइपुग्न ९ वर्ष लाग्यो। धेरैले यो अविधमा कथा संग्रह निकाले, उपन्यास निकाले। कितब निकालेर धेरै प्रख्यात भए तर म चाहिँ किताब ननिकालेर कुख्यात भएकी थिएँ।’

यही विषयलाई लिएर आफ्नो निकै कुरा काटिएको र आफू मजाकको विषय बनेको सुनाउँदै उनले लेखन र अनुसन्धानका दुःख बाँडिन्। आफूलाई कहिल्यै लेख्न रोकौँजस्तो नलागेको उनको भनाइ थियो।

आफ्नो पुस्तक ‘काठमाडौँमा एक दिन’ मधेस आन्दोलनको राजनीति र सशस्त्र समूहहरुको कथामा आधारित रहेको उनले बताइन्। उपन्यासको मुख्य पात्र घुना आक्रोश र आगोले भरिएको चरित्र भएको उनको कथन छ। ‘ऊ भित्रको आगोले उसलाई उज्यालो दिन्छ र त्यही आगोले डढाएर खरानी पनि बनाउँछ,’ उनी भन्छिन्, ‘सामाजिक अन्यायमा परेको एउटा पात्रमाथि जब हिंसा थोपरिन्छ, त्यसले प्रतिहिंसा जन्माउँछ। त्यो प्रतिहिंसाले समाजमा अर्को हिंसाको बीऊ रोप्छ।’

आफूभित्र पनि उपन्यासको पात्रमा जस्तै आक्रोश र छटपटी बाँकी रहेकोले नै पुस्तक अन्तसम्म लेख्न सम्भव भएको उनको ठम्याइ छ।

पुस्तकको आवरण सार्वजनिकीकरणपछि लेखक शिवानी सिंह थारुसँग बुनु थारुले गरेको संवादः

मोडलिङ क्षेत्रमा रमाएको मान्छे लेखनमा आउने सोच कसरी आयो?
मैले धेरै मोडलिङ त गरेको होइन तर प्रत्यक्ष रुपमा देखिने भएकोले सोझै लेखनयात्रामा हामफालेको जस्तो देखिन्छ। तर मलाई एकदम नजिकबाट चिन्ने मान्छेहरुलाई थाहा छ, म एकै पटक साहित्यमा हाम फालेको होइन। टेलिभिजनमा काम गर्दा पनि म पठनयात्रामा निरन्तर थिएँ। लेख्नेपढ्ने काम धेरै पहिला देखि नै गरिराखेको थिएँ तर उपन्यास नै लेख्ने भनेपछि चर्चा बढेको मात्र हो। टेलिभिजनको जिन्दगी र मेरो पठनलेखन सबै सँगसँगै भइराखेको थियो।

लेख्ने घोषणा गरेको करिब ९ वर्षपछि आज पुस्तकको आवरण सार्वजनिक भएको छ। किन यति ढिला भएको हो?
सुरुमा त उपन्यास लेखन भनेको त्यति सजिलो कार्य पक्कै होइन। एकादेशमा राजा थियो, राजाले रानीसँग बिहे गर्‍यो भनेर कथा लेखेको जस्तो सजिलो पक्कै छैन। त्यसको लागि तपाईंले भाषामा काम गर्नुपर्छ, मेटाफोर, सिमिलीमा ध्यान दिनुपर्ने हुन्छ। शिल्प हुन्छ, त्यो बुझ्नको लागि मलाई केही समय लाग्यो। मैले रिसर्च गरेँ, त्यसका लागि पनि समय लाग्यो। त्यसपछाडि अरुको कुरा बुझ्न, उनीहरुको स्वत्वलाई चिन्न धेरै कुरा सिक्नुपर्ने हुन्छ। यो प्रक्रियाले गर्दा पनि समय लागेको हो।

रहर पूरा गर्न उपन्यास लेख्नुभएको हो कि यसैलाई पेसा बनाउने उद्देश्य छ?
केही हदसम्म अहिले नेपालमा लेखेर बाँच्न सकिन्छ। लेखेरै भात खान त पुग्छ तर शौख गर्न पुग्दैन। शौख पनि पूरा गर्ने हो भने त्यही किसिमले लेख्नुपर्ने हुन्छ। लेखनमै कुनै भयंकर कुरा गर्न सकियो भने सायद त्यसरी पनि बाँच्न सकिएला। त्यसैको प्रयास मा त हो नि हामी सबै। भंयकर लेख्ने प्रयास भएर न त होला ९ वर्ष लागेको। लेखेर बाँच्न सकिन्छ भनेर लाग्दा यत्तिका वर्ष लाग्यो।

तपाईं जुन समुदायबाट आउनुभएको छ, त्यो समुदायलाई तपाईंको लेखनले के दिन्छ?
प्रत्यक्ष रुपमा यसरी नै फाइदा पुर्‍याउँछ भन्न त सक्दिनँ। प्रत्यक्ष रुपमा त यसले केही दिँदैन। मैले लेखेको पूर्वी मधेसको कुरा हो। तर यसबाट प्रेरणा लिन सकिन्छ। म खाली थारु समुदायको सदस्य मात्र होइन। सुरुमा त म एक महिला हो। त्यसमाथि म मधेसको मान्छे हुँ। हामीले यहाँ बोल्ने नेपाली र त्यहाँ बोल्ने नेपाली एउटै स्तरको हुँदैन। म थारु भाषा होइन, अवधि भाषा मिसाएर नेपाली बोल्छु। जुन यहाँको लागि स्तरमा मिल्दैन। तर त्यो भाषालाई साहित्यमा स्थापित गर्नु पनि न्याय गर्नु हो जस्तो लाग्छ। यसलाई अब प्रेरणा लिन सक्ने मान्छेले जसरी पनि लिन सक्छन्।

तपाईंले यो उपन्यासप्रति कस्तो अपेक्षा गर्नुभएको छ?
यो उपन्यास आइसकेपछि यस्तो–उस्तो होला भन्ने त्यस्तो अपेक्षा छैन। खाली जसको बारेमा मैले लेखेको हो, जोसम्म पुग्नुपर्ने हो, उहाँहरुको कुरा बहस हुनु नै मेरो लागि ठूलो कुरा हो। त्योभन्दा बढी मेरो कुनै अपेक्षा छैन।

नयाँ लेखकलाई प्रकाशकले निकै दुःख दिन्छन् भनिन्छ, तपाईंलाई चाहिँ कस्तो लाग्यो?
भर्खर आइरहेको लेखकले पाण्डुलिपी बुझाउँछ। त्यो लेखकलाई त मैले निकै भयंकर लेखेँजस्तो लाग्छ त्योे लेखकलाई प्रकाशकले राम्रो छैन छाप्दैनौँ भनेर फर्काइदिन्छ। त्यसलाई दुःख भयो भन्ने हो भने त्यो व्यक्ति लेखक नबन्दा हुन्छ। फिल्ममा पनि त्यही त हो। स्कुलमै प्रवेश परीक्षा दिनुपर्छ। फेल भयो भने त स्कुलले दुःख दियो त भन्न मिल्दैन नि! संघर्ष गर्नसक्नुपर्छ, डट्न सक्नुपर्छ। त्यसका लागि कसैले कसैलाई पनि दुःख दिन सक्दैन।

यो पुस्तक प्रकाशनपछि तपाईंका भावी योजना के छन्?
मैले यो पुस्तक तयार गरिसक्नेबित्तिकै अर्को पुस्तकका लागि मेरो दिमागमा प्लट फुरिसक्यो। त्यो मेरो दिमागमा खासखुस गर्दैछ। त्यसलाई अझै एक वर्ष पाक्न दिन्छु। त्यसपछि अर्को उपन्यासमा लाग्छु तर त्यसभन्दा अगाडि यदि म कुनै फिल्म वा नाटकमा अभिनयमा लागेँ भने अचम्म नमान्नुहोला। ६ महिनापछि मैले सर्ट फिल्म बनाएँ भने पनि छक्क नपर्नुहोला। अल्टिमेट्ली मलाई खुसी लाग्ने, लेख्दा खेरि आनन्द आउने र पढ्दा पनि आनन्द आउने भनेको उपन्यास हो। त्यो चाहिँ म छोड्दिनँ। लेखिरहनेछु।

किताबको लागि कत्तिको उत्साहित हुनुहुन्छ?
मैले ९ वर्ष लगाएर लेखेको हो। ९ वर्षको हरेक दिन मैले यही पुस्तक कुरेकी छु। म एकदम उत्साहित पनि छु र यसलाई कसरी लिइन्छ होला भनेर उत्तिकै डर पनि लागिरहेको छ। त्यसबाहेक म अर्को उपन्यासतिर लाग्ने विचार भएको भएर त्यति धेरै यसबारे सोचेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *