राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारी निर्वाचित

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ।

लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गरेका भण्डारीलाई आज सम्पन्न राष्ट्रपति निर्वाचनले भारी मतका साथ निर्वाचित गरेको हो।

अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बन्नुभएका राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि मत दिएका छन्।

एमालेका तत्कालीन उपाध्यक्ष र संविधानसभाका सदस्य रही संविधानसभाबाट संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई अघिल्लो कार्याकालका लागि सो पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

नेपालको संविधान जारी भएपछिको राष्ट्रपति निर्वाचनमा उनी व्यवस्थापिका संसद्बाट २०७२ कात्तिक ११ मा सो पदमा निर्वाचित भएकी थिइन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नेपाली कांग्रेसका तर्फबाट डा रामवरण यादव भएका थिए।

राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जननेता मदन भण्डारीसँग पार्टीकै आयोजनामा विसं २०३९ मा विवाह सम्पन्न भएको थियो । पछि उनको संरक्षकत्वमा मदन भण्डारी फाउण्डेसनसमेत स्थापना भएको थियो ।

विसं २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएका उनी बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन सुरु गरिन् । उनले माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल गरिन्।

राष्ट्रपति भण्डारीले भोजपुर क्याम्पस, भोजपुरमा आइए र महेन्द्र मोरड कलेज विराटनगरमा बिए अध्ययन गरेकी छन् । विसं २०३७ मा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरी विसं २०३६ देखि विसं २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गरेकी उनले विसं २०३९ देखि २०४० सम्म महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भई विद्यार्थी फाँटमा काम गरिन्।

भण्डारी विसं २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा र २०५१ मा सम्पन्न मध्यावधि निर्वाचन तथा विसं २०५६ मा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– २ बाट निर्वाचित भएकी थिइन्। एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी विसं २०६७ देखि २०६९ सम्म रक्षा मन्त्री समेत भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *