जब मैले थारू बोल्न जानिनँ

इन्दु थारू।
सन्दर्भ मातृभाषा दिवस

गाउँघरबाट आउनुहुने पाहुनाहरुले थारू भाषामा कुरा गर्न खोज्थे । थारू बुझे पनि थारूमै फर्काउन आउँदैनथ्यो मलाई । अनि जवाफ खस नेपाली भाषामा दिन्थे । आमाबुबाले मुस्कुराउँदै भन्नुहुन्थ्यो– सानैदेखि शहरमा बस्यो, थारू अलिअलि बुझ्छ, बोल्नचाहिँ आउँदैन ।

आफ्नो सन्तानलाई मातृभाषा आउँदैन भनिरहँदा मेरा अभिभावकलाई पश्चताप् हुनपर्ने हो तर उल्टै गर्व गर्नुहुन्थ्यो । मैले पनि थारू नजानेकोमा गर्व गर्न थाले । अलिअलि जानेको थारू पनि केही नजाने जस्तो गर्न थाले ।

अन्य भाषा सिक्नैपर्ने अनि बोल्नै पर्ने आवश्यकता थियो । शहरमा जो हुर्के, बढे । तर आफ्नो मातृभाषा नै बिर्सनपर्ने कुनै पनि बाध्यता थिएन मेरा लागि । साँच्चै भन्ने हो भने आफ्ना छोराछोरीलाई थारू बोल्नै आउँदैन भनेर एक किसिमले गर्व गर्न थालेका थिए हाम्रा अभिभावकले । कतिपयले त अझै गर्दा हुन् ।

मातृभाषाप्रतिको मोह मलाई धेरैपछि मात्रै जागेको हो । कलेज अध्ययनको सिलसिलामा म एउटा थारू गाउँमा पुगे । त्यहाँ थारू नबोली नहुने भयो । थारूबाहेक अन्य भाषा नबुझ्ने मानिसहरु थुप्रै थिए त्यस गाउँमा । नेपालीमा केही थारू शब्द मिसाउँदै जानीनजानी अन्तरंग गर्थे । एकदिन नेपाली अलि राम्रै बुझ्ने व्यक्तिसँग म कुराकानी गर्दै थिएँ । मैले भने– ‘काठमाडौं बस्दा कहिल्यै लागेन कि नेपालमा बसोबास गर्नेहरु नेपाली भाषा बोल्न जान्दैनन् ।’ पछाडिबाट एकजना युवतीको आवाज सुनियो । भनिन्– ‘शहरमा बस्ने थारूले थारू बोल्न जान्दैनन् हामीले पनि कहिल्यै सोच्न सकेनौं ।’ आफ्नै मातृभाषा बोल्न नजानेकोमा मलाई हिनताबोध हुन थाल्यो । अर्काको भाषा सिक्नु त सिक्नु तर यसरी कसैले नसिकोस् कि आफ्नै भाषा बिर्सियोस् । आफूले बोल्नसक्ने भाषाको सूचीमा जतिधेरै भाषा थपिए पनि आफ्नै भाषा बोल्न नसक्नुमा अब मैले गर्व गर्ने ठाउँ कतै देखिन ।

म शहरमा हुर्के बढे । जहाँ थारू भाषाले मात्रै काम चल्दैनथ्यो । तर आफ्ना आमाबाबुबाट समेत मैले थारू सिक्न सकिन । उहाँहरुलाई लाग्थ्यो सायद, ‘छोराछोरीलाई थारू सिकाउन हुँदैन ।’ एउटा जबर्जस्त मान्यता यो पनि थियो ‘थारू सिकायो भने उनीहरुको बोलीमा पछि सुधार हुँदैन, ट र त छुट्याउन सक्दैनन् ।’

तिमीलाई ‘टिमी’ नै भने पनि त्यो थारू गाउँको मौलिकतामा मैले थारूपनको स्वाद पाएँ । शहरमा बसेर नेपाली बोल्दा पनि जबर्जस्ती अंग्रेजी घुसाउनेहरुसँग म त्यो थारू लवजको मौलिकता कतै पनि तुलना गर्ने ठाउँ देख्दिन । थारूमात्रै किन नेपालमा बोलिने सबै मातृभाषाका आफ्नै मौलिकता छन् । तिनको सुन्दर पक्ष भनेकै बोलीमा आफ्नै लवज हुनु हो । भाषा सिक्न सकिएला तर बोलीमा आउने त्यो मौलिक लवज जतिसुकै पैसा तिरेर पनि सिक्न सकिँदैन ।

त्यो गाउँमा बस्दा म ती युवतीसँग नजिक हुन थालेको थिएँ, जसले मलाई थारू बोल्न नजानेकोमा निकै हिन्ताबोध गराएकी थिइन् । उनले मलाई गाउँ डुलाइन् । हामी सँगसँगै जंगल डुल्न गयौं, खोला गयौं । गाउँमा रहेको अटुवा चढ्यौं । उनी मसँग थारू कहिलेकाहीँ नेपाली पनि बोल्थिन् । नेपाली बोलिरहँदा उनको थारू लवजको नेपाली मलाई सुनिरहु लाग्थ्यो । अनुहारले उनी जति राम्री थिइन् त्योभन्दा सुन्दर उनको बोलीको लवज थियो ।

हामी नजिक भइसकेका थियौं । म उनीसँग जिस्किने भइसकेको थिएँ । कहिले कपाल तान्ने अनि कहिले हातै तानिदिने सामान्य जस्तै भइसकेको थियो । यसो गर्दा उनी भन्थिन्, ‘ना लट्पटाउ ना’ । वाह ! यसको मौलिकता । यस्तो होइन कि उनलाई जिस्काइरहन मन हुन्थ्यो, तर मलाई यो शब्द बारबार सुन्न मन हुन्थ्यो ।

आफ्नो मातृभाषाप्रति पलाएको यो मोहदेखि कहिले त म आफैँ चकित पर्थेँ । नेपाली, अंग्रेजी, स्पेनिसप्रतिको लगाव मेरो हरदम रहन्थ्यो । कहिल्यै सोच्नै सकिएन कि आफ्नो भाषा र त्यसका शब्दहरुले मलाई लठ्ठ बनाउलान् । हुन पनि किन नबनाओस् अरुका भाषाले दिमागसँग कुरा गर्छन्, जब कि मातृमाषा सिधै दिलमा ठोक्किन्छन् । शब्दहरु सुनेर कानले राहत पाउनु अनि तिनै शब्दहरुले मनमा डेरा जमाइरहनु मातृभाषा बाहेक अन्यमा यो शक्ति कहाँ ?

मुनामदन मैले सबैभन्दा धेरै पटक पढेको किताब हो । उसो त शिरिषको फूल पनि थुप्रै पटक पढेको छु । विशेषत हाइस्कूल पढ्दा उपन्यास निकै पढिन्थ्यो । उपन्यासमा यति धेरै हराइन्थ्यो, हरेक उपन्यासका पात्र आफैँ हुँजस्तो लाग्थ्यो । थारू उपन्यास कहिल्यै पढिन, भनौं पढ्नलाई छँदै थिएन । थारू उपन्यास भइदिए, लाग्छ म थारू परिवेशमै हराउँथे । उल्था गरिएका किताबहरु पनि थारूमा नपाइने । आफ्नो भाषा बोल्न नजानेकोमा गर्व गर्ने समाजमा कसले थारूमा किताब लेखोस् वा कसैले लेखे पनि त्यो पढोस् ।

आज पनि म थारू बोल्न त सक्छु, लेख्न सक्दिन, पढ्न सक्दिन । त्यो गाउँमै पनि थारू बोल्छन् । जति धारा प्रवाहका साथ तिनीहरु नेपाली पढ्न सक्छन्, थारू सक्दैनन् । सायद थारू भाषा केवल बोल्नका लागि मात्रै हो, पढ्नका लागि होइन । हुन त पढ्नका लागि थारूमै लेखिएका पुस्तक प्रसस्त छैनन् । थारूमै लेखिएका पुस्तक न पढ्न बाध्यकारीनै छन् । बाध्य बनाइएका छन् त केवल बोल्नै नजानिके भाषाका किताबहरु लेखपढ गर्न । ती बोल्नै नजानिके भाषाकाबीचमा कमसेकम थारू बाहुल्य भएका विद्यालयहरुमा ‘क’ से करछुल, ‘ख’ से खटिया‘ पढाइदिए केही बिग्रिन्छ जस्तो लाग्दैन ।

लेखक डेमोक्रेसी रिसर्च सेन्टर नेपालका सिनियर रिसर्चर हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *