प्रदीप चौधरीको ‘कालापत्थर’

कृष्णराज सर्वहारी।

श्रीमान् अनि दुई छोराको पर्वतारोहणका क्रममा मृत्यु भएपछि कुनचाहिँ आमाले भएको एउटा छोरालाई पर्वतारोहणका लागि स्वीकृति दिन्छे र ? तर कान्छो छोरो दावा जिद्दिवाल छ । आमाले नाइँनास्ती गर्दा पनि ऊ हिमाल जाने ढिपि गरिरहन्छ । फर्केर पेम्बासँग बिहे गर्छ । तपाईंलाई खुसी पार्छु आमै भनेर आश्वासन दिन्छ ।

दावाले ‘हामी त हिमालको छोरो । हिमाल नचढेकोमा साथीहरूले गिज्याउँछन्’ भन्दा उसकी आमाले ‘तँलाई हिमालले जन्माएको होइन, तँलाई मैले जन्माएको । तँ हिमालको छोरो होइनस्, तँ मेरो छोरा होस् । हिमाल नचढ्नेहरूले पनि बिहे गरेका छन्, घरबार गरेकै छन् । मलाई पैसा पनि चाहिन्न । तँ नजा हिमाल’ भनेर रोक्छिन् ।

उता दावाकी पे्रमिका पेम्बाले पनि हिमाल नजान रोक्ने अनेक प्रयत्न गर्छे । दावाले ‘अर्कोपटक जान्नँ’ भन्छ । ‘यहीपल्ट मर्‍यो भने ? ’ प्रेमिकाले प्रश्न गर्छे । उसले भन्छ, ‘मरेछ भने चन्द्रमा हेर्नु । त्यही चन्द्रमाबाट म तिमीलाई हेरी बस्नेछु ।’

अन्ततः आमाले दोर्जेको साथ लगाएर छोरा दावालाई मुटुमाथि ढुंगा राखी एक पटकका लागि हिमाल जान अनुमति दिन्छिन् तर छोरा फर्किंदैन । न त उसको लास नै भेटिन्छ । भड्किएको छोराको आत्माले आमालाई दुःख दिइरहन्छ । आमाको सपनामा बारम्बार झुल्किन्छ । त्यसपछि के हुन्छ ?

यसका लागि शुक्रबारदेखि मण्डलामा मञ्चन भइरहेको नाटक ‘काला पत्थरमाथि’ नाटक हेर्नुपर्ने हुन्छ । प्रदीपकुमार चौधरीको लेखन निर्देशनमा तयार भएको ‘काला पत्थरमाथि’ नाटकमा प्रायः सबै कलाकारले जीवन्त अभिनय गरेका छन् । दोर्जे (विकास घिसिङ) दावा (सन्तोष तामाङ) लाई बचाउन नसकेर अशुभ समाचार सुनाउन आउँदा दावाकी आमा (निशा पाख्रिन) र प्रेमिका (पत्रिका घिमिरे) भावविह्वल हुँदाको क्षण नाटकको उत्कर्ष हो । लामा (वारात लिम्बू)ले पूजा गरेकोदेखि धामीझाँक्री चढेको सुरुआतको दृश्यमा कृत्रिमता देखिँदैन । यसका अन्य कलाकारमा प्राश्ना डंगोल, पुष्कर कार्की, कृष्ण श्रेष्ठ, विक्रम श्रेष्ठ, बालकृष्ण खत्री रहेका छन् ।

प्रकाश व्यवस्थापन, हिमाल लगायतको साजसज्जा, खोलाको सुसाइ, पाश्र्व धुन, गीतले नाटकलाई उचाइमा पुर्‍याएको छ । दोर्जेले यसपालिको खैरे राम्रो छ, धेरै पैसा दिन्छ भनेर दावालाई फकाइफुल्याई लगेको हुन्छ । समग्रमा नाटकले विदेशीहरूलाई कीर्तिमान कायम राख्न भरियाको काम गर्ने अनेक दुःखी नेपालीहरूको कथा भन्छ ।

यसअघि मसानटार, लवकी कन्या नाटक निर्देशन गरिसकेका उदयपुर घर भएका निर्देशक प्रदीपकुमार चौधरीसँग तराईकेन्द्रित नाटकका थुप्रै प्लट छन् । भन्छन्, ‘जाडोमा हिमालको कथा मञ्चन गर्दा कलाकार पनि मारमा पर्दैनन् । किनकि हिमालको कथाले बाक्लो पहिरनको माग गर्छ ।’ तर, महिला कलाकारहरू बख्खुमा नभई साधारण पहिरनमा देखिएका छन् । पोसाकमा बख्खु नलाएर साधारण पोसाक अलि अमिल्दो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *