यसरी लुटियो बेनी चौधरीको १ बिघाभन्दा धेरै जग्गा (विवरणसहित)

कारी महतो, चितवन।
बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममाा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि.सं. १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कट्ठा १८ धुर रहेको छ । बेनीको घर त्यहि जग्गामा नै छ । तर लालपुर्जा भने अर्कैको नाममा गयो । उनले लालपुर्जा बनाउनका लागि २०५० सालदेखिनै कसरत गरेका थिए । त्यसअघि अशिक्षा र अज्ञानताको कारणले उनका बुबाले लालपुर्जा बनाएका थिएन । बेनीले उक्त जग्गाको लालपुर्जा बनाउन प्रयास नगरेका भने होइन । उनले सरकारी नीतिनियमको झमेलाबाट लालपुर्जा बनाउन सकेन । तर त्यही नीतिनियमबाट कुन सूत्र प्रयोग गरेर २०६७ सालमा बलराम धरेलले पुरै जग्गा आफ्नी आमाको नाममा लालपुर्जा बनाए, बेनीले थाहै पाएन । अरुको नाममा लालपुर्जा बनेपछि बेनी (फटाला)ले आफ्नो जग्गा लुटिएको महशुस गरेका छन् ।

उक्त कुराको गुनासो जिल्ला प्रशासन कार्यालयमा गराउँदा पनि सुनुवाई नभएकोले बेनी (फटाला) ले जिल्लामा गतवर्षदेखि नै पत्रकार सम्मेलन गरेर हारगुहार मागीरहेका छन् । उनले आफ्ना पीरमर्का थारु कल्याणकारिणी सभा (थाकस) चितवनलाई पनि लिखित रुपमा गराए । थाकस चितवनले यस विषयका लागि वर्षौदेखि विभिन्न ठाउँमा गएर सहयोगको याचना गरे । तर केहि सीप लागेन । थाकस चितवनले माघ २५ गते काठमाडौंमा गएर रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरेर उक्त जग्गा फिर्ता गराईदिनका लागि राजनीतिक दल, नागरिक समाजका अगुवा लगायत न्यायप्रेमी समाजसेवी सबैलाई आग्रह गरेका छन् ।

यसरी लुटियो बेनी उर्फ फटलाको जग्गा
उक्त जग्गा बेनी (फटाला) को बुबा घेघरा र काका सुकराको संयुक्त कागजपत्रहरुले देखाउँछ । चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ६, साविक भण्डारा गाविस वडा नं. २ (क) कित्ता नं. पहिला ४ र हालको कित्ता नं. ७ क्षेत्रफल १ बिघा १ कट्ठा १८ धुर कायम भएको १९७९ सालको नम्बरी जग्गा २०२६ सालमा सर्भे नापीमा नाम छुट भएको फिल्डबुक किनारामा “यो जग्गा हर्दी बस्ने सुकरा थारुको नम्बरी जग्गा हो” भनी प्रमाणित गर्ने वा.स. कृपाराम चौधरी उल्लेख छ । उक्त जग्गा सुकरा र घेघरा दुवै जना बराबरी हकवाला हो । सबै जग्गा संयुक्त दुवैको नाममा थिए । १९७९ साल नम्बरी सबैभन्दा पुरानो भुमिसुधार को कागजमा समेत सुकारा र घेघरा उल्लेख छ । सरकारी दस्तुर मालपोत जिम्दारलाई बुझाउनु पर्ने भएकोले कृपाराम चौधरी, बुद्धिराज पाठक र हरिनारायण पाठकलाई सुकारा र घेघराले २०२० वैशाख २२ गते बुधबारका दिन एक सय पैतालिस रुपैयाँ तिरोे तिरेको समेत ७ नं. फारामले प्रमाणित गरेको छ । ८ नं. फाराम जो जोताहा पुर्जा २०१८ सालको तिरो चवालिस रुपैया सत्र पैसा सुकारा र घेघराबाट असुली भएको पाइन्छ । संयुक्त सुकरा र घेघराको कित्ता नं. ७ को १ बिघा १ कट्ठा १८ धुर जग्गा २०२८ साल वैशाख महिना २६ गते आइतबार भण्डारा ३ बस्ने कृष्णराम धरेलको श्रीमती ललिता कुमारी धरेललाई १० कट्ठा १० धुर जग्गा घरायसी कागज गरी सुकरा र घेघराको नामबाट छोडपत्र गरेको देखिन्छ । उक्त जग्गा २०२५ साल देखि २०३६ सालसम्म पश्चिम उत्तर विरेन्द्रनगरको साँध पूर्व हुलाक रोड दक्षिण महेन्द्र राजमार्ग (पुरानो रोड) चार किल्ला भित्रको जग्गा मत्स्य केन्द्रले अधिग्रहण गर्नका लागि रोक्का गरेको थियो । रोक्का भएकै समयमा २०२८ वैशाख २६ गते घरायसी कागज गरी सुकरा महतोको भागमा पर्ने १० कट्ठा १० धुर जग्गा सुकराको मृत्यपछि उनका हकवाला श्रीमती र छोराहरुले कृष्ण धरेललाई लिएको देखिन्छ । रोक्का गरिएकै समयमा घरायसी कागज गर्दा मालपोत कार्यालयको र. नंं. १५३४ उल्लेख भएको देखेर फटाला महतो भन्दछ “यो सरासर जालसाँजी नै हो । सरकार आफैंले रोक्का गरेको जग्गा लेनदेन कसरी भयो ?”

२०२८ वैशाख २६ को छोडपत्रले संयुक्त सुकारा र घेघराको हो भनी प्रमाणित हुन्छ । सुकाराको मृत्युपछि उनको हकवाला श्रीमती पतिया, छोरा छन्नु र किशोरले दिएको मन्जुरीनामाबाट घेघराको आधा हिस्सा समेत घेघराको स्वीकृति बिना नै सोहि मञ्जुरीनामाको आधारमा पुरै जग्गा बलराम धरेलले हडपेको देखिएको छ ।

२०५० सालमा फिल्ड निरिक्षण साक्षी राख्दा बलराम धरेलले साक्षीहरुलाई जाँडरक्सीले अचेत बनाई सहीछाप गराएको फटालाको दाबी छ । साक्षी बस्नेहरु गर्भुराम चौधरी भण्डारा ४, मोतीराम थपलिया भण्डारा १ केशव चौधरी, धमौरा, राजेन्द्र नारायण चौधरी धमौरा, नाटाही, सुरेन्द्र र छन्नुरामलाई टन्न मदिरा खुवाएर सही गराएको फटालाले उल्लेख गरेका छन् । फटला भन्छन् फिल्ड मुचुल्का किर्ते हो । विभिन्न फरक फरक मितिमा कागजात, झुठा प्रमाण बनाई बलराम धरेलले “छुट जग्गा दर्ता गरी प्रमाण पुर्जा पाऊँ” भनी चितवन मालपोत कार्यालयमा मिसिल तयार गरी पेस गरिएको रहेछ ।

घेघरा महतोको छोरा बेनी (फटाला) चौधरीले त्यो कुरा थाहा पाएर चितवन मालपोत कार्यालयमा जाँदा मालपोतका हाकिम अमलकिरण ढकालले मिसिल यहाँबाट विभागीय क्षेत्र काठमाडौं बबरमहल पठाएको जानकारी गराए । जानकारी पाउने बितिक्कै फटाला काठमाडौं बबरमहल गई उनले रोक्का निवेदन गरे । बबर महलले निवेदन मिसिल संलग्न गरी घेघराको हकमा रहेको निजको छोराको निवेदन अनुसार कानुन बमोजिम एकिन गरी प्रमाणित गरिदिने भनिएको छ । न्याय खोज्ने क्रममा २०५५ फागुन २३ मा जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी गर्दा प्रशासनले तत्कालीन भण्डारा गाविसलाई छलफलको लागि पत्र पठाएपछि भण्डारा गाविसले सर्वदलिय बैठकमा छलफल गर्दा निजलाई जग्गा दिने होइन कानुनमा लड्नु निश्कर्ष दिए । फेरि न्याय खोज्ने क्रममा २०५५ चैत १२ मा निषेध आज्ञा मुद्दा पुनरावेदन अदालत हेटैडामा दायर गर्दा न्यायधिस खिलराज रेग्मीद्वारा “निषेध गरेर के गर्ने, प्रमाण अनुसार दर्तामा जानु” भनेर मुद्दा खारेज गरिएको देखिन्छ । तर उक्त निर्णय बेनी (फटला) ले तुरुन्त पाएन । “३५ दिनपछि निर्णय प्रतिलिपि लिन आउनु” भनेर कर्मचारीहरुले भने । ३५ दिनपछि उक्त निर्णय प्रतिलिपि ल्याएपछि प्रमाण जुटाउन थाले । तर उक्त निर्णय ३५ दिन पुरा नहुँदै बलराम धरेलले हात पारिसकेको थियो ।

बेनीले प्रमाणको लागि सिफारिस माग्न जाँदा गाविस अध्यक्ष बालकृष्ण लोहनीले विपक्षी ललिता कुमारी धरेललाई नै सिफारिस दिएको थाहा पाए । “हाम्रो नाउँको जग्गा किन विपक्षीलाई सिफारिस दिएको ?” भनेर फटलाले सोधेपछि जवाफमा तत्कालिन गाविस अध्यक्ष बालकृष्ण लोहनीले भने “ललिता कुमारी धरेल मेरा नाता पर्ने भएकोले मैले सिफारिस दिएँ । तिमिले के गर्न सक्छौ, गर । अरु कुनै आधार खोज्न तत्कालिन उपाध्यक्ष सुकारा चौधरी (धमौरा) बाट माग” भन्यो । सुकाराले भने “एउटै कार्यालयबाट दुवै जनाको सिफारिस गर्न मिल्दैन ।”
बेनी (फटला) का अनुसार उनले पटक पटक ललितादेवी धरेलका छोरा बलराम धरेलसँग मेरो बाबा घेघराको हकको कुरा गर्दा बलरामले यसरी घुक्र्याए “म नेपाली काँग्रेसको नेता हुँ । म गिरिजाको नजिकको मान्छे, प्रशासन कार्यालय, गाविस, भलाठुला जति मेरै हो, म जसरी भए पनि जित्छु । तेरो को छ र थारु । न्यायधिस खिलराज मेरै मान्छे हो । जग्गा लालपुर्जा जसरी भएनि बनाएरै छाड्छु ।” अन्तमा २०६७ माघ २३ गते बलराम धरेलले आमा ललितादेवी धरेलको नाममा जग्गा दर्ता प्रमाण पुर्जा बनाएरै छाडेछन् ।

अन्तमा कुनै सीप नलागी न्यायका लागि पीडित बेनी (फटाला) ले लिखित रुपमा न्यायको भिख यसरी मागीरहेको छ । “त्यस कित्तामा २०५९ साल देखि म मेरो पक्की घर बनाएको छु । हाल अहिले मेरो नेपाल अधिराज्य भर कहिंकतै जग्गा छैन । मेरो घरबार भत्काउन मलाई प्रशासन लगाएर दमन गर्ने उद्देश्यले धरपकड गर्ने कोशिस गरिरहेको छ । त्यसकारण म गरिब थारुलाई मेरो हकभोग मेटाउने झुठा प्रमाण बनाई झुठा आरोप लगाई म माथि अन्याय र अत्याचार गरिरहेकोले न्यायको लागि विभिन्न राजनतिक पार्टी, कार्यालय, संघसंस्था, जातीय मोर्चा, मानवअधिकारवादी, उचित न्यायको लागि अपिल गर्दछु ।”

यस विषयलाई थारु कल्याणकारिणी सभा (थाकस) चितवनले गम्भीर रुपमा लिएको छ । बेनीले न्यायका लागि थुप्रै निकायहरुमा निवेदन दिए पनि कतै सुनुवाई भएन । थाकस चितवनले भने उनकै विषयमा पटक पटक पत्रकार सम्मेलन गरेर सम्बन्धित पक्षलाई अन्याय नगर्नका लागि अनुरोध गरेको छ । थाकस चितवनका जिल्ला सभापति विश्राम महतोका अनुसार बलराम धरेलसँग पनि कुराकानी भएको थियो । उनका अनुसार बलराम धरेलले पनि बेनी (फटाला) माथि अन्याय भएको स्वीकार गरेका छन् । तर जग्गा फिर्ता दिन भने आनाकानी गरेका छन् । विश्रामका अनुसार बलराम धरेलले पाँच कट्ठा मात्र फिर्ता गर्ने जनाएका छन् । यता बलराम धरेलले भित्रभित्रै उक्त जग्गा अन्य व्यक्तिलाई बिक्री गर्ने चाँजोपाँजो मिलाईरहेको उनले बताए । बेनी (फटाला) भने आफ्ना बुवाको भागमा आउने जग्गा फिर्ता आए मात्र आफूले न्यायको अनुभूति गर्ने जनाएका छन् ।

घरायसी कागजबाट बलराम धरेलले सुकराको हक लाग्ने १० कट्ठा १० धुर जग्गा लिई आधा हिस्सा अर्थात् १० कट्ठा १० धुर जग्गा घेघराको छोरा बेनी (फटला) लाई फिर्ता दिएको खण्डमा दुवैपक्षलाई न्याय हुने देखिन्छ । तर उक्त पुरै जग्गा धरेलले आफ्ना पुर्खौली जग्गा भनिरहेको अवस्थामा पिडित बेनी (फटला) ले अन्याय नै हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *