थारू साहित्य म्याला

कृष्णराज सर्वहारी।

२०६८ सालको जनगणनाअनुसार १७ लाख ३७ हजार चार सय ७० जनसंख्या छ थारू समुदायको। यो नेपालको चौथो ठूलो भाषा हो। तर, अपवादबाहेक सरकारी तवरबाट थारू भाषा साहित्यको संरक्षण सम्बर्द्धनमा लगानी हुन सकिरहेको छैन। आफ्नो मातृभाषाको उत्थानको लागि मातृभाषी स्वयम् जाग्नुपर्छ भन्ने हेतुले विगत तीन वर्षदेखि थारू साहित्यिक मेला आयोजना गर्न थालिएको छ। थारू साहित्यको संस्थागत उत्थानमा साहित्यिक मेलाले एक प्रकारको हलचल ल्याइरहेको छ। यस आलेखमा थारू साहित्यिक मेलाको गतिविधि जोड्दै समग्र थारू साहित्यको गहिराइ छाम्ने प्रयास गरिएको छ।

२०७० साल माघमा साहित्यकार सुशील चौधरी नेपालगन्जबाट कर्मथलो काठमाडौं सारेपछि कीर्तिपुरको मेरै डेराको छतमा उनलाई स्वागत कार्यक्रमको आयोजना गरियो। स्वागत कार्यक्रम सँगसँगै थारू भाषामा रचना वाचनको कार्यक्रम पनि राखियो। सोही बसाइले प्रत्येक महिनाको अन्तिम शनिबार बिहान थारू साहित्यिक शृंखला गर्ने एजेन्डा तय गर्‍यो। त्रिवि कीर्तिपुरमा थारू साहित्यिक शृंखलाले हालसम्म ५६ अंक पार गरिसक्यो।

वास्तवमा त्रिवि कीर्तिपुरमा नियमित भइरहेको थारू साहित्यिक शृंखलाको ऊर्जाले नै थारू साहित्यिक मेला आयोजना गर्ने आधार तयार ग¥यो। २०७२ सालमै प्रयास गरिए पनि २०७३ वैशाख ३ र ४ गते थारू साहित्यिक मेलाको पहिलो शृंखला दाङको घोराहीमा भएको थियो। सोही वर्षको अन्त्यमा चैत १९ र २० गते कैलालीको पटेलामा साहित्यिक मेलाको दो स्रो शृंखला सम्पन्न भयो। त्यस्तै, २०७४ माघ ५ र ६ गते बर्दियाको बह्रैयातालमा साहित्यिक मेलाको तेस्रो शृंखला सकिएको छ। आगामी वर्ष २०७५ साल चैतमा रूपन्देहीमा चौथो शृंखला गरिने तय भएको छ। पहिलो पहिलो शृंखलामा ६ वटा कार्यपत्र प्रस्तुत गरिँदा सहभागीले झिजो माने। त्यसैले, आगामी दिनका सबै शृंखलामा बहसमूलक प्यानल छलफल गराइएको छ।

उपलब्धिपूर्ण २०७३ साल

२०७३ साउनको पहिलो साता दाङको घोराहीमा डंगौरा थारू भाषाको वर्ण निर्धारण गोष्ठी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट भएको थियो। थारू साहित्यको रचना सबैभन्दा बढी डंगौरा थारूमै भएको छ। त्यसैले त्यसको वर्ण निर्धारण गरी सोहीअनुसार मानक भाषाको रूपमा अघि बढ्नुपर्ने निर्णयले यसको मानक लेखनमा एक प्रकारको तरंग पैदा गरेको छ। यही गोष्ठीका सहजकर्ता पदम राईले थारू साहित्यिक मेला–२ मा थारू भाषाको मानकताबारे प्रकाश पार्ने काम गरे।

दसैंमा ‘डस्यक गोरपासु’ अभियानअन्तर्गत दाङको रात गाउँ, धमकापुर, गढवा र बाँकेको बैजापुर तथा बर्दियाको मयुरबस्ती र मनाउ गरी ६ स्थानमा पंक्तिकार, मित्र सुशील चौधरीलगायतको टोलीबाट थारू साहित्यको विमर्श गरिएको थियो। यसले पनि साहित्यको उचाइ दिनमा टेवा दिएको मान्न सकिन्छ।

२०७३ पुसमा राजधानीको सर्वनाम नाटक घरमा सुशील चौधरीको लेखन तथा प्रणव आकाशको निर्देशनमा थारू भाषाको नाटक ‘भुरभुरा रहर’ मञ्चन भयो। यो नाटकलाई निर्माता रामलाल चौधरीले सिनेमामा ढाल्दैछन्। समग्रमा २०७३ सालले थारू साहित्यिक केन्द्रित बहसलाई थप ऊर्जा दिएको छ। यही ‘भुरभुरा रहर’का लेखक, निर्देशक तथा कलाकार समग्र थारू नाटकको बहसमा तेस्रो शृंखलामा उभिए। थारू नाटक कम लेखिएकैले मञ्चन पनि कम भएको प्रसंग उठ्यो।

गैरथारू साहित्यकारहरूलाई स्वागत

थारू साहित्यिक मेलाको दोस्रो शृंखला कैलालीको पटेला (धनगढीबाट पाँच किमि पूर्व) मा आयोजना गरिएको थियो। साहित्यलाई गाउँ छिराउने उद्देश्यले पनि सहरभन्दा गाउँ नै छनोट गरिन्छ। थारू साहित्यिक मेलामा हामी गैरथारू साहित्यकारलाई पनि प्यानल बहसमा आमन्त्रण गर्छौं। किनकि हामी साहित्यमार्फत समाज जोड्न चाहन्छौं। मूलधारका अखबारमा थारू समुदाय केन्द्रित जति आख्यान आएका छन्, तिनमा अपवादबाहेक गैरथारू साहित्यकारले नै लेखेका छन्।

मदन पुरस्कार विजेता रामलाल जोशीले ऐना कथा संग्रहमा लेखिएका थारू पृष्ठभूमिमा कथाको रचना गर्भबारे सकेसम्म थारू भाषामै पाठक, श्रोताहरूलाई दोस्रो मेलामा जानकारी दिएका थिए। केही पाठकले कथामा प्रयोग भएका शब्दबारे आपत्ति जनाए पनि कथाको थिम, कन्टेन्टबारे खास प्रश्न आएन।

अर्का कथाकार नवीन विभासले आफू रोल्पावासी मगर भएकाले त्यहाँको फ्लेवर आफ्ना कथामा पस्केजस्तै थारू स्रष्टाहरूले पनि त्यस्तो जातीय पहिचानको रङ आफ्ना आख्यानमा समेट्नु पर्नेमा जोड दिएका थिए। गजल लेखनमा बाढी आएको छ, थारू साहित्यमा। दशकअघि गजलसंग्रह प्रकाशन गरेका रामलाल जोशी तथा नवीन विभासले दशकपछि कसरी आख्यानमा यात्रा तय गरे ? यी कुरा तिनको मुखबाट सुन्न पाउँदा गजलमा मात्रै सीमित थारू साहित्यकारहरू अन्य विधामा पनि लेख्न हौसिएका छन्। जोशीले प्रष्ट्याएका थिए, ‘गजलको आठ लाइनको पंक्तिले तपाईंको समुदायको दुःखसुखको कथा समेट्नै सक्तैन, त्यसैले हामी हिँडेको आख्यानको लाइनमा थारू स्रष्टाहरू पनि आउनोस्।’

लोकसाहित्यमा अत्यन्त समृद्ध छ थारू साहित्य। तर, आख्यानमा अत्यन्त कमजोर छ। थारू आख्यानमा महेशविक्रम शाह, नयनराज पाण्डेलगायतले निरन्तर कलम चलाइका छन्। ती दुवैलाई बहसका लागि तेस्रो शृंखलामा निम्ता दिइएको थियो। दुवैले आउने वाचा गरे पनि अन्त्यमा समय मिलाउन सकेनन्। लोककथामा समालोचनात्मक दृष्टि र आख्यानबारे मैले यसपालि बहस चलाए पनि वक्ता पाहुना धेरै भएकोले राम्रो हुन सकेन। रेडियोमा थारू कार्यक्रमको निरन्तरताबारे रेडियोकर्मीहरू पनि बहसमा उति जम्न सकेनन्। यसलाई हामीले निरन्तर सिकाइको रूपमा लिएका छौं।

थारू साहित्यमा महिला लेखन

थारू साहित्यमा महिला लेखनका चुनौती विषयमा गरिएको अन्तरसंवाद थारू साहित्यिक मेला दोस्रो र तेस्रो शृंखलाको प्रमुख आकर्षणमध्ये एक रह्यो। प्यानल बहसको दुवै शृंखलामा केही पाहुना थपघट भए पनि स्रष्टा इन्दु थारू र बालिका चौधरी दोहोरिए। यसले लेखनमा थारू महिला कमै रहेको देखिन्छ। अन्य आम महिला लेखकहरूझैं तिनले पनि भातभान्साको समस्या, जागिरे जीवन, छोरीलाई हेलाँलगायतको समस्याको बीच समय उबारेर लेखनमा लाग्नुपर्ने बाध्यता सुनाएका थिए।

२०७३ सालमा बालिका चौधरीको ‘जीवनका बक्ररेखाहरू’ नामक नेपाली भाषामा निबन्ध संग्रह प्रकाशित भयो। आफ्नो जीवन भोगाइ लेख्ने क्रममा घरपरिवारको आलोचना पनि समेटिएपछि अहिले उनलाई घरको बाटो बन्द छ। परिवारले पुस्तकसमेत जलाइदिएका छन्। दोस्रो शृंखलामा उनले अश्रुमिश्रित स्वरमा भनेकी थिइन्, ‘यो मेरो जिन्दगीको टर्निङ प्वाइन्ट हो। मेरो अर्काे कृतिको लागि यसले थप ऊर्जा दिएको छ। म लेखनमा हारेकी छैन।’ थारू साहित्यिक पत्रिका लावा डग्गरले उनलाई ऊर्जा दिन यसपल्ट पुरस्कृत ग¥यो। तर तेस्रो शृंखलासम्म आइपुग्दा बालिका रित्तिएको झैं लाग्यो। प्यानल बहसमा उनको बोलीमा ऊर्जा थिएन।

ठाकुरबाबा नगरपालिकाकी उपमेयर कृष्णकुश्मा चौधरीले जनयुद्धमा आफ्नो जीवन भोगाइ सुनाइन्। दसवर्षे जनयुद्धमा सबैभन्दा बढी थारू समुदायका व्यक्ति मारिए। इन्सेकको तथ्यांकअनुसार जनयुद्धमा आठ सय ३३ थारू समुदायका व्यक्तिले ज्यान गुमाए। तर त्यसको जीवन्त चित्रण थारू साहित्यमा अझै पनि समेटिन सकेको छैन। साहित्य समसामयिक हुनुपर्छ भन्छन्। तर थारू साहित्यकारहरू त्यो दिशामा उन्मुख देखिँदैनन्। तत्कालीन कमरेडहरूले आफ्नो जीवन भोगाइ मात्रै लिपिबद्ध गरिदिए पनि थारू साहित्यले केही उचाइ लिने थियो।

पढाइको वातावरण

भाषालाई मौखिकमात्रै होइन, लिखित प्रयोगमा नल्याएसम्म यसले फल्ने फुल्ने मौका पाउँदैन। यसका लागि प्राथमिक तहका विद्यालयमा पाठ्यपुस्तक पठनपाठनका लागि लागू हुनु अपरिहार्य छ। थारू भाषा पठनपाठन बारेको अन्तरसंवाद मेलाको दोस्रो र तेस्रो शृंखलामा स्थान पायो। दोस्रो शृंखलामा नेवा बस्तीः नेवा अभियानका अभियन्ता दीपक तुलाधरले आफ्नो जोडबलले एक सयभन्दा बढी विद्यालयमा नेवारी भाषाका पाठ्यपुस्तक लागू गरेको चर्चा गर्दै हौस्याएका थिए, ‘यसको सिको थारूहरूले पनि गर्नुपर्छ।’ जनजागृति प्राथमिक विद्यालय, पटेला, कैलालीका सञ्चालक समितिका अध्यक्ष अनतराम चौधरीले यसै शैक्षिक सत्रबाट थारू भाषाको पुस्तक लागू गराउने प्रतिबद्धतासमेत जाहेर गरेका थिए। तर अनुगमन गर्दा पुस्तकको अभावमा पढाउन नसकिएको थाहा पाइयो।

बर्दियामा भएको दोस्रो शृंखलामा पनि मातृभाषा बहसले स्थान पायो। घोराही नगरपालिकाले स्थानीय कामकाजको भाषा थारू गराउने निर्णय गरिसक्दा ५२ प्रतिशत थारू बहुल रहेको जिल्ला बर्दियामा किन अग्रसरता भएन ? सहजकर्ताले राखेको प्रश्नमा प्यानलमा सहभागी बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीलगायत प्रायः सबै जनप्रतिनिधिले थारू कामकाजको भाषा बनाउने प्रतिवद्धता गरे।

पुस्तक पढ्ने बानीको विकास

आफ्नो भाषाको पुस्तक, पत्रिका किन्ने संस्कृति अझै पनि थारू समुदायमा न्यून छ। यसको अर्थ अझै पठन संस्कृतिको अभाव रहेको भन्न सकिन्छ। दोस्रो र तेस्रो शृंखलामा सहभागीहरूसँग केही शुल्क लिई एक हजार रुपैयाँभन्दा बढीको पुस्तक उपहार दिई पुस्तक पढ्ने वातावरणको विकास गराउन मेलाले केही भूमिका खेल्यो जस्तो लाग्छ। यसपालि इन्का नेपालले पुस्तक उपहारको लागि केही रकम उपलब्ध गराएर हौसला बढायो। साथै अमेरिकन एम्बेसीको बुक बसले पनि मेलामा केटाकेटीलाई पुस्तक पढ्न हौस्यायो। त्योबाहेक मेलामा पुस्तक स्टल राखी बिक्री प्रवर्द्धन पनि गर्ने गरिएको छ। तर बर्दियामा हाम्रा पुस्तकभन्दा खानपिनका सामाग्री बढी बिक्री भएको देखियो।

कविता वाचन पनि मेलाको महत्वपूर्ण सेसन हो। यसले पनि पठन संस्कृतिको विकास गर्छ। गएको वर्ष गजल, मुक्तकमा थरुहट पहिचानका भावना कविहरूले पोखेका थिए। यस वर्ष भने कविता वाचन सेसन त्यति जम्न सकेन। बाहिर मञ्च वरपरको भीडले आयोजकलाई गीतसंगीत, नृत्य पस्किन बाध्य बनायो। गैरथारू कविलाई आमन्त्रित गरिए पनि पालो दिन नसक्दा रिसाउनु स्वाभाविक थियो।

पुस्तक प्रकाशन प्रतिबद्धता

दाङको पहिलो थारू साहित्यिक मेलामा ११ जना स्रष्टाले वर्ष दिनभित्र पुस्तक प्रकाशन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। वाचा गरेका आधा स्रष्टाले त दोस्रो मेला आयोजनाको अघि नै पुस्तक प्रकाशन गरिसकेका थिए भने दोस्रो मेलामा ६ जना स्रष्टाले पुस्तक विमोचन गरे। तेस्रो मेलामा आइपुग्दा पुस्तक विमोचन गर्ने स्रष्टाको संख्या १४ पुगेको छ। यद्यपि केही पुस्तक पुराना थिए। २०७३ सालको मसान्तसम्म विविध विधाका एक सय ७२ थारू पुस्तक प्रकाशित भएको देखिन्छ। २०७४ को अन्त्यसम्म यो संख्या दुई सय कट्ने अनुमान गर्न सकिन्छ।

थारू पुस्तक, पत्रिका प्रवद्र्धनको पाटो यी मेलाको विशेष इभेन्ट रहँदै आएको छ। हालसम्म प्रकाशित थारू प्रकाशनको बृहत् स्टल, स्टेसनरी पसलमा कहिल्यै नझुन्डिने थारू पुस्तक पत्रिकाको संकलन मेलाका आकर्षण हुन्। काठमाडौंबाट मेलामा सहभागी हुन गएका कवि सुरेशसुमन डाँगी भन्छन्, ‘थारू साहित्य यति झांगिँदै गएको मेरो अनुमानविपरीत थियो।’

नेपाल प्रज्ञा प्रतिष्ठानबाट हालसम्म थारू साहित्यमा थारू लेखकका जम्मा दुई कृति छापिएका छन्। पहिलो मेलामा सहभागी प्राज्ञ श्रवण मुकारुङले ‘थारू साहित्यको इतिहास’ छाप्ने प्रतिबद्धता जनाएकोमा पूरा गरे। तेस्रो मेलामा सहभागी प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मीले आफ्नो पालामा थारू साहित्यबारे खास केही गर्न नसकेको सकारे भने प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिहर तिमिल्सिनाले थारू व्याकरणदेखि शब्दकोशसम्म प्रतिष्ठानबाट प्रकाशन गर्न भूमिका खेल्ने बताए। प्रतिष्ठानले पहिलो र तेस्रो मेलामा थोरै बजेट दिएर हैसे गरिदियो। मातृभाषा साहित्य प्रवद्र्धनमा नाम मात्र बजेट छुट्याउने प्रतिष्ठानबाट धेरै आशा पनि हामीले गरेका छैनौँ। त्यसो त प्रतिष्ठान स्थापनाको ६ दशकमा एउटा पनि प्राज्ञ सदस्य थारू समुदायबाट छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *