निकासबिनाको हाम्रो विकास

दिलबहादुर चौधरी।
सामान्यतः विकास भनेको सकारात्मक दिशामा अगाडि बढ्ने कुरालाई बुझाउँछ । अर्थात् एकबाट दुई हुनु, सानोबाट ठूलो हुनु, अप्ठ्यारोबाट सजिलो हुनु, कच्चीबाट पक्कीहुनु, संकीर्णबाट उदार हुनुयी सब विकास हुन् । विकास हुनु राम्रो कुरा हो । विकास हुनैपर्छ । तर हामीले गर्ने र गरिरहेको विकासमाथि भनिएजस्तै छ त ? हामी सकारात्मक दिशातिर अगाडि बढिरहेका छौं त ? अप्ठ्यारोबाट सजिलोतिर गइरहेका छौं त ? यस बिषयमा छलफल आवश्यक छ ।
जुन विकासले भोलिसम्म निकास दिन सक्छ, त्यो विकास हाम्रो लागि राम्रो हो, जुन विकासले भाेिीसम्म निकास दिन सक्तैन, त्यो विकास हाम्रो लागि राम्रो होइन । विकास सबैसँग सरोकार राख्ने सार्वजनिक महत्वको बिषय हो, त्यसैले यससँग साधारण जनतादेखि शासकसम्मको सरोकार हुन्छ । आज देश संघीय शासनतिर अगाडि बढिसकेको छ । हरेकको मुखमा विकास झुण्डिएको छ । धेरैले भनिरहेका छन् कि अब द्रुत गतिमा विकास हुन्छ । विकासले निकास दिन्छ । विकास भएपछि द्वन्द्व पूर्णरुपमा समाप्त हुन्छ । के साँच्चै त्यस्तो हुन गइरहेको छ त ?
मलाई लाग्छ, माथिको भनाईलाई नकार्न सकिन्न, तर पूर्ण सत्य पनि त्यो होइन । विकास, आत्मनिर्भरतासँग पनि जोडिएको हुन्छ । विकास आयस्तर, जीवन शैलीसँग पनि जोडिएको हुन्छ । विकास, सम्मान, स्वतन्त्रता, सहभागितासँग पनि जोडिएको हुन्छ । विकास, सम्मान, स्वतन्त्रता, सहभागिता फरक फरक विषय हुन् । तर जब विकाससँग सम्मान, स्वतन्त्रता, सहभागिता जोडिन्छ, त्यो निकाससहितको विकास हुन जान्छ । यदि ती कुरा जोडिएन भने निकास बिनाको बिकास हुन पुग्छ । त्यो विकास चारैतिर बिकाउ हुन्छ, तर टिकाउ हुँदैन ।
हिजो हामी पैदल हिँड्थ्यौं, आज गाडीमा हिँडिरहेका छौं । हिजो सात आठ किलोमिटर पैदल हिँडेर हुलाक पुग्थ्यौं, चिठी पत्र पठाउँथ्यो, ती चिठी महिनौं दिनमा पुग्थ्यो । आज हातहातमा मोबाइल छ, इमेल, इन्टरनेट सेवा उपलब्ध छ, भिडियो कल गरिरहेका छौं, संसारको दूरी निकै कम भैसक्यो । राजधानी बिहान गयो, बेलुका फर्कियो, सजिलो भैसक्यो । हिजो फरक कपडा लगाउँथ्यो, आज फरक लगाइरहेका छौं । हिजो घर कच्ची, सडक कच्ची सब कच्ची थियो, आज सब पक्की हँुदैछ । भोलि यसले झन गति लेला । बिकासलाई रोक्न सम्भव छैन, ढिलो र चाँडोको कुरामात्रै हो ।
पहिलेको तुलनामा धेरै बिकास भएको छ । तर यसले पनि निकास दिन सकेको छैन । किन? भन्दा हामी कहाँ भएको र भैरहेको बिकासमा सम्मान, स्वतन्त्रता, सहभागिता जोडिएको छैन । दलितको घर अगाडि पक्की सडक छ, गोजीमा मोबाइल छ, तर उ कसैको घरमा जाँदा अछुतको ब्यवहार गरिन्छ । खेतीपातीमा आश्रित किसान छ, भबिष्य उसको खेतसँग जोडिएको छ, तर उसलाई जमिनविहीन बनाइने गरिन्छ, कुनै क्षेत्र, स्थान बिशेषमा कुनै एक जाति, समुदायको बसोबास छ, बाहूल्यता छ, तर उसलाई त्यहाँको शासन सत्ताबाट बाहिर राखिन्छ । शासन सत्तामा उसलाई सहभागी गराइन्न । यस्तो अवस्थामा ऊ आफूलाई सम्मानित महसुस गर्न सक्तैन, अपनत्वबोध गर्न सक्तैन । असन्तुष्टि पालेर बस्छ ।
हामीकहाँ भएको र भैरहेको विकास यस्तै छ । यो निकाससहितको विकास होइन । निकासरहित विकास हो । भौतिक संरचनामा सुधार हुनुमात्रै विकास होइन, सोँच, भावना, धारणामा सुधार हुनु, परिवर्तन हुनुपनि विकास हो । कच्ची सडकबाट पक्की सडक हुनु, साँगुरो सडकबाट चौडा सडक हुनु विकास भएजस्तै परम्परागत संकीर्ण सोँचबाट उद्धार, फराकिलो, मानवीय सोँच हुनु, त्यहीअनुसार बोली ब्यबहार, आचरण गर्नु पनि विकास हो । विकास गर्दा भोलिका दिनमा बाढी, पहिरोले समस्या नल्याओस्, देशमा सुख्खा नहोस्, भूकम्पले कुनै संरचना नभत्कियोस्, उद्योग धन्दा कलकारखानाले बाताबरण प्रदुषण नहोस्, जनसंख्या र सवारी साधनको चापले हाम्रा बाटाघाटा, सडक मार्ग अवरुद्ध नहुन्, जाम नहोस्, आदि भौतिक कुरामा ध्यान दिनु सबैको प्रथम दायित्व हुनैपर्छ । त्यसको साथसाथै परम्परागत सोँच, धारणामा परिवर्तन गर्न जरुरी हुन्छ, ‘मै खाउँ, मै लाउँ, मै सुखशयल गरुँ’ भन्ने भावनालाई त्याग गर्नुपर्छ । त्यहीअनुरुप बोली, ब्यवहार, शासन शैलीमा परिवर्तन गर्न जरुरी हुन्छ ।
हामी विकासको कुरा गरिरहेका छौं । आजको गाउँपालिका भोलि नगरपालिका हुँदैछ, नगरपालिका उपमहानगरपालिका हुँदैछ, उपमहानगरपालिका, महानगरपालिका हँुदैछ । तर सोंच हाम्रो साँघुरो छ । साँघुरो सोँचका कारण हामी बाढीलाई निकास दिने खोलानालालाई साँघुरो पारिरहेका छौं । जनसंख्या, गाडी, घोडाको चापलाई बेवास्ता गर्दै साँघुरो गल्ली र सडक बनाइरहेका छौं । स्वच्छ बातावरण पर्यावरणलाई बेवास्तागर्दै जथाभाबी बन काटिरहेका छौं, घाँसको मुख्य स्रोत बनलाई बनाइरहेका छौं । खेतीयोग्य जमिनलाई घर घडेरी बनाइरहेका छौं । समस्याप्रति गम्भीर हुन सकिरहेका छैनौं ।
समस्या सबैलाई थाहा छ, तर स्वार्थ टुप्पीमा सवार छ । नातावाद, कृपाबाद, दलबादहाबी छ । देशको कुनै पनि क्षेत्र,दलीय भागबण्डाबाट अछुतो छैन । न्यायाधीशहरुसमेत दलीय भागबण्डामा छन् । हिजोका दिनमा कार्यालयका अधिकारीहरु सरुवाको यले, जागिर जाने डरले जोखिम मोलेर काम गर्न सक्तैनथे, आज जनप्रतिनीधिहरु नाताबाद, कृपावाद, भोट पाइन्न कि भनेर जोखिम मोल्न चाहिरहेका छैनन् । फलस्वरुप साँघुरो सोंच भएकाहरुलाई हायसञ्चो हुनपुगेको छ । बाहिर मुखले भलादमी भएर प्रस्तुत हुने र भित्र विकासमा अवरोध पु¥याउने काम गरिरहेका छन् । देशभरि यस्तै छ ।
म बसेको धनगढी उपमहानगरपालिका पनि यसबाट अछुतो छैन । कतै छ लेनको विवाद छ त, कतै खोलानाला, ढल निकासको विवाद छ । कतिपय ठाउँमा साँघुरो सडकलाई चौडा बनाउने सम्बन्धमा विवाद छ, कोही चौडा बनाउन खोजिरहेका छन्, कोही त्यसलाई साँघुरो पार्ने काममा सहजीकरण गरिरहेका छन् । जनप्रतिनिधि विवादमा आउन चाहिरहेका छैनन् । एक त नगरपालिकाको ९ मिटर सडकको साँघुरो सोँच छ, त्यसमापनि साँघुरो सोंच भएकाहरुमा आपसी विवाद छ, अनि कसरी होस् विकास । नहुनुभन्दा ९ मिटर हुनु अहिलेको लागि एकदम राम्रो हो, तर २० वर्षपछिको लागि यो समस्याको निकास होइन । तर उपमहानगरपालिका, ९ मिटरकै साँघुरो सोंचमा अड्किएर बसेको छ । म पनि साँघुरो सोंचका मित्रहरुसँगै साँघुरो सोंचका साथ साँघुरो गल्लीमा झुपडी बनाएर बसेको छु ।
सारमा भन्दा भौतिक संरचनाको निर्माण वा सुधार, आयस्तरमा वृद्धि हुनुमात्रै विकास होइन, हाम्रो सोंच, धारणामा परिवर्तन हुनु पनि विकास हो । विकास गर्दा निकाससहितको विकास आवश्यक हुन्छ । त्यसको लागि हामी नागरिकले बबण्डर मच्चाउने होइन । स्थानीय निकायलाई पुरापूर सहयोग गर्नुपर्छ । हामी साँच्चिकै सचेत छौं भने नगरपालिकाको साँघुरो सोंचभन्दा पनि चौडा सोंच बनाउन सक्नुपर्छ । स्थानीय निकायले पनि भोलिलाई हेरेर निकाससहितको विकासमा जोड दिनुपर्छ, हिम्मत जुटाउनुपर्छ । यदि त्यसो गर्न सकिएन भने आजजति घर, महल टुटफुट हुँदैछन्, २० वर्षमा त्योभन्दा पनि बढी घर टुटफुट हुने स्थिति आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *