यात्रा संस्मरण : डेनमार्कको त्यो चुनाव

इन्दु थारू।
डेनमार्कको चुनाव कस्तो बोरिङ । चुनाव हुनु त नेपालको जस्तो, उल्लासपूर्ण । २० वर्ष पश्चात नेपालमा भएको स्थानीय तहको चुनाव पर्यवेक्षण गरेपछि प्रत्येक ६ वर्षमा हुने डेनमार्कको चुनाव हेर्ने मौका मिलेको थियो । र, त्यहाँबाट फर्के पश्चात नेपाल संघीय संरचनामा गएपछिको पहिलो प्रादेशिक चुनाव र सँगै भएको प्रतिनिधि सभाको चुनाव पनि हेर्ने मौका मिल्यो । नेपालमा हुने सबै तहको चुनाव उत्सवमय हुने गर्छन् । उत्सवजस्तो रमाइलो मात्र कहा हो । नेपालका चुनाव साँचो अर्थमा शान्तिपूर्ण भएको इतिहास भेटाउन गाह्रो छ । स्थानीय तहको चुनावमा म नेपालको देलखामा थिए, दोलखामा चुनावका बेलामा चुनावी कारणले २ जना व्यक्तिको मृत्यु भयो । तैपनि त्यहाँका एक सरकारी अधिकारीले भने चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो । ठाउँठाउँमा बम पड्किन्छ, झडप हुन्छ, थुप्रै मान्छे घाइते हुन्छन्, अझ कतिपयले ज्यान गुमाउनुपरेको हुन्छ अनिमात्र न नेपालको चुनाव शान्तिपूर्वक सम्पन्न हुन्छ । अनि बम नै नपड्किने, झडप नै नहुने, ढुंगामुडा नहुने, गोली नचल्ने, मान्छे नमर्ने डेनमार्कको चुनाव बोरिङ नहुने त कुरै भएन ।

चुनावी अभियानको सुरूवात हुन्छ यहाँ, चुनाव नजिकिँदै गर्दा । पार्टी नेता तथा कार्यकर्ता आफ्नो हूल देखाउन तत्पर रहन्छन् । लाग्छ चुनावको नतिजा नआउँदै ठूलो हूलले चुनाव जित्न चाहन्छन् । कहिले अनावश्यक बाजा डिजेको आवाज, आफ्ना गीतमा प्रजातन्त्र ल्याएको, वृद्धा भत्ता बढाएको त कोहीले जनक्रान्ति गरेको गीतहरू अनावश्यक ठूलो आवाजमा घन्काउँदै, कहिले बाटो छेक्दै ¥याली, जहातही पोस्टर पम्पलेट, सर्वसाधारणलाई दुःख दिँदै र पनि जनता र देशको हितका लागि आफ्ना अजेण्डा प्रस्तुत गर्छन् । डेनमार्कको चुनाव भने भोलिपल्टै आइसक्यो अहँ एउटै पनि डिजे सुनिएन । बरू एउटा चुनावी कार्यक्रम हेर्न गएको ५–६ जना युवाहरू रोडको एउटा कुनामा उभिएर मिठो गाना गाइरहेका थिए, भलै तिनका डेनिस भाषाको गानाको अर्थ बुझिएन । तर त्यहीको एकजना युवासँग कुरा गर्दा थाहा भयो ती युवाहरूले आफैँले गीतको रचना गरे, आफैँले स्वर दिए र गीत गाएर भोट माग्दै थिए । त्यतिमात्रै होइन, गीतमार्फत् भोट गर्ने दिनको सम्झना गराउँदै, प्रजातन्त्रलाई बचाउनका लागि पनि अपिल गर्दै थिए । कोही हातमा हात मिलाउँदै हाइफाइब गर्दै थिए । अझ मैले सुनेको केही पार्टीहरूले त्यहाँ गुलाबको फूल दिँदै भोट माग्छन्, कोहीले कफी पिलाएर भोट माग्छन् । मैले मनमै सोचे, हामी जाबो गुलाब वा कफीमा हाम्रो भोट बिक्री गर्दैनौं, हामीलाई त मासु भात पनि अपुग हुन्छ ।

डेनमार्कका केही चुनावी उम्मेदवारसँगको कुराकानीमा अजेण्डाका बारेमा सोधे मैले । आफ्नो अजेण्डामा नीति निर्माणका कुरा मात्रै पो गर्छन् । मैले कोट्याउन चाहे चुनाव जितेपछि चाहिँ के गर्ने । नेपालका उम्मेदवारहरूले बाटो बनाउँछु , पुल बनाउँछु , खानेपानी, बिजुली, वाइफाइ सुविधा दिँदै स्मार्ट सिटी बनाउँछु भनेको सुन्ने गरेको बानी भइसकेको थियो र डेनमार्कका उम्मेदवारबाट पनि त्यस्तै जवाफको पर्खाइमा थिए । तर अहँ नीति निर्माणबाहेकको कुरा मरिगए गरेनन् । त्यहीँ बस्ने नेपालीसँग भेट हुँदा मैले यो कुरा सेयर गरे । उनले भने– ‘जहीँतहीँ बाटोको राम्रो सुविधा छ, अनि किन भनोस् त बाटो बनाउने कुरा । सबै भौतिक सेवा सुविधाले भरिपूर्ण छ डेनमार्क अनि शिक्षा फ्री, स्वास्थ्य फ्री । सुविधा उपलब्ध गराउने काम सबै सरकारले गरिदिन्छ अनि नेपालका उम्मेदवारले जस्तै किन विकासका अजेण्डा मात्रै बाँड्दै हिँडुन् ।

भोट गर्न पाउने अधिकार नागरिकले उपयोग गरून नगरून्, हाम्रो सरकारलाई खासै चासोको विषय हुँदैन । मात्र चुनाव जसो तसो सम्पन्न गर्नुले बढी महत्व राख्छ । तर डेनमार्कमा केही सहरले आफ्ना सहरका प्रत्येक नागरिकलाई भोट हाल्नका लागि स्मरण गराउँदै इमेल पठाउने गर्छ । चुनावको दिन पनि भयरहित वातावरण छ । चुनाव अघि र पछिको अन्य दिन झै शान्तपूर्ण थियो डेनमार्कका मतदान स्थल । हुन पनि नेपालको जस्तो एकैदिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्रै भोट खसाल्ने समय रहेनछ । दुई सातासम्मै त्यहाँका नागरिकले आफ्नो अनुकूलता अनुसार भोट खसाल्नसक्ने व्यवस्था रहेछ त्यहाँ । आफ्नो देश बाहिर रहेर पनि डेनिस नागरिकले भोट गर्न पाउने अधिकार सुनिश्चित गरिएको रहेछ, जुन आवाज प्रवासमा बस्ने नेपालीहरू पनि उठाइरहेका छन् ।

आफ्नो देशको चुनाव कता कता मलाई वार जोनजस्तो लाग्थ्यो । नेपाल प्रहरी, सशस्त्र अनि नेपाल आर्मी तैनाथ । अझ नेपाल आर्मी आफ्नो डरलाग्दो गाडी र त्यसमा सवार आर्मी, जो बन्दुक तेर्साउँदै तयारी अवस्थामा रहेको देख्दा लाग्थ्यो भीषण युद्ध हुनेवाला त छैन । डेनमार्कको चुनावमा एक जना पनि प्रहरी तैनाथ देखिन । सुरक्षा व्यवस्थाबारे चुनावमा खटिएका कर्मचारीलाई सोध्दा उल्टै आश्चर्यजनक तरिकाले हेरे जस्तो लाग्थ्यो । मानौं चुनाव र सुरक्षाको विषय विलकुल भिन्न विषय हुन् ।

मतदान स्थल भित्रैसम्म अवलोकन गर्नमा कुनै रोकतोक भएन । बिना कुनै चेकजाँचभित्र जान पाइयो । ब्यालट पेपर हेर्न पाइयो । त्यहाँ कुनै पार्टीको चुनावी चिन्ह थिएन, त्यसबाट बुझ्न सकिन्थ्यो, त्यहाँ सबै मतदाता पढ्न र लेख्न सक्षम छन् । किनभने चुनाव चिन्हको त्यहाँ कुनै महत्व थिएन, उम्मेदवारहरूका नाम र तिनका पार्टीका नाम मात्र उल्लेख गरिएको थियो । विकसित मुलुकहरूमा इलेक्टोनिक प्रविधिबाट भोट गरिन्छ भन्ने सुनेको थिए, डेनमार्कमा पनि त्यस्तै होला भन्ने लागेको थियो, नरहेछ त्यस्तो । भोट गर्ने स्थलमा पनि एक कर्मचारीले लगे देखाए, जेष्ठ नागरिक वा आँखा कमजोरहरूका लागि त्यहाँ माइक्रोसकपको व्यवस्था गरेको रहेछ । यस्तो विकसित मुलुकमा दृष्टिविहीनहरूका लागि ब्रेलमै ब्यालट पेपर छाप्दा हुन् भन्ने लागेको थियो, त्यो पाइएन । दृष्टिविहीन व्यक्तिले त्यहाँ पनि अरूकै सहारा लिनपर्ने रहेछ । त्यस्ता व्यक्तिले डेनमार्कजस्तो विकसित देशमा पनि आफ्नो भोटलाई आफैँभित्र गोप्य राख्नसक्ने आधार नभएको सुन्दा दुःख लाग्यो ।
आफ्नो देशको चुनाव हेरेकोमा डेनमार्कका मतदानस्थल चुनावजस्तै नलाग्ने । त्यहाँका मानिस चुनावप्रति उत्साहित छन्जस्तो नलाग्ने । को जित्छ, को हार्छ, कसले शासन गर्छ जस्ता विषयमा खास कुनै चासो नभएका जस्ता । मतदान दिनको बिहान र दिउँसो खास धेरै मानिसहरू मतदानस्थलमा नदेखिए पनि साँझको समय मतदानको समय सकिनै लाग्दा भने लामो लाइनमा उभिएकाहरूको चहलपहल बढेको देखियो । मतदानको दिन सरकारी विदा नदिएर पनि होला त्यहाँ मानिसहरू दिनभरिको काम, अफिस भ्याएर मतदान गर्न आइरहेका थिए साएद ।

चुनाव सकिएपछि राति पार्टी आयोजना गरिने, लाइभ म्युजिकसहितको अनि पार्टीका नेता कार्यकर्ता, कर्मचारीहरू रमाउँदै खुसीीयाली मनाउने गर्छन् । मतगणना के कहा कसरी जस्ता कुराहरूमा विवाद गर्ने प्रचलन पनि रहेनछ । मतगणना पनि ठूलो फराकिलो हलभित्र चिया कफी वियर खादै कूल भएर गर्नेरहेछन् । अनि आफ्नो देशमा मतगणना हेर्न जाँदा पानीको बोतल समेत लान नदिएको मैले सम्झिरहे । मतगणना स्थल पनि नेपाल प्रहरी शसस्त्र प्रहरीले भरिएका हुने, अझ कसैले मतपत्र नच्याती देओस् भनेर तारबार लगाएको देख्दा साँच्चै हामी नेपाली नै रहेछौं भन्ने नलागेको होइन । त्यहाँ कम्तीमा ३ पटकसम्म गणना गरिसकेर रिजल्ट अनाउन्स गरिने रहेछ र पनि मतगणना स्थल साह्रै कुल ।

हाम्रो चुनाव कति साह्रो खर्चिलो र भड्किलो । वर्षौ राजनीति गर्ने व्यक्तिले पनि पैसा छैन भने चुनाव जितिन्न भन्छन् । नैतिकताले चुनाव जितिदैन यहाँ । चुनाव पैसाको खेल भएको छ । भोट खरिदबिक्री हुन्छन् । अनि पैसा र चुनाव पर्यायवाचीजस्तै लाग्न थालेको छ । नेपाल र डेनमार्कको चुनाव आकाश पातालको फरक छ । मनमनै सोचिरहे मान्छे नमरेरै किन नेपालको चुनाव शान्तिपूर्वक हुन सक्दैन । बिना बम, बिना गोली, बिना झडप भएरै किन नेपालको चुनाव डेनमार्कको जस्तो बोरिङ हुन सक्दैन ।

लेखक डेमोक्रेसी रिसर्च सेन्टर नेपालका  सिनियर रिसर्चर हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *