निर्देशक प्रदीप चौधरी र मसानटार नियति

गोकर्ण गौतम/कान्तिपुर।

भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई

रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई

२०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा उत्साह र जोस पैदा गर्‍यो । त्यसैले प्रदीपले अर्को वर्षको जितिया पर्वमा आफैंले नाटक लेखेर निर्देशन गरी मञ्चन गरे ।
प्रदीप फ्ल्यासब्याकतिर जान्छन्, ‘६ कक्षामा पढ्दा त्यति ठूलो आँट त्यही ठूलीले दिएको थियो ।’ त्यसपछि हरेक वर्ष थारू समुदायको चाड जितिया र समाचकेवामा नबिराई नाटक देखाउन थाले । एसएलसीसम्म नाटकको संख्या आठ पुगिसकेको थियो । र, उनको नाट्य यात्राको जग त्यही ठूली नै हो ।

उनै प्रदीप निर्देशित पहिलो स्टेज नाटक मसानटार अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । लेखन पनि उनकै । उनी नाटकको दर्शकदेखि कलाकार हुँदै व्यावसायिक लेखक/निर्देशक बनेका छन् । होस्टल रिटन्र्सको ‘पिके डन’ चरित्रले उनलाई फिल्मका दर्शकमाझ पनि चिनायो ।

यहाँसम्म आइपुग्न प्रदीपले कस्ता आरोह/अवरोह झेल्नुपर्‍यो त ? प्लस टु पढ्न राजविराज हुइँकेपछि उनलाई नाटक गर्ने मेलोमेसो जुरेन । तर पहिलो संविधानसभाको निर्वाचनले उनलाई नाटकमा ‘कमब्याक’ गरायो । निर्वाचनसम्बन्धी सचेतनामूलक नाटक गर्ने मौका पाएको थियो गुरुकुलले । जहाँ जुन भाषीको बाहुल्य थियो, त्यही भाषामा नाटक गर्नुपथ्र्यो । यसैअनुरूप सिरहा, सप्तरी र उदयपुरमा थारू भाषामा गर्नुपर्ने भयो । भाषा पनि जानेको, नाटक पनि गरेको चाहिने भएकाले प्रदीपको विकल्प सायदै थियो । उनी तीन जिल्लाको टिम लिडर भए ।

मसानटारको पहिलो मञ्चनपछि मण्डलामा भेटिएका प्रदीप मुस्कुराए, ‘एक्स्पोजर र पैसा त पाइयो नै, त्योभन्दा ठूलो गुरुकुलसँग जोडिन पाइयो । सुनील (पोखरेल) सँग चिनजान भयो ।’ त्यतिबेला निकै चम्किएको गुरुकुलसँग मोफसलमै रहेर सहकार्य गर्न पाउनु चानचुने थिएन ।

अर्को वर्ष दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव भयो, गुरुकुलमा । उनलाई सुनीलले काठमाडौं बोलाए । उनलाई महोत्सवमा सहभागी विदेशीको ‘हस्पिटालिटी’ हेर्ने जिम्मा दिइयो । थरीथरीका नाटक हेर्ने मौका मिल्यो । नयाँ मान्छेसँग घुलमिल हुन पाए । त्यसताका उनी झन्डै ६ महिना गुरुकुलमा बसे । नाटकको प्रेम अझ गाढा भयो । नियमित बस्ने गरी काठमाडौं आए पनि उनी सुरुमै गुरुकुल बसेनन् । उनले पहिले पढाइ सक्ने, त्यसपछि पूर्ण रूपमा नाटकमा लाग्ने निर्णय गरे । दुर्भाग्य १ उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर सक्नु र गुरुकुल बन्द हुनु एकैपटक भयो । ‘मलाई सपनै तुहिएजस्तो भएको थियो,’ उनले निधार खुम्चाउँदै भने । त्यही बेला मण्डला खुल्यो ।

हुन त प्रदीपले काठमाडौं आएपछि पहिलो नाटक मण्डला टिमसँगै गरेका थिए । राजन खतिवडाले निर्देशन गरेको उक्त स्याडो प्लेमा दयाहाङ राई पनि थिए । उनी मण्डलाको अवधारणा सुरु भएसँगै जोडिएका थिए । सुनकेशरीमा प्रहरी बने, खोलमा मुस्लिम चरित्र । चरणदास चोर र इब्सन ल्याब पनि खेले तर उनलाई चिनिएको चाहिँ दयाहाङ निर्देशित डिग्री माइलाले हो ।

डिग्री माइलामा पाएको शीर्ष चरित्रको किस्सा पनि रोचक छ । उनले भर्खर स्नातकोत्तर पास गरेका थिए । दयाहाङले एउटा होमवर्क दिए, डिग्री गरेर गाउँमा फर्किएको पात्रका रूपमा एक घण्टा मायाप्रेमका बारेमा गफ हान्ने, एक घण्टा गाउँले केटाहरूलाई सहरका बारेमा फुइँ हाँक्ने अनि अर्को एक घण्टा बुढापाकालाई सपना देखाउने । दुई दिनमा दयाहाङको अगाडि यो प्रस्तुति दिए, आफ्नै भोगाइहरू मिसाएर । दयाहाङ प्रभावित भए, त्यसकै आधारमा नाटक तयार पारियो । यसरी अडिसनबाट उनी शीर्ष भूमिकामा छानिएको नाटक मण्डलामा ९० शो चल्यो । जुन नाटकले प्रदीपलाई चिनाएन मात्र, मण्डलालाई पनि ‘ब्रान्डिङ’ गरिदियो ।

प्रदीपमा सिक्ने भोक मरेको थिएन । उनी विमल सुवेदीको थिएटर भिलेजमा जोडिए । चारुमतीमा विमलको सहायक निर्देशक बने । मालिनी र हेम्लेटमा स्टेज म्यानेजर । सान्दाजुको महाभारतमा गणेशमान सिंहको भूमिकामा देखिए । उनले त्यसअघि संगत गरेका निर्देशकहरू सुनील, दयाहाङ, राजन, विजय विस्फोटभन्दा विमलको शैली फरक पाए । ‘सबैसँग काम गर्दा आत्मविश्वास बढ्दोरहेछ । यसले आफ्नै शैली निर्माणमा पनि सघाउ पुर्‍याउँछ,’ उनले भने ।

त्यही सिकाइ र अनुभवको परिणाम हो– मसानटार । उनले देखाएको गाउँ मसानटारमा पढेलेखेका मान्छे छैनन्, जो गाउँबाट बाहिर जान्छन्, ती कहिल्यै फर्कंदैनन् । उनलाई लाग्छ, नेपालको नियति त्यही मसानटारउन्मुख छ । प्रदीप अब नाटक लेखनमा जोड दिने योजनामा छन् । यहाँ अभाव पनि मौलिक नाटककै हो । थारू भाषाको नाटक काठमाडौंमा मञ्चन गर्ने उनको सपना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *