बमले उडाएको विनोद चौधरीको सपना

बसन्त विवश आचार्य।अनलाइनखबर।
तुलसीपुर उपमहानरपालिका क्वाडीका विनोद चौधरीले डेढ वर्षीया छोरीलाई काखमा हाले, गाला सुम्सुम्याए अनि श्रीमती अञ्जनालाई छोरी थमाएर ‘बाई’ गर्दै भने, ‘साँझ आउँछु चकलेट लिएर ।’ छोरीले अर्थ बुझिन् या बुझिनन्, हात हल्लाइन् र मख्ख परिन् ।

तर, घरबाट ड्युटीमा निस्किनुअघि छोरीसँग चौधरीले गरेका बाचा अधुरै रह्यो । उनी बिहीबार लास बनेर घर फर्किँदैैछन् ।

तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको आगमन भएकाले उनले राति १२ बजेदेखिको ड्युटी सकेर फेरि बिहानै खाना खान घर आए र ड्युटीका लागि पुनः बजार फर्किए । उनको पालो परेको थियो, तुलसीपुर बजारको तुलसी स्कुल चोकमा ड्युटी गर्ने ।

करिब ३ बजेतिर तुलसीपुरमा कांग्रेसको चुनावीसभा चलिरहेका बेला उनी उभिएकै ठाउँमा बम विस्फोट भयो । विष्फोटबाट उनीसहित ९ जना घाइते भए । घाइते सबैलाई तत्काल तुलसीपुर अञ्चल अस्पताल लगियो । अस्पताल लैजाँदा डाक्टरहरुले पहिले सामान्य जस्तै माने तर गोलीका छर्राहरु उनको शरीरभित्र थिए ।

विनोदकी भाउजू मैया चौधरीले अस्पतालको अवस्था सम्झिइन्, ‘रगत बग्न नरोकिएपछि कोहलपुर लैजाने कुरा भयो ।’

विनोदको छिटो र प्रभावकारी उपचारबारे अस्पतालमा आवाज उठाइदिने कोही पनि भएन । अन्य घाइतेहरुलाई बोकेर एम्वुलेन्स दौडिरहेको बेलामा उनी तुलसीपुर अञ्चल अस्पतालको बेडमा छटपटाइरहेका थिए ।

लामो समयको छटपटाहट पश्चात उनलाई एम्बुलेन्समा राखेर बाँकेको कोहलपुरतर्फ दौडाइयो । उता, प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुलाई लिएर सेनाको हेलिकोप्टर दाङबाट काठमाडौंतर्फ उड्यो ।

एम्वुलेन्सको यात्रा अवधिभर विनोद पीडामा छटपटाइहेका थिए । छिटो अस्पताल पुर्‍याउन एम्वुलेन्स चालकलाई भनिरहेका थिए । ‘बाटोमा जाँदै गर्दा म बाँच्छु नि भन्दै उनी कराइरहेका थिए,’ एम्वुलेन्स चालक मोहन पौडेलले भने ।

साँझ ७ बजेतिर कोहलपुर पुगेपछि डाक्टरले आईसीयुमा राखेर केही समय उपचार गरे । तर, उनको मुटुले गति लिएन । अस्पतालमा उपचार गर्दागर्दै उनको प्राणपखेरु उड्यो ।

‘नेतालाई सुरक्षा दिइरहेको मान्छे विष्फोटमा पर्दा पनि वास्ता गरिएन,’ आक्रोशित हुँदै दाजु तेजबहादुर चौधरीले भने, ‘सायद हेलिकप्टरमा लैजान पाएको भए बचाउन सकिन्थ्यो होला ।’

उनले थपे, ‘तुलसीपुरको चुनावमा भाषण गर्न आएका कांग्रेस नेताहरुसँगै हेलिकप्टर पनि थियो, त्यसैमा लगेको भए मेरो भाइ बाँच्थ्यो होला ।’

मृतक चौधरीका बाबु खुसीरामको आँखामा छोराको तस्वीर नाँचिरहन्छ । मन बुझाउन खोज्यो क्यैगरी बुझ्दैन । ‘कहिल्यै पनि खाली बसेन, काम गरिरहन्थ्यो,’ खुसीरामले गहभरि आँसु पार्दै छोरोलाई सम्झिए, ‘काम गरे सुख पाइन्छ भन्थ्यो, आखिरमा दुःखै पाएर मर्‍यो ।’

विनोदको सानो परिवार थियो । आर्थिक अभावका कारण आफूले पढ्न नसकेको कुरा उनको मनमा गढेर बसेको थियो । त्यसैले उनी कुनै इलम गर्ने, पैसा कमाउने र आफ्नी छोरीलाई धेरै पढाउने उद्देश्यले म्यादी प्रहरीमा जागिर खाएका थिए । तर ड्युटीमा रहेकै बेला उनको सपना बमले उडायो ।

‘सधैं छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु भन्नुहुन्थ्यो, अलपत्र पारेर जानुभयो,’ अनलाइनखबरसँग कुरा गर्दा गर्दै विनोदकी श्रीमती अन्जनाले आँसु थाम्नै सकिनन्, ‘एकैपटक धेरै पैसा जम्मा भयो भने आफैंले केही काम गर्ने हो भन्नुहुन्थ्यो…’ अन्जनाले थप बोल्नै सकिनन् ।

सानो परिवारलाई सुखी परिवार बनाउनका लागि म्यादी प्रहरीमा भर्ना भएका विनोदले २३ वर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा सदाका लागि संसार छाडे ।

तुलसीपुरको ग्रेट अरनिको माविबाट व्यवस्थापन संकायमा १२ कक्षा पास गरेका विनोदको पढाइ पारिवारिक जिम्मेवारी सम्हाल्दै गर्दा राप्ती बबई बहुमुखी क्याम्पसमा पुगेर रोकियो । बीबीएस दोश्रो वर्षबाटै उनले पढाइ रोके । घोराही उपमहानगरपालिका १७ घनिबगियाकी अन्जना चौधरीसँग करिव ३ वर्ष पहिला विवाह गरेका विनोदले परिवारको गर्जो टार्न गाउँकै बोर्डिङ स्कुलमा समेत पढाए ।

‘पढ्ने खुब धोको थियो बाबुको तर आर्थिक अभावले पूरा गर्नै सक्नुभएन,’ भाउजू मैया चौधरीले भनिन् ।

म्यादीबाट कमाएको पैसाले कुनै राम्रो काममा लगानी गरेर आत्मनिर्भर बन्ने र छोरीलाई धेरै पढाउने ठूलो सपना थियो विनोदको । त्यसैले स्थानीय तह निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएका थिए उनी । त्यतिबेलाको केही पैसा जोगाएर पनि राखेका थिए उनले ।

यसपटक पनि जोगाएर केही गरौंला भन्ने सपना थियो उनको । तर त्यो सपना पूरा हुन पाएन ।

शहिदको आश्वासन

बुधबार बिहान साढे २ बजे अस्पतालले मृत घोषणा गरेको चौधरीलाई बुधबार रातिसम्म पनि तुलसीपुर ल्याउन सकिएको छैन । चौधरीको सहयोगीका रुपमा कोहलपुरमा रहेका छवि चौधरीले भने, ‘पोष्टमार्टम नगरेर लैजान मिल्दैन भने त्यसको प्रक्रिया झण्झट लाग्दो भएकाले ढिलो भयो ।’

भेरी अञ्चल अस्पतालमा विनोदको लास कुरेर बसेका छविले थपे, ‘कसैले पनि सहयोग गरेनन् । राज्यको सुरक्षा दिन बसेको मान्छे मर्दा राज्यकै मान्छे उपस्थित भएनन् । नेपालगञ्जमा सीडीओ र एसपीसँग दाङ नै पोष्टमार्टम गर्न लैजाने सहमति भएको थियो तर पछि एआईजीले नमानेपछि भएन ।’

तुलसीपुरमा घाइते अवस्थामा रहेका चौधरीलाई श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले भेटेर पनि तत्काल उपचारका लागि पहल नगरेको भन्दै परिवारले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बुधबार घरमा सान्त्वना दिनका लागि आएका राज्यमन्त्री चौधरीलाई भेट्न समेत अस्वीकार गरेका थिए । राज्यमन्त्री चौधरीले शहिद घोषणा गर्न पहल गर्ने आश्वासन दिएर फर्किए ।

लगत्तै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले विज्ञप्ति निकालेर सरकारसँग शहिद घोषणा गर्न माग गरे । सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिनेसम्म घोषणा गरेको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि शोक वक्तव्य निकालेर बम आक्रमणमा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् ।

मेयर पाण्डेले भेटे चौधरी परिवार

यसैबीच तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले वम विष्फोटमा परेर मृत्यु भएका विनोद चौधरीको परिवारसँग भेटघाट गरेका छन् । भेटघाटको क्रममा चौधरी परिवारले मेयर पाण्डेसँग समयमै उचित उपचार नपाउँदा विनोदको ज्यान गएको बताएका थिए ।

मेयर पाण्डेले पीडित परिवारलाई भेटेर क्षतिपूर्ति दिलाउन पहल गर्ने समेत बताए । उनले उपमहानगरपालिकाका तर्फबाट बालिकाको शिक्षा र श्रीमतीलाई रोजगारका लागि पहल गर्ने बचन समेत दिएका छन् ।

आखिर कसले बम हानेर उडायो एक म्यादीको सपना ? कसले उजाड बनाइदियो एक अवोध वालिकाको सहारा ? कसले पुछ्यो निर्दोष युवतीको सिंन्दुर ? के विप्लवले ? या अरु कसैले ? यसको जवाफ अहिलेसम्म कसैले दिन सकेको छैन ।

चुनावका बेलामा विप्लवका नाममा देशैभरि बमकाण्डका रक्तमुछेल घटना भइरहेका छन्, तर यसको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *