थरुहट आन्दोलनका अटल योद्धा भानुलाई सम्झँदा

माधव थारु।
उमेरले ६२ कटिसकेका भानुराम थारु, जोश र आक्रोशले युवा भन्दा कम छैनन् । २५ वर्षसम्म हुलाक कर्मचारी हुँदा समेत उनी समाजका लागि चिन्तन मननमा ब्यस्त थिए । ०५४ बैशाख १० मा हुलाकबाट अवकाश पाएपछि एमालेका संगठित सदस्य भएर काम गरे । उनले ०५४ देखि ०६४ सम्म गाउँकै जनसेवा प्राथमिक बिद्यालयमा संस्थापक अध्यक्ष, ०५५ मा थाकसका क्षेत्रीय सभापति, ०५७ मा बनदेवी सामुदायिक बनका अध्यक्ष, ०५८ मा सामुदायिक बन उपभोक्ता समन्वय समिति सु.प.को संस्थापक अध्यक्ष, ०६२ देखि ०६६ सम्म थाकस कैलालीका सभापति, ०६४ मा आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीका उपाध्यक्ष, ०६४ मा लक्ष्मण थारुले गठन गरेको संयुक्त थारु राष्ट्रिय मोर्चाका सल्लाहकार, ०६५ देखि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य, थरुहट स्वायत्त राज्य परिषदका केन्द्रीय उपाध्यक्ष, ०६८ श्रावण २७ गते गठन भएको थरुहट तराई पार्टीका उपाध्यक्ष भई काम गरे । लक्ष्मण थारु २०६९ साल असोज १८ गते देउखुरीमा सम्पन्न मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को आम सभामा पार्टी प्रवेश गर्दा पनि भानुराम थारु मुद्दा छोडेनन्, पार्टीलाई जोगाई राखे, उनमा बिचलन आएन । लक्ष्मण थारु लोकतान्त्रिक फोरममा प्रबेश गरेपछि असोज १९ गतेदेखि उनी थरुहट तराई पार्टीको कार्यबाहक अध्यक्ष भए र ०६९ कार्तिक १२ देखि अध्यक्ष पदमा रही काम गरे । धेरै आरोह र अवरोह पार गरे उनी ।

भानु गरिब भएका कारण थरुहट तराई पार्टीलाई टिकाउन सक्तैनन् भन्ने हल्ला जोडतोडले फिंजाइयो । तर उनी टसको मस भएनन् । पार्टीलाई टिकाई छाडे । तर साथीहरुले थरुहट तराई पार्टीलाई गलत मनसायका साथ फोरम लोकतान्त्रिकसँग एकीकरण गराउँदा भने बुझ्न सकेनन् । फलस्वरुप कपटी मित्रहरु कुटिल योजनाका साथ थरुहट तराई पार्टीलाई लोकतान्त्रिकमा मिसाउने र लोकतान्त्रिकलाई काँग्रेसमा बुझाउने कार्य गरे । यसले उनी मात्रै होइन, थरुहटवादी सबै जनता संकटमा परेका छन् ।

आज काँग्रेस, एमाले र माओवादीका तीन शीर्षस्थ नेताहरुले आदिबासी जनजाति, मधेशी, थारु, अल्पसंख्यकहरुको पहिचानको अधिकारलाई त खाए, खाए, उनीहरुलाई पुछारमा पु¥याउन थ्रेस होल्डको पहिलो धारिलो हतियारले हमला गरे । त्यत्तिले पुगेन, बाम र दक्षिण गठबन्धनको चक्र ब्युह निर्माण गरे । थ्रेस होल्डको धारिलो हतियार र बाम, दक्षिण गठबन्धनको चक्र ब्यूहले साना दलहरु अत्तालिए । सब भन्दा बढी अत्तालिए बिजय गच्छदार, रामजनम चौधरी, जनक चौधरी, गोपाल दहित । सत्ताको स्वादमा डुबेका कारण यिनले पार्टीलाई जोगाउनु र बढाउनु भन्दा ठूला दलमा बिलय गराउन उचित ठाने । फलस्वरुप उनीहरुका अगाडि थारुहरुको मुद्दालाई लत्याउने बाहेक अर्को बिकल्प रहेन र लोकतान्त्रिक फोरमलाई काँग्रेसमा बिलय गराए । उता लोकतान्त्रिक फोरममै रहेका लक्ष्मण थारु जेलबाटै राजपा प्रवेश गरे भने लोकतान्त्रिककै केन्द्रीय सदस्य रामप्रसाद चौधरी पनि राजपा प्रबेश गरे । यो अबस्थामा पनि भानुराम अटल र अबिचलित रहेका छन् ।
उनी लोकतान्त्रिक फोरमलाई र थरुहटका मुद्दालाई जोगाई राख्ने बाचा गरेका छन् र संघीय समाजबादी फोरमको चुनाव चिन्ह मसाल लिएर प्रतिनीधि सभाको चुनावमा होमिएका छन् । भोलीका दिनमा थरुहटका मुद्दासहित लोकतान्त्रिक फोरमलाई ब्युँताउने, मधेशी दलसँग बलियो सहकार्य गर्ने र जेलबन्दीलाई छुटाउने कुरामा अडिग छन् । थरुहटप्रेमी सबै नेता, कार्यकर्तालाई थरुहटको मुद्दालाई मनमा राखी हाललाई आ आफ्नो अनुकुल चुनावमा होमिन र चुनावपछि थरुहट मुद्दाका लागि एक संगठनमा एकाकार हुन अनुरोध पनि गरेका छन् उनी । उनको यो बिचार थारु समुदायको लागि सही छ । तर बिचारको कदर जनताले गर्छन् वा गर्दैनन्, त्यो हेर्न बाँकी छ ।

थरुहट आन्दोलनको शुरुदेखि अहिलेसम्मको इतिहास हेर्दा भानु, थरुहट आन्दोलनका अथक एवं अटल योद्धा हुन् भन्ने कुरा स्पष्ट हुन्छ । ठूलो दिलका कारण उनी पदका लागि मरिहत्ते कहिल्यै गरेनन् । बरु थारुहरुका हक अधिकारका लागि लडिरहे । कहिले रुक्मिणी थारु र राजकुमार लिम्बुलाई, त कहिले गंगा थारु र गोपाल दहितलाई सांसद बनाएर संबिधान सभामा पठाए । अहिले उनै अटल योद्धा भानुराम थारुसँग बहुदलिय ब्यबस्था आएदेखि निरन्तर सांसद र मन्त्री भैरहेका, थारुहरुको हक अधिकार भन्दा पनि कुर्सीलाई सर्बोपरी ठान्ने रामजनम चौधरी काँग्रेसबाट र जनताका चाहना भन्दा पार्टीको ह्वीपलाई सर्बोपरी ठान्ने, थरुहट आन्दोलनलाई मन नपराउने, थरुहट आन्दोलनमा मुख नदेखाउने गौरीशंकर थारु माओवादीबाट प्रतिस्पर्धामा छन् । यी मन्त्री भैसकेका पैसावालहरुसँग लड्न भानुरामलाई ठूलो चुनौती छ । भानुरामसँग पैसा छैन । पैसाको अगाडि योद्धाहरु हारेका धेरै उदाहरण छन् । तर जनताले मूल्यांकन गरेको खण्डमा कैलाली क्षेत्र नं. ३ मा भानुरामलाई जीतलाई कसैले रोक्न सक्तैन ।

लोकतन्त्रमा सरकारको लगाम जनताको हातमा हुन्छ र आवधिक चुनाव महत्वपूर्ण हुन्छ । चुनावमा चोर र साधु, सबै उम्मेदवार जनअदालतमा न्यायका लागि उपस्थित हुन्छन् । जनता न्यायाधिशको सम्मानित स्थानमा हुन्छन् । जनताले जनताको हक अधिकारको लागि लड्ने, उनीहरुको चाहनालाई बुझ्नेलाई भोट दिई पुरस्कृत गर्दछन् र हक अधिकारको लागि आवाज नउठाउने, चाहनालाई नबुझ्नेलाई भोट नदिई दण्डित गर्दछन् । यो नै लोकतन्त्रको मूल मान्यता हो । यही मान्यतालाई स्वीकार गरी भानुराम जनताको घरदैलोमा पुग्दैछन् । रुपिया पैसाका कारण उनी सबैको घरमा पुग्न सकिरहेका छैनन् होला, तर उनी सदैव जनताका माग मुद्दासँग नजिक छन् । जनताले मूल्यांकन गर्ने समय आएको छ ।

सारमा के भनौं भने प्रतिनीधि सभा र प्रदेश सभाको यो चुनाव थरुहटका माग मुद्दा उठाउनेहरु, आन्दोलन गर्नेहरुका लागि अति नै महत्वपूर्ण छ । आज पहिचानवादी थारुहरु बिजय गच्छदार, रामजनम चौधरी, जनक चौधरी, गोपाल दहितकै कारण संकटमा परेका छन् । उनीहरुकै कारण लोकतान्त्रिक फोरम र थरुहटको मुद्दा संकटमा परेको छ । संकटमा परेको थरुहटको माग मुद्दालाई पुनः गति दिन आज भानुराम थारु कम्मर कसेका छन् । उनी थारुहरुकै माग मुद्दा बचाउन संघीय समाजवादी फोरमको चिन्ह लिएर चुनावको मैदानमा उत्रेका छन् । उनको सीधा टक्कर कुर्सीको लागि लोकतान्त्रिक फोरमलाई काँग्रेसमा बिलय गराउने रामजनम चौधरी र थारुहरुको आन्दोलनलाई कहिल्यै साथ नदिने गौरीशंकर थारुसँग छ । थरुहटको मुद्दा बिलिन हुने यो अबस्थामा थरुहट मुद्दाको निरन्तर उठान गर्ने, अगुवाई गर्ने, थरुहटको मुद्दा संकटमा पर्दा काँध थाप्ने अटल यौद्धाले जनताबाट साथ पाएनन् भने धेरै यौद्धाहरु नैराश्यताका शिकार हुने प्रायः निश्चित छ । तसर्थ थरुहटका यौद्धाहरुमा नैराश्यता नआओस्, जोश र आक्रोश निरन्तर रहिरहोस् भनेर सबैले कामना गर्न र ध्यान पु¥याउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *