लक्ष्मण थारू, थरुहट आन्दोलनका क्रान्तिकारी योद्धा

इन्द्रेणी थारु/काठमाडौं।
नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म कारागारमै रहेर संघर्ष गरिरहेका छन् ।

आमा पुन्नी थरुनीको कोखबाट वि.स २०३२ कात्तिक १ गते लक्ष्मण थारुको जन्म कैलालीको फुलवारीमा भएको हो । उनका बाबु रामसिंह थारु, उनी १७ वर्षकै हुँदा बाबु गुमाउन पुगे । त्यसपछि उनको भविष्य निर्माणमा उनकी आमा एक्लैले योगदान गरिरहिन् ।

विद्यार्थी जीवनकालमै राजनीति सुरुवात गरेका लक्ष्मण, कक्षा आठ पढ्दा नेकपा एमालेको विद्यार्थी संगठनमा रहेर काम गरे । एसएलसीपछि इन्टर पढ्दा उनी गोचाली परिवारमा आबद्ध भए । गोचाली परिवार २०२६ सालमा स्थापना भएको थारुहरुको संस्था हो, जहाँ प्रगतिशिल विचार राख्ने तथा प्रगतिशिल लेखनलाई प्राथमिकता दिने गरिन्थ्यो । त्यसका लागि प्रगतिशिल लेख रचना संकलन गरि पुस्तक प्रकाशन गरिन्थ्यो । गोचाली परिवारले प्रगतिशिल लेखनमार्फत् थारु समुदायमा कायम रहेको भिवेदविरुद्ध आवाज उठाउने, जमिन्दारहरुको भण्डाफोर गर्ने, थारुहरुमा जागरुकता ल्याउनका लागि सक्रिय रहेको थियो । त्यसले कुनै पनि हिंसात्मक गतिविधि गरेको थिएन । तर त्यसबेला थारुहरुमा जागरुकता ल्याउने गोचाली परिवारको गतिविधि शासकहरुले देख्न सकेनन् । गोचाली परिवार र त्यसमा आबद्ध थारुहरुलाई आतंककारीको रुपमा हेर्न थालियो । लक्ष्मण थारु दुई दशक पुरानो विगतलाई सम्झिन्छन्, २०५३ सालमा गोचाली परिवार कैलालीको पहिलो सम्मेलन कैलालीको हँसुलियामा गर्ने भनिएको थियो । तर उक्त सम्मेलनमा कार्यक्रमका सहभागीभन्दा धेरै अतिथि थिए भने अतिथिभन्दा धेरै प्रहरीको उपस्थिति थियो । अन्त्यमा कार्यक्रम गर्नका लागि कतै उपयुक्त ठाउँ नपाएपछि खेतको बीचमा रहेको झुपडीमा गएर गोचाली परिवारका प्रतिनिधिहरुले सम्मेलन सफल पारेका थिए ।

‘त्यो समय निकै कष्टकर रहेको उनी सम्झिन्छन् । थारु जनताहरुलाई अधिकारका कुरा बुझाउन साह्रै गाह्रो थियो । अधिकांश थारुहरु कमैया थिए, या त जमिन्दारको बटैया गर्थे, सामन्त जमिन्दारविरुद्धका कुराकानी सुन्न चाहँदैनथे, खासमा जमिन्दारदेखि डराउँथे । उल्टै हामीलाई गाली गर्थे, खान र बस्न पनि दिँदैनथे,’ लक्ष्मण सम्झन्छन् । कहाली लाग्दा दिनहरु जुनबेला मानिसहरु उनलाई जंगली जनावर सरहको व्यवहार गर्थे । गोचाली परिवारको अभियान चलाउँदा चलाउँदै उनी नेकपा माओवादीमा आबद्ध भए । माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी तनमनका साथ सरिक भए । नेकपा माओवादी जनयुद्ध छोडेर शान्तिप्रक्रियामा आएपछि विभिन्न विषयमा असन्तुष्टि जनाउँदै उनले नेकपा माओवादी छोडेको घोषणा गरे । किन माओवादी भए र किन छोडे भन्ने विषयमा कारागारभित्रै रहेर उनले लेखेको पुस्तक ‘सेक्स युद्ध र जेल’मा पनि लेखेका छन् । तत्पश्चात थारुहरुको अधिकार प्राप्तीको लागि उनले अर्को अभियान सुरुवात गरे । र, त्यसको नेतृत्व पनि सम्हाले ।

माओवादी जनयुद्ध संगसंगै लडेका उनका सहकर्मी साथीहरु जब सिंहदरबार छिरे नेपाली क्रान्ति पूरा भयो भन्दै, लक्ष्मण भने विभेद अझै कायमै छ भन्दै अधिकारविहीनहरुका लागि जीवनपर्यन्त लडिरहने अठोट कसिरहे । २०६४ सालमा थरुहट आनदोलनका सुरुवाती दिनहरुमा कैयौँ रात सुत्न नपाएको, कैयौँ दिन खान नपाएको सम्झिन्छन् उनी । ’कोहलपुर राति पुगियो, पैसा थिएन, साथीहरुका घर पनि टाढा अनि त कोहलपुर मेडिकल कलेजको वरण्डामा सुत्यौं, र तीन रात त्यसरी सुतेर बांकेमा काम गर्यौ,‘ लक्ष्मणले विगत सम्झन्छन् ।

कुरा सुन्दा एकादेशको कथाझैँ लाग्ने थुप्रै यथार्थ घटनाहरुको संगालो छन् लक्ष्मणसँग । गोचाली परिवारका अनुभव, माओवादी हुँदाका डरलाग्दा अनुभवहरु, आफ्नै बहिनीको निमर्म हत्या हुँदाका क्षण, आफूलाई यी अभियानमा लाग्न प्रेरित गर्ने सहकर्मी साथीहरुलाई गुमाउँदाका पीडाहरु, लक्ष्मणका यी सबै संगालोहरु कुनै पीडादायी नोबेलभन्दा कम छैनन् । उनीसँगको छोटो कुराकानीमा कैयौँपटक उनले आफ्नो साथी जोखन रत्गैँया र विनोद चौधरीलाई सम्झिए । भने, ‘जोखनजीले नै मलाई यी अभियानमा सरिक गराउनुभयो । माओवादी द्धन्द्धकालमा गुमाएका साथी जोखन रत्गैँया, विनोद चौधरी, मंगल चौधरी र थुप्रै थारुहरुको योगदान र बलिदानको कार्यभार आफ्नो काँधमा थपिएको जिम्मेवारी बोध हुन्छ ।’

माओवादी संकटकालमा कहिल्यै पक्राउ नपरेका लक्ष्मण शान्तिप्रक्रियामा आएपछि भने पटक पटक पक्राउ परे । नागरिक समाज आन्दोलन, पहिचान पक्षधरको आन्दोलन, थरुहट आन्दोलन, यस्तै विभिन्न अधिकारमुखी खान्दोलनमा चार पटक पक्राउ परे । अन्यबेला पक्राउ पर्दा केही छिनमै वा रातभरि मात्रै हिरासतमा राखे पनि टीकापुर घटनाको आरोपीका रुपमा पक्राउ पर्दा भने पुर्पक्षका लागि भन्दै अहिलेसम्म उनी कारागारमै जीवन बिताइरहेका छन् ।

यही मंसिर २१ गते हुने प्रतिनिधि सभाको चुनावका उम्मेदवार पनि हुन् लक्ष्मण । अग्रपंक्तिमा रहेका थारु नेतामध्ये जेल जीवन बिताउने र जेलबाटै चुनावमा उम्मेदवारी दिने लक्ष्मण पहिलो थारु नेता हुन् । राष्ट्रिय जनता पार्टी नेपालको छाता चुनाबी चिन्ह लिएर उनी चुनावी मैदानमा उत्रिएका छन् । बरु संघर्ष गर्न तयार हुने, बरु जेलनेल खान तयार हुने तर थारुका मागमुद्दालाई तिलाञ्जली नदिने थारु नेताका रुपमा परिचय बनाएका छन् उनले । जेलभित्रबाट कसरी चुनावको तयारी गरिरहुनभएको छ? हाम्रो जिज्ञासामा उनले भने, ‘मेरो उम्मेदवारी सुनेपछि गाउँघरतिर भल्मन्साहरु आफैँ प्रचारमा निस्केका छन् । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरु प्रचारप्रसारमा लागेका छन् । कमाण्ड भने उनले जेलभित्रैबाट गरिरहेका छन् । जेलबन्दीका लागि राखिएको दुइटा फोनमध्ये ९८५८४२२८४९ नम्बरको फोन आफैँले खर्च व्यहोर्ने गरी उनले एक महिनाका लागि लिएका छन् ।

भन्छन्, ‘त्यही फोनबाट बिहानदेखि साँझसम्म फोन प्रचारप्रसारमा लागेको हुन्छु । त्यतिमात्रै होइन जेलभित्रै कपडा सिउने मेसिन राखेका छन् । टीकापुर घटनाका बन्दीहरुले दिनभरि झण्डा सिउने र छाप्ने काम गर्छन् । जेलभित्रबाट सयजना बन्दीहरु उनका लागि भोट माग्न व्यस्त हुन्छन् । उनले दिएको उम्मेदवारीसंगै जेलभित्र उनलाई भेट्न जानेहरुको संख्यामा अत्यधिक वृद्धि भएको छ । उनलाई भेट्न जानेमा पार्टी नेता कार्यतर्का, शिक्षक, कर्मचारी, भल्मन्सा र अन्य शुभचिन्तक पर्छन् । उनका शुभचिन्तकहरु आफैँले झण्डाहरु बनाइदिएर उनलाई स्वतस्र्फुत सहयोग गरिरहेका छन् ।

उनले मुख्यत दुइटा चुनावी अजेण्डा राखेका छन् । उनको पहिलो अजेण्डा भनेको थरुहट आन्दोलनकारीसंग तत्कालीन सरकारले गरेको सम्झौता कार्यान्वयन गर्ने, अर्थात पहिचानका आधारमा थारुहरुलाई थरुहट भूमि दिने, त्यो भनेको पहिचानसहितको संघीयता हो । त्यसका आधारमा जातीय वर्गीय लैंगिक उत्पीडन हटाउने भन्ने हो । उनको दोस्रो अजेण्डा स्थायी शान्ति, पहिचान, सम्पन्नता, समृद्धि र विकासका लागि भ्रष्टाचार अन्त्य गर्ने हो । भ्रष्टाचारको अन्त्य नभई देशमा समृद्धि र विकास सम्भव छैन भन्ने कुरामा उनी विशवास राख्छन् ।

उनको उम्मेदवारीले थारुहरुमा मात्रै होइन, पहिचानपक्षधर तथा न्यायप्रेमी सबैमा उत्साह थपेको छ । उनकी श्रीमती पार्वती पनि आफ्ना श्रीमानका लागि भोट माग्दै हिँडेकी छन् । उनी भन्छिन्, ‘म नेता होइन, मलाई भाषण गर्न आउँदैन, त्यसैले निर्दोष थारुहरुलाई जेलबाट छुटाउनका लागि भोट दिनुस भन्छु ।’

सांसद र मन्त्री हुनका लागि आफूलाई जता पनि समर्पण गरिदिने थारु नेताहरुभन्दा फरक परिचय बनाएका लक्ष्मणमा एक संघर्षशिल थारु योद्धाको क्षमता छ । दुई दशक बढी लामो समयसम्म राजनीतिक जीवनमा विभिन्न आरोह अवरोह छिचोल्दै आएपनि थारुहरुका मागमुद्दाप्रति सबैभन्दा बढी ‘डिटरमाइन्ड’ नेतृत्वका रुपमा आफ्नो परिचय बनाउन सफल छन् ।

One thought on “लक्ष्मण थारू, थरुहट आन्दोलनका क्रान्तिकारी योद्धा

Leave a Reply

Your email address will not be published. Required fields are marked *