Saptari_election_2013सप्तरी- संविधान निर्माण मेरो मुख्य एजेन्डा हो। मुलुकमा राजनीतिक स्थिरता र विकासको गति प्रदान गर्न संविधान अपरिहार्य छ। एकीकृत माओवादी संघीयता पक्षधर परिवर्तनकारी शक्ति हो। यो संविधानसभाको निर्वाचन हो, विकास गर्ने निर्वाचन होइन। यस क्षेत्रका जनताले मलाई पक्कै पनि सेवाको अवसर दिनेछन्। मेरो मुख्य प्रतिस्पर्धा फोरम लोकतान्त्रिकसँग छ।
मानपुर चौधरी, क्षेत्र १, एकीकृत माओवादी

पहिचानसहितको संघीयता र लोकतान्त्रिक संविधान मेरा मुख्य एजेन्डा हुन्। कांग्रेसले नै मुलुकको हित गर्ने तथ्य कुनै पनि मतदाताबाट लुकेको छैन। यसपालि कांग्रेसको पक्षमा ब्यापक जनलहर देखिएको छ। पछिल्लोपल्ट मधेसी जनताले मधेसवादीलाई जिताएर पठाए पनि उनीहरूको चरित्र छताछुल्ल भएको छ। माओवादी हत्याहिंसामा विश्वास राख्ने भएकाले उनीहरूको अवस्था पनि राम्रो छैन। हामीले चुनाव जितिसकेका छौं। मेरो प्रतिस्पर्धा केही मधेसवादीहरूसँगै छ।
रामकुमार चौधरी, क्षेत्र ३, नेपाली कांग्रेस

बहुपहिचानसहितको संघीयता, आपसी सदभावसहितको राष्ट्रिय एकता र संविधान निर्माण मुख्य एजेन्डा हुन्। विकासमा पछाडि रहेको यस क्षेत्रको विकास गर्ने उद्देश्य पनि मेरो छ। खासगरेर पछिल्लो चुनावमा यहाँबाट निर्वाचित भएर गएकाहरूको लापरवाहीले यो क्षेत्रको विकास हुन नसकेको हो। यसपालि एमालेप्रतिको जनलहरले हामीलाई ठूलो शक्ति बनाउँदैछ। मुख्य प्रतिस्पर्धा कांग्रेस, सदभावना र फोरम नेपालसँग छ।
तराकान्त चौधरी, क्षेत्र ४, नेकपा एमाले

पहिचान र संघीयतासहितको लोकतान्त्रिक संविधान मेरा एजेन्डा हुन्। नेपालको इतिहासमा जुनजुन बेला राजनीतिक संकट उत्पन्न भएको छ, लोकतन्त्रमाथि खतरा देखिएको छ, त्यसको समाधान कांग्रेसले दृढतापूर्वक गर्दै आएको इतिहासबाट सर्वसाधारण मतदाता अनभिज्ञ छैनन्। अहिलेको अवस्थामा पनि राजनीतिक निकास तथा संविधान निर्माणका लागि कांग्रेस नै निर्विकल्प भन्दै देशभर जनलहर देखिएको छ। यसअघि चुनाव चितेकाहरूले मतदाताप्रति बइमानी गरेकाले पनि मेरो जित पक्का छ। प्रतिस्पर्धा एमालेसँग हुन्छ।
तेजुलाल चौधरी, क्षेत्र ५, नेपाली कांग्रेस

संघियता सहितको संविधान मुख्य एजेण्डा हो। मधेसी, आदिवासी जनजाति, पिछडीएका समुदाय, महिला, मुश्लिम सवैको पक्षमा वोल्ने एकमात्र दल फोरम लोकतान्त्रीक भएकोले हाम्रो पक्षमा यसपाली जनाधार देखिएको छ। पक्कै पनि हाम्रो जित यस क्षेत्रमा हुने छ। काँग्रेस र एमालेसँग मुख्य प्रतिस्प्रर्धा छ।
छेदीलाल चौधरी, क्षेत्र ५, फोरम लोकतान्त्रिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *