अपहरणमा परेका विशाल चौधरीको चार दिनपछि सकुशल उद्धार

गत बिहिबार राजधानीकै विद्यालयबाट बालक अपहरण परेको खबरपछि ठूलो खैलाबैला मच्चियो । काठमाडौंको मुटु मानिने क्षेत्रपाटीबाट दिनदहाडै बालक स्कूलबाटै अपहरणमा परेका थिए । क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै अपहरणमा परेका थिए ।

बुटवल घर भई हाल असनमा बस्दै आएका अजय चौधरीका ५ वर्षीय छोरा उनी अपहरणमा परेको खवरसँगै असन आसपासका सर्वसाधारण बालकको सकुशल रिहाई र सुरक्षाको माग गर्दै शुक्रबार सोह्रखुट्टे प्रहरी बृत घेर्न पुगे ।

यसरी बालक अपहरणमा परेको घटना बाहिरिएसँगै महानगरीय अपराध महाशाखाले अनुसन्धान शुरु गरेको थियो । घटनाको चारदिनपछि बालक सोमबार बिहान ४ बजे सकुशल फेला परेका हुन् ।

महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार बिहान ४ बजे काँडाघारी क्षेत्रमा बालक सडकमा छाडिएका थिए । ‘एक जना बुढी महिलाले बालकलाई सडकमा फेला पारेपछि प्रहरीलाई खबर गरिन् । त्यसपछि अपराध महाशाखाबाट खटिएको टोलीले बालकको उद्धार गरेको हो,’ अमात्यले भने ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान शुरु गरेसँगै प्रहरीले शंकास्पद लागेकाहरुमाथि ‘प्रेसर’ बनाइराखेको थियो । त्यही प्रेसरले उनीहरुलाई बालक सकुशल छाड्न बाध्य बनाएको अमात्यले बताए । ‘हामीले अपहरणकारी पत्ता लगाइसकेका छौँ । अब कारवाही अघि बढ्छ,’ उनले भने ।

कसरी भयो अपहरण ?

विशाल चौधरीलाई बिहिबार बिहान दश बजे अभिभावकले विद्यालय पुर्याएका थिए । सधैजसो बिहान पुर्याउने र दिउँसो साढे ३ तीनबजे लिन जाने अभिभावकको रुटिन थियो । त्यहि अनुसार बिहीबार पनि बिशालका बुवा विजय छोरा लिन स्कुल पुगे ।

छोरो लिन स्कुल पुगेका विजयलाई स्कुलका शिक्षकले भर्खर विजयलाई घर पठाएको भन्ने जवाफ पाए । उनी एकछिन त अक्क न बक्क परे । सधै आफै लिन आउने र लैजाने गरेका उनलाई कसले लग्यो भन्ने खुल्दुली लाग्नु स्वभाविक थियो । उनले परिवारका सदस्यलाईै सोधखोज गरे । कसैले पनि आफुले लगेको भन्ने भनेनन् । त्यसपछि हल्लाखल्ला मच्चियो । स्कुल वरिपरि सवै खोजीमा लागे । कसैले भेटाएनन् ।

विद्यालयको सिसीटिभी फुटेज अध्ययन गर्दा बालकका बाबु विद्यालय पुग्न ५ मिनेटअघि एउटा मोटरसाइकलमा राखेर बालकलाई कसैले लगेको देखिएको थियो । परिवारले आफ्नो पसलमा काम गर्ने कामदारमाथि अपहरणको आशंका गरेका छन् । तलब नदिएको निहुँमा कामदारसँग त्यसअघि भनाभन भएको परिवारले बताएको छ ।

रातोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *