थारु महिला : आन्दोलनमा अगाडि, नेतृत्वमा पछाडि [विचार]

इन्दु थारु।
थरुहट आन्दोलनमा थारु महिलाहरुको उल्लेखनीय सहभागिता थियो । अझ भनौ तिनको सहभागिता बिना थरुहट आन्दोलन अम्सम्भवप्रायः थियो । कुनै पनि आन्दोलन आजसम्म महिलाको सहभागिताबेगर सम्भव भएका छैनन् । महिला पुरुष एक सिक्काका दुई पाटा न हुन् । एउटालाई निषेध गरेर अर्कोको अस्तित्व कहाँ ?

आन्दोलनमा जसरी महिला सहभागिता अत्यधिक थियो, त्यसरी नै नेतृत्वमा भने महिला आउन सकेनन् । आन्दोलनताकै पनि नेतृत्वदायी भुमिका गर्ने गंगा थारु, रुकमिणी चौधरीबाहेक अरुका नाम सुन्नमा आएनन् । जिल्ला तहमा बनेका थरुहट थारुवान् संयुक्त संघर्ष समितिको नेतृन्वमा पनि महिलाहरु कमजोर ठहरिए । २००४ सालमा स्थापना भएको थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले पनि थारु महिला नेतृत्वको विकासमा खासै सहयोग गर्न सकेन । थाकसको न केन्द्रीय स्तरमा महिला नेतृत्व उदाउन सके न जिल्ला स्तरमा नै ।
थारुहरुमा सबैभन्दा धेरै राजनीतिक चेतनाको विकास नेकपा माओवादीले सुरुवात गरेको जनयुद्धबाट आएको हो । सोझा थारुहरुलाई जनयुद्धमा होमिन बनाउनका लागि खासै गाह्रो काम थिएन । धेरैजसो थारुहरु आफूमाथि भएको विभेदविरुद्ध लड्न माओवादी बने । कतिपयहरु आफ्ना दाजुभाइ दिदीबहिनीको हत्याको बदला लिन माओवादी बने । कोही बाध्य भएर माओवादी बने । किनभने राज्य, पुलिस र प्रशासनले थारुहरुलाई माओवादी नभए पनि माओवादी नै देख्ने चश्मा लगाएका थिए । माओवादी युद्धकालमा को पुरुष र को महिला भनेर कामका हिसाबले छुट्याइएन । लडाइँ सबैका साझा थियो । जतिपनि युद्धमा पुरुष सहभागी भए, महिला पनि सहभागी भए । युद्धकालमा महिलालाई कुनै किसिमबाट असक्षम मानिएन । अझ महिलाले त गर्भवती भएको बेला पनि र काखमा बच्चा च्यापेर पनि युद्धमा सहभागी भए । त्यसबखत पनि महिला असक्षम ठहरिएनन् ।

माओवादी जनयुद्धपछि थारुहरुले आफ्नै नेतृत्वमा गरेको आन्दोलन थरुहट आन्दोलन हो । जुन २०६४–६५ मा भएको थियो । जहाँ थारुहरुले आफ्नो छुट्टै पहिचानका लागि लडेका थिए । त्यस आन्दोलनताका थारुहरुमाथि राज्यसँगै अखण्ड सुदूरपश्चिम पक्षधरले चरम ज्यादती गरेका थिए । पुलिस प्रशासनको भरमा थारु आन्दोलनमाथि दमन गरिएको थियो । धनगढीको गुरही चोक, क्याम्पसरोडमा थरुहरुका घर घरमा पसेर अखण्ड सुदूरपश्चिमका उच्शृंखल तत्वहरुले थारुहरुमाथि आक्रमण गरेका थिए । थारु पुरुषहरु घरबाहिर निस्कन गाह्रो बनाइएको थियो । त्यसबेला आन्दोलनको नयाँ रणनीति बनाइएको थियो– धनगढीका थारु महिलाहरु परम्परागत पोसाकमा धनगढी बजारमा र्याली निकाल्ने । जुनबेला पुरुषहरु बाहिर निस्कन स्थिति अनुकूल थिएन । महिलाहरुले राज्यको ज्यादतीविरुद्ध चर्का नाराबाजी गरे । पुरुषहरुको ब्याक सपोर्टमा महिलाले आफ्नै नेतृत्वमा आन्दोलन गरे, आफैँले कार्यक्रम सञ्चालन गरे, आफैँले भाषण गरे ।

भाद्र ७ गतेको टीकापुर घटनापश्चात टीकापुरमा कफ्र्यू त लगाइयो, थारुहरुको आन्दोलन कमजोर बनाउन धनगढीमा पनि काफ्र्यू आदेश जारी भयो । पुरुष नेतृत्वहरु प्रशासनको निशानामा पर्न थाले । कयौँ नेतृत्वकर्ता पक्राउ परे । एक किसिमले थारु आन्दोलनको अगुवाइ गर्नेहरु भूमिगत बस्नुपर्ने परिस्थितिको सिर्जना भयो । थारुहरुको आन्दोलन पूर्णरुपले कमजोर बनाउने खेल भइरहँदा कैलालीको सुखडमा थारु महिलाहरुले प्रदर्शन गरे । सुखडका महिलाहरुले सिटी र थाल बजाउँदै नारा जुलुस गरे । त्यसो गर्नुको एउटा सन्देश थियो– ‘थारुहरुमाथि हुने ज्यादतीविरुद्ध हामी आवाज उठाउछौं, चुप लागेर बस्दैनौं । त्यसपश्चात कैलालीको हसुलिया, मसुरियालगायत थुप्रै ठाउँमा महिलाहरुले मात्रै प्रदर्शन गरे । ती प्रदर्शनका पछाडि पुरुषहरुको सहयोगलाई भने बेवास्ता गर्न सकिँदैन र गर्न पनि हुँदैन ।

जब जब थरुहटको आन्दोलनमा विपत्ति आउँछ, त्यतिबेला थारु महिलाहरुले नै आन्दोलनको साख जोगाउँदै आएका छन् । थारु संस्कृति जोगाउनमा पनि महिलाहरु नै अग्रपंक्तिमा छन् । जो थारु महिला अगाडि आउन सकेनन् र जसका श्रीमान् थारुहरुको नेतृत्व गर्दैछन्, ती महिलाले पनि आफ्नो श्रीमान्लाई सहयोग गरेर आन्दोलनलाई सघाइरहेका छन् । यति हुँदाहुँदै पनि थारु महिलाहरुको सक्षमतामाथि किन प्रश्न चिन्ह लाग्ने गर्छ ?

विडम्बना भन्नुपर्छ, जनयुद्ध लडेका थारु महिलाहरु प्रत्यक्ष राजनीतिभन्दा धेरै टाढा रहे । थरुहट आन्दोलनमा क्रियाशिल महिलाहरु पनि राजनीतिमा अगाडि आउन सकेनन् । जनयुद्धको लडाइँ लड्न कहिल्यै पछि नपरेका महिलाहरु लडाइँपश्चात आफ्नो राजनीतिक भूमिकाप्रति भने सचेत हुन सकेको छैन । वा, युद्धपश्चात राजनीतिमा पुरुषहरुले थारु महिलाको आवश्यकता बोध गरेनन् । थारु महिलाहरु आफ्नो जन्मले नै दिएको अधिकार चुलोचौको, बालबच्चा र घरगृहस्थी सम्हाल्नतर्फ मात्रै लागे ।

राजनीतिक क्षेत्रमा थारु महिलाको अवस्था निकै दयनीय छ । माओवादी जनयुद्धमा थुप्रै थारु महिलाहरु सहभागी भए । तीमध्ये कतिले भूमिगत जीवन बिताए, कति मारिए, कति बेपत्ता पारिए, कतिको बलात्कार गरियो त्यसको कुनै ठोस तथ्यांक छैन । माओवादीले थारुवान् राज्यको सपना बाँडेको कञ्चनपुरदेखि दाङसम्ममात्रै थारु महिलाहरुको उपस्थिति संविधान सभामा हेर्ने हो भने, १० वर्षे शसस्त्र द्धन्द्धको अन्त्यपश्चात केवल एक जना थारु महिलामात्रै पहिलो संविधान सभाको चुनावमा प्रत्यक्ष निर्वाचित भइन् तत्कालीन नेकपा माओवादीका तर्फबाट । उनी हुन् कैलाली टीकापुरकी रुपा थारु । शसस्त्र द्धन्द्धका क्रममा उनले आफ्नो बाबु र दाजु गमाएकी थिइन् । सम्पूर्ण परिवार नै संकटकालमा भूमिगत जीवन बिताएका थिए ।

दोस्रो संविधान सभाको चुनावमा दाङबाट दुईजना थारु महिलाहरु प्रत्यक्ष निर्वाचित भए । नेपाली कांगे्रसबाट निर्वाचित हुने थारु महिला हुन् सुुशीला चौधरी र पार्वती डिसी चौधरी । पार्वती भने डांगीकी छोरी र थारुकी बुहारी हुन् । राज्यमन्त्रीबाहेक आजसम्म कुनै थारु महिलाहरु पूर्ण मन्त्रीको जिम्मेवारी सम्हाल्न पाएकी छैनन् ।

२०७३ असार १४ मा सम्पन्न स्थानीय निकायको चुनावमा ३० जना थारु महिलाहरु उपमेयर-उपप्रमुखको रुपमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट सबैभन्दा धेरै १२ जना, नेकपा एमाले बाट १०, नेकपा माओवादी केन्द्रबाट ५ र नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना थारु महिला उपमेयर÷उपप्रमुख बनेका छन् । नेकपा माओवादी केन्द्रबाट उपमेयर बनेका पाँचै जना थारु महिलाले शसस्त्र द्धन्द्धका समयमा भूमिगत जीवन बिताएका थिए । बर्दिया ठाकुरबाबाकी उपमेयर कृष्ण कुश्मा थारुले आफ्नो श्रीमान् र दाजु गुमाइन् । बर्दिया बारबर्दियाकी उपमेयर अञ्जु दहित र राजापुरकी उपमेयर मनकला चौधरीले द्धन्द्धकालमा श्रीमान् गुमाए । त्यसैगरी बर्दिया मधुवनकी उपमेयर शुभरानी थारु र कैलाली कैलारीकी उपमेयर लक्ष्मी सत्गौवा थारु भूमिगत जीवन बिताएरै राजनीतिमा लागेका हुन् ।

कन्चनपुरदेखि दाङसम्मको मात्रै थारु महिला उपमेयरको उपस्थिति हेर्ने हो भने, सबैभन्दा धेरै थारु महिला उपमेयर-उपप्रमुख बर्दिया जिल्लाबाट भएका छन् । बर्दियामा ६ जना थारु महिला उपमेयर, कैलालीमा ४, दाङमा ३, कन्चनपुरमा २ र बाँकेमा १ जना थारु महिला उपमेयर निर्वाचित भएका छन् । जसमध्ये ९ जना नगरपालिका उपमेयर र ७ जना गाउँपालिका उपमेयर छन् ।

न नगरपालिका न गाउँपालिका, कुनै पनि मेयर पदमा थारु महिला आउन सकेनन् । उपपदमै चुप लागेर बस्नुपर्ने स्थिति थारु महिलाका लागि बनेको छ । कुनै पनि पार्टीले थारु महिलालाई मेयरको टिकट नै दिएनन् । संघर्षशिल थारु महिलाहरुलाई मेयर पदको उम्मेदवारी दिन लायक पनि नसम्झिनु थारु महिलाका लागि विडम्बनाको कुरा हो ।

१ कन्चनपुर चित्रा चौधरी नेकपा एमाले बेलौरी नगरपालिका
२ कन्चनपुर रमिना कुमारी राना नेपाली कांग्रेस कृष्णपुर नगरपालिका
३ कैलाली लक्ष्मी सत्गौवा थारु नेकपा माअ‍ेवादी केन्द्र कैलारी गाउपालिका
४ कैलाली अञ्चला चौधरी नेकपा एमाले गौरीगंगा नगरपालिका
५ कैलाली गीता कठरिया नेपाली कांग्रेस जोशीपुर गाउपालिका
६ कैलाली उमा महतो नेपाल लोकतान्त्रिम फेरम जानकी गाउपालिका
७ बर्दिया कृष्ण कुश्मा थारु नेकपा माओवादी केन्द्र ठाकुरबाबा नगरपालिका
८ बर्दिया अञ्जु दहित नेकपा माओवादी केन्द्र बारबर्दिया नगरपालिका
९ बर्दिया शुभरानी थारु नेकपा माओवादी केन्द्र मधुवन नगरपालिका
१० बर्दिया मनकला चौधरी नेकपा माओवादी केन्द्र राजापुर नगरपालिका
११ बर्दिया पुष्पा चौधरी नेपाली कांग्रेस बासगढी नगरपालिका
१२ बर्दिया हिमा चौधरी नेपाली कांग्रेस गेरुवा गाउपालिका
१३ बाके सञ्जु कुमारी थारु नेपाली कांग्रेस कोहलपुर नगरपालिका
१४ दाङ जगदम्बा चौधरी नेपाली कांग्रेस राप्ती गाउपालिका
१५ दाङ उमा चौधरी नेपाली कांग्रेस राजपुर गाउपालिका
१६ दाङ शान्ति चौधरी नेकपा एमाले गढवा गाउपालिका
१७ कपिलवस्तु मीरा थारु नेपाली कांग्रेस बुद्धभुमि नगरपालिका
१८ कपिलवस्तु लक्ष्मी चौधरी नेकपा एमाले विजयनगर गाउपालिका
१९ कपिलवस्तु शिवकुमारी चौधरी नेकपा एमाले शिवराज नगरपालिका
२० रुपन्देही जागेश्वरी चौधरी नेकपा एमाले तिलोत्तमा नगरपालिका
२१ रुपन्देही अमृता चौधरी नेकपा एमाले सियारी गाउपालिका
२२ नवलपरासी अञ्जुकुमारी चौधरी नेपाली कांग्रेस प्रतापपुर गाउपालिका
२३ सुनसरी सबिना चौधरी नेकपा एमाले रामधुनी नगरपालिका
२४ सुनसरी राजकुमारी चौधरी नेपाली कांग्रेस गढी गाउपालिका
२५ सुनसरी रिमझिम कुमारी भगत नेपाली कांग्रेस हरिनगरा गाउपालिका
२६ मोरंग मञ्जिता कुमारी सरदार नेपाली कांग्रेस कटहरी गाउपालिका
२७ मोरंग फूलकुमारी चौधरी नेपाल लोकतान्त्रिक फोरम ग्रामथान गाउपालिका
२८ मोरंग अमृता कुमारी गच्छदार नेपाल लोकतान्त्रिक फोरम बुढीगंगा गाउपालिका
२९ उदयपुर रिताकुमारी चौधरी नेपाली कांग्रेस चौदन्डीगढी नगरपालिका
३० उदयपुर देवीकुमारी चौधरी नेपाली कांग्रेस त्रियुगा नगरपालिका
स्रोत थारुवान डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *