जोखन रत्गैयाँ, एक थारू योद्धा

मदन चौधरी।
वि.सं २०५७ साल जेठ २९ गते। साँझको समय। कैलालीको लालबोझी गाउँलाई शाही सेनाले एकाएक नियन्त्रणमा लियो। शाही सेनाले घेराबन्दी गरेपछि जोखन रत्गैयाँ थारू अलमलमा परे। उनी घेराबन्दी तोड्ने अनेकन जुक्ति निकाले। बहुसंख्यक सेनाको अगाडि उनको कुनै जुक्तिले काम गरेन। तर उनी समर्पण गर्ने मनसाय पनि बनाएनन्। दुश्मनका अगाडि कहिल्यै झुक्न नजानेका उनी शाही सेनाको घेराबन्दी तोड्ने प्रयास गरे। त्यसैबेला उनीमाथि सेनाको निशाना सोझियो।  उनको प्राणपखेरु उड्यो।
…..
वि.सं २०२५ सालमा कैलालीको हसुलियामा जन्मिएका थिए जोखन रत्गैयाँ। सामान्य परिवारमा जन्मिएका उनले आइएसम्मको अध्ययन गरेका थिए। आइएसम्मको अध्ययनले होला उनले त्यहाँको समाज राम्रोसँग बुझेका थिए। दिनप्रति दिन हुने हरेक प्रकारका विभेद्बारे उनी जानकार थिए। पछिल्लो समय पहाडबाट बसाई सरी आएका चलाख पहाडीहरुले खाइपाइ आएको थारूहरुको खेतबारीमा आफ्नो वर्चस्व कायम गरे। जसका कारण थारूहरु आफ्नै खेतबारीमा कमैया, कमलरी बन्न बाध्य भए। यी सब कुराको चित्रण जोखनले राम्रोसँग विश्लेषण गर्न सक्थे। त्यसैले त उनले यस्ता विभेद्हरुबारे चर्को आवाज उठाउँथे। आफ्नो गाउँ टोल र छिमेकका थारूहरुलाई यस्ता विभेद्विरुद्ध एक भएर लड्न प्रोत्साहन गर्थे।

गैरथारूहरुको आक्रामक बसाइसराइले कैलालीका थारूहरु झनै थिचोमिचोमा परे। राज्यबाट हुने विभेद् त थियो नै, त्यसमाथि आफ्नै खेतबारीमा थारूहरु कमैया बस्नुपर्दा उनी मुर्छित पर्थे। यस्ता विभेद्को अन्त्य सधैंका लागि गर्न उनी वि.सं २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धमा होमिए। सम्भवतः उनी थारू समुदायका त्यस्ता ब्यक्ति हुन् जो तत्कालीन माओवादीका संस्थापक सदस्य पनि हुन्।

उनले माओवादीमा आफ्नो राम्रो उपस्थिति जनाए। उनको उपस्थितिले केन्द्रीय नेताहरुमा तरंग ल्याइदियो। उनले थारू मोर्चालाई राम्रोसँग कमान्ड गरे। थारूमाथि हुने विभेद्को अन्त्य गर्न धेरै थारूले उनको साथ दिए। उनकै पछि लागेर सशस्त्र जनयुद्धमा होमिए। उनले आफ्नो पोजिसन राम्रो बनाइरहेकै बेला दुश्मनले त्यहाँ पनि सुखसँग बस्न दिएनन्। उनकाविरुद्ध शाही सेनालाई सुराकी गर्न थाले। सेनाले उनलाई खोज्न नसकेपछि उनको परिवारलाई सताउन थाल्यो। सेनाले हदैसम्मको दमन उनको परिवारमाथि गर्यो। सेनाको दमनकै कारण जोखनले वि.सं २०५५ सालमा बुबा धनबहादुर रत्गैयाँलाई गुमाए। बुबाको मुख हेर्नसमेत उनी आउन पाएनन्। साहित्य लेखनमा ऊबेला अब्बल मानिएका उनले आमाका नाममा चिठी लेखी भनेका थिए–
आमा, तिमी रुनु तर आँशु नझार्नु। विरोधीले देखे हाँसोको पात्र बनाउनेछ। तिमी हाँसोको पात्र बन्नु हुँदैन।
बुबाले ज्यान गुमाउँदा पनि उनले आमालाई अनुनयन गरेका शब्द हुन यी। किनकि उनी विरोधीसामु शिर निहुराउन जानेका थिएनन्। विरोधीसामु हार स्वीकार्न जानेका थिएनन्। उनी आफ्नो लक्ष्यमा सधैं अडिग रहेर अगाडि बढे। यता सेनाको यातना दिने क्रम भने रोकिएन। उनीहरुको अनुपस्थितिमा सेनाले घरका सबै सदस्यहरु आमा, श्रीमती, भाइ, बच्चाहरु समेतलाई यातना दिन थाले। सेनाको टार्गेटमा परेका भाइ जगत रत्गैयाँ (प्रवेश) पनि लुकीछिपी बस्नुपर्ने अवस्था थियो। सेनाले उनलाई पनि छाडेनन्। वि.सं २०५९ सालमा सेनाले जगतलाई पनि मार्यो । थोरै समयमा धेरै व्यक्तित्व विकास गरेका जगत आशलाग्दा थारू नेता थिए।

परिवारका सदस्यमाथि यतिका दमन भइरहँदा पनि वर्गीय मुक्तिको बाटोमा हिँडेका जोखनले क्रान्तिको बाटो छाडेनन्, न कसैसामु समर्पन नै गरे। तर सोच्दै नसोचेको कुरा उनले आफ्नै जीवनमा भोग्नुपनर्योल। पार्टीभित्रको बलियो उपस्थिति र थारू पहाडीबीचको खाडलले उनी आफ्नै साथीहरुको जालमा फसेँ। तत्कालीन माओवादीभित्रकै अब्बल पहाडी नेताहरुले उनलाई मार्ने षड्यन्त्र रचे। जोखन आवतजावत गर्ने स्थानहरुको सुराकी आफ्नै साथीहरुले सेनालाई बुझाए। जसका कारण उनी त्यो दिन शाही सेनाको घेराबन्दीमा परे र वीरगति प्राप्त गरे। ती माओवादीभित्रका हेभिवेट नेता वा भनौं सुराकी गर्ने व्यक्ति अरु कोही नभएर अहिलेका लेखराज भट्टलगायत नेताहरु भएको कैलालीका थारू माओवादी नेताहरु बताउँछन्। भट्ट अहिले पनि थारूविरोधी नेताको रुपमा चिनिन्छन्। थरुहटविरोधी वा भनौं अखण्ड सुदूरपश्चिमका रचैयता मानिन्छन्।
…..
हसुलियाबाट सदरमुकाम धनगढी आएका जोखनले त्यही कर्मथलो बनाएका थिए। उनले मेडिकल शिक्षा प्राप्त गरेपछि धनगढीमै क्लिनिक चलाए। त्यहाँबाट उनले आफूलाई पुग्ने आम्दानी गर्थे। जोखनले श्रीमती, एक छोरी र दुई छोरासहितको परिवार त्यही क्लिनिकको आम्दानीबाट चलाउँथे। त्यसका अलावा उनी पत्रकारिता र साहित्य लेखनमा धेरै रुची राख्थे। उनले युवाअवस्थामै थारू मुक्तिको विषयमा कथा, कविता लेख्थे। थारू समुदायमा व्यवसायिक पत्रकारिताको सुरुवात पनि उनैले गरेका थिए। माओवादीमा लाग्नुअघि नै उनले ‘मुक्तिक डगर’ नामक साप्ताहिक पत्रिका दर्ता गरेका थिए। उनकै सम्पादकत्वमा जुन ५० अंक बढी प्रकाशन भएको छ। माओवादीमा लागेपछि भने यो वार्षिकरुपमा प्रकाशन भएको थियो।
उनले आफ्नो पहिलो कृति ‘चोराइल मन’ प्रकाशन गरेका थिए। जुन थारू भाषाको पहिलो गजल संग्रह भएको साहित्कार कृष्णराज सर्वाहरीले जानकारी दिए। उनैले प्रगतिसिल थारु साहित्यको अगुवाई समेत गरेका थिए। साहित्यमा थारूहरुले मायाप्रेमका कुरा मात्र लेख्न थालेपछि उनले थारू समुदायभित्रका आवाजलाई साहित्यमार्फत् उजागर गनुपर्ने सल्लाह दिन्थे।
जोखनले दर्जनभन्दा बढी किताबको पाण्डुलिपी तयार पारेका थिए। जसमा भुत्वा– महाकाब्य, लाल गुलाब– उपन्यास, रामबहादुर– खण्डकाव्य आदि छन्। यी किताबहरु क्रमशः प्रकाशन गर्ने भनेर जोखनले डायरीमा उल्लेख गरेका थिए। जुन उनको डायरीमा प्रष्टसँग लेखिएको छ। तर दुर्भाग्य डायरीबाहेक उनको परिवारसँग यी किताबका कुनै ड्राफ्ट छैनन्। जोखनले आफ्नो मृत्युसँगै यी सब कुराको राज सँगै लिएर गए।

जोखन गोचाली परिवारका कैलाली अध्यक्ष पनि थिए। गोचाली परिवारमा आबद्ध भएर उनले थारू सांस्कृतिक कार्यक्रम गर्ने, मुक्तिका नाटकहरु लेखेर प्रहसन गर्ने गर्थे। गोचाली परिवारमा बसेरै उनले थारू मुक्तिको लडाइँ सुरु गरेका थिएँ। परिवार आफैंमा ठूलो सञ्जाल भएकाले यसमा आबद्ध थारूहरुलाई एकीकृत गरेर वर्गीय लडाइँको सुरुवात गर्नसकिने उनले बुझेका थिए। त्यहीबेला नस्किने क्रान्तिकारी पत्रिकामा उनी नियमित थारू मुक्तिका आवाज उठाउँथे। यस पत्रिकाका सम्पादक बर्दियाका सगुनलाल चौधरीलाई पनि शाही सेनाले बेपत्ता बनाए जुन आजका मितिसम्म भेटिएका छैनन्।
…..
जोखन वितेको आज पूरा १७ वर्ष भयो। वर्गीय मुक्तिको लडाइँमा विभिन्न नारा लगाएर सशस्त्र जनयुद्धमा होमिएका उनी त सहिद भए। तर जोखनले देखेका सपना पूरा भयो? नेपालमा वर्गीय विभेद्हरु अन्त्य भए? उनी सहादत प्राप्त गरेपछि उनका परिवारलाई माओवादीले गुन लगाए? कि जोखन प्रयोगमात्र भए? उनको परिवारले यही प्रश्नहरु गरिरहेका छन्।

‘माओवादी नेताहरुले सहिदका सपना पूरा गर्ने वाचा गरेका थिए। तर खै ती सपनाहरु पूरा गरेका? सोझासाझा थारूलाई जनयुद्धमा होमिन बाध्य बनाइएका तिनै नेताहरु अहिले सत्ताको लडाइँमा लिप्त छन्,’ जोखनकी छोरी इन्दु चौधरी भन्छिन्। विगतमा भोग्नुपरेको पीडा भनिसाध्य नभएको उनी बताउँछिन्। ‘सानै उमेरमा मैले सबकुछ गुमाए। अभिभावक बिनाका दिनहरु अति कहाली लाग्दा हुनेरहेछ। मान्छेहरु हामीसँग बोल्दैनथे। हाम्रो घरमा आउँदैनथे। हामीसँग खाने कुरा छ छैन कसैले सोधेनन्। हामी स्कुल जान्छौं कि जाँदैनौं, हामीसँग स्कुल फि, स्कुल ड्रेस छ कि छैन कसैले सोधेनन्,’ उनले भनिन्।

जर्जर बनेको इन्दुको परिवार थारु समुदायका एक प्रतिनिधि पात्रमात्र हुन्। माओवादी जनयुद्धमा सबैभन्दा बढी थारु मारिए। अझै पनि धेरै थारुहरु बेपत्ता छन्। राज्यले न उनीहरुको सोधखोज गर्नसकेको छ, न उनीहरुको परिवारलाई सन्त्वाना नै दिन सकेको छ। इन्दुजस्ता धेरै थारुहरु अहिले पनि ती कहालीलाग्दा दिनहरु सम्झिँदै गुजारा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *