‘राजकुमार लेखी थारुको मात्र वकालत गर्ने मान्छे होइन’ [अन्तर्वार्ता]

मधेसी नेताहरुको विरोध गर्ने राजकुमार लेखी मधेसी पार्टीमै आबद्ध भएर यतिबेला चर्चामा छन्। वि.सं २०४० देखि विद्यार्थी राजनीति सुरु गरेका लेखीले भारतबाट स्नातक सकेका छन्। त्यसबेला उनी दुईपटक विद्यार्थी संगठनको सभापति पनि बनेका थिए।

बामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। एमालेमा रहँदा उनी काठमाडौं-सप्तरी सम्पर्क मञ्चको अध्यक्ष, एमाले सगरमाथा अञ्चल सम्पर्क कमिटीको ससचिव, युवा संघ नेपालको केन्द्रीय सदस्य, युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग सद्सय, नेकपा एमाले केन्द्रीय समितिको संघीय मामिला विभाग र सम्पर्क वभाग सद्सय, एमाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सचिबालय सदस्यको रुपमा काम गरे।

लेखीले २०६८८ सालमा एमाले परित्याग गरी राष्ट्रिय नागरिक पार्टी गठन गरेका थिए। त्यसको संगठन विस्तार गर्न नसकेपनि पछिल्लो समय नागरिक समाजवादी पार्टी गठन गरेका थिए। उनले २०४६ सालमै थारु कल्याणकारिणी सभाको सदस्य भए। थाकसमा उनले महामन्त्री, प्रशिक्षण विभाग प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका छन्। उनले आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष भएर पनि काम गरिसकेका छन्।

उनी सहिद दिलीप प्रतिष्ठानको सन्थापक अध्यक्षसहित जनहित प्राथमिक विद्यालयको संस्थापक अध्यक्ष भएर काम गरे। सहारा साप्ताहिक र थारु संस्कृतिको सम्पादक भएर पनि उनले काम गरेका छन्।
लेखीसँग मदन चौधरीले गरेको कुराकानी पढ्नुस्:

मधेसीको विरोध गर्ने राजकुमार लेखी मधेसी पार्टीको पिछलग्गु भए भन्ने आरोप सर्वत्र छ?
नेपाली मिडिया, नेपालका अभियन्ता, नेपालका राजनीतिकर्मी, नेपालको नागरिक समाजको जुन खालको सोँच र चिन्तन छ, विपरीत धारको राजकुमार लेखी कसरी मधेसीहरुको पिछलग्गु भए? पिछलग्गु म भएको होइन कि हाम्रो एजेन्डा, हाम्रो विचार, हाम्रो माग मुद्दा, हाम्रो सिद्धान्त, विचार र आन्दोलनको भावना मिल्यो। कोही कसैको पिछलग्गु भएको होइन्, मधेसी हाम्रो पिछलग्गु भएको होइन। एकअर्काको माग मुद्दा मिल्यो, एजेन्डा मिल्यो र आन्दोलनमा रहेका दुइटा धारको अस्तित्व दुइटै धारले स्विकार गर्योा। यसको ज्वलन्त उदाहरण निरन्तर आठ वर्षसम्म जुन एउटा धारले एक मधेस एक प्रदेश भन्थे, एक थरुहट एक प्रदेश भन्थे त्यो समाधान थिएन। त्यसको विकल्पमा मैले निरन्तर २०६३ सालदेखि आफ्नो अडान व्यक्त गर्दै आएँ। मैले बहुप्रदेशको आवधारणा अगाडि सारेको थिएँ। नेपाली शब्दकोषमा हेर्ने हो भने बहु भनेको दुई वा सोभन्दा बढी भनेर जनाउँछ। तर यसलाई पनि केही मिडिया र राजनीतिकर्मीले बंग्याएर बुझ्ने गर्थे। राजकुमार लेखीले किटान किन गर्दैन? किटान नगरिनुको एउटै कारण थियो, राजकुमार लेखी आफैं संघीयताको विज्ञ होइन। राजकुमार लेखी आफैं राज्यपुनःसरचना आयोगको अध्यक्ष होइन। म इतिाहासविद्, कानुनविद् पनि होइन। त्यसकारण नेपालका तीन चारवटा नेता आफैंलाई सबै विषयका ज्ञाता ठान्छन्, त्यसैले देश बिग्रिएको हो। त्यसैले मैले त्यो काम गर्न चाहिन। राजनीतिक दृष्टिकोण, विचार र संघीयतासम्बन्धी मेरो अवधारणाको ऐतिहासिक विजयी पनि हो। यसमानेमा पनि म होइन उनीहरु मेरो पिछलग्गु भएको मान्न सकिन्छ।

थरुहटको मुद्दा त मधेसीले धेरै पहिले स्विकार गरिसकेको थियो नि? थ्रेस होल्डले पार्टी मर्जरमा जान बाध्य बनाएको हो कि?
विपरीत धारमा रहेका हामी लामो समयसम्म सहज वातावरण थिएन। हामी एकअर्काप्रति शंका गर्थ्यौं। उनीहरुले आन्दोलनको समयमा थरुहट स्वायत्तः प्रदेशको अस्तित्व स्विकार गरेपनि हामीमा शंका थियो। यो हो कि होइन, तर रिटर्नमै ल्याएको धेरै भएको छैन। राजनीतिक समिश्रणको प्रक्रिया दाल भात तरकारी पकाएजस्तो, चिया खाएजस्तो सजिलो होइन। राजनीतिक प्रक्रियामा समय लाग्छ। रुपान्तरणमा समय लाग्छ। केही समय अगाडि नै उहाँहरुले एकले अर्काको अस्तित्व स्विरका गरेपनि राजनीतिक रुपान्तरणमा, एकतामा केही समय लागेको हो।

शंका गर्ने ठाउँ अहिले छैन?
कुनै शंका गर्ने ठाउँ छैन। किनभने एकले अर्काको अस्तित्व स्विकार गरिसकेपछि हामी पनि यो देशका एउटा शक्ति हौैं। हाम्रो पनि इतिहास छ, हाम्रो पनि सभ्यता छ, हाम्रो पनि संस्कृति छ, त्यसलाई स्विकार गर्नु हो। त्यसलाई स्विकार गरिसकेपछि शंका गर्ने ठाउँ छैन। यदि कसैले बेइमानी गर्छ भने त्यसको अस्तित्व समाप्त हुन्छ।

मधेसी मोर्चा वा संघीय गठन्धनमै जानुथियो भने थरुहट थारुवान संयुक्त संघर्ष समितिका सदस्यका हैसियतले भन्दिनुस् आन्दोलनताका केही दलका नेतालाई किन कारबाही गरेको?
यो आरोप लगाउनेहरुको अल्प बुझाइ हो। राजनीतिक विचार वा दृष्टिकोणको अभावले कुरा बुझ्न नसकेका कराण यो अल्प बुझाइ हो। कारबाही किन गर्योप भन्ने कुरा संघर्ष समितिले स्पष्ट भनेको छ, हाम्रो ब्यानर दुरुपयोग गर्यो।। हामीसँग गरिएका निर्णयविरुद्ध पत्रकार सम्मेलन गरियो, प्रेस विज्ञप्ती जारी भो र आन्दोलनको विरोध अर्को कार्यक्रम गर्योँ। कसैलाई गठबन्धनमा जानका निम्ति छुट छ। तर अर्को संघर्ष समितिको जुन नम्स छ, निर्णय छ, त्यसका विरुद्ध गयो भने उसले कारबाही गर्ने अधिकार राख्छ। त्यसअन्तर्गत केही साथीहरुलाई कारबाही वा निश्कासन भएको हुनसक्छ।

तपाइँले एक्लौैटी निर्णय गरेर पार्टी एकीकरण गरेको अरोप लगाएका छन् केन्द्रीय सदस्यहरुले। उनीहरु तपाइँसँगै मधेसी पार्टीमा आउँलान्?
ती भन्ने साथीहरुलाई के भन्न चाहन्छु भने राजकुमार लेखीले पाँच महिना अगाडि, तीन महिना अगाडि, दुई महिना अगाडि केन्द्रीय सचिवालयमा निर्णय गराएर, केन्द्रीय सचिवालयले संयोजकलाई अधिकार सम्पन्न दिएर, माग मुद्दा मिल्ने हरेक राजनीतिक पार्टीहरुसँग सहकार्य, एकता र एकीकरणको लागि छलफल गर्नुस्, सक्रिय हुनुस् भनेर निर्णय,माइनुट गरेर अगाडि बढेको हुँ। यो निर्णय कसैलाई चित्त बुझ्दैन वा कोही साथी नासपा चलाउँछु भन्ने क्षमता राख्छ भने म उहाँहरुलाई अगाडि बढाउन आह्वान गर्छु। उहाँहरुमा अझै नयाँ शक्ति बनाउने आँट र सासह छ भने बनाउँदा हुन्छ। असन्तुष्टि छ भने म अन्यथा ठान्दिन। मेरो विचारसँग सबै एकमत हुन्छ भन्ने म ठान्दिन, म भगवान होइन। मेरो विचारसँग सहमत नहुनेहरु बाबुराम, प्रचण्डसँग जान सक्छन्। मैले कसैको हात खुट्टा बाँधेर राख्न मिल्दैन।

‘हेभीवेट’ मधेसी नेताहरु आबद्ध पार्टीमा तपाइँले थारुका मुद्दा र सबाललाई उठाउन कतिको चुनौती देख्नुहुन्छ?
हामी दस बुँदे सहमति गरेर त्यहाँ गएका छौं। दस बुँदे सहमति गरिसकेपछि निरन्तर माग मुद्दामा इमान्दारिताका साथ त्यसलाई कार्यन्वयन गराउनका निम्ति आन्दोलनका माग मुद्दालाई सम्बोधन गराउँदै संस्थागत गराउनकै निम्ति हामी एकीकरणमा गएका हौं। त्यसकारण हामी चाहे सडक आन्दोलनमा होस्, सरकारमा होस् वा संसदभित्र होस् वर्षौवर्षदेखि उठाउँदै आएको हाम्रो माग मुद्दालाई बिसर्जन गर्दैनौं, हामीले आझेलमा पार्ने काम गर्दैनौं।

हभीवेट मधेसी नेताका बीच राकुमार लेखी हराउने त होइनन्?
हराउने वा नहराउने कुरासँग म त्यति सरोकार राख्दिन। मुख्य कुरा के हो भने लाखौं थारुहरुका बीच, नेपालीहरुका बीच मलाई मेरो दृष्टिले जे सही देख्छु, त्यो बोल्छु। ठीकलाई ठीक बेठीकलाई बेठिक भन्ने मेरो स्वभाव हो। यो भन्न मलाई कुनै डर, त्रासको अनुभूति हुँदैन। कहाँ का कति वरिष्ठ छन्, त्यहाँ केही अर्थ राख्दैन। मुख्य कुरा दृष्टिकोण सही छ कि छैन? कुनै सानो ब्यक्ति वा समूहको विचार सही छ भने त्यो लामो समयसम्म टिक्छ। धेरै ठूलो पार्टीको विचार गलत छ भने त्यो लामो समय टिक्दैन।

भनेपछि राष्ट्रिय जनता पार्टीको सिद्धान्त विचार राम्रो छ?
हामीले त्यसैका निम्ति एक महिनासम्म गृहकार्य गर्यौं्। आन्दोलनमा रहेका सबै पार्टीहरुसँग छलफल गरेर, मधेसी मोर्चामा रहेका वा बाहिर रहेका माग मुद्दा सम्बोधन गराउनका निम्ति एकै साथ आन्दोलनमा रहेका पार्टीहरुसँग एक महिना निरन्तर छलफल गर्यौंह। त्यसबाट हामीले के निष्कर्ष निकाल्यौं भने मुलकले एउटा वैकल्पिक शक्ति खोजिरहेको छ। यो एकीकरण वैकल्पिक शक्ति निर्माणका निम्ति पनि हो। मधेसको वकालत गर्ने पार्टीहरु एउटा विचारमा सहमत भएका छन्, त्यो के हो भने अब राष्ट्रिय राजनीति शक्ति बन्न चाहन्छौं। त्यसैले राष्ट्रिय जनता पार्टी नामाकरण गरिएको हो। हिमाल पहाड तराईमा विभेदमा परेका जोकोही पनि यसमा अटाउन सक्छन्।

वैकल्पिक शक्तिको अभियान भन्नुभयो। विजय गच्छदार, बाबुराम भट्टराई, यहाँसम्म कि रविन्द्र मिश्रको सझा पार्टी विवेकशीलजस्ताले पनि आफूलाई वैकल्पिक शक्ति दाबी गरिरहेका छन्। जनताले कसरी चिन्ने हो वैकल्पिक शक्ति?
हामीबाहेकका अरु जो राजनीति गर्ने साथीहरु जो आफूलाई वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरिरहेका छन्। उहाँहरुसँग आन्दोलनको कुनै माग, मुद्दा, एजेन्डा छैन। उनीहरु वैकल्पिक शक्तिको अधारभूत कुरा देखिँदैन। जस्तै विजय गच्छदारजीसँग न त आन्दोलनको एजेन्डा छ, उहाँले जातको नाममा भावना भजाउने खेलमात्र खेल्न सक्नुहुन्छ। थारुको नाममा उहाँ जहिले पनि सत्तासँग दलाली गर्ने काम गर्छन्। त्यसकारण त्यस्ता शक्ति वैकल्पिक राजनीतिक शक्ति बन्न सक्दैन।
बाबुरामजीको सबालमा, उहाँ प्रधानमन्त्री बन्नुभो, उहाँ अर्थमन्त्री बन्नुभो, त्यही बाबुरामले १८ हजार जनतालाई मारेर विभेद् यथावत राखेर संविधान जारी गर्नुभो। त्यस्तो बाबुरामबाट के आशा गर्न सकिन्छ? उहाँ अहिले आफैं वैकल्पिक शक्तिको छहारीको खोजीमा हुनुहुन्छ। यस्तो व्यक्तिहरुले नेतृत्व गरेको संगठन वैकल्पिक शक्ति हुन सक्दैन।

उसो भए राजपा सरकारमा कहिल्यै जाँदैन?
राजपा सत्तामा नजाने कुरा हुँदैन। हामी सडकमा, सदनमा, सरकारमा हामी जानुपर्छ, वैकल्पिक शक्तिको रुपमा हामी जान्छौं। तर ती पात्र र प्रवृत्तिहरुाई किनारा लगाएर अगाडि बढ्छौं।

निर्वाचनमा जाने पक्कापक्की भएकै हो त?
माग मुद्दा सम्बोधन नगरिकन हामी कुनै चुनावमा भाग लिँदैनौं र चुनाव पनि हुन दिँदैनौं। हाम्रो बटमलाइन नै संविधान संशोधन नगरिकन, माग सम्बोधन नगरेसम्म चुनाव हुन सक्दैन। हामी लोकतन्त्रवादी होउँ, हामी राजावादी हाइनौं। लोकतन्त्रमा विश्वास गर्नेहरु चुनावसँग भाग्न मिल्दैन। हामी भागेका पनि होइनौं। हामीले उठाएको माग मुद्दा सम्बोधन गरोस्, हामी भोलिपल्टै चुनावमा जान तयार हुन्छौं। हाम्रो मुख्य माग नै सीमाकंनसहितको संविधान संशोधन हुनुपर्छ भन्ने हो।

मधेसी मोर्चालाई दक्षिणपरस्त भनेर आरोप लाग्ने गर्छ। त्यही लाइनमा तपाइँ पनि मिसिनुभएको त होइन?
यो सबै मिथ्या आरोप हो। यो चरित्र हत्या गर्ने आरोप हो। यो झुठो आरोप हो। चुनौतीका साथ भन्न चाहन्छु कसैले प्रमाणित गरिदिए हुन्छ। आरोप लगाएर म विचलित हुने मान्छे होइन। प्रमाणित गर्नेहरुलाई म पुरस्कृत गर्न चाहन्छु।
आरोप लगाउनेहरुलाई के भन्न चाहन्छु भने यो मुलुक २ सय ५० वर्षदेखि कसले चलायो? नेपाली कांग्रेस, माओवादीहरुलाई सोध्न चाहन्छु ३० वर्षदेखि यो मुलुक कसले चलाइरहेको छ? यो अवधिमा छिमेकीसँग सहमति, सम्झौता गर्ने काम कसले गर्योह? राष्ट्रघाती सम्झौता गर्नेहरु राष्ट्रवादी हुने, जो सत्तासँग पहुँचमा छैनन् उनीहरुलाई यस्ता मिथ्या आरोप लगाउन पाइन्छ। यस्ता अरोप लगाउनेहरु कुनै न कुनै रुपमा कूटनीतिक नियोगका मान्छेहरुसँग भेटघाट, डिनर लन्च त गरेकै छन् नि। उनीहरुको भेटघाट अन्तर्राष्ट्रिय सम्बन्धका लागि हुने थारु मधेसीले गर्दा राष्ट्रघाती हुने? यो सबै नालायकी आरोप हो।

तपाइँको भारतीयती नेताहरुसँग साँठघाँठ छ भनेर सिनिन्छ नि?
भारत, चीन, अमेरिका, युरोपियन सबै मित्र राष्ट्रका नेता र कूटनीतिक क्ष्ेात्रसँग जस्तो सम्बन्ध छ मेरो पनि अरु पार्टीका नेता जस्तै सबै देशका कूटनीतिज्ञहरुसँग त्यतिकै सम्बन्ध छ। यो कूनै अपराध होइन। ओली, कोइराला, दाहालले सम्बन्ध विस्तार गर्दा राम्रो हुने, थारु मधेसीले सम्बन्ध राख्दा अपराध ठान्ने जातिवादी अतिवादी सोँच हो। यस्ता कुरा म मान्दिन।

थारुका माग मुद्दा पार्टीमा उठाउन कतिको गाह्रो सजिलो होला?
राष्ट्रिय जनता पार्टी भनेको कुनै एउटा जाति समुदाय वा वर्गको पार्टी होइन। यो पार्टी एकीकरणकै दिन यो देशको राष्ट्रिय शक्ति, मूलधारको शक्ति, सबैलाई समेट्ने शक्ति बनाउन गइरहेका छौं भनेर उद्घोष गरेका छौं। त्यसका लागि सबैले त्याग गरेका छन्। यहाँ संकीर्णता राखेर वैकल्पिक शक्ति बन्न सक्दैन। तसर्थ यहाँ थारुको, मधेसीको मुस्लिमको, खसआर्यको देशभित्र रहेका सबै जाति समुदायको नेतृत्व शक्ति बनाउने हो। यो कुनै जाति विशेषको पार्टी वा क्ष्ेात्रीय पार्टी अब रहनेछैन।

सबै थारु नेताहरु किन एक ठाउँमा आउन सक्दैनन? आए त ठूलो शक्ति बन्ने थियो नि?
पार्टी विचार सिद्धान्तले चल्ने हो। पार्टी एउटा जाति, एउटा समुदायको आधारमा लामो समयसम्म चल्दैन। त्यही भएर विभिन्न समुदायका मान्छे भिन्न भिन्न पार्टीमा हुनु स्वभाविक हो। माग मुद्दालाई कमजोर बनाउने गरी डबल स्ट्यान्डर्ड कुरा गर्नु हुँदैन। हामी जे छौं, जहाँ छौं त्यहाँबाट आफ्नो माग मुद्दा उठान गर्नुपर्छ। यहाँ त काम दलालीको गर्ने, चुनाव आउँदा म थारुको नेता भन्ने चलन छ। यो त दोहोर चरित्रको हो।

राष्ट्रिय राजनीतिमा होमिएपछि थारु कल्याणकारिणी सभाबाट रिटायर्ड हुने होला नि?
म थारुको छोरा हुँ। मेरो समुदाय थारु समुदाय हो। त्यसकारण म जुनसुकै पार्टीमा रहेपनि मेरो सम्बन्ध, मेरो आत्मियता त्यो संगठन र समुदायसँग रहन्छ। मलाई थारु नेता भनेर भन्छन् भने यसमा मलाई केही आपत्ति छैन। तर म थारुको मात्र नेता वा कार्यकर्ता वा थारुको मात्र वकालत गर्ने मान्छे होइन। थारु विभेदमा पर्यो् त्यसकारण थारुको आवाज धेरे उठाएँ होला, कर्णाली क्षेत्रको जनताको पनि मैले कुरा उठाएको छु। दलित मुस्लिम मधेसीको कुरा पनि उठाएको छु। उत्पीडितको कुरा पनि मैले उठाएको छु। हामीले बुझाएका विभिन्न माग पत्रमा पनि विभेदमा परेका सबैको अवाज उठाएका छौं। कतिपय मान्छेले गहिराईमा बु‰न नसकेको हो। पढेसी सबै थाहा हुन्छ। थाकसको विधानले पनि मलाई बन्देज लगाएको छैन।

अब थरुहट/थारुवानको कार्यगत एकता मधेसी मोर्चासँग हुन्छ भनेसी?
यो समितिले दुई वर्ष अगाडि नवलपारसीको डन्डाको राष्ट्रिय भेलामा स्पष्टरुपमा आफ्नो घोषणापत्रमा भनेको छ– माग मुद्दा मिल्ने मधेसी मोर्चासँग पनि हामी कार्यगत एकता गरेर जान सक्छौं। सँगै आन्दोलन गर्न सक्छौं। तर अस्तित्वविहीन भएर विलिन गर्न तयार छैनौं। त्यसकारण कार्यगत एकता हुनु ठूलो कुरा होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *