आमाको प्रेरणाले समाजिक काममा लगेकी भगवती चौधरी

भगवती चौधरी आमा र परिवारको प्रेरणाका कारण म २०४८ सालदेखि नै सामाजिक काममा सक्रिय भए । एसएसलसी परीक्षा दिएपछि आफू जन्मेको गाउँ र समाजमा केही केही सुधार गर्नुपर्छ भन्ने लागिरह्यो । जसका कारण मलाई समाज रूपान्तरणको पक्षमा उभ्याएको हो । २०५१ साल जतिबेला तराईका धेरै महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक कारणले पछाडि परे, त्यतिमात्र होइन, पछाडि पारिए । उनीहरूमा घरेलु सीप थिए, तर आफूमा भएका सीप र कलालाई बाहिर ल्याउनका लागि आर्थिक, सामाजिक साथ थिएन । धेरै महिलाहरू घरेलु हिंसाका सिकार भएका थिए । उनीहरूलाई यो वा त्यो मामिलामा घरेलु हिंसाका सिकार भइरहेका थिए । तराईमा अझै पनि घरेलु हिंसा कायमै छ ।

त्यस्तो बेलामा हामी केही महिलाले तराईका महिलाका विभिन्न दुःख–पीडा बुझेका थियौं । हामी ११ जना महिला दिदिबहिनीहरू एक भएर आखिर के कारणले तराईका महिला हिंसामा परेका हुन त्यसका बारेमा अध्ययन अनुसन्धान गर्‍यौं । त्यो अनुसन्धानपछि मधेसका महिलाहरू घरेलु हिंसामा पर्नुको मुख्य कारण उनीहरूको आर्थिक अवस्था कमजोर हुनु, परम्परागत सोच र अशिक्षा रहेको पायौं ।

त्यसपछि उनिहरूको सीपलाई व्यावसायिक बनाउँदै उनीहरूलाई आयआर्जनका काममा सहभागिता गराउँदै बचत गर्ने बानी बसाल्न सुरुमा फरवार्ड नेपाल संस्था तदर्थ समितिबाट सुरुवात गर्यौं । पछि २०५२ सालबाट विधिवत् रूपमा नेपाल सरकारमा दर्ता गरियो । भएर फरवार्ड नेपाललाई वित्तीय कारोबार गर्न पाउने संस्थाका रूपमा स्थापित गरायौं । अहिले यो संस्था नेपाल राष्ट्र बैंकअन्तर्गत ‘क’ वर्गको लघुवित्त विकास बैंकका रूपमा देशभरि कार्यरत छ ।

विभिन्न आर्थिक गतिविधिसँगै हामीले तराईका महिला जो आर्थिक, शैक्षिक, सामाजिक कारणले पछि परेका छन्, तिनिहरूको जीवनस्तर सुधार्न ऋण मात्र दिने होइन, उद्यमी पनि बनाउँदै र सीप सिकाउन विभिन्न तालिमसमेत सञ्चालन गरिरहेका छौं । अहिले संस्थामा संगठित रूपमा १ लाख ९० हजार महिलाहरूको सहभागिता रहेको छ । महिलाहरूले तराईमा संस्था चलाए वा समाजिक रूपान्तरण कार्य गर्दा परिवर्तन हुन्छ भन्ने एउटा सकारात्मक सन्देश गएको छ ।

महिला पछाडि पर्नुको कारण
तराईमा धेरै हिसाबले महिलाहरू पछाडि परेका छन् । पछाडि पर्नुको कारण राज्यलाई पनि थाहा छ । हामीजस्ता सयौं मानिसहरूलाई तराई–मधेसका महिला किन पछाडि परेका हुन् भन्ने विषयमा जानकारी छ । यातायातको सुगमता हेर्दा मधेसका महिलाहरूलाई अन्य क्षेत्रका महिलालाई भन्दा सहज छ, तर परम्परागत धर्म संस्कृति, अशिक्षा र आर्थिक अवस्थाका कारण अन्य क्षेत्रको भन्दा धेरै समस्या छ ।

परम्परागत सोचका कारण धेरै महिलालाई घरबाट बाहिर निस्कन दिइन्न, यहाँ महिलालाई पढाउनुहुन्न भन्ने धेरैको सोच छ । त्यतिबेला यही सोचको अन्त्य गर्न संस्था त बनाइयो, तर हुर्काउन भने साह्रै कठिन भयो । कसैले पढाउने, व्यापार–व्यवसाय गर्ने सोच बनायो भने पनि उसमा लगानी गर्ने आर्थिक अवस्था छैन । आर्थिक कारणले नै धेरै महिला हिंसाका घटना घटेका छन् । योसँगै सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा समान सहभागिता नभएर पनि उनीहरू अन्य क्षेत्र र समुदायका महिलाभन्दा पछि परेका हुन् । तराईका गरिब, अल्पसंख्यक तथा आर्थिक अवस्था कमजोर भएका समुदायमा महिलालाई पढाउनुहुन्न भन्ने सोच ज्यादा छ । छोरो धेरै पढेपछि ‘दाइजो’ आउँछ भनेरै पढाइन्छ । तर, छोरीलाई ‘अर्काको घरमा जाने जात’ भनेर स्कुलसम्म पनि पुर्‍याइन्न । यो सोच चेतनाको हिसाबले कमजोर हो । तराईका समुदाय अझ ‘टिपिकल मधेसी समुदाय’ मा आर्थिक, सामाजिक र सांस्कृतिक पक्षसँगै जोडिएर आएको छ । हामीले सुरुमा सुनसरी मोरङका केही क्षेत्रमा सचेतना कार्यक्रम गर्‍यौं ।

टिपिकल तराईका महिलाहरूको बाहुल्य भएका, पहाडी–मधेसीको बसोबास भएको र केही पहाडी महिलाहरूको मात्र बाहुल्य भएका स्थानमा सामाजिक, आर्थिक र स्वास्थ्यमूलक कार्यक्रम गर्दा पनि पहाडि क्षेत्रमा महिलाहरूको ज्यादै सहभागिता भयो । तराई–पहाडी मिश्रित क्षेत्रमा पनि राम्रै सहभागिता भयो । तर, टिपिकल मधेसी मात्र भएका क्षेत्रमा एकदमै कमजोर भयो ।

यसको कारण बुझ्दा तराईका महिलाहरूमा जनचेतनाको कमी, अशिक्षा, सामाजिक, सांस्कृतिक सोच र कमजोर आर्थिक अवस्था नै मूल कारण देखियो । त्यसपछि त्यहाँका महिलामा सबैभन्दा पहिला चेतनास्तर वृद्धि गर्नुपर्छ भनेर त्यहीअनुसार कार्यक्रम बनायौं । उनीहरूको जीवनस्तर सुधार्न सीपमूलक आयआर्जनका काममा लगानी ग¥यौं । अहिले त्यहाँका धेरै समुदायहरू अगाडि बढिसकेका छन् ।

फराकिलो सोचको अभाव
केही हदसम्म राजनीतिक कारणले पनि महिलाहरू अघि बढ्न सकेका छैनन् । मुख्य कुरा त शिक्षा चेतना हो । हामीकहाँ कुनै पनि राजनीतिक दलहरूले महिलाका सम्बन्धमा फराकिलो सोच बनाउनै सकेनन् । कसैले बनाई हाले पनि त्यहाँ समावेशीका लागि मात्र थियो ।

निर्णायक तहमा त अधिकांश पार्टीले महिलालाई पुर्‍याएनन् । संविधानले महिला सहभागिताका विषयमा उल्लेखनीय सहभागिता खोजे पनि विगतमा महिलालाई खुम्च्याएर राख्नाले ३३ प्रतिशत सहभागिता पनि पुर्‍याउन समस्या भयो । नेतृत्व तहमा जान पनि क्षमतावान् महिला पुगिरहेको छैन । हामीले अहिलेदेखि नै महिलालाई तयार गर्ने हो भने पनि धेरै समय लाग्छ ।

शिक्षासँगै राजनीतिक क्षेत्रमा महिलालाई अघि बढ्न सहयोग गर्नुपर्छ भन्ने सचेतना फैलाउन जरुरी छ । राजनीतिक दलहरू महिलाका विषयमा त्यति उदार छैनन् । त्यो मेरै पार्टी होस् वा अरू कुनै । महिलाहरूलाई राजनीतिक क्षेत्रमा नभई सामाजिक क्षेत्र तथा स्थानीय तहमा पुहँच पुर्‍याउनका लागि गाउँगाउँमा चेतना प्रवाह गर्नुपर्‍यो । समावेशीका कुरा कागजमा मात्र सीमित राख्नुभएन । स्थानीय तहमा कम्तीमा ३० प्रतिशत महिलाको सहभागिता हुनुपर्छ भनिएको छ, त्यसलाई कार्यान्वयन गर्न गाउँ–गाउँमा गएर महिला अधिकारका विषयमा राजनीतिक सचेतना बढाउनु आवश्यक छ । स्थानीय तहका निकायमा महिला लक्षित कार्यक्रम बनाउनुपर्छ ।

राजनीतिमा महिलालाई आउन राजनीतिक अभिमुखीकरणका कार्यक्रम ल्याउनुपर्छ । पुरुषको दाँजोमा महिलालाई घर, परिवार, व्यवहार सबै हेरेर राजनीतिमा आउनुपर्दा केही जटिलता छन । त्यसलाई न्यूनीकरण गर्न पार्टीहरूले रणनीतिक योजना बनाउन आवश्यक छ । केही वर्ष अघिसम्म घर–परिवारमा सासुले बुहारीलाई घर बाहिर हिँड्न नदिने, छोरीलाई अर्काको घर जाने जात भन्ने परम्पराले महिला मुक्तिको बाधक महिला नै हुन्छ भन्ने गरिएको हो । तर, अहिले जुनसुकै क्षेत्रका महिलाहरू धेरै शिक्षित भइसकेका छन् ।

अहिले बन्देज छैन
अहिले कुनै पनि सासु र आमाले बुहारी र छोरीलाई घरबाहिर जान बन्देज लगाएका छैनन् । हाम्रै तराईमा सासूबुहारी सँगै पढेर व्यापार व्यवसाय गरेको सफल उदाहरण छन् । त्यसकारण, पहिलो कुरा त शिक्षा नै हो । जो महिला अध्ययन गरेको छैन, शिक्षाबाट विमुख भएको छ, त्यसले राज्यका कुनै पनि नीति–नियम बनाउने कुरामा भूमिका खेल्न सक्दैन । त्यसैले, शिक्षालाई प्राथमिकतामा राखेर राजनीतिमा पहुँच पु¥याउन आवश्यक छ । कोही पढेको महिला राजनीति गर्छु, समाजसेवा गर्छु भनेर आउँछ भने, त्यो महिलालाई राजनीतिक दल, समाज र परिवारले साथ दिनुपर्छ ।

दक्षिण एसियामा महिला
दक्षिण एसियाली देशहरूमा हेर्दा नेपाली महिलाहरूलाई कानुनी क्षेत्रमा धेरै हक-अधिकार दिइएको छ । शिक्षाका क्षेत्रमा पनि बिस्तारै पहुँच बढिरहेको छ । भारत, पाकिस्तान, अफगानिस्तानमा अझै पनि धेरै महिला घरभित्रै छन् । त्यो हेरी नेपाली महिलाहरू राजनीतिक, आर्थिक सामाजिक, प्रशासनिक तथा शैक्षिक हिसाबमा अगाडि छन् । महिलाले गर्ने निर्णय परिपक्व भएन भन्ने कुरा म मान्दिनँ । कुनै पनि घरव्यवहार चलाउँदा महिला निर्णय तहमा छन् भने त्यहाँ पुरुषले भन्दा राम्ररी घर व्यवहार चलाएका छन् । महिलाहरू पुरुषभन्दा इमानदार भएर काम गर्न सक्छन् । पुरुषले भन्दा महिलाले नीतिसंगत काम गर्न जिम्मेवारीबोध गर्न सक्छन् । तर, हामी कहाँ महिलालाई निर्णय गर्ने अधिकार दिँदा नै ‘ह्या यो महिलाले के गर्न सक्छे’ ‘पोथी बास्यो’ जस्ता शब्दले होच्याउने गरिन्छ । सकेसम्म महिलालाई निर्णय गर्ने अधिकारै दिइन्न, चाहे घरपरिवारमा होस् वा सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा । हामीले यतिबेला नेपाली महिलाको अवस्था र दक्षिण एसियाली अन्य महिलाहरूको चेतनास्तरलाई पनि सँगसगै राखेर हेर्नुपर्छ । हामी यतिबेला कुन अवस्थामा छौं, हिजो के थियौ र भोलि के हुनपर्छ भन्ने विषयलाई सधै ध्यान दिइयो भने मधेसमा मात्र होइन, समग्र महिलाहरूको राजनीतिक सामाजिक तथा आर्थिक अवस्थालाई माथि उकास्न सकिन्छ ।
राजधानी दैनिकका टपेन्द्र कार्कीसँगको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *