शान्ताजी, गरिब बाहुन क्षेत्री किन भएनन् कमलरी ?

सोम डेमनडौरा।

‘म थारु भएर होइन, गरिब हुँदा कमलरी बसेँ, थारु भएकाले नै बस्ने भए विजय गच्छदार किन बसेनन्?’ भन्ने शीर्षकको समाचार पढेँ। उक्त समाचार नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेतृ एवं पूर्वसांसद शान्ता चौधरीको भनाईमा आधारित छ। यो भनाईले ममा केही प्रश्न उब्जाएको छ र लेख्न बाध्य भएको छु।

नेपालमा खासगरी जमिनमा काम गर्ने बँधिया मज्दुरलाई कमैया भनेर चिनिने गरिन्छ। कुनै एउटा जमिन्दारको घरमा काम गर्ने, काम गरेबापत उसले ज्यालाको रुपमा धान पाउँथ्यो। त्यो ज्याला उसको लागि वर्षभरि पनि खान पुग्दैनथ्यो। जसका कारण पुनः उसैको घरमा बँधुवा मज्दुर या दास भएर बस्नु पर्थ्यो। अर्थात् आफ्नो जमिन नभएको तर कुनै मालिक या जमिन्दार कहाँ काम गर्ने प्रथालाई थारु समुदायमा कमैया भनिन्थ्यो। तिनै पुरुष कमैयाको श्रीमती ओर्गिन्या, बुक्रही भएर बस्नुपर्थ्यो। छोराछोरी सानैदेखि तिनै जमिन्दारको बालबच्चा स्याहार्ने, भाँडाकुँडा, लुगा कपडा सफा गर्ने गरी कमलरी राख्ने गर्थे। २०५७ साल साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा मुक्त कमैया घोषणा भयो। त्यस्तै खिलराज रेग्मी नेतृत्वको सरकारले २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरे। तर अझै पनि जमिन्दार, मालिक तथा ठूला नेताका घरमा कमलरीको अवशेष प्रशस्तै भेटाउन सकिन्छ। तिनै पृष्ठभूमीबाट आएकी हुन् एमाले नेतृ शान्ता चौधरी। उनको पुस्तक शान्ता चौधरी कमलरीदेखि सभासद्सम्मको दस्ताबेजीकरण अनुसार उनी १४ वर्षसम्म जमिन्दारको घरमा कमलरी बसेको थाहा पाउन सकिन्छ।

थारु समुदाय तराईका धर्तिपुत्र हुन्। तराईको बन्जरभूमीलाई बस्नयोग्य बनाउने थारु नै हुन्। थारुहरु वास्तबमा गरिब होइनन्। उनीहरुको घरमा अझै पनि परिवारका जति सदस्य छन् त्योभन्दा २ जना धेरैका लागि खाना पाकेकै हुन्छ। उनीहरुको आफ्नै भूमी थियो। खेती पेसामा आश्रित रहेको समुदायभन्दा पनि फरक पर्दैन। नेपाल अल्पविकसित मुलक हो र अल्पविकसित मुलुकको बिशेषता भनेको कृषि उत्पादन हो। कृषि उत्पादनलाई आधुनिकीकरण गर्न नसक्नु या परम्परागत कृषिमा रहनु त्यो आफ्नो ठाउँमा छ। तर मेरो बुझाईमा थारुहरु गरिब होइनन्। गरिबीका कारण कमैया या कमलरी भएका पनि होइनन्। थारु भएकै कारण कमैया र कमलरी भएका हुन् भन्ने कारण प्रबल छ।

तराईमा औंलोजस्ता रोगको निरोध भएसँगै अन्य समुदायको बसाइसराई भएको इतिहास छ। खास गरेर राणा शासन कालमा र पञ्चायत कालमा बिभिन्न समुदायको अधिकतम बसाइसराई भएको पाइन्छ। आफ्नै खेतीपाती भएका, आफ्नै जमिनका मालिक भएका थारुहरु तिनै शासक र प्रशासकका कमैया हुँदै गए। थारु समुदाय पढेलेखेका थिएनन्। उनीहरुलाई अड्डा अदालत, कार्यालयका काम गर्न आउँदैनथ्यो। कसैलाई गर्नै परेपनि अफ्ठ्यारो लागेर गर्दैनथे। फलस्वरुप यस्ताखाले काम पढे लेखेका अन्य समुदायले गर्थे। त्यही बीचमा थारुहरु कसरी कमैया भए भन्ने प्रमाण पाउन सकिन्छ। यो शोषण, दमनको अर्को प्रारुप पनि हो।

मलाई प्रश्न कहाँनेर उब्जायो भने, थारु किन कमैया भए? गरिबी या जमिन्दारी प्रथा? शान्ता जीको भनाईमा गरिबीले थारु समुदायलाई कमैया बनायो। यो नितान्त भ्रमपूर्ण भाषा हो। यो ह्वोलसेलको भाषा हो। अल्पविकसित देशमा गरिबी जोडेर उम्किन खोज्नु, यसैलाई कारण बनाउनु सबभन्दा सजिलो उपाय छ। हामीलाई थाहा छ अल्पविकसित मुलुकको १० प्रतिशत जनतामा ४० प्रतिशत सम्पत्ति रहेको हुन्छ। यो बिश्लेषणले पुष्टि गर्छ कि अधिकांश जनता गरिबीको रेखामुनी बाँचिरहेका छन्। जनसंख्याको ठूलो हिस्सा ग्रामिण स्तरमा छ। जनसंख्याको ९७ प्रतिशत गरिबहरु ग्रामिण भेगमा छन्।सन् २०११ को जनगणनाअनुसार क्षेत्री र खस १६.६ प्रतिशत, बाहुन १२.प्रतिशत, मगर ७.१ प्रतिशत, थारु ६.५ प्रतिशत, तामाङ ५.८ प्रतिशत, नेवार ५.० प्रतिशत र अन्य समुदायको जनसंख्या छ। थारु समुदाय जनसंख्याको हिसाबले चौथो समुदाय हो। यो समुदायको बसोबास दाङ र सुर्खेत उपत्यकाबाहेक प्रायः तराईमा फैलिएको छ। जसलाई कृषियोग्य जमिनको रुपमा लिइने गरिन्छ।

Poverty Incidence by Caste/Ethnicity 1996 को अनुसार बाहुन ३४ प्रतिशत, क्षेत्री ५० प्रतिशत, यादब ४० प्रतिशत, दलित ६६.६६ प्रतिशत, मुश्लिम ३८ प्रतिशत, गुरुङ्ग ४५ प्रतिशत, थारु ४८ प्रतिशत, राई ५६ प्रतिशत, मगर ५८ प्रतिशत र अन्य समुदायको देखाइएको छ। यो तथ्यांकले पनि थारुहरु गरिब भएको देखाउँदैन।

तसर्थ सबाल कृषि मजदुर, भूमिपति, जमिन्दारी र कमैया प्रथा, जोताहासँग जोडिएको छ। क्षेत्री समुदायलगायत अन्य समुदायको गरिबी थारुको भन्दा पनि नाजुक छ। बाहुन क्षेत्रीहरु किन कमैया र कमलरी भएनन्? किन थारुमात्रै कमैया र कमलरी भए? शान्ताजी यो प्रश्नको उत्तर खोज्न तपाइँले आफ्ना बुबा आमा र हजुरबुबाहरुसँग खोज्नु होला।

थारु समुदाय कमैया र कमलरी हुनुको पछाडि सबभन्दा ठूलो भूमिका पेसा, शिक्षा र जमिन्दारी प्रथासँग जोडिएको छ। शिक्षा भएन र उनीहरुको श्रमको अर्थ, मूल्य, उत्पादनको महत्व, प्रशासकलाई बु‰न सकेनन्। यसैको फाइदा धुर्त जमिन्दारहरुले उठाए। राज्य र प्रशासकहरुको सामन्ति प्रथासँग जोडिएको छ। यसरी भनिराख्दा म उनीहरुविरुद्ध भन्न खोजेको कदापि होइन। तपाइँको भनाईको चिरफार गर्नमात्र खोजेको हुँ। शिक्षा नभएकै कारण जाली तमसुक र ऋणको भारिमा किचिएका हुन्।

शान्ताजी, अझै पनि सजिलो छ पार्टीको आडमा भाषण दिन। यो भनाई समाजवादी चिन्तनबाट हेरिएकै छैन। यो नितान्त पूँजीबाद हो। म मान्छु नेपालमा वर्गीय युद्ध छ। देश विकसित नभएसम्म, जनतामा आर्थिक स्वतन्त्रता नभएसम्म वर्गीय युद्ध चलिरहन्छ। नेपालमा आधुनिक कृषि क्रान्ति नगरेसम्म आर्थिक सम्पन्नता सम्भव छैन। सन्तुलित र असन्तुलित उत्पादनको अभ्यास नगरेसम्म कुनै पनि हालतमा आर्थिक वृद्धि हुनेछैन। कम्युनिष्ट पार्टीहरुले उठाउँदै गरेको यो सिद्धान्त केबल सिद्धान्तमात्र रहे। अभ्यासमा कहिल्यै जानै सकेन। मलाई त कहिलेकाहीँ लाग्छ कम्युनिष्टवाादी दलहरुमा कम्युनिष्ट विचारधाराका मान्छेको कमी छ।

शान्ताजी, तपाइँ मान्नुस या नमान्नुस् नेपालमा वर्गीयभन्दा ठूलो मुद्दा जातीय छ। टीकापुर, सप्तरीलगायतका घटना के वर्गीय हुन्? संसदमा किन हुँदैछ जातीय प्रादेशिक बहस्? जातीयताको नाममा किन मारिँदैछन् जनता? किन माग्दैछन् आफ्नो नाममा प्रदेश? प्रदेश आफ्नो नाममा माग्नु ठीक बेठीक आफ्नो ठाउँमा होला। तर मुद्दा त छ नि? यो मुद्दालाई तपाइँहरुले समाधान गर्नुपर्ने होइन र?

नेपालको नेतृत्वकर्तामा बौद्धिकताको खाँचो छ। हचुवाको भरमा जे पायो त्यही भनेर हुँदैन। जनतालाई एकछिन तताएर, उक्साएर देश बन्दैन। अझै तपाइँ त थारु समुदायको नेतृत्व गर्ने ब्यक्ति। अझ यो भनौँ कमैया र कमलरीबाट नेतृत्व गर्ने नेता। लाखौं कमैयाहरु अझै पनि घरबारविहीन् छन्। हजारौं कमलरीहरु जमिन्दार र मालिकका कालो कोठरीमा दुर्ब्यवहार र यौन हिंसाका सिकार भएका छन्। उनीहरु लेख्न पढ्नबाट वञ्चित भएका छन्। श्रम शोषणको दलदलमा फसेका छन्। उनीहरुको मुद्दा तपाइँले सुन्ने कि नसुन्ने?

तपाइँद्धारा लिखित पुस्तकको पेज नं. १० मा ‘कमलरी जीवन’ भन्ने शीर्षकको लेखमा तपाइँले लेख्नुभएको छ– ‘त्यही बेला एउटा कालो कोट लगाएको मान्छे हाम्रो घरतिर आएको देखेँ। उनी जमिन्दार रहेछन्। त्यतिबेला मलाई लाग्यो पर्वको दिनमा यी जमिन्दार मेरा दिदीहरुलाई कामका लागि लिन आएका होलान्।’ पेज नं. ११ मा ‘सानै रहिछ त छोरी। ठीकै छ, सानी भए पनि राम्री रहिछ।’ यसको तात्पर्य के हो बुझाइदिनुस् त शान्ताजी। जमिन्दारले किन लगेनन् तपाइँका दिदीहरुलाई? जमिन्दारले किन लगेनन् अन्य गरिबका छोराछोरीलाई? कृपया यसको तात्पर्य वर्गसँग मात्र जोडिएको होइन। यो कुरा तपाइँलाई राम्रोसँग थाहा छ।

यसर्थ शान्ताजी, म तपाइँको नेतृत्वसँग नकरात्मक भएको होइन। तपाइँको पछिल्लो भनाइबाट थारु समुदायको दासत्वको कूप्रथालाई मलजल हुँदै गरेको कुरामा सचेतमात्र गराएको हुँ। राजनीतिक शक्तिको आडमा तपाईँमात्र बलियो भएर हुँदैन। तपाईँले गरेको नेतृत्वले समाज र देशमा शान्ति, सुब्यबस्था, सम्पन्नता, विकास र निकासका साथसाथै सभ्य राजनीतिक संस्कार पाउन सकोस्।

लेखक थारु लेखक संघका सदस्य हुन्।

7 thoughts on “शान्ताजी, गरिब बाहुन क्षेत्री किन भएनन् कमलरी ?

  1. lekh thik ba hajur hamar tharun ke bareme lekh kam likhana huilak or se ho santa g k bat je apan ghar nai milai sekath u samaj k lag ka kari

  2. well said demondaura ji. Shanta ji ko chulo chouko nai party bat chaleko 6. Tyasaile nunko sojho garnu vako hola.

  3. lekhnai paryo vaner lekheko tai na tuiko lekh lagyo…. sabai tharu kamara ra sabai pahadi haliya xainan mul karan garibi ra ashikshya ra shasak le gareko bibhed nai ho…. shanta jee ko kura sahi ho….

Leave a Reply

Your email address will not be published. Required fields are marked *