सन्दर्भ सपनाको : ”एरिका”

रेशम चौधरी।

निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई बर्षको हाराहारी पुग्न थालिसक्यो। निर्बासनको केहि महिना चुपचाप रहेपनी अन्ततः सामाजिक सञ्जालबाट टाढा रहन सकेन। हो! यही सामाजिक सञ्जालमार्फत साथी भएकी हुन् ‘एरिका’बहिनी। अत्यन्तै खरो भावनाहरु पोस्ट गर्ने र प्रखर बाहुनविरोधी हुन् उनी। उनी मलाई पहिचानबादिको नेता मान्छिन्,यो भन्दा बढी नलेखौँ होला। मेरा सामाजिक सञ्जालका हजारौं मित्रहरू मेरा शुभचिन्तक मात्रै छैनन्,परिआएमा रगत दिनसमेत तयार छन्। हो! यिनैको ममताले पनि मलाई निर्बासन सजिलो भएको छ।

अमेरिकाका राम, जर्मनका जेकी, काठमाडौकी एरिका, सिन्धुलीका कृष्ण, दिल्लीका संजय, सितापुरका ओपी, लखनउका शेर ब., लखिमपुरका दद्दु, पलियाका चरणजित, तिकुनियाका गुर्मित सिंह, फकिरपुरिकी माधुरी प्रधान, स्रावस्तिका राजकुमार, भच्काहिका कर्मवीर छैला, गोरखपुरका बिनोद भाइ नभएको भए सायद मेरो निर्बासन जिन्दगीको कल्पनासमेत गर्न सक्दैन।

निर्बासनमा मैले आफ्नालाई गुमाएँ,पराईलाई पाएँ। लखिमपुरमा मेरो आफ्नै साख्कै कान्छी फुफुको छोरा माइकुलाल डाक्टर छ तर उसबाट सहयोग त परै जाओस्, संगालेर राखेको दुईचार पैसा पाउनसमेत संघर्ष गर्नुपर्‍यो। बाल्यकालदेखि टुहुरो भनेर सहयोग गरेको तर आफूलाई परेको बेला त्यो नियति भोग्नुपर्दा साह्रै मन रोयो। सबै दुख लेखेर सम्भव पनि हुन्न तर राजनीतिकरूपमा ठूला कुरा गर्ने टीकापुरको मन्चमा भड्किलो भाषण गर्ने नेताले समेत सुको सहयोग गरेनन्, अरु त अरु हालखबर सोध्नलाई भारतबाट रु. १२ प्रति मिनेटका दरले खर्च गरेर फोन गर्दासमेत मिटिङमा छुँ भनेर फोन काटिदिन्छन्। सँगै पहिचानको लागि थरुहट, थारुवान आन्दोलन गर्ने अन्य राजनीतिक दलका नेताले नै मलाई निर्बासित जीवन जिउन बाध्य बनाएको घामजस्तै छर्लङ्ग छ।

जनजाति, मूलबासीबाहेक थारु र मधेसी दुबै पक्षका नेतालाई म आए आफ्नो बर्चस्व गुम्ने डर छ। कहिलेकाही मधेसी र हाम्रा थारु नेता एकैठाउँमा बसेर गफ गर्छन् रे- ‘साला हमको सीके ने बर्बाद किया, और तुम थारुओँ को रेशम ने। ए दोनोका वर्चस्व होगया है तराईमे। और दोनोको ही सडाके रख्ना है सालोँको।’ अनि फोरमतिरका ठूला थारु नेता हो! हो!! भन्दै मुन्टो हल्लाउँछन रे। म सीकेजस्तो देश माग्ने नेता होइन तर पहिचानसहितको संघीय प्रदेशका निमित्त सत्तिसालझैँ अडिग छुँ। हुनसक्छ यो यात्रा वर्षौँ लम्बिन सक्ला तर बीचमा पक्कै टुट्नेछैन।
एरिका बहिनिको स्वभावको बारेमा पुर्ण जानकार त छैन म, झुलुक्क एकपटकबाहेक उनको अनुहार पनि राम्रोसँग ठम्याउन सकेको छैन मैले। म यत्ति जान्दछुँ, उनी पहिचानवादीको कट्टर समर्थक र प्रखर बाहुनबादको विरोधी हुन्, सायद म पनि यो मामिलामा उनीभन्दा कमजोर पो छुँ किजस्तो लाग्छ। हिमाञ्चल प्रदेशको कुल्लु भन्ने स्थानमा जाडोले कठांग्रीरहँदा उनले च्याटिङ्गमा यो म्यासेज लेखेपछि मलाई रातभर निन्द्रा लागेन। निद्राको विकल्पमा म मेरो मोबाइलबाटै यो सत्यतथ्य लेख्नपुगेँ। हुन त मेरो पुस्तक संयोगमा मैले कुनै बनावटी पात्र, काल्पनिक मनगढन्ते कुरो केही लेखेको छैन। जे जति छन्, तथ्यगत नै छन्। सुनेका, कसैले भनेका श्रोत मैले खोल्दा मेरो धर्म समाप्त हुन्छ होला। आखिर के यस्तो लेखिन् त उनले? जसका कारण म कलम चलाउन बाध्य भएँ? उनले लेखेको म्यासेज जस्ताको तस्तै तपाईँ समक्ष राखिदिएको छुँ।

-तपाईंले पाउनुपर्ने जति सहयोग थियो त्यति सहयोग हाम्रो समुदायले गरेका छैन र वास्ता छैन कसैलाई। सारै विरक्तिएर आउँछ, यस्तो किसिमले पहिचानको आन्दोलन कहाँ पुगाउँला र भन्ने लाग्छ। तपाईंमा आश छ तर सहयोग गर्न नपाउँदा मन खान्छ दाजु!

– हाम्रो मान्छेहरुले तपाईंलाई चिनेन बुझेन क्या दाजु।

– यति बेला सबैको सहयोगमा तपाई प्रचण्ड ताप भएर बल्नुपर्ने हो!

धेरै खस बाहुन मेरा साथीहरूले पहिचानको परिभाषा सोध्छन् त्यतिबेला मलाई झनक्क रिस पनि उठछ। संघीयता र पहिचानका नाममा करोडौं डलर पचाउनेको झुन्डले जिस्काएझैँ लाग्छ। के साँच्चै अब पहिचानको परिभाषा पढाउनैपर्ने भो त? होइन भने किन फोकट्मा जिस्काइरहन्छौं?  कसैले १ सय २५ जाति छन् नेपालमा भन्छन्। कसैले पृथ्वीनारायणको लवजलाई चार वर्ण छतिस जातको फूलवारी भन्छन्। कसैले ब्राहामण, क्षेत्री, वैश्य, शुद्र गरी चार वटालाई मात्रै जात मान्छन्। तर पहिचान त वर्ण, वर्ग र राज्यमा उत्पीडनको समावेशिता हो। यो त राज्यले हामीलाई खोजीखोजी दिनुपर्ने हो तर हामी यस्तो देशमा जन्मिएका छौं, जहाँ आफ्नै पहिचानको लागि संघर्ष गर्नुपर्छ। इतिहास तिनले लेख्छन् तर सम्झाई हामीले दिनुपर्छ। संविधान सभाको चुनाव हुनुभन्दा पहिले देशका सारा होटल होटलमा संघीयताको परिभाषा बुझाउने निहुँमा बजेट रित्याउनेहरुको झुन्डले अहिले मान्छे उकासी उकासी संघीयता चाँहिदैन भन्दा यो कस्तो स्वाँठिहरुको झुठो राजनीति हो? हेरी, सम्झी आश्चर्यमात्रै लाग्दैन, लाज्जाबोध हुन्छ। यही पहिचानको आन्दोलन गर्दा हिजो सडकमा हामी एक थियौं आज स्वार्थको लालसामा फरकफरक भएका छौं। यहाँ पहिचानभन्दा आफ्नो स्वार्थमा रमाउनेहरुको ठूलै झुन्डै रहेछ।

यही गहनताको पोखरिमा चुर्लुम्मै गोता लगाएर होला, एरिकालाई मेरो चिन्ता लागेको। काठमाडौंको बसाइमा राजनीतिक कख कसलाई आउँदैन र? रात छिप्पिसकेको छ, बाहिर चिसो सिरेटो चलिरहेको छ। हिजोअस्ती खिचेका फोटो हेर्दै म निदाउने प्रयत्न गर्छु। लाम लागेर भोजन खाएको तस्बिर हेर्दा तुरुक्क दुई थोपा आँसु ओछ्यानमै झर्छ। लो रोटी! फुत्त फालेर दिएको बेला मन कम्ती रुँदैन। अरे यार रोटी भी लिया और चावल भी? ए लङ्गरका प्रसाद है, सबको खाना चाहिए भाइ! एक छाक खानाको लागि मन्दिरमा चढाएको भण्डारा खान जाँदा स्वंयसेवक भैयाले हप्काउँदा कम्ती चित्त दुख्दैन मेरो?  तर के गर्ने? बाध्यता र विवशता मान्छेको यस्तो कडी हो, जहाँ मान्छे जर्जर तरिकाले पनि जिउन बाध्य हुन्छ। भन्डारा बाँड्ने भैयाको एक वचन सुनेर मेरो पेट भर्छ भने त्यो पनि स्वीकार छ तर मन न हो कुनबेला कुडिँन्छ- ठेगानै हुँदैन। सबैलाई बाँड्ने रेशम चौधरी आज दुई पैसा जोगाउनका लागि सार्वजनिक निशुल्क भोजनका लागि लाइनमा लाग्छ। जति सम्झाउन खोजेपनि मन मान्दैन, जेसुकै होस् भनेर धित मरुन्जेल रोइदिन्छुँ। यसरी रुदैँ आएको पनि धेरै भो, रुँदा आँश् पुछिदिने पनि कोही छैन। घरमा बस्दा छेउमै सँगै सुत्ने रन्जिता हुन्थिन्, जस्तै दुःख परेपनि परिवारको सहाराले मान्छे बैतरिणी तर्न सक्छ तर बिरानो ठाउँमा नितान्त एक्लोपनको सहारा दैव सिवाय अरु कोही हुन सक्दैन। आँशुले सिरानी लपक्क्कै भिजेको पत्तै हुँदैन, तकियालाई पल्टाएर जसोतसो निदाउँछु।

सार्वजनिक मन्दिरहरुमा लङ्गर (भन्डारा) खाएर होला, या त्यही लाइनमा लागेर खाएको फोटो हेरेर होला राती भयंकर सपना देख्छु। एकछिन आमाले भात खान बोलाइरहेको, कुनैबेला रन्जिताले चटनी पिसिरहेको, कुनै बेला सासुमाले ज्वाँईसाप! कहिले आउने खसीको मासु खान भनेको? यस्तैबेला ठूलो भिरबाट आफ्नै छाँयाले आफैँलाई सरापिरहेको सपना देखेँ। ई.. खा!.. रेशम। यसैगरी लाइनमा लागेर मागी मागी खा- रेशम चौधरी। बडो पहिचानको आन्दोलन गर्ने भाको। पहिचानको झुट्ठा राजनीति गर्नेहरुले तेरो रिसोर्टमा उधारो खाएर पैसो नतिरेको पनि बिर्सिस्? तेरा पहिचानको आदर्शलाई भँजाएर मान्छे मन्त्री भैसके, तँ र तेरा सन्तानलाई राज्यले एकैदिनमा माग्ने बनायो। अझै पहिचानको आन्दोलन? प्रजातान्त्रिक, लोकतान्त्रिक लडाइँमा तिम्रो सबै पहिचानवालीले पसिना, रगत बगाए तर खोइ?  खोइ प्रजातन्त्रको अनुभूत भएको तेरो वर्गलाई? खोइ! लोकतान्त्रिक अधिकार पाएको तेरो वर्गले? तँ केवल जनमुक्तिको नायक सुभाष चन्द्र बन्न खोज्छस्, तर देश चलाउने त पन्डित जवाहरलाल होइनन्? तँ सामाजिक न्यायका लागि निर्बासित छस् तर तेरा साथीहरू त लुछाचुँडी गर्दै देशभित्रै छन् त। तँ पनि थारुलाई भँजाएर खान सिक्, २२/२३ वर्ष सांसद मन्त्री खान छोडेर पहिचानको आन्दोलनको नाटक गर्छस्। सबैले विद्वान, बुद्धिजीवी भन्छन् तँलाई, तर खोइ?  तेरो बुद्धि त मुर्ख्याइ मात्र रहेछ। जा! सामन्तीका खुट्टामा लम्पसार पर, माफी माग, आफ्नो परिवारको बन्दोबस्त गर। धेरै जनताको लागि सोचिस् भने येस्तै दुःख पाउँछस् बुझिस्?  खोइ? तँ निर्बासनमा बस्दा तेरा जनताले आन्दोलन गरेको? कहाँ गए तेरा नेताहरू? तेरा नेतालाई तँभन्दा बालुवाटारको कुकिज मीठो लाग्छ भन्ने थाहा छैन तँलाई? तैंले पानी पिउनसमेत नपाउँदा तेरा नेताले पाँचतारे होटलमा रक्सीको खोलै बगाउँछन भन्नेपनि हेक्का छैन तँलाई? खोई तेरो बुद्धिको बिर्को खुलेको?

तेरो, लिम्बुवानि, खुम्बुवान, मगरात, तमुवान, दलित, उत्पीडित शक्तिहरू? सबैजना स्वार्थको पुरी पकाइरहेको बेला तँचाहिँ पहिचानको आन्दोलन गर्ने भाको? बन्नदे दास तेरा वर्गलाई। कमैया, हली, भैया, लिँडे, सब स्वीकार। दासता स्वीकार्ने तेरो समुदायको बानी भैसक्यो बुझिस्? बरु तँ पनि सामन्ती देश लुटुवाहरुसँग मिलेर लुट। आफ्नो दुनो सोझ्या रेशम! अर्काको सोच्नेको भलो कहिले हुँदैन। तँलाई भिमसेन थापाको इतिहास सम्झाउनपर्छ र? सेरिएर घिटी घिटी भै प्राण नजाँदासमेत शासकले दया याचना देखाउन्नन भन्ने तँलाई थाहा छैन? त्यसैले भिमसेन होइन, पृथ्वीनारायण बन्न सिक। इतिहास सहिदको भन्दा कठोर बर्बर शासकको लेखिन्छ भन्नेपनि हेक्का छैन तँलाइ? तँ आन्दोलनको लागि बस्ती बस्तीमा दौडिरहँदा तेरा साथीहरूले काठमाडौंको टेलिभिजनमा चर्की चर्की थुतुनो सोझ्याइ भाषण गरेको दिन पनि बिर्सन्छस्?  जा! बरु आफ्नै देशमा बाजेहरुको स्वस्ती गर, म परिवर्तन होइन, परम्परा जोगाउँछु भन्। लोकतन्त्र, गणतन्त्र सबै तिम्रै देन हो प्रभु भन। तेरो कल्याण त्यँही छ।

सपना देखिरहेकै बेला सुतेको कोठा ढकढकाईले झँल्यास्स ब्युँझिन्छु। भाइ सञ्जयको हातमा तातो चियाको गिलास छ। हातले चिया समात्दै पहिलो चुस्की लगाउँछु, चिया अत्ति गुलियो छ तैपनि बिहानिको चिया जसोतसो पिउँछु। रातिको सपनाले मन खल्लो भएको छ। अमिलिएको मन भारी बनाउँदै बिहानीको नित्यकर्मतर्फ लाग्छु। भारतको हिमान्चल प्रदेशको कुल्लु अत्यन्तै चिसो छ। यहाँ प्रशस्तै होटेल छन् तर कामदार सबै नेपाली छन्। स्याउका फाँटहरुमा नेपाली थारुहरुको प्रशस्तै पसिना बगेको छ। मेरो यात्रा पनि नेपालबाट मजदुरीका लागि आउने हजारौं थारुहरुको पीडाले यहाँसम्म डोर्‍याएको हो। धेरै पाहाडी ठेकेदारले यहाँको जमिन भाडामा लिएका छन् तर मजदुर सबै थारुमात्रै छन। यहाँपनि थुप्रै शोषण हुँदोरहेछ। यी सब नेपाली थारुका कथा सुनाउने भाइ सञ्जय पनि नेपाली नै हुन्। उनी दाङतिरका बाहुन ठिटो भएपनि थारुको पीडाको खिस्सादेखि चिन्तित छन्। एउटा पातलो ज्याकेट अनि हिमान्चलको चिसो ठेग्न नसकेर म फर्किने निर्णय गरेँ, अर्कोपटक आउने मन कल्पाएर। निहुँ ज्याकेटको मात्रै थिएन, हिमान्चलको पाहाडी भेकको होटेल यति महँगो रहेछ कि त्यहाँ बस्ने एकरातको खर्चले मलाई झन्डै १५ दिन पुग्छहोला।

बिहानभरि थारुहरुले परिश्रम गर्ने स्याउ बगान, तरकारी खेती र अन्य पेशाको बारेमा जानकारी लिएँ। करिब चालीस हजार थारु मजदुरहरुको भिडमा तीस हजारभन्दा बढी त थारु नै रहेछन्। अझै म आएको हल्ला भूकम्पझैँ हल्लाउँदै, सुनामीको बेगमा फैलियो। केही कैलाली, बर्दियाका थारु साथीहरूसँग भलाकुसारी पनि भो। नेपाललाई स्विट्जरल्यान्डको सपना देखाउने नेपाली नेताले एकपटक कुल्लु आएर हेरे हुन्थ्यो। मुलुकको श्रमिकको पसिना कहाँ बग्दैछ? हुन त हाम्रा नेपालका नेता बिरामी नेतालाई भेट्न अस्पतालमा दौड्दै फुर्सद छैन, कहाँ कुल्लुमा आएर नेपाली श्रमिकको मेहनत हेर्नु? अझै बस्ने हेर्ने रहर हुँदाहुँदै दिल्ली फर्किने बाध्यतामा म आएँ। मलाई कुल्लु र एरिका बहिनीको बारेमा केही लेख्न मन लाग्यो, कुल्लुसँग त अनुमति लिनुपर्दैन तर जान्दाजान्दै पनि एरिका बहिनीको पनि अनुमति लिइन मैले। केही गल्ती लेखेको भए पनि क्रान्तिकारी दाजु भनेर उनले माफ गरिनै दिनेछिन्।

अन्ततः जे जस्तो भएपनि लेखियो। मेरो पुस्तक संयोगको लागि पनि खुराकै भयो। कुल्लुको चिसो र एरिका बहिनीको ज्वारभाटा उस्तैउस्तै लाग्यो मलाई। कुल्लुले कामदार खोजेको छ- हिमान्चल बनाउने, एरिकाले क्रान्तिकारी योद्धा खोजेकीछिन्- नेपाल बनाउने। उनले पहिचानमा देश देख्छिन्, शोषण र दमनविरुद्ध लाप्पा खेल्ने ठूलो धोको छ उनको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *