थारु सम्बत् [टिप्पणी]

दिल बहादुर चौधरी।

सम्बतः

मानव बिकासमा समयको ठूलो महत्व हुन्छ। बिकासकै क्रममा, चेतनासँगै मानवले समयको महत्वको बारेमा जानकारी पाएको हो। समयकै आधारमा उसले बिगत र बर्तमानलाई अभिलेखीकरण गर्‍यो, इतिहासलाई अभिलेखीकरण गर्‍यो र आगामी समय वा सम्भावनालाई समेत अभिलेखीकरण गर्‍यो। कुन घटना कति पुरानो हो, बिगतमा के के भयो? पछि के हुने? कस्तो हुने? भन्ने सम्भावना दर्शाउन पनि समय सूचकको आवश्यकता पर्छ। यही क्रममा मानवले सम्बतको शुरुवात गर्‍यो। समयको सही गणना गर्ने क्रममा, ब्यबहारमा लागू गर्ने क्रममा मानव जातिले सम्बतको प्रयोग गर्‍यो।

सम्बत् भनेको बर्ष हो। प्रायः सम्बत संसारका महापुरुषहरुको नामबाट चलेको पाइन्छ, शुरुवात गरेको पाइन्छ। महापुरुषहरुको स्मरणमा, सम्झनामा उनका अनुयायीहरुले स्थापित गरेको, चलन चल्तीमा ल्याएको समयसूचक नै सम्बत हो भन्दा पनि हुन्छ। यस्ता सम्बत्हरुमा युधिष्ठिर सम्बत् या कलि सम्बत, बुद्ध निर्बाण सम्बत, बिक्रम सम्बत, शक सम्बत, ईश्वी सम्बत, नेपाल सम्बत् हामीले सुनेकै सम्बतहरु हुन्।

हिन्दू धर्मशास्त अनुसार द्वापर युगका चक्रबर्ती महाराज युधिष्ठिरको स्वर्गगमन पश्चात द्वापर युगको अन्त्य र कलियुगको शुरुवात भएको मानिन्छ। उनकै नाउँबाट चलाइएको सम्बतलाई युधिष्ठिर सम्बत या कलि सम्बत भनिन्छ। एक समय पुरै भारत बर्षमा शकहरुले शासन गरेका थिए, उनीहरुले चलन चल्तीमा ल्याएको सम्बतलाई शक सम्बत भनिन्छ। नेपाल एकीकरण हुनु अगावैको बाइसे, चौबिसे राज्यहरुमा शक सम्बतले स्थान पाएको कुरा इतिहासमा पढ्न पाइन्छ। त्यसैगरी भारत मध्य प्रदेश मालवाका प्रशिद्ध महाराजा बिक्रमादित्यका नाउँबाट प्रचलनमा ल्याएको सम्बतलाई बिक्रम सम्बत भनिन्छ। यही सम्बत नै नेपालमा प्रचलित सम्बत हो, जसलाई नेपाल राज्यको अधिकारीक सम्बत पनि भन्ने गरिएको छ। काठमाण्डौ उपत्यकामा नेपालका शंख्धर शाख्बाले चलाएको सम्बतलाई नेपाल सम्बत वा नेपाली सम्बत भनिन्छ।

पूर्बज डाक्टर रामानन्द प्रसाद सिंहले लेखेको त्जभ च्भब िक्तयचथ या त्जबचग नामक पुस्तक सँगै थारु समुदायमा थारु सम्बतको चर्चा भएको देखिन्छ। उनले भगवान गौतम बुद्ध थारु भएको तथ्य बिश्व सामु उजागर गरे पश्चात धेरै लेखकहरुले आफ्नो पुस्तकमा बुद्ध थारु रहेको लेखेका छन्। थारुहरुको प्राचीनता, इतिहास, लिपीको चर्चा चलिरहेको बेला बि.स.ं २०६४ सालमा हिसाब, किताब, जोड घटाऊ गरी दाङका युवा कनैलाल चौधरीले थारु समुदायको नामबाट थारु सम्बतनिर्धारण गरेका छन्, जुन सम्बत थारु समुदायको नामबाट चर्चा पाएको छ। समुदायको चाहना अनुरुप, सम्मान स्वरुप उनले थारु सम्बत निर्धारण गरेको कुरा आफ्नो लेखमा लेखेका छन्, जुन ऐतिहासिक छ, प्रशंसनीय छ। उनले थारु सम्बतबारे दिमाग खियाउने, सप्रमाण पेश गर्ने काम गरेपछि दाङमा बालकृष्ण चौधरीको प्रमुख आतिथ्य एवं लौव पाइला पत्रिकाका अध्यक्ष नेपालु चौधरीको अध्यक्षतामा सर्बप्रथम २०६४ साल भाद्र महिनाको २२ गते जनस्तरबाट यसको घोषणा भएको कुरा उनले उल्लेख गरेका छन्। उनको यो प्रयास निकै सकारात्मक छ। तर यसमा अझ बढी बहसको आवश्यकता छ।

बहसका लागि यहाँ केहि कुराको उठान गर्न आवश्यक देखेको छु। मित्र कनैलाल जीले लेखेका छन् — “काठमाडौं उपत्यकामा बिक्रम सम्बत्को ९३६ तिर वा ईस्बी सम्बत्को ८७९ तिर शक सम्बत् ८०१ आइपुग्यो। त्यसबेला नेवारी परम्परा अनुसार …८’ अंक अशुभ मानिन्थ्यो। त्यसैले त्यसबेलाका उपत्यकाका शासक बर्ग र जनतालाई ९८ बर्ष (८०१, ८०८, ८८०, ८८८, ८९८) सम्म जुन जुन बर्ष कहिं न कहिं …८’ आउँथ्यो, ती ती बर्ष …८’ अंकले सताउनु स्वाभाविकै थियो। फल स्वरुप तत्कालीन राजा राघवदेवले उपलव्ध बिद्वानहरुको सुझाव अनुसार …८’ को अशुभ अंकबाट छुटकारा पाउन शक सम्बतको ८०१ वा ८०२ बाट अगाडिको ८० कट्टी गरी शक सम्बत ८०१ व १०३ को कार्तिक शुक्ल प्रतिपदाका दिन देखि …नेपाल सम्बत् १’ को प्रारम्भ गरे।”

उनले थारु सम्बत २६३०, २६३१, २६३२ इत्यादि कसरी हुन्छ त?भनी थप पुष्टी गर्दै लेखेका छन् कि भगवान बुद्धको जन्म मिति ६२३ बि.सी., मे महिनाको १२ या १३ तारिख अर्थात बैशाख पूर्णिमाको दिनको हिसाबले भगवान बुद्धको जन्म मितिदेखि सन २००७सम्मको

जम्मा बर्ष

६२३ – ०५ – १२

ं २००७ –०५  – १२

२६३० –०५ – १२          अर्थात २६३० साल हुन जान्छ, थारुहरुको नयाँ बर्ष हरेक सालको माघ १ गते पर्दछ। त्यस हिसाबले यसलाई थारु सम्बत्मा समावेश गर्दा बढी भएको समय माघ १ देखि बैशाख २९ सम्म करिब करिब ३ महिना २७ दिन घटाउँदा  २६३० — ०५ — १२

—  ०३ — २७

२६३० —०१ —१५

२६३० साल सन २००७ को जनवरी १५ तारिख भयो। यस हिसाबले थारु सम्बत २६३० सन् २००७ जनवरी १५ तारिखको दिन बास्तबिक थारु सम्बत २६३० माघ १ गते पर्न गयो। जनवरी १५ तारिख र माघ १ गते एउटै दिन हो। सन् २००७ साल जनवरी १५ तारिख, बिक्रम सम्बत २०६३ साल माघ १ गते र थारु सम्बत २६३० माघ १ गतेगणनाको हिसाबले अन्तर छैन।

उनले थप लेखेका छन् कि बिक्रम सम्बत २०६५ साल असोज ३० गते शुक्रबारको दिन थारु सम्बत २६३१ कुवाँर ३० गते शुख हुन्छ। त्यसरी नै बिक्रम सम्बत २०६५ साल माघ १ गते थारु सम्बत २६३२ साल माघ १ गते हुन जान्छ। २०६६ साल माघ १ गते थारु सम्बत २६३३, बि.स.ं २०६७साल माघ १ गते, थारु सम्बत २६३४ हुन्छ।

माथिको उनको यही भनाईलाई हेर्ने हो सन् २००७ जनवरी १५ तारिखमा थारु सम्बत २६३० माघ १ गते पर्दछ। ज्योतिष पण्डित सोमप्रसाद सुवेदीद्वारा संकलित र सम्पादित एवं मकालु बुक्स एण्ड स्टेशनर्सद्वारा बि.स.ं २०६२ श्रावणमा प्रकाशित १२१ बर्षे गोजी पात्रोलाई हेर्दा पनि यो मेल खान्छ। यही गणना अनुसार नै उनले बिक्रम सम्बत २०६७ साल माघ १ गते थारु सम्बत २६३४ हुन्छ भनी लेखेका छन्। यदि सन् २००७ मा थारु सम्बत २६३० हुन्छ भने सन् २०१७ मा थारु सम्बत २६४० हुन्छ। ७मा १० र ३० मा १०बर्ष जोड्ने हो भने त्यही देखाउँछ। त्यसैगरी यदि २०६७ साल माघ १ गते थारु सम्बत २६३४ हुन्छ भन्ने हिसाबले पनि बि.स.ं २०७३ माघ १ गते, थारु सम्बत २६४० माघ १ गते हुन्छ। ६७ मा ६ र ३४ मा ६ जोडी हेर्नुस्, ७३ माघ १, ४० माघ १ हुन्छ (६७±६=७३/३४±६=४०)। थारुवान डटकममा उनले बि.स.ं २०७३ माघ १ मा थारु सम्बत २६४१ हुन्छ भनी जनाउ दिएका छन्, यसले भ्रम सिर्जना गरेको छ। उनकै तथ्यांकलाई आधार मान्ने हो भने पनि बि.स.ं २०७३ माघमा थारु सम्बत २६४० लेख्नु पर्ने हुन्छ, अनि मात्रै मेल खाने देखिन्छ।

अर्को कुरा उनले थारु सम्बतको मुख्य आधार भगवान बुद्धको जन्म मितिलाई मानेको रबुद्धको जन्म ६२३ बि.सी., मे महिनाको १२ या १३ तारिख हो भन्ने कुरा उल्लेख गरेका छन्। तमाम दस्तावेजमा भगवान बुद्धको जन्म ५६३ बि.सी. हो भन्ने पनि देखिन्छ। त्यसैगरी बि.स.ं २०७३ को बैशाख पूर्णिमामा नेपालले २५६० औं बुद्ध जयन्ती मनाएको र आउँदो बैशाखमा २५६१ औं जयन्ती मनाउने देखिन्छ। यदि भगवान बुद्धको जन्म नै थारुसम्बतको आधार हो भने मित्र कनैलालले त्यससँग पनि जोड घटाऊ गरी मिलाउन आवश्यक छ। त्यसैगरी थारुहरुको नयाँ बर्षदेखि नै किरातहरुको नयाँ सम्बत येले सम्बत पनि शुरु हुन्छ। येले सम्बतका जानकारहरुसँग पनि छलफल गर्दा राम्रो होला कि।

सम्बतमा युधिष्ठिर सम्बत सब भन्दा पुरानो मानिन्छ। बिक्रम सम्बत युधिष्ठिर सम्बत भन्दा १८५४ बर्ष र बुद्ध निर्बाण सम्बत भन्दा ४०२ बर्ष कान्छो मानिन्छ। ईश्बी सम्बत बिक्रम सम्बत भन्दा ५७ बर्ष कान्छो, नेपाल सम्बत ईश्बी सम्बत भन्दा ८८० बर्ष कान्छो मानिन्छ। यस हिसाबले बिक्रम सम्बत २०७३ मा ४०२ जोड्ने हो बुद्ध निर्बाण सम्बत २४७५ हुन्छ। भगवान बुद्ध ८० बर्ष भन्दा बढी बाँच्नु भएन। हिसाब किताब त्यता पनि मिलाउनु पर्ने देखिन्छ।

जेहोस् थारु सम्बतको बहस समाजमा शुरु भैसकेको छ। बहस शुरु भएपछि निकास निस्कन्छ भन्ने मान्यता छ। यसमा पनि निकास निस्कने नै हो। यसलाई केहि पत्र पत्रिकाले प्रयोगमा पनि ल्याइसकेका छन्। लेखक कनैलाल जीले दिएकै तर्कको आधारमा मैले कैलालीको थारु दैनिक पत्रिकालाई २६३९ लेख्न लगाएँ। यो बर्ष २६४० हुने देखिन्छ। दाङको लौव अग्राशन साप्ताहिकले २६४० लेख्ने गरेको छ, माघदेखि २६४१ लेख्नेछ। थारुवान डटकमले कति लेख्ने भनी चिन्तन मननमा छ।

कैलालीमा थारुहरुको नयाँ बर्ष माघमा इन्जल नेपालद्वारा बि.स.ं २०७१ सालदेखि बर्षेनी थारु भित्ते पात्रो निकालिरहेको छ। पात्रोमा थारु सम्बत उल्लेख गर्नुपर्ने माग र दबाब बढिरहेको छ। माग र दबाब अनुसार थारु सम्बतलेख्न आवश्यक भैसकेको छ। कनैलाल जीको तर्क आधार मान्ने हो भने २६४० लेख्नु पर्ने अवस्था छ भने सुझावलाई मान्ने हो भने थारुवानमै उनले माघदेखि २६४१ हुन्छ भन्ने जनाउ दिएका छन्। यसले पनि मतैक्यता हुन गार्हो पारेको छ। सन् २००७ मा थारु सम्बत २६३० भयो भन्नु २९ समाप्त भएरै ३० आएको हो भन्ने जनाउँछ। त्यसैले थारु भित्ते पात्रोमा के लेख्ने भन्ने निचोड मैले पनि निकाल्न सकिरहेको छैन।

अन्त्यमा के भनौं भने युवा मित्र कनैलाल जी र यसलाई चिन्तन मनन गरी जनस्तरबाट घोषणा गर्न लागि पर्ने सबै मित्रहरु धन्यवादका पात्र हुन्। तर यसलाई उठान गर्नु मात्रै ठूलो कुरा हैन, यसमा बढी भन्दा बढीको स्वीकार्यताको आवश्यकता छ। कुरा उठान भैसकेकोले अब कनैलाल जीको मात्रै पनि दायित्वको कुरा छैन। यसलाई प्रमाणिक बनाउन दाङमै पनि भगवान बुद्ध थारुकै सन्तान हुन् भनी लेख्ने अग्रज दाजु महेश चौधरी जिउँदै हुनुहुन्छ। अशोक थारु, कृष्ण सर्बहारीसम्मका बिचमा यो बहस पुग्न जरुरी छ। भगवान बुद्धका बारेमा धेरै पुस्तक लेखिसक्नु भएका बिद्वान सुबोधकुमार सिंह, भर्खरै भगवान बुद्धकै जीवनीबारेमा बिद्याबारिधि गरेका डाक्टर गोपाल दहितसम्म पनि यो बहस पुग्न जरुरी छ। त्यत्ति मात्रै होइनसन् सम्बत, तिथिमितिबारे बढी ज्ञान राख्ने ज्योतिषीहरु र नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग यसबारे बिशेष छलफल चलाउन आवश्यक छ। यसो भयो भने यसले प्रमाणिकता पाउँछ र स्वीकार्यता बढ्नेछ। अन्तमा जनस्तरबाट घोषणा गरिएको थारु सम्बतमा बढी भन्दा बढी बहस होस्, प्रमाणिक रुपमा अगाडि बढोस्, स्वीकार्यता बढोस् भन्दै सबैलाई थारुहरुको नयाँ बर्ष माघ १ को सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु र जय माघी भन्दै कलमलाई बिराम दिन चाहन्छु। धन्यवाद!

टिप्पणीका आधारहरु :

  • कनैलाल जीको लेख, अन्तर्राष्ट्रिय मञ्च, २०६४।
  • मकालु बुक्स एण्ड स्टेशनर्सद्वारा बि.स.ं २०६२ मा प्रकाशित १२१ बर्षे गोजी पात्रो
  • गुगलएवं अन्य दस्तावेजहरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *