यसकारण अखण्ड सुपू स्वीकार्दैनौं [विचार]

लक्ष्मण थारु।
जेल, नेल, यातना, झुठ्ठा बनावटी मुद्धा स्वीकार्दै आन्दोलनकै एक फरक मोर्चामा हामी २५ जना जेलमा छौ। यो पनि आन्दोलनकै मोर्चा हो मात्र भौतिक शरिर कैद छ, तन, मन, सोच, चिन्ता, माया, सम्झना हमेशा हमेशाको यादगार पलहरु तपाईहरु संगै भएको अनुभूत गर्छु, जो सडक सदनको शान्तिपूर्ण थरुहट आन्दोलनमा निरन्तर लागि राख्नु भएको छ।

संघर्ष, आन्दोलन, मुक्ति कुनै खेलवाड या बचपना पनको रहर या सनक होइन। यो त असंख्य अस्वभाविक प्रतिकुलता सामना गर्दै हरेक कठिन भन्दा कथिन घुम्तीहरु पार गर्दै आफ्नो लक्ष्यमा पुग्छ। बस यति हो हिंसाबाट लक्ष्य प्राप्ति सम्भव छैन। मात्र शान्तिपूर्ण जनसहभागितामा अवस्य हुन्छ किनकि हामीसंग आफ्नै थारुहरुको जनसंख्या २० लाख छ। हामीलाई सहयोग, समर्थन गर्ने, लिम्बुवान, खम्बुवान, तामासालिङ, मगरात, मधेशी, दलित, बाहुन, क्षेत्री लाखौ लाख छन। अर्को महत्वपूर्ण सवाल हामी नेपालकै सामाजिक महत्वको भू–भागमा बसोबास छ।

अमेरिकामा स्वेत काला निग्रोहरु तीन सय बर्ष लगातार लडे, त्यो पनि जमिन्दारहरुको डम्पीङ साइडको सडे गलेको खाना खाए, अफ्रिकन हप्सिहरु लगातार सय बर्ष भन्दा बढी लडे। महान नेलसन मण्डेलाको खुट्टाको औला नै सड्यो जेलमा, दशौ हजार मरे तर पनि सत्य हारेन बरु अहंकारी, आडम्बरी, शासकहरुलाई सकारात्मक र जनभावना स्वीकार्न बाध्य बनायो।

अखण्ड स्विकार्दैनौ किन?
पहिलो संविधान सभा विघटन भयो कैलाली, कञ्चनपुरकै विवादले। दोस्रो संविधान सभाले नयाँ संविधान घोषणा गर्दा समेत त्यो मुद्धा र विवाद कायमै छ। अखण्ड सु.प स्विकार्दैनन् थारुहरु किन? यसको राजनैतिक, सामाजिक कारण दीर्घकालिन महत्वको छ। सुदूरपश्चिम अखण्ड प्रदेश बनाउँदा नौ जिल्लाका सात जिल्ला पहाड छन। जबकि ति सात जिल्लामा थारुहरुको बस्ती नै शुन्य छ। सातै जिल्लामा थारुहरुको राजनैतिक प्रतिनिधित्व शुन्य हुन जान्छ। एउटा प्रदेशको दुई जिल्लामा सिमित थारु समुदाय फेरि पनि राजनैतिक दास बन्छ। त्यस्तै अखण्ड राप्ती, अखण्ड लुम्बिनी, अखण्ड पूर्वाञ्चल रे। आखिर किन यसो गर्न खोजीदै छ। स्पष्टै छ। अहंकारी आडम्बरी पहाडे शासकीय मानसिकता थारु समुदायलाई टुक्रा टुक्रा विभाजन गर्न चाहन्छ किन? उनीहरुलाई थाहा छ, थारुहरु सोझा, दयालु, पौरखी छन। हो हिमाल, पहाड, तराई जोडिएको प्रदेश सुन्दा बडो आनन्द लाग्छ तर ऐतिहासिक पहिचान संगै संवैधानिक कानुनी सवाल फरक विषय हो जुन उत्पीडित समाजको भविष्य संग जोडिएको छ। नेपालको सन्दर्भमा थारु समाज सवभन्दा उत्पीडित मात्रै छैन दासत्वको नारकीय कठिनाई भोगेको तराई विखण्डकारी सोच संग हामी थारु पनि सहमत छैनौ। अखण्ड नेपाल बनाउने योगदान थारुहरु अहम छ। उत्तर, दक्षिणको प्रदेश बनाउदा थारुहरु सबै प्रदेशको दास बन्ने छन किनकि सबै प्रदेशको पहाडी जिल्लामा वडा देखि जिल्ला सम्मको राजनैतिक प्रतिनिधित्व शुन्य हुन्छ। सबै प्रदेशमा अल्पमतमा पार्ने अहंकारी षड्यन्त्र लुकाउन बडो मार्मिक नारा राष्ट्रवादको कुरा गर्दै छन। यो देशको वास्तविक राष्ट्रवादी को? लामो समय सत्ताका भ्रष्ट पहाडियाहरु जंगल बेचे, खोलानाला नदी बेचे, सिमा बेचे, के गरेनन् यिनले। यिनै के.पी ओली, माधव नेपाल, देउवा, पौडेलहरु राष्ट्रघाटी सम्झौता गरेका होइनन्? देश कंगाल बनाउने यिनै होइन? शासन प्रशासनका हाकिम को थियो यति लामो समय? गरिबी, बेरोजगारी, अभावको फाईदा उठाउन प्रचण्ड आज कुवेर बनेका छन।

देश संसारकै कंगाल हुनुमा यिनै पहाडिया शासकहरुको भ्रष्ट अहंकारी, नियत लुक्नेवाला छैन। कति स्विकार्नु अहंकार, दमन, उत्पीडन, जेलनेल, यातना? झुठ्ठा बनावटी मुद्धामा कति दिन राख्छौ जेल? बडो आनन्द हाई सन्चो होलानी शासकहरुलाई, गर कति गर्छाै मनपरी। के गर्ने थारुहरुको बस्ती नै तराईमा मात्रै छ। यदि थारु नामको प्रदेश संगै त्रास छ भने, कञ्चनपुर देखि नवलपरासी सम्मको प्रदेशलाई लुम्बिनी गौतम बुद्ध राखौ। प्रदेशको नाम त्यो पनि डर लाग्छ भने देउवा, रावल, दलाल, पौडेल, प्रदेश नै राखौ न नाम। तर थारुहरुलाई टुक्रा टुक्रा पारी पहाडको राजनैतिक शुन्यताको खेलमा हामीलाई दास बनाउने कपोल्कल्पित राष्ट्रबादी नाराको बकवास बन्द गर। कति गर्छौ षड्यन्त्र?

यिनै बडो राष्ट्रवादीलाई भारतसंग सिमाना जोडिएको प्रदेश हुनै पर्ने रे। कति प्यारो छ यिनको भारतसंगको दोस्ती सानो अर्ति लिन दिल्ली धाउने। पहाडे शासकहरु थारुहरुलाई विखण्डनकारी राष्ट्रघाटी देख्ने? याद रहोस पाप लाग्छ पशुपति नाथ भगवान यहि नेपालमै छन।

पहाडे र थारु बिचको भावनात्मक सम्बन्ध कैलाली, कञ्चनपुरलगायत तराईमा राम्रै छ। घर, खेत, आँगन, जोडिएका छन। आज भोलि त बिहेवारी नि बाक्लिएको छ। एक अर्काको चाडपर्व, मर्दापर्दा रमाउने, सहभागिता राम्रै छ। तर किन थारु पहाडे बिचको द्धन्द्ध बढ्दैछ? कसले बढाउँदै छ? गम्भिर भएर सबैले सोचौं, हिंसात्मक द्धन्द्धले कसैलाई शान्ति दिदैन, कसैको भलो हुदैन। एक हातले ताली बज्दैन। थारुहरुले नजायज मुद्धा, राजनैतिक नारा उठाएका छैनन्। तर भन्नै पर्छ लामो समय दासताको पिडा भोगेकोले पहाडे सासकहरु संग विश्वास गर्न सकिराखेको छैनन्।

शासन, प्रशासनको सम्पूर्ण निकायका प्रमुख उनै भ्रष्ट अहंकारी, आडम्बरीहरु छन स्वभाविक हो। दमन अत्यधिक छ। बन्दुक, जेलनेल, यातनाको त्रासले क्षणिक रुपमा त्रास उत्पन्न हुने स्वभाविक हो। फेरि पनि थरुहट आन्दोलनको भविष्य छ। असफल हुन्छ।

पूरै थारु समुदाय आफ्नो राजनैतिक, सामाजिक, आर्थिक, कानुनी, संवैधानिक अधिकार प्रति सचेत भइसकेको छ। जनतालाई थाहा छ हाम्रो मुद्धा माग जायज छ। फेरि पनि यस्तो संवेदनशील संक्रमणमा कता कता आफैलाई कमजोर सम्झीने नेतृत्वको मनोगत सोच बढी जिम्मेवार छ। आन्दोलनको माग सरकारको घुम्ने कुर्सीबाट मात्रै पूरा हुन्छ सोच राख्ने एउटा अवसरवादी नेतृतव छ हामीसंग, अर्को छ सांसद रोस्तमबाट एक पटक बोलेर टिभीमा देखिनपाउँदा आफ्नो पालो पूरा भइको अहमता गर्ने संकिर्ण नेतृत्व छ हामीसंग। तेस्रो नेतृत्व छ। केहि दिन सडक बन्द गर्दा, जुलुस निकाल्दा, सब कुछ रोडमै देख्छ। चौठो छन। भर्खरका युवा जमात जसले क्षणभरमै आन्दोलन सफल गर्न सोच्दछ। अलिक लम्बियो कि निरास हुन्छ। पाँचौ छ। पैसा कमाउ अनि गरौला उ पैसाले मात्रै आन्दोलन गर्ने फाइदामुखी बलिदान सोच्छ।

यावत अन्योलताको बिच जन आवाज सवाल, सक्षम नेतृत्वको पर्खाइमा छ। सडक, सदन, सरकारको मोर्चा समायोजन आवश्यक छ। पूर्व पश्चिमको समायोजन आवश्यक छ। थरुहट आन्दोलन संगै अन्य आन्दोलनकारीहरुसंगको सहकार्यको समायोजन आवश्यक छ। महिला, युवा, बुढाहरुको समायोजन आवश्यक छ। कुटनैतिक सम्बन्धको आवश्यकता छ। अर्न्तराष्ट्रिय प्रचारप्रसारको आवश्यक छ। फेरि पनि मुख्य सवाल नेतृत्व र जनताको हो। एउटा पार्टी, एउटा संघ, संस्था, एउटै नेतृत्वबाट सब कुछ सम्भव छैन, कतिपय समय सान्दर्भिक पहलकदमी आवश्यक छ। ढुक्क हुनुस। आन्दोलन सफल हुन्छ हुन्छ।
थरुहट आन्दोलन सफल हुने कारणहरु छन्।
(१) हामीसँग आफ्नै जनसंख्या अत्याधिक छ।
(२) आन्दोलनमा समर्थन, सहयोग गर्ने अन्य समुदाय धेरै छन।
(३) संचार, प्रचारप्रसारको अभाव छैन।
(४) शिक्षित युवा जमात आन्दोलनमा सक्रिय हुन तयार छ।
(५) नेपालको द्धन्द्ध व्यवस्थापन गर्ने थारुहरुको जायज माग सम्बोधन हुनै पर्छ।
मात्र कमी छ संगठित पहलकदमीको।
कैलाली कारागारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *