प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरू सबैको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि गराउने तयारी भइरहेको छ ।

राप्रपाका मन्त्रीहरु थपिए देउवा नेतृत्वको मन्त्रिमण्डल ६४ सदस्यीय हुनेछ । यो नेपालको हालसम्मकै जम्वो मन्त्रिमण्डल हो । हाल देउवा नेतृत्वको मन्त्रिपरिषद ५६ सदस्यीय छ ।

कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्री हटाउने तयारी गरेका छन् । सोही तयारी अनुसार देउवाले राप्रपालाई सरकारमा समावेश गरेको अनुमान गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *