सत्तापक्षीय र मधेसी मोर्चाको बैठक निष्कर्षविहीन

सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र सँगै सरकार बाहिरका मधेशी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलको बैठक निष्कर्ष बिहिन टुंगिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले आफ्नै अडान नछोडेपछि बैठक निष्कर्षबिहिन भएको हो । नेताहरुबीच पुनः बैठक बसेर निष्कर्षमा पुग्ने सहमति भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पछिल्लो राजनीतिक संकट समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकमा प्रधानमन्त्रीले २०७४ माघभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान रहेको बताउँदै राजनीतिक निकासका लागि बिलम्ब गर्न नहुने धारणा राखेका थिए । कांग्रेस र माओवादी केन्द्रका नेताले स्थानीय निर्वाचनको घोषणा गरेर मुलुकलाई निकास दिनुपर्ने सुझाव दिएका छन् ।

सत्तापक्षीय नेताले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने राजनीतिक वातावरणका लागि मधेशी मोर्चासँग सहयोगको आग्रह गरेका छन् । बैठकमा मोर्चाका नेताले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर टुंगोमा पुगेपछि निर्वाचनमा जानु उपयुक्त हुने धारणा नेताहरुको छ।

बैठकमा नेताहरुबीच छलफललाई तिब्रता दिएर एक, दुई भित्रै समाधानमा पुग्न प्रयत्न गर्ने समझदारी भएको छ । सरकार सहभागी दलहरुले प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चासँग थप छलफल गरेर अघि बढ्ने सहमति भएको नेता श्रेष्ठले जानकारी दिए । ‘निर्वाचन, संविधान संशोधन, महाअभियोग लगायतका विषयलाई सहमतिका साथ टुंगाउन पहल गर्ने विषयमा छलफल भएको छ,’ नेता श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला,सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, स्थानीय विकास मन्त्री हितराज पाण्डे, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत नेता उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *