विधवासँगको प्रेम

इन्दु थारु।
समयमै बिहा गरी घरजम गरिहाल, उमेर ढल्किन लागिसक्यो। कहिले बिहे गर्ने? कहिले भोज खुवाउने? अहिले नगरे कहिले गर्ने, बुढेसकालमा? घरमा, अफिसमा, बाटोमा हिँड्दा होस् वा साथीभाइ माझमा, थाकिसके सुनेर। चिनजानका सबैले प्राय यस्तै प्रश्न गर्छन्। विवाह गर्ने ठ्याक्कै उमेर कति हो म अनभिज्ञ छु। १५ वर्षकै कलिलो उमेरमा विवाह गरी घरजम गरेको पनि देखेको छु मैले, तिनको तुलनामा त मेरो विवाह गर्ने उमेर निकै ढिलो भइसकेको छ। मैले ५० वर्षका उमेरका व्यक्तिलाई पनि विवाह गरेको देखेको छु। तिनको तुलनामा भने अझै धेरै नै काचो छु म। ५० पुग्न अझै २० बाँकी छ। विवाह गर्न मलाई भन्दा पनि भोज खानेहरुलाई बढी हतारो छ यहाँ।

यस्तो होइन कि मैले केटी पाएन। केटी त एक से एक पाए। त्यसै पनि केटा मान्छेलाई कही केटीहरुको कमी हुन्छ र? किशोरावस्थामा लभ धेरै गरियो। धेरै मतलब धेरै जनासँग। राम्री केटी देख्नै नहुने। राम्री मतलब केटी, जुनसुकै केटी जस्तोसुकै केटी, बस केटी हुन पर्यो, राम्री त्यसै लागि हाल्ने। मर्दकी दश वटी भन्ने उखान छ हाम्रो समाजमा, म त धेरै पटक पो मर्द बने। कति दशवटी ठ्याक्कै मलाई याद छैन। छोरा मान्छे मर्द बन्नुपर्छ, बहादुर बन्नुपर्छ, वीर बन्नुपर्छ, सधैँ यस्तै सिकाइयो र सिके पनि। मर्द, बहादुर र वीर कसरी बन्ने, के गरेर बन्ने सिकाइएन या मैले सिकेन। मलाई लाग्यो धेरै केटीहरुसँग लभ गर्नुलाई नै मर्द, बहादुर, वीर भनिन्छ। त्यस्तै गरियो पनि।

कहिले कसैको आँखाको गाजलमा अल्भि्कए, कहिले ओठको लालीमा। कहिले कसैको चोलीको टुनामा त कसैको मिठो मुस्कानमा। केटी मान्छेको कालो लामो केश मेरो लागि पासोझै लाग्छ, झुन्डिनलाई मलाई बोलाई रहेझैँ। अनुहारै नदेखी पछाडी झुन्डिएको लामो केशले मात्रै पनि लोभिएकोे छु कैयौँपटक। पछाडीको लामो केशमा मात्रै कहाँ हो र, ब्लाउज भित्र देखिने भित्री ब्रा ले मलाई अतिनै आकर्षित गर्ने गर्छ। कुर्ताभित्रको ब्रा ले तानिदै जाँदा एकपटक त विवाहिताको पछि पो लागेछु। तर मलाई के फरक पर्थ्यो र, आफ्नो पुरुषत्वमाथि निकै घमण्ड जो थियो। आफूले भनेको मान्नेसँग मस्ती गरियो र नमान्नेलाई बेइज्जत गर्दै हिँडियो। उसो त भनेको मान्नेहरुलाई पनि कम बेइज्जत गरिएन। मानौँ म पुरुष भएर जन्मिएकै यही सब गर्नलाई हो। मानौ यी सबै हर्कत गर्नु मेरो जन्मसिद्ध अधिकार हो।

यी सबै हर्कतहरु गरिरहँदा म भुल्छु, आफूलाई बहादुर र वीर भनि चिनाउन खोज्दा म भुल्छु आफ्नो कमजोरी। म भुल्छु कि लामो कालो केशमा अल्भि्कने, चोलीको टुनामा बल्भि्कने, जसरी माछा बल्छीमा बल्भि्कन्छ, अनि जाबो भित्र लगाउने ब्रा पछि तानिदै जानेको मन र मस्तिष्क कति धेरै कमजोर होला। मेरो हृष्टपुष्ट शरीर र मांशपेशीका हिसाबले त पक्कै म बलियो नै हुला तर यो मामलामा भने म कमजोर ठहरिन्छु। हो, मेरो पुरुषत्व प्रदर्शन कहाँ र कसरी गर्ने, यो मामलामा म कमजोर छु।

एउटी केटी साह्रै मन पर्थिन मलाई। सभ्य, शान्त, सुशील थिइन्। गरिब घरकी, पढाइमा निकै रुची भएकी। उनले मलाई भनिनन् तर बाह्य स्रोतबाट थाहा पाए क्याम्पस भर्ना गर्न नसकेर उनको पढाई नै छोड्न पर्ने बाध्यता। किन हो माया लाग्यो, उनलाई क्याम्पस भर्ना गराइदिएँ। उनले मलाई निकै सम्मान गर्थिन्, यहाँसम्म कि भगवान मान्न थालिन्। एकदिन उनको इच्छा नहुँदा नहुँदै पनि आफूसँग रात गुजार्न बाध्य बनाए। उनलाई पनि लाग्यो होला यो मान्छेले गरेको उपकारको ऋण तिर्ने उपाय साएद यही हो। नाइनास्ती गरिन। मलाई रोकिन पनि। एउटा आज्ञाकारी बच्चा जस्तो जे जे भने, सबै मानी चुपचाप। उनलाई लाग्यो होला उनको ऋण चुक्ता भयो अब। केही दिन पछि एकाएक गाएब भई केही नभनी। अनि मलाई लाग्यो मौन बस्नुको अर्थ प्रत्येक अवस्थाामा स्विकृति दिनु हुँदैन रहेछ। त्यसो भए के मैले उनको मौन बलात्कार गरेँ? अँह, बिना कुनै जोरजबरजस्ती पनि कहीँ बलात्कार हुन्छ र? तर मलाई महसुस भयो, जब उनी एकाएक गायब भइन्, बिना कुनै नाइनास्ती मैले उनको बलात्कार गरेँ। थोरै सहयोग गरेको निहुँमा मैले उनको मौन बलात्कार गरेँ। आफ्नो पुरुषत्वमा सधैँ घमण्ड गर्नेले समेत महसुस चाहिँ गर्यो। उनलाई महसुस भयो भएन उनैले जानुन। महसुस गरेर पनि धेरै के नै गर्न सक्छिन् र उनले। छ र कहीँ उजुरी गर्ने निकाय?

मैले भन्न सुहाउँछ कि सुहाउँदैन कुन्नी, पहिलो पटक मलाई प्रेम भयो। साँचो प्रेम। कहिले, कहाँ, कसरी, किन भन्न मुस्किल हुन्छ भन्छन्। मलाई पनि त्यस्तै भयो। लाग्थ्यो केटीहरुलाई २/४ दिन घुमायो, छोड्यो, फेरि अर्कीलाई घुमायो। यही हो जीन्दगी जिउनुको मजा । तर यसपटक २/४ दिन घुमेर र घुमाएर उनलाई छोड्ने पक्षमा म बिल्कुलै थिएन। त्यसैले भन्दैछु मलाई साँचो प्रेम भयो। मलाई लाग्न थाल्यो यो जुनीमा मात्र होइन, जुनी जुनीसम्म उनीसँगै जीवन जीउन पाउँ। जति नै प्रयास गरेपनि मेरो प्रयास व्यर्थ, उनी मान्नलाई तयारै नहुने। बच्चाभन्दा पनि बढी जिद्धी उनी। ५ वर्षे छोरीको आमा भएर नि किन मेरा भावनाहरु नबुझेको होला भनेर रिस पनि उठ्थ्यो। तर मेरो भावना बुझ्न नचाहनुको कारण पनि यही थियो कि उनी एउटी छोरीको आमा थिइन्। ती आमा जो श्रीमानको मृत्यु पश्चात आफ्नो र आफ्नी छोरीको लागि एक्लै काफी थिइन्। उनका आफ्ना बाध्यता र दायराहरु थिए होलान्। तर मभित्रको पुरुषत्वले किन हार स्विकार गर्थ्यो र। त्यसमा पनि उनी महिला न हुन्, सुकोमल मन भएकी। मेरो प्रयास व्यर्थ रहेन अब, उनलाई मनाइछाडे उनको छोरीलाई हाम्री छोरी बनाउने वाचासहित।

अब बिहे गरी घरजम गर्न म पूर्णरुपमा तयार भइसकेको थिएँ। तर घर परिवार, इष्टमित्र लगायत भोज खान पाइन्छ भनेर मख्ख पर्नेहरु कोही तयार भएनन्। एउटै कारण, म ती महिलासँग विवाह गर्दैछु जो समाजमा विधवा कहलिन्छिन्, जो एउटी छोरीको आमा पनि हुन्, ती महिला जसलाई आफ्नो श्रीमान् आफैँले खाएको लान्छना लगाइन्छ। अह कोही एक जना पनि त्यस्तो भेटेन मैले जसले मेरो निर्णय स्विकार गर्न सकोस्। न त मैले कसैलाई मनाउन नै सके।

सबैलै बौलायो क्या हो भन्छन्। मति बिग्रियो भन्छन्। कोही कन्या केटी पाएन यै विधवासँग फस्यो भन्छन् या विधवाले यसलाई फसाइछाडी भन्छन्। टोलमा, अफिसमा जहातहीँ मेरै चर्चा छ। सँगैका साथीहरुले सेकेन्ड ह्यान्डसँग विवाह गर्दैछ भन्छन्। यसो भनेको सुन्दा मभित्रको पुरुषत्वमा ठूलो ठेस लाग्छ। यद्यपि मलाई थाहा छ सेकेन्ड ह्यान्ड त सामान पो हुन्छ। मानव पनि कहीँ सेकेन्ड ह्यान्ड हुन्छ। तैपनि मेरो पुरुषत्वले यो सत्यतालाई स्विकार गर्न छोड्छ। एउटी कन्या केटीसँग विवाह गरेर सम्मानित जीवन किन नबाच्नु? साँच्चै सेकेन्ड ह्यान्ड श्रीमतीसँग कसरी जीवन चलाउने होला यो समाजमा। विधवा महिला प्रेम गर्न लायक हुन्छन्, विस्तरमा सजाउन लाएक हुनछन् तर फेरि अर्को नयाँ घर सजाउन लायक हुँदैनन् यहाँ। मैले पो चाहे जति धेरै जनासँग विस्तरा सजाए पनि केही फरक पर्दैन किनभने म मर्द हुँ, वीर हुँ, बहादुर हुँ। तर महिलाको हकमा अवस्था बिलकुलै फरक रहन्छ।

मैले चाहेर पनि आफ्नो मनको सुन्न सकेन। मेरो चाहना छ म उनीसँगै विवाह गरुँ, चुनौतीलाई स्विकार गरुँ। कहिलेकाहीँ चाहँदाचाहँदै पनि सोँचेजस्तो नहुने। मेरो निर्णय उल्ट्याउन भूमिका खेल्ने तत्वहरु अनगिन्ती छन् यो समाजमा। यसो भनिरहँदा के म दोषमुक्त रहन सक्छु। एउटी विधवा महिला आफ्ना पारम्परिक दायरा नाघेर केही कदम अगाडि बढ्न तयार छिन्। तर म कमजोर छु। घरपरिवार समाजले के के नानाथरी भन्छन्, पचाउने साहास छैन म मा। आफ्नो पुरुषत्व प्रदर्शन गर्नमा मात्रै म साहासी हुँला। एउटी विधवा महिला बरु आटिली छिन्, तिनीभित्र भएको जति पनि आँट छैन म मा। हो म कमजोर छु। साह्रै कमजोर।

लेखकबाट थप

एउटा प्रेमको अन्त्य

थारु आन्दोलनले सिकाएको पाठ

बिशाल बनारस विश्वविद्यालय र त्यो मनमोहक गंगा

मेरो भाषाको सम्मान खोइ ?

3 thoughts on “विधवासँगको प्रेम

  1. I am really moved by your story. इन्दु जी, हजुरको लेखहरु प्राय सबै पढेको छु । हजुरको सबै लेखमा म डुबेको छु । समय सन्दर्भ जोड्ने तौर तरिकाको खुबीको खानी छ हजुरमा । हाम्रो समुदायमा हजुर जस्तै धेरै लेखिकाको खाँचो छ । लेखाईमा अझै हजुरको कलम निखारिदै जाओस र समजमा सकारात्मक परिवर्तन ल्याओस लाखौं लाख शुभ–कामना छ ।

  2. Dear Indu, you are an amazing and very creative person. It feels so good to see you writing such impressive and outstanding articles. With such determination of writing, you will surely be able to establish a good name and fame in Tharu society. Keep it up.

Leave a Reply

Your email address will not be published. Required fields are marked *