Lekhi Lahan Press meet

तीन दलका तीन प्रमुख नेताले मधेस तराईमा जारी आन्दोलनलाई आन्दोलनको रुपमा ग्रहण गर्न नसक्दा समाधान लम्बिएको थारु नेता राजकुमार लेखीले बताएका छन्। मंगलबार लहानमा सञ्चारकर्मीसँग लेखीले भने, ‘सरकार निरर्थक वार्ता गरेर आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको छ।’ मधेस तराईको आन्दोलनमा यस क्षेत्रका जनता सहभागी भएकाले माग पूरा नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने उनको भनाइ छ।

‘आन्दोलनको बटमलाइन सीमांकन हो,’ उनले भने, ‘सात प्रदेशसहितको सीमांकन नसच्चिएसम्म आन्दोलन जारी रहन्छ।’ सीमांकनको माग संघीय आयोगमार्फत सामाधान गर्ने तीन दलका नेताहरुले साझा धारण बनाए त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै उनले भने, ‘तीन दलका तीन नेताले सीमांकनका विषयमा आन्दोलनरत मोर्चा र थारुसँग वार्ता गरेर सच्च्याउनुपर्छ।’

सीमांकन सच्च्याउन बागलुङ र सुर्खेत आन्दोलनको चर्चा गर्दै उनले भने, ‘कतै आन्दोलनको भरमा सीमांकन परिवर्तन गर्ने कतै संघीय आयोगबाट समाधान खोज्ने हुँदैन।’

पहिलो संविधानसभाबाट बनेको राज्यपुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई आधार मानेर सीमांकन गरिए आफूहरुलाई स्वीकार्य हुने उनले बताए। आन्दोलन लम्बिएर राज्यबाट दमन जारी रहे यसको फाइदा विखण्डनकारी पक्षले उठाउनेतर्फ राज्य सचेत र गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *