Rajkumar Lekhi

थारु अगुवा नेता राजकुमार लेखीले थारुको माग पूरा नभएसम्म काठमाडौं नफर्किने बताएका छन्। थारु कल्याणकारिणी सभाको नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले पारित गरेको मेची महाकाली अभियानअन्तर्गत लेखी तराईका विभिन्न जिल्लाको अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी हुँदै आएका छन्।

पूर्व झादेखि पश्चिम दाङसम्मको यात्रा गरेका लेखी अहिले पूर्वाञ्चलका जिल्लामा केन्द्रीत रहेर आन्दोलन गरिरहेका छन्। ‘आन्दोलन सशक्त बनाउने उद्देश्यका साथ नै तराईका विभिन्न जिल्लाको भ्रमणमा छु। यसदौरानमा मैले आन्दोलनलाई सशक्त बनाउन जिल्ला नेतृत्वहरुलाई प्रशिक्षणसमेत दिँदै आएको छु। अहिले मोरङ, सुनसरी, सप्तरी र सिरहामा केन्द्रीत भएर अभियानलाई अगाडि बढाइरहेको छु,’ थारुवानसँग कुरा गर्दै लेखीले भने।

उनले विगत एक महिनादेखि आफू तराईमै रहेको आन्दोलन गर्ने विभिन्न पक्षसँग कार्यगत एकताको पहल गरेको बताए। उनले मधेसी मोर्चा, मुस्लिम गठबन्धनलगायतका पक्षहरुसँग छलफल गरेका छन्। थारु मधेसी मिलेरै आन्दोलन अगाडि बढाउनुपर्ने सबै पक्षको निष्कर्ष रहेको उनले बताए। भेलाले गरेको निर्णयअनुसार उनले राजमार्ग केन्द्रीत आन्दोलन र नाकाबन्दीलाई सशक्त पार्न तराई भ्रमणमा निस्केको उनले बताए।

उनले थारु मधेसीको माग पूरा गर्न दुई तिहाइ आवश्यक पर्ने हुँदा नौटंकी वार्तामा सहभागी नहुने बताए। आन्दोलनलाई कमजोर बनाउने वार्तामा उनले मधेसी मोर्चालाई पनि सहभागी नहुन आग्रह गरे। उनले विगतमा भनेजस्तै तीन दलका प्रमुख नेता र सरकारका प्रतिनिधिसँग मात्र वार्ता हुनुपर्ने अडान राखे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *