Surkhet Tharu literacyकालिमाटि गाउमा थारुहरुले बडा दसैंको उपलक्ष्यमा सखिया नाचसहित शुभकामना आदानप्रदान तथा थारु कविता प्रतियोगिता कार्यक्रम गरेका छन्। कार्यक्रमका प्रमुख अतिथिले थारुहरुको मौलिक संस्कृति सखिया नाच लोप हुने अवस्थामा पुगेकोले यसको जर्गेनामा थारु समुदाय जुर्मुराउनुपर्ने बताए। उनीहरुले थारु भाषा साहित्य पनि धरासयी हुँदै गइरहेकाले थारु युवा विद्यार्थीहरु कलम चलाइ भाषा बचाउनुपर्ने बेला आएको बताए।

कार्यक्रमका विशेष अतिथि इन्सेकका वरिष्ठ अधिकृत तथा थारु साहित्यकार सुशील चौधरीले सुर्खेतमा थारुहरुको आर्थिक, सामाजिक, शैक्षिक एवम् सांस्कृतिक अवस्थामा परिवर्तन ल्याउन थारु अगुवा, बुद्धिजीबी आफैँ लाग्नुपर्ने बताए। आफ्नै भाषा संस्कृति नबुझी पहिचान खोजेर हुँदैन। त्यसको लागि आफ्नै भाषा साहित्य संस्कृतिको खोज गर्दै संरक्षण गर्नु पहिलो जिम्मेवारी थारुकै हो, त्यसपछि मात्र राज्यको हो। यसका लागि राज्यले सबैको अधिकार समान प्रत्याभूति हुने गरी व्यवहार गर्नुपर्ने माग उनको थियो।

२०७२ को क्षेत्रीय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत थारु साहित्यकार छविलाल कोपिलाले आफ्नो भाषा साहित्यप्रति अनुराग हुनुपर्ने बताए। आफू निरन्तर थारु भाषा साहित्यमा कलम चलाउँदै आएको बताए।

जङ्ग्रार साहित्यिक बखेरी बाँकेका संयोजक सोम प्रसाद डेमनडौराले सुर्खेती भूमिमा थारु स्रष्टाको कमि भएको बताए। थारु भाषामा कलम चलाउने मानबहादुर पन्नाबाहेक अरु स्रष्टा जन्मन नसक्नु दुःखद भएको बताए। यसका लागि थारु भाषामा कविता वाचन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कैलालीका थारु साहित्यकार सागर कुश्मी, बर्दियाका गलजकार ठाकुर अकेला, क्षेत्रीय रेडियो नेपालका प्रतिनिधि विन्तीराम महतो, थारु कल्याण कारिणी सभाका केन्द्रीय पार्षद् भागीराम चौधरी, थारु अगुवा जागुराम थारु, शेरबहादुर थारुलगायतका वक्ताहरुले आफनो मन्तव्य राखेका थिए।

थारु कविता प्रतियोगितामा नयाँगाउँका निरुता चौधरी प्रथम, नयाँ गाउकै जेवि चौधरी द्धितीय र पालतगंगाका रामकृष्ण चौधरी तृतीय भए। त्यसैगरी एसएलसीमा उत्कृष्ट ल्याउने वीरेन्द्रनगर १८ का दिनेश चौधरी र छात्रातर्फ वीरेन्द्रनगर १७ का मनिषा चौधरीलाई सम्मान तथा पुरस्कार प्रदान गरियो।

कार्यक्रममा कालिमाटी गाउँका युवा क्लबका कलाकारहरुले थारु सखिया नाच, पैया नाच प्रस्तुत गरे। नयाँगाउँका भेवा क्लवका कलाकारहरुले छोक्रा तथा झुम्रा तथा तिलपुर र लौवस्ताका कलाकारहरु पनि नाच देखाएका थिए।

थारु कल्याण कारिणी सभाका अध्यक्ष कृष्णबहादुर थारुले दसैंको पावन अवसरमा सुर्खेतमा थारुहरुबीच एकआपसमा शुभकामना आदानप्रदान गर्ने र नवप्रतिभाको विकास गर्ने उद्देश्यले काविता प्रतियोगिता कार्यक्रम गरेको बताए। कार्यक्रममा स्वागत मन्तव्य थाकसका उपाध्यक्ष बेचुलाल चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन थारु साहित्यकार मानबहादुर पन्नाले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *