भारतीय पक्षको आडमा आन्दोलन चर्काएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमि सुनौलीमा ए जनामाथि साङ्घातिक आक्रमण गरेका छन्। आन्दोलनकारीबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका घर बताउने कृष्ण क्षेत्रीको दायाँ हातको चार वटा औँला काटिएका छन्। क्षेत्रीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

दिउँसो २ बजेदेखि चर्किएको आन्दोलनमा आन्दोलनकारीले भारतीय भूमिमा कामको सिलसिलामा पुगेका क्षेत्रीलाई आक्रमण गरेका हुन्।

गत आइतबारदेखि रुपन्देहीको बेलहिया नाका ठप्प छ। आन्दोलनकारीले भारतीय भूमिमा बसेर आन्दोलन गर्दै ढुङ्गामुढा र सिसाको गुच्चा प्रयोग गरी गुलेलीले नेपालीमाथि आक्रमण गर्ने गरेका छन्। दुई बजेदेखि सुरु भएको ढुङ्गामुढासहितको आक्रमणबाट आठ जना प्रहरीसहित केही सर्वसाधारण पनि घाइते भएका छन्।

प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर कुँवर, प्रहरी हवल्दार चन्द्रीनाथ, प्रहरी जवान तुलसी पुन, बुद्धि गन्धर्व, विनोद सुनार, राजेश गोसाईं, टेकबहादुर झेडी मगर र गजेन्द्र विष्ट घाइते भएको बताइएको छ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बेलहियामा तोडफोड गर्दै शान्तिद्वार नजिक रहेको निषेधित क्षेत्र पार गर्न खोज्दा झडप सुरु भएको थियो।

आन्दोलनकारीले नेपालीमाथि नै साङ्घातिक आक्रमण गर्न थालेपछि स्थानीय बेलहियावासीले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आजको घटना दुःखद भएको प्रतिक्रिया दिए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *