Rajkumar Lekhi

संविधान जारी भइसकेको अवस्थामा समेत तराई मधेसमा आन्दोलन जारी छ । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको भन्दै थारु समुदाय र मधेसवादी केही दल आन्दोलनमै केन्द्रीत भइरहेका छन् । प्रमुख राजनीतिक दलहरुले संविधानमा सबैका अधिकार समेटिएको दाबी गरिरहँदा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखी त्यसको कडा प्रतिवाद गर्दैछन् । उनी आफ्ना अधिकार सुनिश्चित नभएसम्म थारु समुदाय आन्दोलनबाट पछि हट्न नसक्ने बताउँछन् । उनी आफूहरुको आन्दोलन कतैबाट प्रायोजित नभएको दाबी गर्दै माग पुरा भए १० मिनेटभित्र आन्दोलनकारी थारु समुदाय आ–आफ्नो घर फर्किने बताउँछन् ।

संविधान जारी भइसकेपछि पनि मुलुकमा आन्दोलन जारी छ, संविधान बनेपछि पनि मुलुकले निकास पाएन, तपाईहरु आन्दोलन मै हुनुहुन्छ । यो क्रम कहिलेसम्म रहन्छ ?

हामी शान्ति, स्थिरता र समतामूलक समाज निर्माण कै पक्षमा छौं । तर त्यसका लागि यो मुलुकको आधा जनसंख्या ओगटेका तराई–मधेसका जनतालाई फेरि उपनिवेशमा राखेर, थारु–मधेसी समुदायलाई गुलाम बनाएर यदि समस्याको निकास खोजिन्छ भने त्यो सम्भव छैन ।

यसको दोष तपाई कसलाई दिनुहुन्छ ?

यसको दोष विगत २५–३० वर्षदेखि मुलुक चलाइरहेका केही व्यक्तिहरुको अहंकार, उनीहरुको गलत चिन्तन र प्रबृत्ती दोषी छ । तानाशाह बन्ने उनीहरुको मनोविज्ञान पनि यसमा दोषी छ ।

तपाईले औंल्याएका ती व्यक्तिहरु नै जनताबाट रुचाइएका छन्, दोस्रो संविधानसभामा जनताले उनीहरुकै दललाई संविधान निर्माणको जिम्मेवारी दिएका होइनन् र ?

उनीहरुलाई तानाशाह बन्नका लागि जनताले मत दिएका होइनन् । जनताले कांग्रेस, एमाले र एमाओवादीलाई मत दिएको यो सात प्रदेशको खाका ल्याउनका लागि होइन । टाउको र खुट्टा काटिएको सीमांकनका लागि जनताले उनीहरुलाई मत दिएका होइनन् । उनीहरुको आश्वासन, प्रतिबद्धता, घोषणापत्रलाई हेरेर जनताले मत दिएका थिए ।

संविधानसभाको दुबै निर्वाचनको घोषणापत्रमा उनीहरुले पहिचानको पाँच आधारमा राज्यको पुनर्संरचना गर्ने भनेका थिए । अर्थात् जाती, भाषा, संस्कृति, भूगोल र ऐतिहासिक निरन्तरताको आधारमा राज्यको पुनर्संरचना गर्ने, प्रदेश निर्माण गर्ने, समानुपातिक, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी गर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्माण गर्ने उनीहरुको प्रतिबद्धतालाई हेरेर जनताले मतदान गरेका थिए । त्यो त यिनीहरुले गरेनन् । उनीहरुले यो मुद्दालाई लत्याउने काम गरे । त्यसकारण अहिले यो आन्दोलन उठेको हो ।

यो आन्दोलन कहाँसम्म पुग्न सक्छ ?

हामी हिंसा, अशान्ति, अराजकताको बाटो हिँड्ने समुदाय नै होइनौं । हामी लोकतन्त्र, शान्ति, प्रेस स्वतन्त्रतामा विश्वास गर्छौं । हामी समतामूलक समाज निर्माणका पक्षधर हौं । त्यसकारण हाम्रो बाटो भनेकै शान्तिपूर्ण बाटो हो । जबसम्म हाम्रो माग सम्बोधन हुँदैन, आफ्नो अधिकार प्राप्तिका निम्ति यो आन्दोलनबाट पछि हट्दैनौं ।

तपाई शान्तिपूर्ण आन्दोलनको कुरा गरिरहनु भएको छ, सुन्नमा त राम्रै लाग्छ तर व्यवहारिक रुपमा हेर्ने हो भने तपाईहरुकै आन्दोलनका क्रममा सुरक्षाकर्मी मारिएका छन्, एम्बुलेन्समा लगिएका बिरामीलाई तानेर मारिएको छ, यसलाई पनि शान्तिपूर्ण आन्दोलन भन्ने ?

यो त हामीमाथि लगाइएको प्रायोजित आरोप हो । थारु समुदायलाई बदनाम गर्नका लागि लगाइएको नियोजित आरोप हो यो । आन्दोलन तुहाउनका लागि यस्ता गलत आरोप लगाइएको हो ।

डेढ महिनासम्म कानमा तेल हालेर सुत्ने, डेढ महिनासम्म सरकार अन्धो भएर बस्ने, आन्दोलनमा उठाइएका जायज मागलाई सरकारमा बस्नेहरुले सम्बोधन नगर्ने र देशमा अशान्ति, अराजकता फैलाउने खालका गतिविधिलाई बढावा दिनेहरु दोषी हुन् कि हामी दोषी ? सुरक्षाकर्मी मारिए पनि, आन्दोलनकारी मारिए पनि ज्यान नेपाली कै जान्छ । कुनै पनि नेपालीको ज्यान जानु भनेको दुःखको कुरा हो । तर यो घटना कसले गरायो ? तपाई डेढ महिनासम्म मुकदर्शक भएर बस्नु हुन्छ, आन्दोलनमा उठेका जायज मागलाई सम्बोधन गर्न सक्नुहुन्न अनि अर्कालाई आरोप लगाएर बस्न मिल्छ ? तपाई माग सम्बोधन किन गर्नुहुन्न ?

यदि आन्दोलनकारीको माग बेठिक छ भने भन्न सक्नुपर्‍यो कि यहाँनिर माग गलत छ भनेर । तपाईहरुको माग विखण्डनकारी छ भनेर देखाउन सक्नु पर्‍यो । हाम्रो माग देश र जनताको विरुद्ध छ भने पनि देखाउन सक्नु पर्‍यो । कहाँनेर गलत छ, त्यो भन्नु पर्‍यो । त्यो भन्ने आँट छ भने भन्नुहोस् । यदि हाम्रो माग सही छ भने त्यसलाई पुरा गर्नु पर्‍यो । तपाई थारु समुदायलाई आतंककारी पनि भन्न सक्नुहुन्न । थारु समुदायको मागलाई विखण्डनकारी हो पनि भन्न सक्नु हुन्न । माग ठिक छ, हामी सम्बोधन गर्न चाहन्छौं पनि भन्ने तर माग पुरा नगर्ने ? तीन दलका प्रमुख नेताहरुले भनिसक्नु भएको छ, थारुहरुको माग जायज छ भनेर । तर ती मागलाई कहिले सम्बोधन गर्ने ? २० वर्षपछि गर्ने ? संविधान त बनिसक्यो । यस्ता नालायकहरुको कुरामा हामीलाई विश्वास छैन ।

संविधान आफैंमा परिवर्तनशील छ, संशोधन गर्दै जान सकिन्छ नि ? सडकबाटै सबै कुराको छिनोफानो हुने त होइन होला, प्रक्रियामा जानु पर्‍यो, होइन र ?

त्यसका निम्ति त हामी तयारै छौं नि । माग सम्बोधन गरियोस् भन्नेमा त हामी जहिले पनि तयार छौं । यसका निम्ति हामी लचक नै छौं । हाम्रो माग सम्बोधन गरियो भने शान्तिपूर्ण आन्दोलनकारी थारु समुदाय १० मिनेटभित्र आ–आफ्नो घर फर्किन्छन् ।

सरकारले त तपाईहरुलाई वार्ताका लागि बोलाइरहेकै छ नि, वार्तामा गएर समाधान खोज्न तपाईहरु नै चाहनुहुन्न, वार्तामा जानै चाहनुुहन्न किन ?

वार्तामा त बोलाउनु भयो तर त्यो वार्ता सहमतिमा पुग्नका लागि वा समस्या समाधान गर्नका लागि थिएन । त्यो वार्ता केवल नौटंकीमात्र थियो । त्यो वार्ता आन्दोलन तुहाउनका लागि षडयन्त्रमूलक थियो । त्यसकारण त्यस्तो औचित्यहीन वार्तामा म १० मिनेटभन्दा बढी बस्न सकिनँ ।

१० मिनेटमै वार्ताको असलियत कसरी बुझ्नुभयो ?

वार्तामा एमाले अध्यक्ष केपी ओली हुनुहुन्नथ्यो । डा. बाबुराम भट्टराई हुनुहुन्नथ्यो । मैले तत्कालै भनेँ, ‘ओलीजी, भट्टराईजी खोइ ?’ उहाँहरुको अनुपस्थितीमा वार्तामा बस्नुको औचित्य नै थिएन । सुशीलजी, प्रचण्डजीले आश्वासन बाँड्नुहुन्छ, केपीजी, बाबुरामजीले त्यो वार्तामा हामी थिएनौं, हाम्रो हस्ताक्षर छैन, हामी त्यो सहमति मान्दैनौं भनेर पन्छिए भने के गर्ने ? वार्तामा त उहाँहरु सबैको उपस्थिती हुनु पर्‍यो नि ।

तपाईहरुले चाहेको अधिकार सरकारबाट पाउने कि दलका नेता अथवा केही व्यक्तिबाट पाउने हो?

जननिर्वाचित निकाय ‘संविधानसभा’ त तीन नेताका अघिल्तिर कठपुतली भयो, पङ्गु भयो र नजरबन्दमा कैद भयो भने तीनवटा नेताको सामूहिक हस्ताक्षरविना विशेष समितिको हस्ताक्षर र उपस्थितीविना कुनै पनि वार्ताको औचित्य छैन, प्रधानमन्त्रीले मात्र चाहेर यो मुलुकमा केही पनि हुँदैन भन्ने कुरा विगतमा पटक–पटक हामीले देखिसकेका छौं ।

तपाईहरुले आन्दोलनलाई राजमार्ग केन्द्रीत गर्ने, मधेसवादी दलहरुसँग सहकार्य गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निधो गर्नु भएको छ, सरकारसँग सम्झौता नहुने देखेर नै आन्दोलन चर्काउन थाल्नु भएको हो ?

हामी अराजकता, उग्रता र अतिवादी बिचारमा विश्वास गर्दैनौं । साम्प्रदायिकतामा हामी विश्वास गर्दैनौं । २००५ सालदेखिको हाम्रो शान्तिपूर्ण आन्दोलनलाई हेर्नुहोस्, बाहुन क्षेत्रीलाई कहिल्यै पनि लखेट्ने कुरा हामीले गरेका छैनौं । कुनै पनि जाती, समुदायका विरुद्ध कुरा गरेका छैनौं । राज्यको गलत नीति, गलत प्रबृत्ती र विभेदका विरुद्ध हामी आन्दोलित भएका हौं ।

तर तपाईहरुसँगै आन्दोलनमा रहेका मधेसी दलका नेताहरु छिमेकी मुलुक भारतमा गएर आमसभा गर्दैछन्, भारतका नेताहरुलाई आफ्नो आन्दोलनमा सहयोग गर्न आग्रह गरिरहेका छन् । नाकाबन्दी गरेर राजधानी ठप्प पार्ने चेतावनी दिइरहेका छन् । उनीहरुसँगै तपाईहरुको सहकार्य हुने भएपछि तपाईहरु पनि यसको जस–अपजसको भागिदार हुनुहोला नि ?

आन्दोलनका क्रममा एक–दुईजनाले अराजक कुरा गरेका होलान् । कसैले साम्प्रदायिक कुरा पनि गरेका होलान् । तर आन्दोलनकारी थारुहरुले यस्ता कुरा गर्दैनन् । हामी त्यस्तो विचारमा विश्वास गर्दैनौं । शान्तिपूर्ण आन्दोलनमा हामी त्यो तागत देख्छौं जसले राणा शासन, पञ्चायती शासन, राजतन्त्र ढाल्न सक्छ । १० वर्षे जनयुद्धलाई पनि शान्तिको बाटोमा ल्याउने तागत शान्तिपूर्ण आन्दोलन मै छ । त्यसकारण शान्तिपूर्ण आन्दोलनकै माध्यमबाट हामी आफ्नो अधिकार स्थापित गर्छौं र गर्न सक्छौं भन्नेमा म विश्वस्त छु ।

त्यसो भए नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारे भारतले गरेको टिप्पणीलाई तपाईहरुले कसरी हेरिरहनु भएको छ ?

हाम्रा कुनै पनि छिमेकी मुलुकले छिमेकी मुलुककै रुपमा सम्बन्धलाई अगाडी बढाउनु पर्छ । हामी थारुहरुको आन्दोलन कुनै पनि विदेशी मुलुकको बुई चढेर भएको होइन । यसमा इतिहास साक्षी छ । २०६५ सालदेखि अगाडी बढेको यो आन्दोलन कसैको प्रायोजित आन्दोलन होइन ।

जहाँसम्म भारतले दिएको अभिव्यक्तिको कुरा छ, त्यो त सरकार–सरकारबीचको कुरा हो । आपसमा कस्तो सम्बन्ध रहनु पर्छ भन्नेकुरा दुबै मुलुकका सरकारले जान्ने कुरा हो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले थारु–मधेसीका माग संविधानमा संवोधन भइसकेको बताउनु भएको छ, उहाँले अब आन्दोलन गर्नुको अर्थ नरहेको बताउनु भएको छ, उहाँको भनाई गलत हो र ?

पुष्पकमल दाहाल यस्तो व्यक्ति हो जसले १५ हजारभन्दा बढी मानिसलाई मारेर त्यो ठाउँमा पुग्नु भएको हो र अहिले ती १५ हजार शहीदको भावनाविपरीत कुरा गरिरहनु भएको छ । उहाँकै जनयुद्धमा हजारौं थारुहरुले बलिदान दिएका छन्, सहादत प्राप्त गरेका छन् । उहाँ नै अहिले थारु विरोधी, मधेसी विरोधी कुरा गरिरहनु भएको छ । त्यसकारण एक दिनमा सयवटा झुट बोल्ने व्यक्तिको के कुरा गर्नु ? उहाँको कुरामा हामीलाई विश्वास छैन । उहाँले नै थरुहट स्वायत्त प्रदेश, लिम्बुवान स्वायत्त प्रदेश, मगरात स्वायत्त प्रदेशको ललिपप बाँडेको होइन ? हामीले त सुरुमा यस्ता कुरा गरेका थिएनौं । जनयुद्ध गर्ने बेलामा जे कुरा उहाँले गर्नुभएको थियो, त्यो अहिले पुरा गर्नुभयो त ? १५–२० हजार मान्छे मारेर जनयुद्ध गरेको यही अवस्थाका लागि हो ? त्यसकारण रगतको होली खेलेर, मान्छे मारेर, जनताविरोधी कुरा गरेर देशमा शान्ति स्थापना हुन सक्दैन।

इमेजखबरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *