nagarikta
प्रतिनिधि तस्बिर।

लखन चौधरी/धनगढी

राज्यले आफूहरुलाई सदियौंदेखि दोस्रो दर्ताको नागरिकको रुपमा व्यवहार गर्दै आएको भन्दै कैलालीका थारुहरुले स्थानीय प्रशासनमार्फत् राज्यलाई नेपाली नागरिकताको प्रमाणपत्र बुझाउने भएका छन्।

साउन २२ गतेदेखि जारी थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो दमन गर्दै आएको आरोप लगाउँदै उनीहरुले दबाबस्वरुप नागरिकताको प्रमाण पत्र बुझाउन लागेका हुन्। पहिलो चरणमा क्षेत्रगत रुपमा बुझाउने कार्यक्रम तय गरेका उनीहरु पछि जिल्लाव्यापी रुपमै बुझाउने बताए।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति क्षेत्र न-४ कैलालीको आयोजनामा जिल्लाको मसुरियामा भदौ २१ गते हुने विरोधसभाबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कार्यक्रमबारे जनाइएको हो।

एनेकपा माओवादी कैलाली सचिव तथा पूर्वसभासद कृष्णकुमार चौधरी ‘कुन्दन’ थरुहट/थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई नभएको भन्दै राज्यलाई दबाब दिने उद्देश्यले नागरिकताको प्रमाणपत्र बुझाउने र विरोधसभा आयोजना गर्न लागेको जानकारी दिए। उनले भदौ २० गते कैलाली क्षेत्र नओ-४ बाट ५ हजार नागरिकताको प्रमाण पत्र बुझाउने बताए।

सदियौंदेखि थारूहरुलाई गैरनेपालीको रुपमा राज्यले व्यवहार गरिरहेको आरोप लगाउदै पूर्वसभासद चौधरीले पहिलो चरणमा क्षेत्रगत रुपमा बुझाउने र माग सुनुवाई नभए जिल्लाव्यापी रुपमा नागरिकता बुझाउने कार्यक्रम रहेको बताए।

भदौ २१ आयोजित क्षेत्र स्तरीय विरोध सभामा करिब १० हजार जनता उतार्ने आयोजकको दाबी छ। संघर्ष समितिले कैलाली-कञ्चनपुरसहित थारू बाहूल्य जिल्लाको एक प्रदेश हुनुपर्ने भन्दै आन्दोलनको कार्यक्रम गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *