dhangadi

केन्द्रमा प्रादेशिक सीमांकनबारे छलफल थालनीसँगै कैलालीमा सुरु भएको बन्द हडताल टुंगिएको छैन। त्यसमाथि एक सातादेखि कर्फ्युको सास्ती थपिएको छ। सर्वसाधारण जोकोही प्रश्न गर्छन्, ‘कहिलेसम्म कर्फ्यु?’ यहाँका नेताहरू अखण्ड र थरुहट/थारुवानको आन्दोलन चलिरहे पनि कर्फ्यु आवश्यक नभएको जिकिर गरिहेका छन्। प्रशासन स्थिति सामान्यीकरण भएपछि कर्फ्यु हट्ने प्रस्टीकरण दिइरहेको छ। आम नागरिक भने राजनीतिक मामिलाभन्दा टाढा छन्। उनीहरू प्रशासनिक बन्देज चाहँदैनन्।

कैलालीका टीकापुर, दुर्गौली, पथरिया, मनुवा लगायतका ग्रामीण क्षेत्र र सदरमुकाम धनगढीका जनसाधारणले लगातारको बन्द, हडतालपछि थपिएको कर्फ्युले जीवनयापन कठिन भएको गुनासो र आक्रोश पोखेका छन्। उनीहरू जतिसक्दो चाँडो कर्फ्यु हट्नुपर्ने पक्षमा छन्।

राजधानीमा प्रमुख दलका शीर्ष नेताहरूले ६ प्रदेशका नक्सा घोषणा गर्नु ५ दिनअघि साउन २१ बाटै कैलाली अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवानको राजनीतिक द्वन्द्वको भुमरीमा छ।

लामो बन्द हडतालका कारण बजारमा खाद्यान्न,औषधि लगायतका सामानको अभाव छ। मौसमी तरकारी, खाद्यान्नको मूल्य चुलिएको छ। उद्यम, व्यापार चौपट भएको छ। स्कुल–कलेजको पढाइ पनि ठप्प छ।

कैलाली उद्योग वाणिज्य संघका सचिव भीम देउवा बन्द र कर्फ्युले उद्यमी, व्यवसायीलाई मर्माहत पारेको र सामान्य जनताको जीवनयापनमा असर गरिरहेको बताउँछन्। ‘किनबेच गर्न सामान छैन। उपभोग्य सामानको पनि अभाव देखिन थालेको छ,’ उनले भने।

अघिल्लो संविधानसभाका बेला अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान प्रदेशको दाबी/विरोधमा यस क्षेत्रमा ३२ दिनसम्म बन्द भएको थियो। अहिले त्यही नियती दोहोरिने त होइन भन्ने चिन्ता जनसाधारण छ। पहिलो संविधानसभा विघटन भएपछि मात्र त्यसबेला बन्द खुलेको थियो।

यसपालि पनि त्यतिबेलाकै संघीयतासम्बन्धी पेचिला मुद्दा सतहमा छन्। पेचिलो र जटिल विषय बनेको प्रदेश निर्माणको राजनीतिले यहाँको समाजलाई नराम्ररी बिथोलेको छ। बन्द, हडताल र कर्फ्युबीच जातीय द्वन्द्व र भिडन्तको खतरा देखिन्छ।

प्रदेश निर्माण गर्दा कैलाली जिल्लालाई टुक्र्याउने कि नटुक्र्याउने? अखण्ड सुदूरपश्चिम कहाँबाट सुरु हुने र थरुहट/थारुवान कहाँसम्म फैलने प्रश्न थिए त्यतिबेला। तिनै प्रश्नमा अखण्ड र थरुहट/थारुवान पक्षधर विभाजित थिए। अहिले पनि मुद्दा तिनै छन्। जिल्लाको करिब ८ लाख जनसंख्यामा ४१ प्रतिशत भाग ओगट्ने थारू र करिब त्यत्तिकै संख्याको बाहुन–क्षेत्री र समग्रमा पहाडिया जातको बाहुल्य रहेको यो जिल्लामा प्रदेश निर्माण पेचिलो मुद्दा बन्न गएको छ।

मुद्दा पुरानै भए पनि अघिल्लो संविधानसभाको भन्दा अहिलेको राजनीतिक, सामाजिक परिस्थिति बदलिएको देखिन्छ। अखण्ड पक्षधर शीर्ष नेताले रचना गरेका ६/७ प्रदेशका खाकाबाट सन्तुष्ट देखिएका छन्। उनीहरू प्राप्त भूगोल जोगाउन सशक्त रूपमा लागिपरेका छन्। उता थरुहट/थारुवान अधिकारवादी, अभियानकर्ताहरू आफ्नो लागि कतै पनि प्रदेश नछुट्ट्याइएको रोषमा आक्रामक बनेका छन्।

बदलिएको परिस्थितिमा आन्दोलनको स्वरूप पनि फेरिएको छ। अघिल्लो संविधानसभामा दुवै पक्ष आआफ्ना मागमा केन्द्रित विरोध गर्थे, हडताल, चक्काजामका कार्यक्रम राख्थे। अहिले भने आन्दोलनमा आक्रोश थपिएको स्थानीय बताउँछन्। साउन तेस्रो सातायता अखण्ड र थरुहट पक्षधरबीच पटक–पटक भिडन्त भएको छ जसले जिल्लामा त्रास र जातीय द्वन्द्व बिजारोपण गरेको छ।

भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट/थारुवान आन्दोलनकारीको आक्रमणबाट उच्च प्रहरी अधिकृतसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको पृष्ठभूमिमा प्रशासनले अनिश्चितकालीन कर्फ्यु नै लगाएको छ।

सदरमुकाम धनगढी एक सातायता बिहान ११ बजेसम्म चलायमान हुन्छ। दिउँसो ११ बजेदेखि ५ बजेसम्म मानवरहित बस्ती जस्तै सुनसान देखिन्छ। किनभने दिनभर कर्फ्यु जारी हुन्छ। साँझ फेरि बौरिन्छ।

उता जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगरपालिका, भजनी त्रिशक्ती नगरपालिकासँगै ९ गाविसमा लगाइएको अनिश्चितकालीन २४ घन्टे कर्फ्युले जनजीवन उकुसमुकस भएको छ। सेना, सशस्त्र र प्रहरीको बाक्लो उपस्थिति र गस्तीका कारण खेतीपाती र वस्तुभाउ हेरचाहमा समेत प्रभाव परेको स्थानीय बताउँछन्। ‘कर्फ्युले सामान्य जनताको दिनचर्यामा असर पारेको छ,’ दुर्गौलीका जगतबहादुर चौधरीले भने, ‘कर्फ्युकै कारण सामाजिक सद्भाव जगाउने कार्यक्रम गर्न समेत पाइएको छैन।’

तरैयापुरका भद्रवीर चौधरीले कर्फ्युका कारण घरभित्र उकुसमुकुस भएर बस्नुपरेको बताए। ‘कर्फ्यु लगाएर जिल्लाको समस्या र राजनीतिक द्वन्द्वलाई समाधान गर्न सकिँदैन,’ उनले भने, ‘यसको समाधान राजनीतिक नेतृत्वले गर्नुपर्छ। नेतृत्वमा समाधान भयो भने तल सुल्भि्कहाल्छ।’

बन्द हडताल, अधिकारवादी आन्दोलन र कर्फ्युलाई फरक–फरक किसिमले लिनुपर्ने धारणा नेकपा एमाले कैलाली दीर्घ सोडारीको छ। प्रशासनले सदरमुकाममा अनावश्यक रूपमा कर्फ्यु लगाएको उनले बताए। ‘राजनीतिक द्वन्द्व नियन्त्रण गर्न निषेधाज्ञा काफी थियो,’ सोडारीले भने, ‘प्रशासन आफ्नो अनुकूलतामा कर्फ्यु जारी गर्दैछ जसका कारण जनसाधारणले दुःख पाइरहेका छन्।’ उनले जतिसक्दो चाँडो कर्फ्यु हटाउनुपर्ने बताए।

नेपाली कांग्रेसका स्थानीय नेता एवं पर्यटन व्यवसायी कृष्णबहादुर महराले बन्द र कर्फ्युले जिल्लाको आर्थिक कारोबार ठप्प पारेको र सामाजिक जीवन पनि प्रभावित भएको बताए। उनले कर्फ्यु घटाउँदै लैजानुपर्ने धारणा राखे। ‘निषेधाज्ञाजस्ता नीति अपनाउनुपर्छ, सुरक्षा निकाय चुस्तदुरुस्त परिचालन हुनुपर्छ,’ महराले भने, ‘कर्फ्यु लगाउनु मात्र उपचार होइन।’

भदौ ७ को टीकापुर घटनापछि त्यस क्षेत्रका दर्जनजति गाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको बाक्लो उपस्थिति छ। त्यस्तै पूर्वपश्चिम राजमार्गको कैलाली खण्डका ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले स्थिति सामान्य बन्दै गएपछि कर्फ्यु हट्दै जाने बताए। ‘जिल्ला सुरक्षाका दृष्टिले अझै संवेदनशील रहेकाले कर्फ्यु जारी गरिरहनुपरेको हो,’ उनले भने, ‘शान्ति सुरक्षा सुदृढ हुनेबित्तिकै कर्फ्यु हट्छ।’

नागरिक दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *