sushil_koirala20130701002प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दल र थारु कल्याणकारिणी सभालाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै जवाफी पत्र लेखेका छन्। प्रमुख चार दलको बैठकपछि आइतबार कोइरालाले दोस्रो पत्र पठाएका हुन्।

आन्दोलनरत पक्षले वार्ताका लागि राखेको सर्तप्रति सरकार र प्रमुख चार राजनीतिक दल सकारात्मक रहेको जनाउँदै शान्तिपूर्ण छलफल र वार्ताबाट समाधान खोज्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। ‘वार्ता र संवादको माध्यमबाट समाधानका लागि अग्रसर हुने विश्वास व्यक्त गर्दै’ प्रधानमन्त्रीले पुनः वार्ताका लागि आह्वान गरेका हुन्। कोइरालाले संविधान निर्माणलाई अनिश्चियतर्फ धकेल्नभन्दा संविधानको मस्यौदामा अझै संशोधन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले छलफल र सहमतिमा मस्यौदामा संशोधन गर्न सकिने आश्वासन दिएका छन्। मधेसकेन्द्रित दलले भनेजस्तो संविधान निर्माण प्रक्रिया स्थगन गर्न भने प्रधानमन्त्रीले अस्वीकार गरेका छन्।

प्रधानमन्त्रीले थारु कल्याणकारिणी सभालाई पत्र पठाउँदै चार दलीय उपस्थितिमै आन्दोलनरत पक्षसँग वार्ता र सहमतिको प्रयास जारी राखेको बताउँदै प्रधानमन्त्रीले चार दलको समान चिन्ता र सक्रियता रहेको उल्लेख गरेका छन्। वार्ता र सम्वादबाट नै समस्याको समाधान खोज्न सरकार र प्रमुख चार दल तया रहेको बताउँदै प्रधानमन्त्रीले शान्तिपूर्ण छलफलबाट समाधान खोज्न आग्रह गरेका छन्। सभा र संयुक्त संघर्ष समितिले चार दलको उपस्थितिमा वार्ता होस भनी राखेको मागलाई आफूले चार दलका शीर्ष नेताको सक्रिय सहभागिता र सहमतिमा नै छलफल र वार्ताको प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्रीले पत्रमा भनेका छन्, ‘वार्तालाई परिणाममुखी बनाउने कुरामा चार दल समान ढंगले चिन्तित र क्रियाशील छन्।’

प्रधानमन्त्रीको पत्र संयुक्त संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीले बुझेका छन्। कल्याणकारिणी सभा सचिवालयको सोमबार बस्ने बैठकले प्रधानमन्त्रीको जवाफी पत्रका विषयमा निर्णयमा पुग्ने बताए। ‘वार्ता र संवादबाट समाधान खोज्न हामी तयार छौँ,’ उनले भने, ‘थारुहरुले उठाएका जायज मागलाई सम्बोधन गर्न सरकार तत्पर हुनुपर्छ।’

प्रधानमन्त्री कोइरालाले २२ बुँदे र ८ बुँदे समझदारीका विषय संविधानको मस्यौदामा समेटिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्य विषयलाई पनि वार्ता र छलफलबाट समाधान र समावेस गर्न सकिने उल्लेख गरेका छन्।

कैलालीको टीकापुरका साथै देशका विभिन्न भागमा भइरहेको आन्दोलन वार्ता र संवादबाट समाधानसँगै समान्य हुने उल्लेख छ। प्रधानमन्त्री कोइरालाले शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी तत्काल फिर्ता हुन नसक्ने संकेत गरेका छन्। मधेसकेन्द्रित दलले वार्ताका लागि नेपाली सेना व्यारेक फिर्ता हुनुपर्ने, दिनहुँ हुँदै आएको धरपकड रोकिनुपर्ने सर्त राख्दै आएका छन्। ‘परिस्थितिलाई सामान्य बनाउन र संवादको माध्यमबाट समस्या समाधान गर्न तपाईँहरुको परिपक्व र सुझबूझपूर्ण नेतृत्वले ठूलो मद्दत पुर्‍याउने छ। शान्तिपूर्ण छलफलमाथि विश्वास गरेर वार्तामा आउन म पुनः एकपटक अनुरोध गर्दछु,’ प्रधानमन्त्रीको पत्रमा भनिएको छ।

मधेसकेन्द्रित राजनीतिक दललाई प्रधानमन्त्रीले लेखेको पत्र आइतबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लालाई बुझाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *