Gurhi Festivs_tharu 03

लखन चौधरी/कैलाली
वर्षेनि हर्षोल्लासपूर्वक ‘गुरही’ पर्व मनाउँदै आएका पश्चिम नेपालका थारू समुदाय आज सडकमै मनाउने तयारीमा जुटेका छन्। राजनीतिक दलहरुले आफूहरुको ऐतिहास पहिचान र अधिकार मेटाउने खालको ६ प्रदेशको प्रस्तावित संघीय संरचना ल्याएको भन्दै साउन २१ गतेदेखि आन्दोलनरत थारू समुदाय आज नागपञ्चमीका दिन सडकमै गुरही पर्व मनाउने तयारी रहेका छन्।

कैलाली-कञ्चनपुरसहित थारू बाहूल्य जिल्लालाई थरुहट प्रदेश बनाइनु पर्ने प्रमुख माग राख्दै आन्दोलनमा होमिएको यो समुदाय माग पूरा नहुन्जेल सबै पर्वहरुलाई आन्दोलनको रुपमा स्थापित गरी सडकमा मनाउने मनस्थितिमा पुगका हुन्।

Gurhi Festivs_tharu 04

गुरही पर्व मूल आयोजक समिति कैलालीकी सदस्य रविना चौधरी राजनीतिक अधिकार नपाएसम्म सांस्कृतिक अधिकार पाउने नसकिने बताउँदै उनी परम्परागत भेषभुषामा सजिएर आज साँझ मनाउने जानकारी दिइन्।

समिति सदस्य चौधरीका अनुसार आज महिलाहरु लेहंगा र बुलाउजमा र पुरुषहरु सेतो धोती र सटमा सजिएर धनगढी बजार परिक्रमा गर्ने र धनगढीस्थित क्याम्पस चौकमा गुरही सेलाउने कार्यक्रम तय गरेका छन्। विगतका वर्षमा झैँ यस वर्ष पनि ‘हमार भाषा कला संस्कृति हमार पहिचान, यकर संरक्षण सम्बर्द्धन कैना हमार अभियान’ भन्ने मूल नाराका साथ मनाउने भएका छन्।

Gurhi Festivs_tharu 02

अधिकार प्राप्तिको आन्दोलनको क्रममा साउन ३२ गते बहृत आमसभा सफलतापूर्वक सम्पन्न गरको बताउँदै थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक लाहुराम चौधरी बुधबार भने आन्दोलनको त्यस्तो कुनै कडा कार्यक्रम नभएको बताए। तर आज गुरही पर्व परेकाले यो पर्वलाई सांस्कृतिक आन्दोलनको एउटा स्वरुप रहेको बताउँदै संयोजक चौधरी पहिचान स्थापित नभएसम्म सांस्कृतिक अधिकार सदैव ओझेलमा रहने ठोकुवा गरे।

गुरही पर्व थारू समुदायको ऐतिहासिक तथा मौलिक पर्व हो। गाउँघरमा व्याप्त रहेको रोग व्याधि हटाउने र गाउँवस्तीलाई रोग मुक्त, सम्मुनत बनाउने यो गुरही पर्वको मुख्य विशेषता हो।

Gurhi Festivs_tharu 01

थारू कल्याणकारिणी सभा कैलाली सभापति समेत रहेका संघर्ष समिति संयोजक चौधरीका अनुसार गुरही पर्वमा गाउँका चेलीबेटीहरु गाउँ वस्तीको रोगव्याधीको प्रतिमा तथा पुतला (गुरही) गाउँको दक्षिणी दिशामा सेलाउने प्रचलन रहेको छ। संगै यूवाहरु सेलाएको ती पुतलाहरुलाई चुरकी (एक प्रकारको घाँस) र केराको डाँठलाई सोटा तथा कोर्रा बनाई लैजाने र सेलाएको पुतलालाई पिट्ने गरिन्छ। जसले गर्दा रोगव्याधि वस्तीमा पुनःनपस्ने जनविश्वास पनि कायमै रहको पाइन्छ।

तर वर्तमान समयमा चाडपर्वहरुलाई केहि परिष्कृत गरेर लैजानु पर्ने पनि आवाज आजभोली उठिरहेको छ। गुरही आयोजक समितिकी सदस्य तथा स्थानीय सञ्चारकर्मी उन्नती चौधरी गुरही पर्वमा रोगी व्याधिलाई सेलाउने गरेको भएतापनि वर्तमान अवस्थामा थारू समुदायको मुख्य रोगव्याधि राजनीतिकर्मीहरुको संकुचित विचार रहेको बताइन्। ती राजनीतिकर्मीहरुको अदुर्दशी सोचका कारण थारू पहिचान र अस्तित्व संकटमा परेको बताउँदै उनी गुरहीमा नेताहरुको कुविचार रुपी पुतला सेलाउनु पर्ने र सोटाले पिट्नु पर्ने पनि उनको विचार छ।

तस्बिर : लखन चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *